पोखरीमा जीप डुब्दा ६ बालबालिकाको मृत्यु

बिहार । भारतको बिहार राज्यको अररिया जिल्लामा जीप पोखरीमा डुब्दा त्यसमा सवार ६ बालबालिकाको ज्यान गएको छ । यस्तै, जीपबाट एक बालकको भने सकुशल उद्धार गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

उद्धार गरिएका बालबालिकाको नजिकको अस्पतालमा उपचार भइरहेको छ । उक्त पोखरीमा डुबेको जीपमा कति बालबालिका थिए भनेर पुष्टि नभइसकेको भारतीय मिडियाले जनाएका छन् ।

साथै, अहिलेसम्म ६ बालबालिकाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ । तर, पहिचान भने खुल्न बाँकि रहेको संचारमाध्यमले जनाएका छन् । -एजेन्सी

दश अंकले घट्यो शेयरबजार

काठमाडौँ । नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो । आज कूल १६३ कम्पनीको १० लाख सात हजार ७६४ कित्ता शेयर रु ४२ करोड ५१ लाख ९४ हजार २९९ मूल्यमा खरीद बिक्री भएको छ । तीन उपसमूहको शेयरको मूल्य भने बढेको छ । त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटल समूह ८.६६ बिन्दुले बढेका छन् । यस्तै, बैंकिङ १०.०४, व्यापार २.६२, विकास बैंक २६.९१, जलविद्युत् १५.५, फाइनान्स ७.४३, बीमा ६९.९६ र माइक्रोफाइनान्स २२.५९ बिन्दुले ओरालो लागेको छ । रासस

आज बिहानैदेखि यातायात बन्द हुँदा यात्रुहरु अलपत्र

काठमाडौं । नेपाल सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरूले घोषणा गरेको बन्दको प्रभाव शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर परेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी साधन नचल्दा पढ्न जाने विद्यार्थी, कर्मचारी, व्यवसायी लगायत सर्वसाधारण सडकमै अलपत्र परेका छन्। निजी सवारी साधन र भाडाका ट्याक्सीहरु भने चलिरहेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरूले वैशाख २१ ९आज० देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । यातायात व्यवसायीको हड्तालका कारण प्रदेश नंं ५ का जिल्लाहरू पनि प्रभावित भएका छन् । प्रदेश को राजधानी बुटवलमा सार्वजनिक सवारी साधन चलेका छ्रैनन् । बस व्यवसायीले एक्कासि बस सेवा बन्द गरेपछि यातायात बन्दको पूर्वजानकारी नपाएका यात्रुहरू अलपत्र परेका छन्। कैलालीको धनगढीमा पनि सार्वजनिक गाडी चलेका छैनन् । पश्चिमदेखि पूर्वसम्मका सहरहरूमा सिन्डिकेट पक्षधरहरूको हड्तालको प्रभाव परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको हड्तालमा नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनको समेत ऐक्यवद्धता रहेको छ। सरकारले कुनै पनि हालतमा सिन्डिकेट रहन नदिने बताउँदै आएको छ भने यातायात व्यवसायीले पनि सरकारलाई घुँडा टेकाएरै छाड्ने चुनौती दिँदै आएका छन्।

निजी विद्यालयहरु शुल्क चर्किदै‌: अभिभावकहरु चिन्तित

काठमाडौँ । विभिन्न विद्यार्थी संगठनका नेताले निजी विद्यालयले सरकारी नियम र शिक्षासम्बन्धी निर्देशिकाको उल्लंघन गरी एकपक्षीय रुपमा शुल्क वृद्धि गरेकामा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारले निर्दिष्ट गरेको नियमभन्दा बाहिर गएर वृद्धि गरिएको शुल्क मान्य नहुने ती नेताले बताउनुभयो । नेवि संघका अध्यक्ष नैनसिंह महरले निजी विद्यालय सञ्चालकले सरकारले तोकेको मापदण्डभित्र रहनुपर्नेमा जोड दिँदै दिनभरि काम गरेर बालबच्चा निजीमा पढाइरहेका अभिभावकलाई अनावश्यक मूल्य बढाएको शुल्क फिर्ता नभए तेस्रो चरणको आन्दोलन गर्ने बताउनुभयो । सरकारी विद्यालयको स्तरोन्नति गर्नेतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कवृद्धि फिर्ता नलिए निर्देशिकाअनुसार सरकारले कारबाही गर्नुपर्ने माग गर्दै विद्यालय सञ्चालकबाट निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता आएमा विद्यालयमा लगाइएका ताला खोल्न निर्देशन दिने बताउनुभयो । अनेरास्ववियुका कोषाध्यक्ष झपीन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथासम्भव फिर्ता लिन आग्रह गर्दै विद्यार्थी संगठनले विद्यार्थीको हकहितको लागि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिनुभयो । निजी विद्यालयले गरेको शुल्कवृद्धिका कारण अभिभावक समस्यामा परेको भन्दै संयुक्त विद्यार्थी संगठनले केही दिनदेखि तालाबन्दी गर्दै आएका छन् । रासस

२०७४ सालमा ६६ वटा नायिका, को कस्ता ? (भिडियोसहित)

काठमाडौं । नयाँ वर्ष २०७५ को शुभकामनासहित क्लव सी नेपालले २०७४ सालमा नेपाली चलचित्रका नायिकाहरुबारेमा विस्तृत जानकारी सहित भिडियो निर्माण गरेका छ । २०७४ सालमा निमाणर््ा भई प्रदर्शनमा आएका ७० वटा नेपाली चलचित्रहरु, तिनका ६६ नायिकाहरुबारे विविध जानकारी भिडियोमा छ । ७० चलचित्रमा ६६ नायिका कसले कतिवटा फिल्ममा कस्तो अभिनय गरे त्यसको भिडियोमा पूर्ण विवरण रहेको छ । हेर्नुहोस भिडियो

एक वर्ष पूरा नभएसम्म सचिवको सरुवा नगर्न सुझाव

काठमाडौँ । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदनले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सरकारलाई सुझाव दिएको छ । चाँडो सरुवा गर्दा प्रशासनिक काममा समस्या आउने भएकाले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव दिएको समितिका अध्यक्ष काशीराज दाहालले बताउनुभयो । यस्तै अन्य कर्मचारीलाई पनि दुई वर्ष पूरा नभई सरुवा नगर्न सुझाव दिइएको छ । प्रतिवेदनमा कर्मचारीको स्थायित्व भएमा संस्थागत सेवा प्रवाहमा निरन्तरता र बजेट तथा कार्यक्रमको खर्च प्रगति बढाउन मद्दत पुग्ने जनाइएको छ । यसैगरी समितिले निजामती सेवाका कर्मचारीको अवकाश उमेर हद ५८ वर्षबाट ६० वर्ष पु¥याउन समेत सुझाव दिएको छ । सबै संस्थामा एकरुपता ल्याउनका लागि ६० वर्ष बढाउन थालिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले निजामती सेवाका श्रेणीभित्र तहहरुको व्यवस्थापन गर्न सुझाव दिएको छ । आरक्षण सुविधा एक व्यक्तिले सेवा अवधिभर एक पटक मात्र पाउनुपर्ने सुझावसमेत दिइएको छ । अहिले पदपिच्छे हरेक व्यक्तिले आरक्षण सुविधा लिइरहेका छन् । एउटै व्यक्तिले पटक पटक आरक्षणको सुविधा पाएर अन्यले नपाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।रासस

मोदी नेपाल आउँदा अरुण तेस्रो शिलान्यास

महोत्तरी, बैशाख १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा वैशाख २८ गते ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गरिने भएको छ । शिलान्यास गर्ने तयारीका साथ लगानी बोर्डले आयोजनाबारे केही निर्णयसमेत गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको बोर्ड बैठकले भारतीय सरकारको लगानी रहेको आयोजना प्रवद्र्धक कम्पनी सतलजलाई ६ महिना वित्तीय स्रोत (फाइनान्सियल क्लोज) जुटाउने समय थप गरेको छ । प्रधानमन्त्री ओलीको गत चैतमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीसहित संयुक्त रूपमा उक्त आयोजना शिलान्यास गर्ने चर्चा चलेको थियो । तर उत्पादन अनुमतिपत्र नै कम्पनीलाई दिइनसकेको प्रश्न उठेपछि शिलान्यास भएन ।

३३ किलो सुनकाण्ड : बयान दिदादिदै भागेका डिएसपी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन र मोरङका सनम शाक्य हत्या प्रकरणमा बयान लिँदा लिँदै गृह मन्त्रालयबाट बेपत्ता भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) पक्राउ परेका छन् । गृह मन्त्रालयमा बयान दिन पुगेका बेला ट्वाइलेट जान्छु भन्दै बेपत्ता भएका डिएसपी सञ्जय राउत २४ घण्टापछि पक्राउ परेका हुन्। राउत बयान दिन गएका बेला मंगलवार दिउँसो गृह मन्त्रालयबाटै बेपत्ता भएका थिए । २४ घण्टापछि उनी आफैं सम्पर्कमा आएका गृह मन्त्रालय स्रोतले जनाएको छ । आफैं सम्पर्कमा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौड्यालको संयोजकत्वमा गठित समितिले राउतसँगै बिहीबार बयान लिने र त्यसपछि थप अनुसन्धानका लागि मोरङ पठाउने तयारी गरेको छ । ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी, बहालवाला एसएसपी, एसपी, डिएसपी र सई तानिसकेका छन् । पूर्व डिआईजी गोविन्द निरौला, वहालवाला एसपी विकासरात खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३३ किलो सुन प्रकरणमा प्रहरीबाहेक अन्य २० जनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ । पहिलोपोष्टबाट

संकट समाधान गर्न कतार तयार

कतार, वैशाख ९ । अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्ट र कतारबीच केही समयदेखि जारी कुटनीतिक सङ्कटको समाधान गर्ने बिषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्लाह अल–खतेरले साउदी अरबमा भएको ‘गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१’ मा सहभागी हुने क्रममा यही जमघट नै खाडी मुलुकबीचको समस्या समाधान गर्ने नयाँ मौका बन्ने बताउनुभएको कतारको एआई–शार्क नामक समाचारपत्रले जनाएको छ । अल हतेरलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले लेखेको छ, अहिलेसम्म चाहिने तहसम्मको कुनै समाधान देखेका छैनौँ तर रक्षा मन्त्रालयले कतारी सैन्य वार्ता समूहको साउदी अरबमा उपस्थित टोलीले संयुक्त अभ्यासमा सहभागिता हुने घोषणा गरेको छ । अल खतेरले भन्नुभयो, “आगामी दिनमा खाडी मुलुकहरूले कस्तो प्रतिक्रिया जनाउने छन् अहिल्यै अनुमान गर्न सकिन्न ।” गत बिहीबार कतारको सैनाले गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१ मा आफ्नो सेना गत मार्च २१ गतेदेखि अप्रिल १६ सम्म सहभागिता जनाएको घोषणा गरेको थियो । सन् २०१७ को जुनमा साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगको कुटनीतिक सम्बन्ध, हवाई, सामुद्रिक तथा स्थल सम्पर्क तोडेको घोषणा गरेका थिए । कतारले आतङ्कवादलाई सघाएको तथा अरब समुदायको हित विपरित इरानसँग निकट बनेको लगायतका आरोप लगाउँदै उक्त निर्णय गरेका थिए । तर अरबमुलुकहरूले लगाएको उक्त आरोपको कतारले निरन्तर खण्डन गर्दै आएको छ ।

गाउँपालिकाको सेवा लिन तीन दिन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो । पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हँुदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताउनुभयो । “चुनावमा सिंहदरबार गाउँमा आएको प्रचार सुनिएको थियो तर अहिले हामीलाई पालिकाको केन्द्रमा पुगेर सेवा लिँदा भारत गएजस्तो भएको छ”, पुर्जाले भन्नुभयो, “कार्यालयमा पुग्दा दरबन्दी अनुसारका पर्याप्त जनशक्तिको अभावले ढिलाइका साथै आर्थिक कारोबारका लागि पुनः सदरमुकाम बेनी पुग्नुपर्दा झन्झट र दुःख भएको छ ।” नांगी सडक मर्मतको उपभोक्ता समितिकी पदाधिकारी रहनुभएकी पुर्जाले गाउँपालिकामा पुगेर सेवा लिन र घर फर्कन तीन दिन समय लागेको बताउनुभयो । ४२० घरधुरीमा दुई हजार जनसंख्याको बसोबास रहेको यस वडाको नांगी, थावन, राम्चे, काफलडाँडा, धारापानीको बस्तीमा सडक पुगे पनि महभिर गाउँ अझै सडक सञ्जालमा जोडिन सकेको छैन । महभिर र बेनीदेखि पर्वतको जलजला गाउँपालिका हुँदै राम्चेमा सडक पुगे पनि कच्ची र जीर्ण अवस्थाका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन । करीब २० किलोमिटर दूरीको महभिर हिस्तान राम्चे सडक साँघुरो, जीर्ण र अप्ठ्यारो हुँदा ट्र्याक्टर बाहेकका सवारी साधन चल्दैनन् । “कच्ची अवस्थाको बेनी मल्लाज राम्चे सडक घुमाउरो छ”, राम्चेका फसबहादुर गर्बुजाले भन्नुभयो, “गाउँपालिकाको केन्द्रमा पुग्न २० देखि २५ हजार रुपैयाँमा जिप रिजर्भ गर्नुपर्छ ।” विकास योजनाको सम्झौता, भुक्तानी र फरफारक गर्न, पालिकाको सेवा लिन सर्वसाधारणदेखि बैठक, सभा तथा कार्यक्रममा सहभागी हुन जाने जनप्रतिनिधिले सास्ती व्यहोर्नु परेको छ। रासस

दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपाललार्इ पहिलो स्वर्ण पदक

काठमाडौं, वैशाख ८ । राजधानीमा जारी आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रविन श्रेष्ठले नेपाललार्इ पहिलो स्वर्ण दिलाएका छन्। उद्घाटन खेलमा शनिबार उनले १०० केजी मुनिको स्पर्धामा नेपाललार्इ स्वर्ण दिलाएका हुन्। श्रेष्ठले नेपालका सुर्यमान लामा, श्रीलंकाका बन्दुला बजाला र बंगलादेशका मोहम्मद अब्दुल कलाम आजादलार्इ पराजित गर्दै स्वर्ण जितेका हुन्। यस्तै शनिबार नै ४८ केजी मुनिको तौलसमूहमा भारतकी सुशीला देवी लिकमाबमले महिला तर्फको स्वर्ण जितेकी छिन्। उनले पाकिस्तानकी हुमारिया आशिकलार्इ पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। पुरुष तर्फको ९० केजी मुनिको तौल समूहमा भने नेपालका श्रीराम मकाजुलार्इ पराजित गर्दै पाकिस्तानका कुसार खानले स्वर्ण जिते। यस्तै आजै भएको ५२ केजी महिला तर्फको स्पर्धामा भारतकी कल्पना देवीले स्वर्ण जितिन्। उनले पाकिस्तानकी मार्यामलार्इ पराजित गरिन। प्रतियोगितामा नेपालका २ तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १–१ गरि ७ समूहको सहभागिता रहको छ। तीनदिने प्रतियोगितामा नेपालबाट १८ महिला र १८ पुरुष खेलाडीले भाग लिँदै छन्। महिलातर्फ ७ र पुरुषतर्फ ७ तौल समूहमा प्रतिस्पर्धा हुदैछ। नेपालबाहेक प्रतियोगितामा भारतबाट १४, पाकिस्तानबाट १७, श्रीलंकाबाट १४, बंगलादेशबाट १६ र भुटानबाट ५ खेलाडीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा एकलतर्फ ७–७ स्वर्ण र टिम इभेन्टतर्फ १–१ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ।

१५ वटी श्रीमतीकी पाेइ राजाले देशको नाम फेर्ने, किन ?

काठमाडौं, वैशाख ७ । विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको नाम परिवर्तन गर्न सक्छन् । त्यस्ता सीमित व्यक्ति मध्ये एक हुन्, स्वाजील्याण्डका राजा मस्वाती । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् । उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राजा मस्वातीले यसको आधिकारिक घोषणा गरेका हुन् । नयाँ नामको अर्थ के ? इस्वातिनीको अर्थ स्थानीय भाषामा स्वाजीहरुको भूमि हो । देशको नाम परिवर्तन आकश्मिक रुपमा भएको हो । तर राजा मस्वातीले लामो समयदेखि स्वाजील्याण्डलाई इस्वातिनी भन्दै आएका थिए । उनले सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा तथा सन् २०१४ मा देशको संसदको उद्घाटनको क्रममा इस्वातिनी नाम प्रयोग गरेका थिए । केही मानिस भने राजाले देशको नाम परिवर्त गरेकोमा बेखुस छन् । उनीहरुले राजाले आफ्नो ध्यान देशको अर्थ व्यवस्था मजबुद बनाउन लगाउनु पर्ने न कि नाम परिवर्तनमा भन्ने गरेका छन् । सोभूजा द्वितीयका छोरा राजा मस्वातीका १५ श्रीमती छन् । औपचारिक रुपमा उनको बायोग्राफी लेख्ने व्यक्तिका अनुसार राजा मस्वातीका पिताले देशमा ८२ वर्षसम्म शासन गरेका थिए । यस क्रममा उनका १२५ श्रीमती थिए । स्वाजीका मानिस राजालाई बाघ भनेर पनि बोलाउने गर्छन् । उनीहरुका धेरै श्रीमती हुने गर्छन् ।

छाेराछाेरीलार्इ प्राइभेटभन्दा सामुदायिक विद्यालय उत्तम

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीलाइ निजी विद्यालयमा पढाउन निषेध गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको सिफारिशमा नगर कार्यपालिकाले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी आफ्ना छोराछोरीलाइ अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय लिँदै निजी विद्यालयमा पढाउन निषेध गरेको हो । नेपाल सरकारले शिक्षा क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आए पनि सामुदायिक विद्यालयको खस्कँदो स्थितिलाई ध्यानमा राखी सामुदायिक विद्यालयप्रति आस्था जगाउने उद्देश्यले यस्तो निर्णय गर्नुपरेको नगरपालिकाका प्रमुख अमान सिं तामाङले बताउनुभयो । यसका साथै नगरपालिकाले विद्यार्थी संख्या ज्यादै न्यून भएका चारवटा आधारभूत विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिएको छ । यसरी गाभिएका विद्यालयमा चौतारास्थित बालमन्दिर आधारभूत विद्यालय, स्याउलेको भैरवी आधारभूत विद्यालय, बतासेको चुल्ठेश्वरी आधारभूत विद्यालय र जल्केनीको ज्ञानपुञ्ज आधारभूत विद्यालय रहेका छन् । रासस

नमस्ते ब्याण्डसँगै जीत लामा टोकियोमा गुञ्जने

जापान । नमस्ते ब्याण्डको ३०औं बार्षिकोत्सव र नेपाली नयाँवर्ष २०७५ को सु–अवसरमा यही अप्रिल १५ तारिक आइतबारको दिन टोकियोस्थित यूनिर्भसल सिटीमा हुने विशेष साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आमन्त्रित ब्याण्डका सम्पूर्ण सदस्यहरु टोकियो आइपुगेका छन् । अमर गुरुङ पोखरेली, सुदेशकुमार श्रेष्ठ, महेस केसी, सुरज श्रेष्ठलगायतका कलाकारहरु सँगसंगै ठमेलका युवा व्यवसायी तथा गायककार जीत लामाको पनि निकै आर्कषक र रोचक प्रस्तुति रहने ब्याण्डका संयोजक ईश्वर गुरुङले बताएका छन् । नेपालको पहिलो संगेतिक समुह नमस्ते ब्याण्ड र अन्य पाँचभन्दा बढी ब्याण्डले सहभागिता जनाउन लागेको उक्त कार्यक्रममा प्रवेश भने निशुल्क रहने ब्याण्ड द्धरा जारि गरिएको अपिलमा भनिएको छ । केही तस्वीरहरु-

पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठको गाडी कर्मचारीले खोसे

काठमाडौं, चैत २९ । पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन् । श्रेष्ठले प्रयोग गर्दै आएका बा १३ च ६२४१ नम्बरको गाडी सर्वोच्चका कर्मचारीले खोसेका हुन् । गाडी चालकसहित गाडीलाई नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजन भट्टराईलाई बुझाइएको छ । सर्वोच्चका प्रधानन्यायाधीशहरुले आफ्नो कार्यकालमा लिएको गाडी पदबाट हटेपछि पनि अनधिकृत रुपमा प्रयोग गर्दै आएका छन् । १३ जना पूर्व प्रधानन्याधीशले सर्वोच्चबाट गाडी, चालक, इन्धन, मर्मत खर्च लिइरहेका छन् । पूर्वविशिष्टलाई सुविधा दिने विषयको कानून बनेको छैन । लोकान्तरबाट

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

उदयपुर / रास– सगरमाथा लोकमार्गअन्र्तगत जलजले–गाईघाट सडकमा सोमवार दिउँसो अटो रिक्साको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडानजिकै सडक पार गर्ने क्रममा सदरमुकाम मोतीगडादेखि गाईघाटतर्फ जाँदै गरेको स१ह १२५३ नम्बरको अटो रिक्साको ठक्करबाट घाइते बनेकी सुनसरी बाराह क्षेत्र नगरपालिका–८ की ८० वर्षीया पदमलक्ष्मी श्रेष्ठको ज्यान गएको हो । उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । त्यसैगरी, चौदण्डीगडी नगरपालिका–२ बेल्टार झोडापाटामा सामान्य विवाद हुदा स्थानीय ४५ वर्षीय कैलाश सदाले सोही स्थानका ५५ वर्षीय महिनचन सदालाई दाउरा प्रहार गरी हत्या गरेको छ । दुवै जनासँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भएपछि उक्त घटना स्थानीयवासी केदार कटुवालले जानकारी दिए । घाइते महिनचनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिए ।