छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

उदयपुर / रास– सगरमाथा लोकमार्गअन्र्तगत जलजले–गाईघाट सडकमा सोमवार दिउँसो अटो रिक्साको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडानजिकै सडक पार गर्ने क्रममा सदरमुकाम मोतीगडादेखि गाईघाटतर्फ जाँदै गरेको स१ह १२५३ नम्बरको अटो रिक्साको ठक्करबाट घाइते बनेकी सुनसरी बाराह क्षेत्र नगरपालिका–८ की ८० वर्षीया पदमलक्ष्मी श्रेष्ठको ज्यान गएको हो । उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

त्यसैगरी, चौदण्डीगडी नगरपालिका–२ बेल्टार झोडापाटामा सामान्य विवाद हुदा स्थानीय ४५ वर्षीय कैलाश सदाले सोही स्थानका ५५ वर्षीय महिनचन सदालाई दाउरा प्रहार गरी हत्या गरेको छ ।

दुवै जनासँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भएपछि उक्त घटना स्थानीयवासी केदार कटुवालले जानकारी दिए । घाइते महिनचनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिए ।

कवि तथा गीतकार अमर वान्तु अक्षयकोष स्थापनाका लागि नगद प्रदान

भोजपुर दिल्पा नागीं जन्म भई हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तु (अमरसिहं राई)ले गीतकार सङ्घको अक्षयकोष स्थापना गर्नका लागी रु. १५,००,०००।– (पन्ध्र लाख) प्रदान गर्नुभयो । गीतकार सङ्घ नेपालको कार्यालय, बिजुलीबजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण भयो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक जीवनमा रहँदा धेरै राम्रा नराम्रा कार्यमा साक्षी बसियो होला तर यस्तो पूण्य कार्यमा साक्षी बस्न पाउनु पनि ठूलो सौभाग्य हो भन्नुभयो । अमर बान्तु मन र धन भएका अत्यन्त भावूक स्रष्टा हुनुहुन्छ र वहाँको यो दानले गीतकार सङ्घ नेपालको आर्थिक स्वास्थ्य बलियो बन्ने र सङ्घले दीर्घ जीवन पाउने छ भन्नुभयो । सङ्घका अध्यक्षलाई चेक हस्तारन्तरण गर्दै दाता अमर बान्तुले सम्पूर्ण गीतकारहरुको साझा संस्था गीतकार सङ्घ नेपालको निरन्तरताको कामना गर्दै आफूले दान गरेको रकमबाट स्रष्टाहरुलाई गीत लेखनमा प्रोत्साहन मिल्ने आशा व्यक्त गर्नुभयो । सङ्घमा अध्यक्ष चूडामणि देवकोटाले आफ्नो मन्तव्य दिदैँ स्रष्टाहरुले लिन भन्दा दिन जान्छन् । स्रष्टाले गीत सङ्गीतको माध्यमबाट जनतालाई मनोरञ्जन र चेतनामात्र बाँड्दैनन्, आफूजस्तै स्रष्टाहरुको हकहित संरक्षण गर्दै नेपाली गीत सङ्गीत र वाङ्मयको विकासमा समर्पित संस्थालाई बचाउन पनि त्याग गर्न जानेका छन् । महाकवि देवकोटाको कविताको पङ्क्ति ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिन जहाँ छ’ भन्ने उक्ति आज अमर बान्तुले चरितार्थ गर्नुभएको भन्नुभयो । समारोहमा गीतकार सङ्घ नेपालका उपाध्यक्ष भरत बमजन, महासचिव शुभ मुकारुङ, सचिव बसन्त वित्यासी थापा तथा कार्यसमितिका सदस्यहरु बालक गुरुङ, दिलेन्द्र मुकारुङ, अमृतलाल सुनार, दाता गीतकारका धर्मपत्नी भावाना राई, प्राज्ञ शान्तिराम राई, प्रस्तोता समाजका सचिव भीषण मुकारुङ, निवर्तमान सचिव राम भट्टराईको पनि उपस्थिति रहेको थियो । गीतकार वान्तुका हालैमात्र ‘अमर भावना’ नामक एल्बम तथा ‘परिभाषाका राटाँहरु’ नामक कबिता तथा गिती पुस्तक विमोचन भएको थियो ।

बीमांक योगदानभन्दा बढी उपचार खर्च

चितवन । चितवन जिल्लामा बीमांक योगदान रकमभन्दा बढी सेवा प्रदायकले उपचार खर्च लिएका छन् । स्वास्थ्य बीमा बोर्डका ३ नम्बर प्रदेशका संयोजक कृष्णप्रसाद भट्टराईका अनुसार जिल्लामा बीमा योगदान रकम रु छ करोड ४७ लाख ३० हजार ६७० संकलन भएको छ भने सेवा प्रदायकलाई रु आठ करोड दुई लाख ४९ हजार २६५ भुक्तानी भएको छ । देशभरका ३१ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । भट्टराईका अनुसार सबैभन्दा बढी बीमा भएको जिल्ला र बीमा योगदान रकमभन्दा बढी प्रदायकलाई भुक्तानी भएको जिल्ला पनि चितवन हो । उहाँका अनुसार चितवनमा एक लाख नौ हजार ३०६ जनाले बीमा गरेका छन् जसमध्ये ५७ हजार ४५० जनाले सेवा लिइसकेका छन् । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या पाँच लाख ९२ हजार ६०१ रहेको छ । कूल जनसंख्याको १८ दशमलव ४४ प्रतिशत जनताले बीमा गरेको उहाँले बताउनुभयो । भट्टराईका अनुसार बीमा लागू भएका ३१ वटा जिल्लामा पाँच लाख ८६ हजार ८२७ जनाले बीमा गरेका छन् जसमध्ये एक लाख १४ हजार ९०७ जनाले सेवा लिएका छन् । कूल बीमा योगदान रकम रु ३२ करोड १९ लाख दुई हजार ५०० संकलन भएको उहाँले बताउनुभयो । सेवा भुक्तानीबापत रु १५ करोड ५० लाख भुक्तान भएको छ । सचेत नागरिक भएकै कारण चितवनमा बीमाप्रतिको आकर्षण बढेको अनुमान छ । जिल्लाका १२ वटा अस्पतालले सेवा दिइरहेका छन् जसमध्ये सबैभन्दा बढी चितवन मेडिकल कलेजले ३५ हजार १८ जनालाई बीमा दाबी उपचार गरेको जनाएको छ । ती अस्पतालमध्ये गुञ्जमानसिंह अस्पतालबाट भने अहिलेसम्म कसैले पनि बीमा दाबी गरेर उपचार गरेका छैनन् । जिल्लामा असार १ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो । रासस

धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव

चितवन । गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ । तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । श्वासप्रश्वाससँगै आँखा रातो हुने, बिझाउने, धुलोका कण नानीमा अड्किएर घाउ हुनेजस्ता समस्या देखिएका छन् । भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठ धुलो धुवाँका कारण विभिन्न समस्या लिएर बिरामी आउन थालेको बताउनुहुन्छ । उहाँले आँखालाई धुवाँ धुलोबाट बचाउन सकेसम्म चस्मा लगाउने, सम्भव नभए घरबाट बाहिरिँदा र फर्किंदा सफा पानीले आँखा सफा गर्न सुझाव दिनुहुन्छ । उहाँले आँखा बचाउनका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिनुभयो । यद्यपि समय समयमा आँखालाई विस्तारै सफा पानीले सफा गरेमा समस्या कम हुने डा श्रेष्ठको भनाइ छ । घरबाट खेतबारीमा होस् वा शहर बजार जहाँ जाँदा पनि आँखा सफा पानीले सफा गरेर जाने, सम्भव भएको समयमा सफा पानीले सफा गरिरहने र घर फर्किएपछि पनि सफा गर्ने गरेमा आँखालाई बचाउन सकिने श्रेष्ठ बताउनुहुन्छ । तराई र भित्री मधेशको आकाश यतिबेला धुलोका कण, धुवाँ र खरानीले भरिएको छ । ती सबै आँखाका लागि हानिकारक छन् । रुख बिरुवाको पालुवा पलाउने समय भएकाले यतिबेला त्यसकै कारण पनि आँखामा एलर्जी हुने हुँदा त्यसबाट जोगिन उहाँले सुझाव दिनुभयो । आँखामा धुलो धुवाँ पसेर अप्ठ्यारो भएमा नमिच्न र दबाब हुने गरी पानी नपार्न उहाँले आग्रह गर्दै तत्काल आँखा अस्पताल वा स्वास्थ्य संस्थामा जान सुझाव दिनुभयो । अस्पतालमा आँखा पाकेर, संक्रमण भएर, नानीमा घाउ भएर बिरामी आउन शुरु गरेको भन्दै डा श्रेष्ठले बालबालिका र वृद्धवृद्धालाई पनि सन्देश दिनुपर्ने बताउनुभयो । रासस

एयरपोर्टमा झरेपछि कता हराए कतारबाट फर्केका गोविन्द घिमिरे ?

नवलपरासी, १२ चैत (रासस) ः वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ । घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँग काठमाडाँैसम्म आएको घिमिरेका बुबा मोहोनीलालले बताउनुभयो । उनले तीन वर्षदेखि कमाएको रकम एकमुष्ट बोकेर फर्किएका थिए । चार वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका घिमिरे कतारको अल बैयाद कम्पनीमा काम गर्थे । कम्पनीमा रहँदासमेत घिमिरे परिवारको सम्पर्कमा आएका थिएनन् । रोजगारीमा रहँदा सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दै कम्पनीमा सम्पर्क गरेको र कम्पनीले परिवारको आग्रहमा घर पठाएको घिमिरेका बुुबाले जानकारी दिनुभयो । घिमिरे कतारबाट नेपाल आएको १३ दिनपछि मात्र परिवारले उनी नेपाल आएको जानकारी पाएका थिए । छोरो लामो समयसम्म घर नआएपछि कम्पनीमा सम्पर्क गर्दा नेपाल फर्किएको जानकारी पाएपछि कम्पनीले उपलब्ध गराएको पासपोर्ट, हवाई टिकटको प्रतिलिपी लिएर विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा छोरो नेपाल आएको र साथीको बीचमा ठूलो लगेज घिसार्दै बाहिर निस्केको देखिएको मोहोनीलालले बताउनुभयो । बाबु मोहोनीलालले छोराले रकम नेपाल नपठाइ एकैपटक बोकेर आउँदा समस्यामा परेको हुनसक्ने अनुमान गर्नुभएको छ । मेरो छोरालाई सँगै आउने साथीहरुले अपहरण गरेको आशंका छ घिमिरेले भन्नुभयो । उसलाई साथीले नै अपहरण गरेको हुनसक्ने भन्दै प्रहरीमा निवेदन दिएको मोहोनीलालले बताउनुभयो । उनी नेपाल उत्रिएर पनि घर नपुगेपछि परिवारले खोजीका लागि अरुणखोला र चोरमारा प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् । तर त्यहाँबाट खासै कुनै उपलब्धि नभएपछि परिवारले काठमाडौँ गएर गौशालामा प्रहरीलाई निवेदन दिएका छन् । फ़ोटो सांकेतिक –––

कतै उच्च पदाधिकारीलाई साधनको समस्या, सिंहदरबारभित्र अलपत्र थन्किएका गाडी

काठमाडौं । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बौं मूल्यका गाडी प्रतिदिन बिग्रँदै र थन्किँदै गएका हुन् । सिंहदरबारभित्र विभिन्न मन्त्रालयनजिक तथा सिंहदरबारभित्रकै ग्यारेजमा गरी तीन सयभन्दा बढी गाडी बिग्रिएको अवस्थामा अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीस“ग गरेको छलफल कार्यक्रममा सबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नुपरेका मुख्य समस्यामा गाडीको समस्यासमेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए । प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सयौं गाडी मर्मत गरेर पठाउनेबारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन । प्रधानमन्त्री कार्यालयले केही महिनाअघि बिग्रिएका गाडी मर्मत गर्न सकिने खालका भए मर्मत गरेर प्रयोगमा ल्याउने र मर्मत हुन नसक्नेलाई लिलामी गर्नुपर्ने भन्दै त्यसका लागि कार्यालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा प्रक्रिया अघि बढाएको थियो । सचिव राईले विभिन्न कारणले सो कार्य रोकिए पनि अब त्यस्ता गाडीको अवस्थाबारे खोजतलास गरी आवश्यक प्रक्रिया थालिने जानकारी दिए । प्रधानमन्त्री कार्यालयका सचिव राईले वर्षौंदेखि सयौं गाडी त्यत्तिकै राखिएको स्विकार्दै अब तिनको शीघ्र व्यवस्थापन जरुरी रहेको बताए । गृह मन्त्रालयका अनुसार गृहमा महँगो र बहुमूल्य मानिएको ७ वटा मर्सिडिज वेञ्जकार नै अलपत्र अवस्थामा राखिएको छ । यो गाडीको सुरुको मूल्य हाल २ करोडभन्दा बढी छ । त्यसैगरी, गृहका २० वडा गाडी बिग्रिएर अलपत्र छन् । गृहका अनुसार परराष्ट्र मन्त्रालयका ५० भन्दा बढी महँगा कार नारायणहिटी दरबारभित्र त्यसै थन्क्याएर राखिएको छ भने सिंहदरबारभित्र वन तथा वातावरण, जलस्रोत ऊर्जा तथा सिँचाइ, कृषि विकास, भौतिक मन्त्रालय, अन्य विभिन्न आयोग तथा नियोग र संसद् सचिवालयको नाममा रहेका सयौं गाडीसमेत त्यत्तिकै अलपत्र अवस्थामा राखिँदै आइएको छ । यसैगरी, महँगा खालका मित्सुबिसी, टोयटा, कोरोलाजस्ता सयौँ गाडी सिंहदरबारभित्र बेवारिस छन् । विभिन्न मन्त्रालयको नाममा रहेका ती गाडी बिग्रिनेबित्तिकै सरकारी अधिकारीले राम्ररी मर्मत गर्न छाडेर त्यसलाई त्यसै थन्क्याएर नयाँ गाडी किन्ने गर्दा सामान्य रूपमा बिग्रिएका र काम लाग्ने गाडीसमेत मिल्काउने गरिएको छ । मन्त्रालयका उच्च अधिकारीले ती गाडीलाई मर्मत गर्ने वा लिलाम गरेर राजस्व आम्दानी गराउने प्रयास नगर्दा अर्बौं मूल्यका गाडी खेर जाने अवस्था आएको गृह मन्त्रालयका चालक एसोसिएसन अध्यक्ष ताराप्रसाद आर्यालले जानकारी दिए । ‘अर्बौं मूल्यका गाडी कुहिएर, मक्किएर त्यसै खेर गइरहँदासमेत सरोकारवाला कार्यालय प्रमुख तथा शाखाका कर्मचारीको ध्यान नजानु दुःखद भएको अर्यालको भनाइ छ । गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखा प्रमुख उपसचिव यदुनाथ पौडेलले अर्बौं मूल्यका गाडी बिग्रिएर त्यसै रहेको भए पनि विभिन्न समस्याका कारण ती गाडीको व्यवस्थापनमा कठिन भएको बताए । यद्यपि, अब त्यस्ता सबै गाडीको मर्मत वा लिलाम गर्नुपर्छ भन्ने विषयमा गम्भीर छलफल सुरु भएको र छिट्टै यो विषयमा टुंगोमा पुगिने उपसचिव पौडेलले दाबी गरे । सिंहदरबारभित्र त्यसै थन्क्याएर राखिएका गाडीका पांग्रा, टायर, अन्य मेसिनरी पार्टपुर्जा दिनहुँजसो चोरिने भए पनि त्यो नियन्त्रण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । बिग्रिएर डम्प गरिएका गाडीका महत्वपूर्ण पार्टपुर्जा दुई÷चार महिना नपुग्दै हराउने गरेको कर्मचारी बताउँछन् । कर्मचारीका अनुसार पुराना गाडी मर्मत गर्दा कमिसन नआउने तर त्यसलाई डम्प गरेर नयाँ किन्दा लाखौं कमिसन आउने लोभले कार्यालय प्रमुखहरू गाडी मर्मत गर्नभन्दा पनि नयाँ खरिद गर्ने काममै बढी सक्रिय हुने गरेका छन् । अन्नपूर्णपोष्टबाट

प्रचण्डको प्रेम : गिरिजाबाबुसँग सफल, केपीसँग होला कि नहोला ?

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूबीच भएको प्रेमले देशमा ऐतिहासिक परिवर्तन भएको खुलासा गरे । बुधबार गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा जेपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू र गिरिजाबाबुबीच भएको ‘असाधारण प्रेम’ले नेपालमा ऐतिहासिक परिवर्तन सम्भव भएको अशय व्यक्त गरे । प्रेम शब्द नै सुन्दर छ । घरपरिवारका सदस्य, आफन्त, अन्य सर्वसाधारण व्यक्ति–व्यक्ति, समुदायबीच हुने हरेक प्रेमले अर्थ राख्छ । प्रेमले सधैं सकारात्मक नतिजा नै निकाल्छ । तर, प्रेमले ओगटेको घनत्व अनुसार त्यसको नतिजा फरक–फरक हुन्छ । व्यक्ति–व्यक्तिबीच हुने प्रेमले व्यक्तिगत सौहार्दता कायम गर्छ । तर, राजनीतिमा सक्रिय २ नेताबीच हुने राजनीतिक प्रेमले राष्ट्रिय सौहार्दता र सफलता मिल्ने एउटा उदाहरण प्रचण्ड र गिरिजाबाबुको प्रेम हो । गिरिजाबाबुले ७ राजनीतिक दल र प्रचण्डले विद्रोही पक्षको नेतृत्व गरेर शान्ति प्रक्रियाको सुरुवात गरेका हुन् । मुलुक द्वन्द्वरत अवस्थामा रहेका बेला प्रचण्ड र गिरिजाबाबुबीच विश्वास र प्रेम नभएको भए शान्तिसम्झौता सम्भव थिएन । गिरिजाबाबुले ७ राजनीतिक दल र प्रचण्डले विद्रोही पक्षको नेतृत्व गरेर शान्ति प्रक्रियाको सुरुवात गरेका हुन् । जसको फलस्वरुप मुलुकमा राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक सहभागिता, धर्मनिरपेक्षता लगायतका उपलब्धी प्राप्त भएका छन् । हरेक नेपालीको छोराछोरा आफ्नो र देशको भविष्य आफैं निर्माण गर्न देशको सर्वोच्च पदमा पुग्न सक्ने व्यवस्था प्रचण्ड र गिरिजाबाबुकै राजनीतिक प्रेमको परिणाम हो । शान्ति सम्झौता, गणतन्त्र घोषणा, सेना समायोजन, संविधानसभा निर्वाचन, संविधान घोषणा हुँदै अहिले मुलुक संघीयता कार्यान्वयनको चरणमा छ । राजनीतिक अधिकार प्राप्तिका लागि सशस्त्र संघर्ष र आन्दोलन गर्नुपर्ने युगको समाप्तिसँगै अब आर्थिक समृद्धिको बाटोमा देश अगाडि बढेको छ । पछिल्ला राजनीतिक उपलब्धी प्राप्त गर्न गिरिजाबाबु र प्रचण्डको प्रेम जोडीले काम गरेको थियो । जुन जोडीलाई सफल मान्न सकिन्छ । सहमति, सहकार्य र एकताको मूलमन्त्रलाई आत्मसाथ गर्दै राजनीतिमा अगाडि बढेको प्रेम जोडीकै मार्गनिर्देश बमोजिम मूलधारको राजनीति अगाडि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनुअघि बनेको वाम गठबन्धन र एउटै कम्यूनिस्ट पार्टी निर्माणको प्रक्रियाले समाजवादी क्रान्ति पूरा हुने विश्वास जागेको छ । जुन विश्वास पूरा गर्ने दायित्व प्रचण्ड र केपी शर्मा ओलीको नयाँ राजनीतिक जोडीको काँधमा आएको छ । संविधान घोषणापछि संघीयता कार्यान्वयन गरेर जनताको घरदैलोमा उज्यालो पुर्याउने चरण सुरु भइसकेको अवस्थामा समाजवादी क्रान्ति मुख्य राजनीतिक कार्यभार बनेको छ । जसका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धि नयाँ राजनीतिक मुद्दाका रुपमा उदाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनुअघि बनेको वाम गठबन्धन र एउटै कम्यूनिस्ट पार्टी निर्माणको प्रक्रियाले समाजवादी क्रान्ति पूरा हुने विश्वास जागेको छ । जुन विश्वास पूरा गर्ने दायित्व प्रचण्ड र केपी शर्मा ओलीको नयाँ राजनीतिक जोडीको काँधमा आएको छ । गिरिजा–प्रचण्ड जोडीजस्तै प्रचण्ड–केपी जोडीमा पनि प्रेम जागृत होला रु त्यो प्रेम सफल होला रु यी प्रश्नको उत्तरसँग नेपालको भविष्य जोडिएको छ । तर, प्रश्नको उत्तर भविष्यको इतिहासले दिनेछ । अहिलेको आवश्यकता र जनचाहना प्रचण्ड–केपी जोडी पनि प्रेममा सफल हुनुपर्छ भन्ने नै हो । दुबै नेताबीचको सम्बन्धको अर्थ दुई व्यक्तिबीच मात्रै सीमित छैन । २ नेताबीच हुने सम्बन्ध र सौहार्दताले सबै नेपाली जनताको भविष्य र सपना पूरा हुने/नहुने निर्धारण गर्नेछ । प्रचण्ड र केपीबीच प्रेम भइसकेको हो भने नेपाल समृद्धिको बाटोमा अगाडि बढ्ने निश्चित छ । तर, हिन्दू धार्मिक ग्रन्थमा माया र प्रेमलाई विपरित शब्दका रुपमा चित्रण गरिएको छ । धर्मग्रन्थ गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै भनेका छन्– माया, मोह, लोभ, क्रोश र अहंकार त्याग गर । अनि, त्यही ग्रन्धमा भनिएको छ– संसारका सबै प्राणीलाई प्रेम गर । सामान्य बुझाइमा हामी प्रेम र मायालाई उस्ताउस्तै ठान्छौं । प्रेम नै माया हो र माया नै प्रेम हो भन्ने सोच्छौं । तर, हिन्दू धार्मिक ग्रन्थमा माया र प्रेमलाई विपरित शब्दका रुपमा चित्रण गरिएको छ । धर्मग्रन्थ गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै भनेका छन्– माया, मोह, लोभ, क्रोश र अहंकार त्याग गर । अनि, त्यही ग्रन्धमा भनिएको छ– संसारका सबै प्राणीलाई प्रेम गर । ग्रन्थ अनुसार माया त्याग्नुपर्ने र प्रेम गर्नुपर्ने विषय रहेछ । मायामा स्वार्थ हुन्छ, प्रेम निःस्वार्थ हुन्छ । प्रचण्ड–केपीबीच हाल भएको सहकार्य माया हो कि प्रेम ? आगामी क्रियाकलापले यो प्रश्नको उत्तर दिँदै जानेछ । तर, देश र जनताको हित र उन्नतिका लागि प्रचण्ड–केपी जोडीबीच प्रेम हुनु अपरिहार्य छ । सँगसँगै प्रेमलाई भड्काउन खोज्ने र डाहा गर्ने व्यक्ति र प्रवृत्तिबाट समेत दुबै नेता सचेत हुनुपर्छ ।    

माओवादी नेतामाथि नैतिकताको प्रश्न ,सेनाका ‘विद्रोही’ झलकुमारको रिट खारेज

काठमाडौं, चैत ५ । नेपाली सेनाको पोशाक र हतियारसहित माओवादीमा प्रवेश गरेका झलकुमारलाई स्वागत गर्दै जनमुक्ति सेनाका एक कमाण्डर । ५ चैत, काठमाडौं । जनयुद्धकालमा नेपाली सेनाबाट भागेर अत्याधुनिक हतियारसहित माओवादीमा प्रवेश गरेका झलकुमार भगतको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तत्कालीन शाही सेनाको विष्णु दलबाट हतियारसहित भागेर माओवादीको तत्कालीन जनमुक्ति सेनामा प्रवेश गरेका झलकुमार करिब १० वर्षपछि अर्थात् ८ मंसिर २०७४ मा मोरङस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । उनलाई सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । भगत गत पुस दोस्रो सातादेखि केन्द्रीय कारागार जनगन्नाथदेवलमा सजायँ भुक्तान गरिरहेका छन् । झलकुमारका दाजु नन्दुलालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिट उपर न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासमा आइतबार सुनवाइ भएको थियो । तर, रिटलाई सर्वोच्चले खारेज गरिदिएको छ । ‘माओवादी नेतामाथि नैतिकताको प्रश्न उठ्यो’ बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, मुक्तिप्रधान, रमणकुमार श्रेष्ठ, तुलसी भट्ट, एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, दीनमणि पोखरेल, डा. पुन्यप्रसाद खतिवडा, कान्तिराम ढुङ्गानालगायतले बहस गरेका थिए । रिट खारेज गर्ने सर्वोच्चको फैसलाले जनयुद्धमा सामेल भएका सबैलाई मुद्दा चलाउँदै थुनामा राख्ने बाटो खोलिदिएको भगतको पक्षमा वकालत गर्नेहरुले टिप्पणी गरेका छन् । अधिवक्ता एकराज भण्डारीले भने, ‘यो फैसलाले एकातिर २०१६ सालको राजा सर्वोच्च कमाण्डर भएको सैनिक ऐनलाई ब्युँत्याएको छ भने अर्कातिर बिस्तृत शान्ति सम्झौतासमेतलाई इन्कार गरेको छ । यसले सत्तारोहण गरेका प्रचण्ड, जनमुक्ति सेनाका उच्च तहमा रहेका पूर्वकमाण्डर र अहिलेका उपराष्ट्रपतिसमेतमा नैतिकताको प्रश्न उठाएको छ ।’ को हुन् झलकुमार भगत ? ८ साउन २०६२ मा तत्कालीन शाही नेपाली सेनाको विष्णु दल गुल्मबाट गलिल, इन्सास राइफल, त्यसमा लाग्ने म्यागेजिन र हृयाण्ड ग्रिनेटसहित झलकुमार तत्कालीन माओवादी जनमुक्ति सेनामा प्रवेश गरेका थिए । उनलाई २०७४ साल मंसिर ८ गते राति मोरङको सिद्राहस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई सेनाको पूर्वी पृतनाको जिम्मा लगाइएको थियो । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमा राखेर काठमाडौं ल्याएर भद्रकालीस्थित सैनिक प्रहरी गण भद्रकाली हिरासतमा राखिएको थियो । दाजु नन्दुलाल थारु भगतले सर्वोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि सर्वोच्च अदालतबाट बन्दिसहित ३ दिनभित्र उपस्थित हुन विपक्षीहरुका नाममा आदेश जारी भएको थियो । यसबीचमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि उनी २०७४ पुसदेखि केन्द्रीय कारागार जनगन्नाथदेवल सजायँ काटिरहेका छन् । भगतका ९ र ३ वर्षीय छोराहरु वृद्ध हजुरबुवासँग बस्दै आएका छन् भने श्रीमती वैदेशिक रोजगारीमा छिन् । ९ वर्षीय छोरा रक्त क्यान्सरबाट पीडित रहेको उनको पारिवारिक स्रोतले बतायो ।

प्रचण्ड सांस्कृतिक प्रतिरोध दिवसमा अायाेजित कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, चैत ५ । सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा राजधानीमा बिशेष कार्यक्रम हुँदैछ । जनसांस्कृतिक महासंघ, नेपालले पूर्व प्रधानमन्त्री एवं ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमूख आतिथ्यतामा राष्टिय सभागृह, काठमाडौंमा दिउँसाे १ बजे स्रष्टा सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेकाे छ ।

बाटो खुलेको बीस वर्षपछि मोहनचोकदेखि मल्लाज जोड्ने सडकमा स्तरोन्नति

म्याग्दी । बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ । बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम शुरु भएको ४ नं वडाध्यक्ष भीष्म मल्लले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकिलो बनाउनाका साथै नालीसमेत निर्माण गरिने अध्यक्ष मल्लले बताउनुभयो । “ग्याबिन र पक्की पर्खाल निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो । उपभोक्ता समितिमार्फत दुई कार्यक्रमबाट सडक स्तरोन्नति आयोजना सञ्चालन हुनेछ । विसं २०५४ मा बाटो खुलेको मोहनचोक मल्लाज सडक सामान्य मर्मतका भरमा सञ्चालन हँुदै आएको थियो । सो आयोजनाबाट जलजला गाउँपालिका वडा नं १, २, ३, ४ र ५ नंमा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका साथै अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव नवीन जिसीले बताउनुभयो । यसैगरी जलजला– ४ को पाल्सिङदेखि खोलाखेत जोड्ने एक किमी १०० मि सडकको बाटो खोल्ने काम सकिएको छ । चार नं वडाकै फड्केढुंगा पिडाल्ना हँुदै लेकफाँट रात्माता जोड्ने सडकको अरजेटको भीरमा बाटो खन्ने काम भइरहेको छ । सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्कीले बताउनुभयो । जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गाउँपालिकाले बजेट विनियोजन गरेका ३० मध्ये २९ योजनाको सम्झौता भइसकेको जानकारी दिनुभयो । आठ र ९ नं वडामै पुगेर योजना सम्झौता गरिएको जानकारी दिँदै उहाँले अन्य वडाका योजनासमेत कार्यान्वनको चरणमा रहेको बताउनुभयो । असी प्रतिशत योजना सम्झौता भएको छ । चालु आवमा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि करीव रु १२ करोड ९५ लाख बजेट विनियोजन भएकामा नौ महिनाका अवधिमा पूँजीगततर्फको ३५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । बेनी अस्पतालको उपचार कक्ष भवन सदरमुकाममा रहेको बेनी अस्पतालमा करीव रु एक करोडको लागतमा २६ शय्या क्षमताको उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिको रु ८७ लाखको लागतमा अन्तरंग विभागको भवन निर्माण भएको हो । पचास शय्या क्षमताको नयाँ भवन निर्माणका लागि अस्पतालको अन्तरंग विभागको पुरानो भवन भत्काइएको थियो । अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले करीव छ महिनादेखि जनस्वास्थ्य कार्यालयको भूइँतलाबाट सञ्चालन हुदै आएको अन्तरंग विभागलाई शुक्रबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको बताउनुभयो । मन्त्रालयको रु ७३ लाख र अस्पतालको रु १४ लाखकोे लगानीमा निर्माण भएको एक एकतले पक्की भवनमा २६ शय्या छन् । अन्तरंग, शल्यक्रिया, प्रसूति, गर्भपतन, सुत्केरी र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै कोठामा शय्याको व्यवस्था गरिएको अस्पतालका निमित्त प्रमुख डा विराट् शर्माले बताउनुभयो। नयाँ भवन बनेपछि काम गर्न सजिलो र बिरामीलाई सहज रुपमा उपचार सेवा दिन सकिने डा शर्माले बताउनुभयो । बेनी अस्पतालमा गत मंसिरदेखि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत करीव रु १८ करोड ८४ लाखको लागतमा पचास शय्या क्षमताको भवन निर्माण शुरु भएको थियो। रासस

चितवनमा पनि सक्रिय नेकपा, माग्यो महानगर प्रमुख रेणु दाहालको राजीनामा

चितवन, चैत्र ३ । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको जिल्ला जनपरिषद चितवनले भरतपुर महानगर पालिकाका प्रमुख रेणु दाहालसहित सबै जनप्रतिनिधिलाई राजीनामा दिन पत्र पठाएको छ । जिल्ला जनपरिषद् प्रमुख नवराज पौडेलद्वारा हस्ताक्षर गरिएको पत्र शुक्रबार चितवनका सबै स्थानीय तहका जनप्रतिनिधिकहाँ पठाइएको नेकपाले जनाएको छ । खर्चिलो चुनाव प्रणाली र सत्तारुढ दल विदेशी शक्तिको गोटी बनेको आरोप लगाउदै यस्तो सरकार र जनप्रतिनिधिले जनजीवीका सवालमा काम गर्न नसक्ने दावी गर्दै राजीनामा दिएर जनपरिषद्लाई सहयोग गर्न पनि पत्रमा भनिएको छ । महानगर प्रमुख रेणु दाहालले शुक्रबार मात्रै प्रदेश नम्बर ३ को उत्कृष्ट महानगरपालिकाको पुरस्कार थापेकी थिइन । महानगरको प्रमुख भएपछि एकपछि अर्को गर्दै उत्कृष्ट कार्य गर्दै आएकी दाहालको नेकपाको जिल्ला जनपरिषदले राजीनामा मागेपछि भरतपुर बासी अचम्भित भएका छन् ।

जागरणदेखि बुद्ध वल्र्ड रेकर्ड अभियानसम्म – धीरज राई

काठमाडौं, चैत २ । हाम्रो दुर्भाग्य प्राविधिक ज्ञानको अभाव, भिडको अत्यधिक चाप र आगन्तुकलाई नियन्त्रण गर्न नसक्दा सही तत्यांक दुरुस्त संकलन गर्न सकेनौँ । धीरज राई विशेषगरी नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । गायनयात्राका तमाम उतारचढाव पार गरेका राईका सेक इट सेक इट, बुद्ध वाज बर्न इन नेपाल, तिम्रा नयन तिम्रा अधर जस्ता गीत हिट छन् । आर्किटेक्चरमा इन्जिनियरिङ र अंग्रेजी साहित्यमा डिग्री गरेका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा गौत्तम बुद्ध नेपालमा जन्मिएको लेखाउने अभियानमा सक्रिय रहे । जुन अभियानले गत फागुन् १९ गते काठमाडौंको टुंडिखेलमा विशाल आकार लियो । राईकै शब्दमा उनको संगीतयात्रा र बुद्ध अधायनको अनुभव आजको नयाँ पत्रिकामा छ ।

सुरक्षा संयन्त्रलाई चनाखो रहन मूख्यमन्त्री भट्टको निर्देशन

धनगढी, चेत्र १ । प्रदेश नं ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशस्थित सुरक्षा संयन्त्रका प्रमुखहरुसंग पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । बिहीबार बिहान काठमाडौंबाट फर्किए लगत्तै मुख्यमन्त्री भट्टले सुरक्षा निकायका प्रमुखलाई कार्यकक्षमै बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन । तराईका जिल्लाहरुमा दिन प्रतिदिन सुरक्षा चुनौति थपिएपछि मुख्यमन्त्री भट्टले सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिए। जनताको सुरक्षा प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै उनले सुशासन र शान्ति सुरक्षा कायम गर्न सुरक्षा संयन्त्रलाई चनाखो भइ काम गर्न समेत निर्देशन दिए । अपरान्ह प्रदेश प्रहरी कार्यालयका प्रमुख एआइजी माधव नेपाल, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख श्याम कोइराला, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिनोद घिमिरेलाई मुख्यमन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन । सुरक्षा अधिकारीहरुले मूख्यमन्त्री भट्टलाई पछिल्लो सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्र परिचालन गरिएको बताए ।

स्थानीय तहमा थप ७५ अर्ब बजेट निकासा

काठमाडौं । नेपाल सरकारले चालु आवका लागि छुट्याइएको रकममध्ये तेस्रो तथा अन्तिम किस्ताको ७५ अर्ब रुपैयाँ बिहीबार स्थानीय तहको सञ्चित कोषमा पठाउने भएको छ । सबै स्थानीय तहको सञ्चित खाता वाणिज्य बैंकहरुमा रहेकाले यो रकम निकासा भएपछि वाणिज्य बैंकहरुले समेत राहत महसुस गर्ने भएका छन् । चालू आर्थिक वर्ष २०७४–७५ को बजेटमार्फत स्थानीय तहका लागि छुट्याइएको समानीकरण अनुदान र शसर्त अनुदानमध्ये उक्त रकम पठाउन लागेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जून प्रसाद पोखरलले जानकारी दिए । तेस्रो किस्ता बापतको ७५ अर्ब रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयलाई अख्तियारी दिइसकेको पोखरलले बताए । सरकारले ७ सय ५३ वटा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा समानीकरण अनुदान अन्तर्गत एक खर्ब ४८ अर्ब ६३ करोड र सशर्त अनुदान ७६ अर्ब ४१ करोड रुपैयाँ गरि दुई खर्ब २५ अर्ब रुपैयाँ छुट्याइएको छ । ७५ अर्ब रुपैयाँका दरले यसअघि दुई किस्तामा गरेर एक खर्ब ५० अर्ब रकम निकासा भईसकेको छ । बिहीबार नेपाल सरकारले तेस्रो तथा अन्तिम किस्ताको रकम निकासा गर्न लागेको हो । स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारको आम्दानी सञ्चित खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । उक्त खाता नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा रहेका छन् । जसले गर्दा तरलताको अभाव खेपिरहेको वाणिज्य बैंकहरुलाई केही राहात मिल्ने भएको छ । यसले बैंकहरुको निक्षेपमा समेत टेवा पुर्याउने छ । स्थानीय तहले केन्द्रबाट प्राप्त गर्ने बजेट खर्च गर्न नसकेपनि त्यो बजेट फेरि केन्द्र सरकारको खातामा फर्काउन नमिल्ने र बैंककै खातामा रहने हुँदा निक्षेप बढाउन प्रयासरत बैंकहरुलाई भने केही राहात मिल्ने देखिएको छ । सरकारले यसअघि दुई पटक गरेर स्थानीय तहमा पठाएको एक खर्ब ५० अर्ब रकममध्ये पचास प्रतिशत भन्दा बढी रकम बैंक खातामा नै थुप्रिएको अवस्था छ। मेरोलगानीबाट साभार

बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतिमाथि निर्घात कुटपिट

महेन्द्रनगर । आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवति सोनी चन्दमाथि निर्घात कुटपिट गरिएको छ । आज बिहान १० बजे सोनीकै घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ । राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको सोनीका आफन्तले बताएका छन् । सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ । घरमा रहेकी आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएको जनाइएको छ । घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए । सोनीमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

संसद भवनमा राष्ट्रपति निर्वाचन, फोटोफिचर

काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ । ???????????????????????????????????? मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुभएको थियो । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ । निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् ।