पञ्चायतकालमा छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, पुस २८ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पचायतकालमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्न निर्णय गरेको हो ।

२०३६ कार्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला ३८ वर्षपछि सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

कृष्ण थापाद्वारा एन्फाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, पुुस २० । राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिनापछि हुने एन्फाको निर्वाचनका लागि थापाले हिजो पोखराबाट उम्मेदवारी घोषणा गरेका हुन् । एन्फाको प्राविधिक निर्देशकको समेत अनुभव बटुलिसकेका थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वरिष्ठ फुटबल प्रशिक्षकबाट दुई वर्षअघि अवकास पाएका थिए । सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले फुटबल विकासका लागि सातवटै प्रदेशमा फुटवल एकेडेमी आवश्यक रहेको बताएका छन् । अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सक्न जिल्ला संघहरुलाई निर्देशन दिएको थियो । १७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ ।

समायोजन प्रक्रिया शुरु नहुँदै कर्मचारीले सरुवाका लागि निवेदन

काठमाडौँ, पुुस १२ । कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन्। सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई आह्वान गरेर समायोजन गर्ने जनाएको छ । केही कर्मचारीले अहिले नै सरुवा माग गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । “हामीले नियमावली जारी गरिसकेपछि औपचारिकरुपमा कर्मचारी समायोजन गर्दा तीन तहमा कर्मचारी पठाउँछौँ” उहाँले भन्नुभयो, “तर केही कर्मचारीले भने आफूलाई पायक पर्ने भन्दै सरुवाका लागि निवेदन दिएका छन् ।” उहाँका अनुसार अहिले प्रदेश तहमा जानका लागि १५ जनाको निवेदन आएको छ । कर्मचारीलाई समायोजन गर्दा कार्यरत पदको ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना वा नागरिकताको आधारमा गर्ने व्यवस्था गरिएको छ । नियमावली आइसकेपछि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा कुन तहमा कति कर्मचारी चाहिन्छ भनेपछि मात्र समायोजनको प्रक्रिया हुनेछ ।

स्वास्थ्य चौकीलाई जग्गादान

म्याग्दी, पुस २ (रासस) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारका बासिन्दाले स्वास्थ्य चौकीलाई रु १० लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन्। साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि स्थानीयवासीले दान र आर्थिक सहयोग जुटाएर जग्गाको व्यवस्था गरेका हुन् । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठगराज बरुवालले बुबा अमरबहादुरको नाममा एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । यसैगरी स्थानीयस्तरमा रु आठ लाख जुटाएर दुई रोपनी नौ आना जग्गा खरिद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताउनुभयो । घारको निमरुख भन्ने ठाउँमा स्थानीयले उपलब्ध गराएको चार रोपनी एक आना क्षेत्रफल जग्गामा नयाँ भवन निर्माणको काम शुरु भएको छ । सो जग्गाको मूल्य स्थानीय बजारभाउअनुसार रु १० लाखभन्दा बढी पर्ने जनाइएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत स्वास्थ्य चौकीको भवन निर्माण शुरु गरेको छ । निर्माण कम्पनीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । पन्ध्र श्यया क्षमता बराबरको दुईतले भवन निर्माणका लागि रु एक करोड ५६ लाखको इस्टिमेट गरिएको छ । विसं २०७५ जेठ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हाल घारस्थित गाउँ संरक्षण व्यवस्थापन समितिले उपलब्ध गराएको एउटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । बिरामीको स्वास्थ्य परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट गर्नुपर्दा समस्या भएको छ । आवश्यक पूर्वाधारको अभावमा सेवा प्रवाहमा कठिनाइ भएको छ । यसैबीच घार स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको छ । काठमाडौं मोडल अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसिन सेवा सञ्चालनका लागि पूर्वाधार जुटाउन पहल थालिएको व्यवस्थापन समितिका अध्यक्ष बरुवालले बताउनुभयो ।

बिग बोसः यो हप्ता घरबाट बाहिर हुनसक्छ हितेन तेजवानी !

पुस १ । हिन्दी च्यानल कलर्सबाट प्रसारण हुँदै रियालिटी शो ‘बिग बोस’ अब अझै रोमाञ्चक हुने भएको छ । पछिल्लो हप्ता घरबाट कुनै सदस्य घरबाट बाहिर भएको थिएन । यो हप्ता भने घरबाट बाहिर हुनको लागि हितेन तेजावनी, शिल्पा शिन्दे, प्रियांक शर्मा र लभ त्यागी नोमिनेट भएको छ । जब नामको घोषणा भएको थयो, तब धेरै व्यक्तिहरुलाई यही लाग्यो कि लव बाहिर जान्छ तर सबैलाई हैरान गर्ने हितेनलाई बिग बोसका घर छोड्नुपर्ने छ । बलिउड लाइफकी एक रिपोर्ट अनुसार– ‘घरभित्र रहनका लागि लव त्यागीले हितेनलाई पछि छोडिदिएको थियो । अब घरभित्र शिल्पा सिन्दे, विकास गुप्ता, अर्शी खान, प्रियांक शर्मा, पुनिश शर्मा, आकाश ददलानी र हिना खान बचेका छन् । शिल्पालाई दर्शकहरुबाट सबैभन्दा बढी भोट पाएकी छिन् । यसपछि लव र प्रियांकका नम्बर आउने छ । त्यही टिभीको आदर्श छोरा हितेन तेजवानीको सबैभन्दा कम भोट पाएको छ । जसको कारण यो हप्ता उनले घरबाट बाहिर हुनुपर्ने छ । हालैको एपिसोडमा देखाएका छन् कि कसरी लव आफ्नो साथी हिना र प्रियांकविरुद्ध जाने छ, जो उसलाई रियालिटी शोका सबैभन्दा अयोग्य प्रतियोगी बताउने गरेको छ । यसको अलावा लग्जरी बजेट करमा महिला बनेर सबैलाई धेरै नै हँसाएका थिए ।

समानुपातिकको मतगणना सकियो, पाँच पार्टीले पाए राष्ट्रिय दलको मान्यता

काठमाडौं, पुस १ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७ सय ७१ मत पाएको छ । यस्तै संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ७१, राजपाले ४ लाख ४७ हजार ५ सय २९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ४ सय ९३, राप्रपाले १ लाख ९३ हजार ८ सय ७२, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४ सय ८१, नयाँ शक्ति पार्टीले ८० हजार ६ सय ९३ र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत पाएका छन् । अरु दलले ३ लाख ४७ हजार ६ सय ८५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । योसँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ । सो अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन् । अरु दलले ३ प्रतिशत मत कटाउन नसके पछि उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् ।

२९ विदेशीसहित १३४९ विद्यार्थी दीक्षित

धुलिखेल, मंसिर २९ । काठमाडौ‌ विश्वविद्यालयको शुक्रबार आयोजित २३ औं दीक्षान्त समारोहमा विभिन्न तहका एक हजार ३४९ विद्यार्थी दीक्षित भएका छन् । तीमध्ये ११ देशका २९ विदेशी विद्यार्थी छन् । दीक्षित हुनेमा विद्यावारिधिमा २१, दर्शनाचार्य (एमफिल)मा ५१, एमइमा २५, मास्टर इन फार्मेसी, मास्टर इन टेक्नोलोजी एमएस्सीमा ४५, मास्टर इन बिजनेस एडमिनिस्टे«शन र इएमबिएमा १०९ तथा एमए र एमइडीमा १२७ जना गरी स्नातकोत्तर तहमा ३८८ छन् । त्यस्तै बिइमा २२७, बिफार्मेसी, बिएस्सी र बिटेकमा १८८, बिबिए, बिबिआइएस र बिएचटिएममा ३५० र अन्य विषयमा स्नातक गरी १९६ जना स्नातक विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयबाट हालसम्ममा स्कुल अफ मेडिकल साइन्समा १२ हजार २३६ , स्कुल अफ इञ्जिनीयरिङमा दुई हजार ९२८, स्कुल अफ साइन्सबाट दुई हजार ५९० , स्कुल अफ एजुकेशनबाट एक हजार ३९, स्कुल अफ आर्टस्बाट दुई हजार ९७ र स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ९८३ जना स्नातक दीक्षित गराइसकिएको छ । हालसम्म २५ हजार ८७३ जना स्नातक गरेका विद्यार्थी उत्पादन भइसकेका छन् । धुलिखेलमा आयोजित समारोहमा विश्वविद्यालयका सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थी राष्ट्र निर्माणका काममा लाग्ने विश्वास व्यक्त गरे । उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले विपन्न परिवारमा जन्मेका अधिकांश व्यक्तिले कहिल्यै विश्वविद्यालय देख्न पाउने अवस्था नरहेकाले यस्तो अवस्थालाई सरकार र समाजको सहयोग लिएर बदल्नुपर्ने बताए ।

बसको ठक्करबाट बालकको मृत्यु

भापा, मंसिर १९ । मंगलबार झापामा यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नं बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका आठ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीव्र गतिमा आएको बसले पैदलयात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एका बिहानै प्रचण्डकाे चुनावी अभियानमा कांग्रेसका दर्जनाैं युवा बुद्धिजीवी प्रवेश

चितवन, मंसिर १५ ।  एका बिहानै प्रचण्डकाे चुनावी अभियानमा कांग्रेसका दर्जनाैं युवा बुद्धिजीवी प्रवेश गरेका छन् । शुक्रवार  ति सबैलार्इ माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर स्वागत गरे । हेराैँ भिडियाे 

यस्तो छ ‘अफिसर’को फष्टलुक सार्वजनिक

मङ्सिर ५ ।  उपेन्द्र तिमिल्सिना निर्देशित चलचित्र ‘अफिसर’ प्रदर्शनको लागि तयार भएको छ । सम्पुर्ण प्राबिधिक कार्य सकाएर चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने तारतम्य मिलाउन आफु लागि परेको प्रस्तुतकर्ता निरन्जन शर्माले बताए । प्रचार प्रसारको सुरुवात भदै अहिले निर्माण युनिटले चलचित्रको फष्टलुक सार्वजनिक गरेको छ । पोष्टरका फरक फरक दुई डिजाइन फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पोष्टरमा नव–अभिनेता निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल देखिएका छन् । त्यस्तै निर्माण युनिटले फष्टलुकसँगै ट्रेलर समेत सार्वजनिक गरेको छ । ट्रेलरमा चलचित्रको महत्वपुर्ण केही अंस राखिएका छन् । ट्रेलर हेर्दा चलचित्र एक्सन र प्रेमकथाको बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ । नव–अभिनेता निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको अभिनय रहेको चलचित्रको छिट्टै सार्वजनिक मितितय गरिने प्रस्तुतकर्ता समेत रहेको अभिनेता शर्माले बताए । शशी बिक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् ।  

कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना

काठमाडौं, मंसिर ५ । छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सोमबार राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छातीरोग विशेषज्ञ डा.सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । निधि सोमबार अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी सोमबार नै काठमाडौं आएका थिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।

मलार्इ संविधान बनाउन जाजरकोटी जनताले पठाएको होः गृहमन्त्री बस्नेत

जाजरकोट, मंसिर ४ । जनताले दिएको जिम्मेवारी पूरा गरेको पुर्व गृहमन्त्री शक्ति वस्नेतले वताएका छन् । मलाई संविधान वनाउन जाजरकोटी जनताले पठाउनुभएको थियो मैले त्यो पूरा गरे उहाले भन्नुभयो । अब समाज परिवर्तनको मुख्य दायित्व मेरो काधमा आएकोले त्यो पूरा गर्न म दैनिक लागिरहेको वस्नेतले वताउनुभयो । भुर, पुन्मा र जगतिपुरमा जनताको माग पूरा गरेका वस्नेतले आज स्याउलिवजारमा चुनावि सभामा वोल्दै यस्तो वताएका हुन् । जाजरकोट परिवर्तन को जिम्मेवारी जनताले चाहे जस्तै गरि हुने उहाँले वताउनुभयो । दुई तिहाईको वामपन्थी सरकार वन्ने सुनौलो अवसर केही दिन मात्र वाकि रहेको उहाले दाबी गर्नुभयो । पाच वर्षपछि काङ्ग्रेसभित्र उम्मेदवार को लागि तानातान नहुने भन्दै उहाले अब देशमा नया युगको सुरुवात भएको वताउनुभयो । जाजरकोट अस्पताल मा अब ६ महिनाभित्र स्टाप नर्स, हेल्थ असिस्टेन्ट पढाई सुरु हुने वताउनुभयो । भारत र चिन जोड्ने सडक जाजरकोट वाट हुँदै निर्माण हुन लागेकाले हामी अब मुल्यवान जिल्ला का नागरिक हुन लागेको उहाँले वताउनुभयो ।    

जिसस महोत्तरीको निर्वाचन आज हुँदै

गौशाला, कात्तिक २९ । जिल्ला समन्वय समिति, महोत्तरीको निर्वाचन आज हुने भएको छ । जिल्लास्थित मुख्य निर्वाचनको कार्यालयका अनुसार जिसस महोत्तरीको निर्वाचन आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रम रहेको छ । नौ सदस्यीय समिति बनाउन जिसस महोत्तरीमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस महोत्तरीको अध्यक्ष पदमा राजपा नेपालबाट सुरेश सिंह, नेपाली काँग्रेसबाट कालिकान्त झा र नेकपा माओवादी केन्द्रबाट सूर्यनारायण साह गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, खुल्ला सदस्यमा आठजना, महिला सदस्यमा पाँचजना र दलित वा अल्पसंख्यकबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरी जिसस निर्वाचनमा नौ पदका लागि १० नगरपालिका र पाँच गाउँपालिकाका गरी जम्मा ३० जना मतदाताले भोट खसाल्नेछन् ।

‘मिस टुरिजम २०१७’ को उपाधि हात पार्न सफल भईन् आरती

काठमाडौं, कार्तिक २५ । ‘मिस टुरिजम २०१७’ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । शुक्रबार भएको फाइनलमा नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेका अबको दश वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम २०१७ को उपाधि जितेकी हुन् । थापाले मिस पब्लिक च्वाईसको उपाधि पनि पाईन् । थापालाई मिस टुरिजम २०१६ ओरुसा थापाले ताज लगाईदिइन् भने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, अर्थ बाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा र प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नगद पचास हजारसहितका पुरस्कार हस्तान्तरण गरे । त्यसैगरी मिस पर्सनालिटी र मिस स्माईलसहित मिस टुरिजम फस्ट रनर अपको उपाधि काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन् । त्यस्तै मिस फिगर र मिस फोटोजेनिक सहित सेकेण्ड रनर अपरको उपाधी एन्जि लामाले जितिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः नगद तीस र बीस हजार प्राप्त गरेका छन् भने मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस ईन्टेलिजेन्ट सुजाता लामा, मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन् । कार्यक्रममा बोल्दै मिस टुरिजम २०१७ को आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गरिएको बताए । फाईनलमा निर्णायकको भूमिकामा नाट्टाका अध्यक्ष मधुसुदन आचार्य, भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडा, पूर्वमिस नेपाल सुगरिका केसी, नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र पर्यटनविद् लेखनाथ भण्डारी रहेका थिए ।  

देवेन्द्र पौडेल विकासवादी पार्टीको इमानदार सिपाही : दीनानाथ शर्मा

वागलुङ, कात्तिक २४ । नेकपा माओवादी केन्दका नेता दीनानाथ शर्माले वागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका वाम उम्मेदवार देवेन्द्र पौडेल विकासवादी पार्टीको इमानदार सिपाही भएको वताएका छन । संयुक्त वाम गठबन्धनले शुक्रबार बुर्तिवाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता शमाले भने, ‘उहाँ देशको समृद्धि र स्थायी सरकार सञ्चालनका लागि बाम गठबन्धनका साथ निर्वाचनमा होमिनु भएको छ । तपाईहरुले अत्यधिक मतले विजयी यगराउनु हुने नै छ ।’ शर्माले देश भर टुटफुटको राजनीतिमा छितरिएका बामपार्टी समय सन्दर्भ र जनताको माग अनुसार एक ठाउँमा आएको बताउदै अब एक हुनुको बिकल्प नभएको बताए । उनले देशको विकाशका वामपन्थी शक्तिले मात्रै गर्ने सक्ने बताउदै बुढो रुखले छाहारी दिन नसक्ने बताए । वाम शक्ति दुई तिहाई बहुमतका साथ जनताको चाहना अनुसारको स्थायी सरकार निर्माणका लागि आतुर रहेको शर्माले दावी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता शर्माले यो देशका ६५ प्रतिशत बाम जनमत रहेको ठाउँमा ३५ प्रतिशत मत रहेको काँग्रेसले राजकाज चलाएर राज्यको यो हाल बनाएको आफूहरुले नजिकबाट महसुस गरेको बताए । नेता शर्माले हिजो टुटफुट र तितरवितर भएका शक्ति अव एकवद्ध भएपछि राज्य लुटको राजनीति र अस्थिरताको फाइदा उठाउने शत्तिहरु हार्ने र जनताको जनजीविकाको लागि बलिदानीपूर्ण आन्दोलनमा होमिएर जनताको राजनीति गरेका बामपार्टीहरु देशको बागडोर हातमा लिन तयार भएको दावी गरे । यस्तै कार्यक्रममा विशिष्ट अतिथि एवं नेकपा एमाले प्रदेश नं. ४ का ईञ्चार्ज गणेश तिमिल्सिनाले, देशभर विभिन्न विचार समुह खडा गरेर कम्युनिष्ट राज्य व्यवस्था बनाउने भन्दै छरिएका पार्टीहरु अव एकतावद्ध भएर देश र जनताको आसा र अभिलासाका पात्र भएर देखाउने दावी गरे । यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुँगानाले, बामगठबन्धन भएको खवरले काँग्रेस अतालिएको र चुनावी सभामा बरबराउन थालेको टिप्पणी गरे । नेता ढुँगानाले देशको प्रधानमन्त्री जस्तो व्यक्ति र आजसम्म राजकाज चलाएको पार्टी काँग्रेसका सभापतिले चुनावी खुराक अरु केही नभएर कम्युनिष्टहरु अव जनतालाई रुन पनि दिंदैन भन्दै हिडेको प्रति संकेत गर्दै उनले देउवाले भनेको ठीक हाे आजसम्म काँग्रेसले नेपाली जनता रुवायो, अव कम्युनिष्टहरुले जनता रुवाउँदैन देश विकास र आर्थिक समृद्धि सहित हसाउने दावी गरे । बागलुङका तीन बाम पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकसाथ संयुक्त बाम तालमेल गरि निर्वाचनमा होमिएका छन् । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि जिल्ला भर चुनावी अभियान सञ्चालन गरिरहेका छन् । यसैबीच बागलुङ पश्चिमको बुर्तिबाङ क्षेत्रलाई लक्षित गरि आज बुर्तिबाङ बजारमा संयुक्त शक्ति पर्दशन सहितको चुनावी सभा आयोजना गरिएको निर्वाचन परिचालन समितिका २ नं प्रदेश संयोजक धर्मबहादुर कुँरले जानकारी दिए । यस्तै कार्यक्रममा बागलुङ जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधि सभा उम्मेदवार देबेन्द्र पौडेल र २ न निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश नं २ बाट प्रदेश सभा सदस्यका उम्मेदवार टेकबहादुर घतीएले बामपार्टीहरुले समग्र जिल्ला तथा आ आफ्ना प्रदेशमा जनताका समस्या बुझेर वृहद योजना निर्माण गरि जनहितका कार्यक्रमहरु गाउँ गाउँमा लैजाने योजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कुशुम बुढा नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाका केन्द्र, जिल्ला तथा गाउँ नगर कमिटि स्तरका कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष तथा जनवादी गायक जीवन शर्मा तथा लोकदोहोरी गायक विष्णु खत्रीको समेत प्रस्तुती रहेको थियो । निसी भुजी तमान तथा बडिगाड क्षेत्रबाट तीनवटै पार्टिका कार्यकर्ता जनता उपस्थित रहेको ¥याली बजार परिक्रमा गरि सभामा परिणत भएको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्यालको अध्यक्षता, नेकपा एमालेका जिल्ला कमिटि सदस्य ददीराम शर्माको स्वागत मन्तव्य तथा अखिल छैठौंका केन्द्रिय महासचिव भिमलाल पोखरेलले सञ्चालन गरेका थिए । ढोरपाटन निसीखोला तथा तमानखोला कलस्टर प्रदेशमा पहिलो चरणको चुनावी कार्यक्रम सकेको बाम गठबन्धनले पुनः गाउँ गाउँमा प्रदेश सभा उमेदवार तथा समानुपातिक उमेदवार सहित घरदैलो सभा तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।

कञ्चनपुर कांग्रेसमा पहिरो, दर्जनौ नेता माओवादीमा प्रवेश

बेलडाँडी, कात्तिक २४। नेपाली कांग्रेसका पूर्वजिल्ला सदस्य एवम् बेलडाँडीमा सक्रिय कार्यकर्ता ईश्वरी भट्टसहित दर्जनौ स्थानीय नेता तथा कार्यकर्ता कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांंग्रेसले झुठा आश्वासन मात्रै दिएको र विकासको काम नगरेकाले सक्रिय नेता बिना मगरलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको भट्टले बताए । ‘जितेका नेता पनि निर्वाचन क्षेत्रमा देखिँदैनन् । तर, बिना मगर चुनाव हारेर पनि निरन्तर हाम्रो बिचमा रहनुभयो, थुप्रै विकासका काम गर्नुभयो,’ उनले भने, ‘कुनै पदमा नभएर पनि उहाँले रौलेश्वर, कालिका, वैवाह क्षेत्रमा सडक ग्राभेलका योजना ल्याउनुभयो ।’ भट्टको नेतृत्वमा बेलडाँडीका पूर्वगाउँ समिति सचिव डम्मरबहादुर शाह, क्रियाशील सदस्य हेमराज भट्ट, यज्ञराज भट्ट, घनश्याम कठायत, निर शाहु, कमल शाह, लाभुराम चौधरी कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस्तै, कांग्रेसबाट अनिता राना, सोहत्तर राना, सोमा राना, रेखा राना, बिन्दु राना, गीता राना, रविता राना, फुलमति राना, चन्द्रवति राना, मगरी राना, मिठ्ठु राना, सोमति राना, इन्द्रवति राना, बिन्दु राना, बन्धो राना, सुहागा राना, गोदावरी राना, जेली राना, पुरन राना, भानी राना, तारा राना, सुनिल राना, भीमबहादुर सुनार बलबहादुर सुनार, सुर्जे सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांग्रेसको बेलौरी नगरपालिकाका क्रियाशील सदस्य विवेक चन्द, नरेन्द्र चन्द, पदम साउँद, सुरेश कुँवर, मनोज शाही र महेश कुँवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्तै, बेलौरीकै छत्रबहादुर शाह, सुरतबहादुर शाह, भवेन्द्रबहादुर शाह, रणेन्द्रविक्रम शाह, मोहन खत्री, विजय सिंह, सागर शाह, सरस्वती शाह, मधुदेवी शाह माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चाबाट रामबहादुर बुढाक्षेत्री, मधेशी जनाधिकार फोरमबाट मानबहादुर चौधरी र पिछडा वर्ग उत्थान समिति कञ्चनपुरका अध्यक्ष ज्ञानदेवी बोट माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राप्रपाबाट रति सुनार र रामबहादुर टमटा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।