स्नातकोत्तर प्रथक वर्षको नतिजा प्रकाशित

काठमाडौँ, भदौ १६ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एमफिल, एमए जेन्डर, एमए मैथिली, एमए पपुलेसन र एमए इतिहासको पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

नतिजा www.tu.ntc.net.np मा हेर्न सकिन्छ वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ ।

भरतपुर अस्पतालमा डायलायसिस सेवा संचालन

चितवन, भदौ ११ । भरतपुर अस्पतालमा आजदेखि मिर्गौलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको आरम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताउनुभयो । अस्पतालमा १२ उपकरण रहेकाले एकै पटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिने छ । मरासिनीका अनुसार सेवाका लागि छ प्राविधिकले तालीम लिएर आइसकेका छन् । अन्य छ जना तालीममा नै छन् । शुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिने छ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उहाँले बताउनुभयो । ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो । समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताउनुभयो । जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलायसिस हुने गरेको छ । राजभण्डारीका अनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिने छ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा छ मात्र उपकरण छन् । निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दैैै आएका बेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा शुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन् । रासस

कालिकोटमा औषधी अभाव

कालिकोट, भदौ ७ । जिल्ला अस्पताल कालिकोटमा औषधी चरम अभाव भएको छ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै विनियोजन गरेको र जिल्ला जनस्वास्थ्य कार्यालयलाई औषधी खरिद बजेटको व्यवस्था र अख्तियारी नहुँदा जिल्ला स्वास्थ्य कार्यालयमा अभाव भएको हो। जिल्ला अस्पतालमा कुनै प्रकार औषधी नभएको एक महिना भएको आफूहरुसँग औषधी खरिद गर्ने बजेट पनि नभएको र औषधीको व्यवस्था गर्न मन्त्रालय र विभागलाई पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीले बताए। ‘जिल्ला अस्पतालमा औषधीको अभाव भएको एक महिना भइसक्यो’, उनले भने, ‘हामीले मन्त्रालय विभागलाई औषधी मागका लागि पत्राचार गरेका छौं। तर, कुनै जवाफ आएको छैन।’ जिल्लामा औषधीको अभाव हुनुमा स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै निकासा भएको स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजित नगरेका कारणले समस्या आएको डा.अलीले बताए। ‘सबै बजेट स्थानीय तहमा नै निकासा भएको छ।’ उनले भने,–‘स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट नै विनियोजन गरेनन्।’ जिल्ला अस्पतालमा औषधी अभाव रहेको, जिल्ला अस्पताल भएका कारणले औषधी खरिदका लागि सबै स्थानीय तहले जिल्ला अस्पतालमा औषधी खरिद र अस्पताल गुणस्तरका लागि बजेट विनियोजन गर्नुपर्ने खाँडाचक्र नगरपालिकामा प्रमुख जसीप्रसाद पाण्डेले बताए। जिल्ला अस्पतालमा औषधी चरम अभाव भएको विषयमा पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी गिरिधर सुवेदीले बताए।

विश्वकै तिब्र गतिमा गुड्ने चीनको बुलेट ट्रेन (फाेटाेफिचर)

भदौ ६ । चीनको हाइस्पीड ट्रेन अब विश्वकै सबैभन्दा तिब्र गतिमा गुड्ने रेल हुने भएको छ । यो रेल ३५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्नेछ । सन् २०११ मा दुर्घटनाका कारण तीन सय जनाको ज्यान गएपछि चीनमा बुलेट ट्रेनको गति ३०० किलोमिटर प्रतिघण्टामा घटाइएको थियो । अब बेइजिङ  र सांघाईबिचको यात्रामा एक घण्टा बचत हुनेछ । २१ सेप्टेम्बरबाट चीनमा बुलेट ट्रेनले ३५० किलोकिटर प्रतिघण्टाको गतिमा गुड्ने अनुमति पाउनेछन् । यो पल्ट चीन सरबकारले रेलको नाम परिवर्तन गरेर ‘फक्सिङ’ राखेको छ, जसको चिनियाँ भाषामा अर्थ हुनेछ पुनर्जीवन । सबै रेलमा उच्चस्तरीय प्रविधि प्रयोग गरिएको छ । रेलमा जडान गरिएको ‘मनिटरिङ सिस्टम’ ले आपतकालिन अवस्थामा रेललाई रोक्नेछ । चीनले रेल्वेका अधिकांश लिक पनि परिवर्तन गर्न लागेको छ । ४०० किलोमिटर प्रतिघण्टा गुड्ने क्षमताको रेल्वे लिक चीनले बनाउँदैछ ।

५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले यस हप्ता ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । उक्त कम्प्याक्ट कार्यक्रम एमसिसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो । एमसिसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकी कँग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । “नेपाल कम्प्याक्ट कार्यक्रमलाई एमसिसीको सञ्चालक समितिले स्वीकृत गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ”– एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन न्याशले भन्नुभयो । “क्षेत्रीयस्तरमा सम्बन्ध विस्तार गर्न, निजी लगानीलाई प्रोत्साहन दिन, वृद्धिलाई अगाडि बढाउन र गरिबी न्यूनीकरण गर्नका लागि नेपाल कम्प्याक्ट कार्यक्रम विद्युत् तथा यातायातका क्षेत्रमा केन्द्रित हुनेछ । नेपाल सरकारबाट हुने थप १३ करोड डलरको योगदानले हाम्रो लगानीलाई अझै बढी प्रभावकारी बनाउने छ । साथै, प्रारम्भिक चरणमा एकमुष्टरूपमा कुनै एक मुलुकबाट हुने योगदानमध्ये नेपालको योगदान एमसिसीकै इतिहासमा सबैभन्दा ठूलो रकम हो ।” डिसेम्बर २०१४ मा एमसिसीको सञ्चालक समितिले नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेदेखि नै उक्त कार्यक्रम विकसित गर्न थालिएको हो । विधिको शासन र लोकतान्त्रिक निकायको स्थापना गर्ने दिशामा मुलुकले गरेका प्रयत्नका साथै एमसिसीको नीतिगत स्कोरबोर्डमा नेपालको सशक्त कार्यक्षमता प्रदर्शनको कदरस्वरूप नेपाललाई एमसिसीको अनुदानमा आधारित यस बृहत् आकारको लगानीका लागि योग्य ठहराइएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारअन्तर्गतको एमसिसी सञ्चालक समितिले स्वीकृत गरेको यो नै पहिलो कम्प्याक्ट कार्यक्रम हो । कम्प्याक्ट कार्यक्रमअन्तर्गत दुई परियोजना रहेका छन् । विद्युत् उत्पादनमा नयाँ लगानीलाई समर्थन गर्नका लागि विद्युत् प्रसारणको उच्च भोल्टेज सञ्जाललाई विस्तार र मजबुतीकरण गर्दै नेपालको विद्युत् क्षेत्रलाई रूपान्तरण गर्नेगरी विद्युत् प्रसारणसम्बन्धी परियोजनालाई तर्जुमा गरिएको छ । परियोजनाअन्तर्गत करिब ३०० किलोमिटर (नेपालको लम्बाइको एक(तिहाइसरह) लामो उच्च भोल्टेज विद्युत् लाइन निर्माण गरिनेछ । भारतसँग विद्युत् व्यापार सहजीकरण गर्नका लागि दोस्रो सीमापार प्रसारण लाइन थप गरिनेछ र निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न क्षेत्रगत शासन सुधार गर्नका लागि क्रियाकलाप सञ्चालन गरिनेछ । नेपालको सडक मर्मत सम्भार व्यवस्थालाई सुधार गर्नेगरी तर्जुमा भएको सडक मर्मत सम्भारसम्बन्धी परियोजनाले अन्य पक्षको नयाँ सडक निर्माण गर्ने विद्यमान प्रयत्नमा पूरकको भूमिका खेल्नेछ । रासस

कुबेत जान लागेका चार किशोरीको उद्धार

कपिलवस्तु, भद्रौ २ । कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती चेलीलाई उद्धार गरेको हो । नेपाल प्रहरी लिङेट र केआई नेपालको सयुक्त टोलीले दिल्ली जाने बस चढेका ती चेलीलाई सोधपुछ गर्दा कुबेतमा रहेको रीता मगरले भिसा पठाउने र दिल्लीबाट प्रस्थान गर्न सजिलो हुने भएकाले त्यसतर्फ जान लागेको बताएका थिए । सोधपुछका क्रममा रितासँग रहेको पासपोर्ट दिल्ली गएपछि कुरियर गरेर पठाइदिने उनीहरुले बताए् । महिनाको ४० हजार तलब हुने सपना बोकेका ती चेलीले त्यहाँसम्म पुग्न अनेकौँ बाधा सामना गर्नुपर्ने केआइ नेपाल कपिलवस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिए । भारतको बाटो भएर जाँदा विभिन्न समस्या हुने भएकाले सीमामा रोक लगाउनुपरेको जानकारी दिँदै सीमा चौकीका प्रमुख सूर्य कुवारले उनीहरुलाई अहिले केआइ नेपालको संरक्षणमा राखिएको र अभिभावक आएपछि जिम्मा लगाउने तयारी भएको संयोजक केसर विश्वकर्माले जानकारी दिए । रासस

बाढीपीडितका लागि रकम हस्तान्तरण

भक्तपुर, भदौ २ । शुभनगर विकास समाजले बाढीपीडितका लागि रु ३० हजार रकम संकलन गरी सूर्यबिनायक नगरपालिकामार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको समाजले आयोजना गरेको राहत हस्तान्तरण तथा तीज कार्यक्रममा समाजको तर्फबाट संकलित रकम सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा व्यवस्थापिका–संसद्का सदस्य रामेश्वर ढुंगेल, उपप्रमुख बस्नेत, ललितकला एकेडेमीका कुलपति रागिनी उपाध्यायले तीजमा महिलाले शृृंगार र गहनामा खर्च गर्नभन्दा मानवीय सेवामा खर्च गर्नुपर्नेमा जोड दिए । समाजका सल्लाहकार एवं पत्रकार धर्मेन्द्र झा, पत्रकार गोपाल खनालले बाढीपीडित नेपालीजनको दुःखमा मलम लगाउने पहलस्वरुप राहत संकलन गरिएको बताए । रासस

पश्चिमका बाढी पिडीतसँग गृहमन्त्री शर्मा, अब पूर्व पनि जाने तयारी

काठमाडौँ साउन २९ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढी पिडीत क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुगेका छन् । येती एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्माको नेतृत्वमा १९ जनाको टोली आज बिहान ९ः१५ बजे त्यहाँ त्यस तर्फ प्रस्थान गरेको हो । गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पिडीतहरुलाई प्रत्येक्ष भेटघाट गर्दै उद्धारका लागि थप आवश्यक निर्देशन गरेका छन् । त्यसैगरी राप्ती किनारका बस्तीहरु, बर्दियाको बबई किनारका बस्ती र गुलोरिया नगरपालिकाका प्रभावित क्षेत्रहरुको हवाई निरीक्षण समेत गरेका थिए । टोलीमा पशु पंक्षी विकास मन्त्री सन्त कुमार थारु, आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रती बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी, केन्दि«य दैवी प्रकोप उद्धार समितीका सदस्य सचिव कृष्ण राउत लगायतको टोली बाँके पुगेको हो । मौसम अनुकूल भएमा अब पूर्वको बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

अन्तिममा आएर किन भएन सहमति ? माग पुरा नभएसम्म लडाई नछोड़ने डा. केसीको घोषणा

प्रा.डा. गोविन्द केसीले यसपटकको अनशन अन्तिम पटक भएकोले माग पुरा नभएसम्म लडीरहने घोषणा गरेका छन । शुक्रवार अन्तिम सहमती जुटेको बताईएपनि केसीले माथेमा प्रतिबेदन अनुसार विधेयक नआएको बताए । यस सम्बन्धमा आजको नयाँ पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ- आइओएमका प्रा.डा. गोविन्द केसीले वार्ताको बीचमै आफ्ना प्रतिनिधिलाई छाडेर आउन आग्रह गरेपछि सिंहदरबारमा शुक्रबार साँझ भएको वार्ता एकाएक भाँडिन पुग्यो । शुक्रबार बिहान प्रधानमन्त्रीसँग सबै पक्ष बसेर एउटा टुंगो लगायौँ । सोहीअनुसार समितिले संशोधनसहित विधेयक पास गर्यो । तर, डा. केसीले माथेमा प्रतिवेदनअनुरूप नभएको भन्दै अनशन नतोड्ने बताउनुभयो । आसयपत्र पाइसकेका मेडिकल कलेजलाई विधेयक पास भएपछि नयाँ गठन हुने ‘चिकित्सा शिक्षा आयोग’ले उचित ठहरिएमा सञ्चालन गर्न दिने भन्ने विषयमा आपत्ति जनाउँदै उहाँले वार्तामा नबस्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिनुभएपछि वार्ता अगाडि बढेन । अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्दै संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । बिहीबार कार्यदलले पेस गरेको विधेयकमा केसी पक्षले आपत्ति जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा अघिल्लो दिन गरेको संशोधनलाई पुनर्लेखन गर्दै चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भएको हो । तर, डा. केसीले अन्तिम अवस्थामा संशोधित चिकित्सा शिक्षा विधेयकप्रति पनि आपत्ति जनाएका छन् । केसीको मुख्य मागका रूपमा रहेको विधेयक समितिबाट पारित भए पनि १९ दिन लामो अनशन यसकै भरमा तोड्ने पक्षमा नरहेको केसीपक्षीय वार्ता समिति सदस्य डा. अभिषेकराज सिंहले बताए । समितिले केही बुँदालाई पुनर्लेखन गर्दै डा. केसीका मागअनुसार विधेयकलाई समितिबाट मूर्तरूप दिएको छ । समितिबाट पास भएको सो विधेयकलाई आगामी संसद्को पूर्ण बैठकमा लगिनेछ । पाँच मेडिकल कलेज सञ्चालनको बाटो खुला डा. केसीको अनशनले सञ्चालनको अनुमति पाउन नसकेका उपत्यकाका पाँच मेडिकल कलेज सञ्चालनमा आउने भएका छन् । समितिबाट आसयपत्र लिइसकेका कलेजको हकमा सञ्चालन गर्न बाटो खुलाउने विषय समेटी विधेयक पास भएसँगै मनमोहन मेमोरियल मेडिकल कलेज, नेपाल प्रहरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं नेसनल मेडिकल कलेज, पिपुल्स डेन्टल मेडिकल कलेज, आश्विन मेडिकल कलेजले सम्बन्धन पाउने भएका छन् । डा. अभिषेकराज सिंहका अनुसार बिहीबार साँझ ८ देखि बिहान ३ बजेसम्म माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा बानेश्वरको एक घरमा केदारभक्त माथेमा, डा. भगवान कोइरालासहितको टोलीले गहन छलफल गरी सहमतिको बाटो तय गरेको थियो । सोही छलफललाई आधार मानेर नयाँ मेडिकल कलेजलाई १० वर्ष रोक लगाउने र आसयपत्र पाएकालाई नयाँ चिकित्सा शिक्षा आयोग गठन गरी सञ्चालनको बाटो खोल्ने गरी विधेयक पास भएपछि उपत्यकामा पाँच मेडिकल कलेज थपिने भएका हुन् ।  

पहिरोले पुरिएका तीनजनाको शव भेटियो, एक जना अझै बेपत्ता

रसुवा, साउन २३ । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा आइतबार राती वर्षासँगै आएको पहिरोले पुरिएर हराइरहेका तीनजनाको शव फेला परेको छ । भने एक जना अझै बेपत्ता छन । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार ७८ वर्षीय भक्तबहादुर नगरकोटी, २३ वर्षीय मुना थापामगर र ४ वर्षीय रविन थापा मगरको शव भेटिएको हो । आइतबार राति करिब साढे १० बजे पैरेबेसी र ढकालस्वाँरामा खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका ७७ वर्षीय धर्मबहादुर थापा भने अझै वेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकृो छ । जिल्लाका सुरक्षाकर्मी सोमबार बिहानैदेखि उद्धारमा खटिएका छन् । पहिरो ठूलो भएका कारण त्यहाँ पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ३५ जनाको टोलीले उद्धार गर्न नसकेपछि दुईवटा स्काभेटर लगेर पुरिएका व्यक्तिको शव निकालिएको हो । रसुवाको सदरमुकाम धुन्चेबाट ४५ किलोमिटर पूर्वदक्षिणमा पर्ने त्यस क्षेत्रमा जाने बाटोमा विभिन्न स्थानमा झरेको पहिरो पन्छाउने काम गरेसँगै दिउँसो २ बजेतिर स्काभेटर त्यहाँ पुगेको थियो ।

अव्यवस्थित सवारी पार्किङले सडक दुर्घटनाको जोखिम बढ्यो

लोकेश धामी कैलाली, साउन १८ । धनगढी बजारमा अव्यवस्थित सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको छ । सवारी पार्किङका लागि पार्किङस्थल नहुँदा अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिदिदा दुर्घटनाको जोखिम बढेको हो । धनगढीको सबैभन्दा व्यस्तक्षेत्र अस्पताल लाइन, एलएनचौक, बसपार्क लगायत हुन् । तिनै क्षेत्रमा व्यवस्थित पार्किङ छैन । जसले गर्दा आवतजावत गर्न नै अप्ठ्यारो भएको पैदलयात्री रमेश जोशीले बताए । जथाभावी सवारी पार्किङले सडक दुर्घटनाको जोखिम त बढाएको छ नै, नगरक्षेत्रको सुन्दरतामा समेत ह्रास ल्याएको नगरबासीको भनाइ छ । सबैभन्दा भीडभाड हुने ठाउँमा व्यवस्थित पार्किङ नहुँदा सेवाग्राहीलाई सेवा लिन पनि समस्या भएको कञ्चनपुरबाट उपचारका लागि धनगढी आएका शिद्धराज जोशीले बताए । अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्रका व्यवसायीलाई झनै समस्या भएको छ । पसल अगाडी जथाभावी सवारी पार्किङ गर्दा ग्राहक नै नआउने गरेको व्यापारी डिल्लीराज भट्टले गुनासो गरे । अस्तव्यस्त सवारी पार्किङले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख दिपक पातलीले बताए । विकास निर्माणका कामसंगै बजार क्षेत्रको पार्किङस्थलको समस्यालाई पनि अगाडी बढाउने योजना रहेको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । सार्वजनिक सवारी साधन पार्किङको समस्या समाधान गर्नतर्फ नवनिर्वाचित जनप्रतिनिधिले ध्यान दिनु पर्नेमा नगरवासीको जोड छ ।

मध्यरातमा एक्ली युवतीले लिफ्ट माग्दा…

लिफ्टका लागि हात हल्लियो । यति राति मागिएको लिफ्टलाई बेवास्तागर्न मिल्दैन भन्नेलाग्यो । प्रायः अफिसको काम सकेर म रातको १२ बजे घर जान्थेँ । नयाँ बानेश्वरबाट कीर्तिपुरसम्मको यात्र हुन्थ्यो। त्यसदिन पनि म बबरमहल पुगेको थिएँ । जहाँ कुनै युवतीको हात हल्लियो । र, म आफ्नो मोटरसाइकल रोक्न बाध्य भएँ । ००० ‘प्लिज मलाई लिफ्ट दिनु न दाइ, ट्याक्सी नि पाइएन’ मधुर आवाजमा उसले भनी । तर, उसको दाइ शब्दले मलाई कताकता नरमाइलो लाग्यो ।एकपटक ऊतिर कर्के नजर लगाएँ । साँच्चै आत्तिएकीजस्ती देखिन्थी ऊ । मैले उसको उमेर पनि अनुमान लगाएँ । सायद २० वर्षकी हुँदी हो । मभन्दा ३, ४ वर्ष सानै रहिछे त, मनमनै सोचेँ । अनि फेरि उसको दाइ शब्द कानमा गुञ्जियो ।‘कहाँसम्म जाने ?’ मैले प्रश्न तेस्र्याइहालेँ । ‘बल्खु’ उसले तत्काल उत्तर फर्काई । बाइकमा बस्न आग्रह गरेँ । उसले कत्ति ढिला गरिन । ००० ऊ को हो ? के गर्छे ? यति राति एक्लै किन यसरी हिँडेकी होली ? भन्ने प्रश्नले मनमा काउकुती लागिरह्यो । सामान्य गेटअप र एउटा साइड ब्यागमा सजिएकी ऊबारे मलाई अनुमान लगाउन गाह्रो पर्यो । कतै लुटेरापो होकि ?बाटोमा ग्याङ पो छ कि ? भन्ने प्रश्न मनमा खेल्न छाडेन । लजालु स्वभावको म, केटीहरूसँग कम नै बोल्ने गर्थेँ । त्यसैले होला न ऊसँग बोल्ने आँट नै आयो । त्रिपुरेश्वर पुगेपछि उसले नै सोधी, ‘यति राति हजुर कताबाट आउनुभएको नि ?’मेरा लागि रात, उसका लागि दिन !‘कताबाट आउँदै हुनुहुन्छ भने भइहाल्थ्यो नि’ मनमा फेरि कुराहरू खेल्न थाले । ‘म अफिसबाट आउँदै’ त्यसलाई बेवास्ता गर्दै मैले उत्तर फर्काएँ । ‘यति रातिसम्म अफिस ! के काम गर्नुहुन्छ नि ?’ नपत्याएजसरी उसले सोधी । डान्सबारको बाउन्सर या आफ्नै दोहोरी साँझ छ भन्न मन लागेको थियो । तर, भनिनँ । आफ्नो पेसा लुकाउनु त्यसलाई अपमान गरेसरह हुने ठहर गरेँ । र, भने, ‘पत्रकार हुँ ।’ ‘ओ आई सी’ उसले रियाक्सन देखाई । मलाई त्यसप्रति कुनै चासो भएन । यदि उसलाई पत्रकारिताप्रति केही जानकारी छ भने यति रातिसम्म बस्नुपर्छ र ? भन्ने प्रश्न गर्दिन भन्ने लाग्यो । र, गरिन पनि । हामी कालिमाटी पुगिसकेका थियौँ । उसले मलाई दुईवटा प्रश्न गर्दा मैले पनि केही सोध्नुपर्छजस्तो लाग्यो । ‘तिमीचाहिँ कहाँबाट आउँदै छौँ नि ?’ धेरै नसोची सोधिहालेँ । ‘म बार डान्सर हुँ, त्यहीँबाट आउँदैछु ।’ उसले पनि कुनै हिचकिचाहटविना उत्तर दिई । उसको गेटअप हेर्दा ऊ बार डान्सरजस्ती देखिँदैनथी । मेकअप भने मज्जैले गरेकी थिई । मैले फेरि सोधेँ, ‘यही ड्रेसमा डान्स गर्छौ?’ ‘कहिल्यै डान्सबार जानुभएको छैन क्या हो । घर निक्लँदा चेन्ज गरेर आउँछौँ,’ उसले भनी । एकपटक साथीले जाऊँ भनेको थियो । तर, म गइनँ । साँच्ची भन्ने हो भने म कहिल्यै डान्सबार गएको थिइनँ । केटीहरू छोटा लुगा लगाएर नाच्छन् भन्ने सुनेको थिएँ । पत्रकार भएर पनि होला डान्सबारकी केटी भेट्दा मलाई खुसी लाग्यो । सुनेको थिएँ उनीहरू धेरै संघर्षबाट यहाँसम्म आएका हुन्छन् । त्यसैले पनि ऊ मेरा लागि समाचार थिई । यसको स्टोरी गर्न पाए कस्तो राम्रो हुन्थ्यो होला भन्नेसम्म सोच्न भ्याइसकेछु । मलाई ऊबारे जान्ने इच्छा जाग्यो । बाइकको स्पिड कम गरेँ । र, उसको प्रश्नको उत्तर फर्काउँदै भनेँ, ‘गएको छैन । साँच्ची के हुन्छ त्यहाँ ?’ ऊ मेरो कुरा सुनेर जोडजोडले हाँस्न थाली । एकैछिनमा रोकिई । र, भनी, ‘सरी ।’ डान्सबारका केटी छाडा हुन्छन् भन्ने सुनेको थिएँ । तर, ऊ हरेक कुरामा सिरियस देखिन्थी । बोल्ने शैली पनि अनुशासित थियो । मनमा धेरै प्रश्नहरू थिए । तर, बल्खु आउनै लाग्यो । अब के गर्ने ?कुनै आइडिया आएन । सोच्दासोच्दै बल्खु चोक नै आइपुग्यो । ‘हजुर कहाँसम्म ?’ चोकनिर बाइक रोक्नासाथ उसले प्रश्न गरी । ‘कीर्तिपुर’ मैले भनेँ । ‘म नि त्यतै हो । अघि तपाईं कहाँसम्म भन्ने थाहा थिएन, बल्खुसम्म जान पाए हिँड्दै नि जान्थेँ भनेरबल्खु भनेकी,’ उसले भनी । मलाई भने ठूलै राहत मिलेजस्तो भयो । हत्तपत्त प्रश्न गर्न थालिहालेँ, ‘के तिमी यो कामबाट खुसी छौ?’ उसले पनि उत्तर दिइहाली, ‘अरू काम कसले दिन्छ र हामीलाई । न धेरै पढ्न सकियो, न कोही चिनेजानेका नै छन्। जे पाइन्छ त्यही गर्ने हो ।’ ‘धेरै नपढे पनि इंग्लिस त राम्रै बोल्दिरहिछौ त ?’ मैले भनेँ । ‘११ कक्षासम्म त पढेकी हुँ नि । पढाइमा राम्रै थिएँ । पछि बुवा बित्नुभयो । आमा अर्कैसँग गइन् । त्यसपछि पढ्न सकिनँ,’ उसले आफ्ना व्यक्तिगत कुरा पनि खोल्न थाली । उसको कुराले मलाई भने कताकता छोयो । कुनै भूमिका नबाँधी अर्को प्रश्न तेस्र्याइहालेँ, ‘अरू काम पायौ भने गर्छौ त ? तिमी बोल्नमा सिपालु रहिछौ ।’ ‘पाए त किन नगर्नू,’ उसले छोटो जवाफ फर्काई । मैले उसलाई अफिसमा खाली रहेको रिसेप्सनिस्टको पोस्टमा अफर गरेँ । ‘तलब कति ?’ उसले प्रश्न गरी । ‘सुरुमा १५ हजार । राम्रो गर्दै गयौ भने बढ्छ,’ मैले भनेँ । ‘अहिलेको भन्दा दोब्बर’ ऊ खुसी भई । यसमै उसको हुन्छ को लवज मिसिएको थियो । ‘काम कहिलेदेखि सुरु गर्छौ त ?’ मैले सोधेँ । ‘भोलिदेखि नै,’ उसले भनी । ‘ल म यहीँनिर हो, रोक्नुस् ल,’ कीर्तिपुर प्रवेशद्वार नपुग्दै उसले भनी । मैले बाइक रोकेँ । ऊ झरी । उसको नम्बर मागेँ र फोन गर्ने बताएँ । ‘सुन्नुस् न…’ ऊ केही भन्दै थिई,तर रोकिई । ‘भन न,’ मैले भनेँ । ‘यतिठूलो गुन लगाउनुभयो, मसँग दिने केही छैन । हजुरलाई केवल एक रात दिनसक्छु,’उसको कुरा सुनेर झसंग भएँ । म केही बोलिनँ । फेरि उसले नै भन्न थाली, ‘यो काठमाडौंमा शरीर धरौटी नराखी केही नपाइँदो रहेछ । मलाई त बानी परिसक्यो । धेरैले आश्वासन दिँदै मेरो भावनासँग खेले । तर, तपाईं उनीहरूभन्दा फरक लाग्यो, आश्वासन पूरा गर्ने खालको । त्यसैले…’ ऊ फेरि रोकिई । उसको कुरा सुनेर खस्नै लागेको आँसु थामेँ । उसले मैले अहिलेसम्म नदेखेको काठमाडौंको भित्री चरित्र देखाइदिई । साँच्ची कति निर्दयी रहेछ यो काठमाडौं ! ‘आजदेखि तिमी मेरी बहिनी भयौँ । मेरा दिदीबहिनी छैेनन् । अब म हरेक तिहारमा तिमीसँग भाइटीका लगाउँछु,’ उसमा रहेको काठमाडौंप्रतिको अविश्वास र त्रास चिर्ने प्रयास गरेँ । कति सफल भएँ मलाई थाहा छैन । तर, अब उसलाई सही बाटोमा ल्याउने जिम्मेवारी मेरो काँधमा थियो । मेरो कुरा सुनेर उसको आँखाबाट आँसु झरिरहेको थियो । सायद त्यो खुसीको आँसु हुनुपर्छ । अब मलाई उसको जीवनी उतारेर पत्रिकाको पानामा व्यापार गर्नुथिएन । थियो त केवल उसलाईसही बाटो देखाउने र पढाइका लागि प्रेरणा दिने । ऊसँग छुट्टिँदै गर्दा मनमनै सोचेँ, ‘उसमा रहेको काठमाडौंप्रतिको बुझाइ परिवर्तन गर्नैपर्छ ।’ (कृष्ण आचार्य, नयाँ पत्रिकाकाे गज्जब साप्ताहिकबाट)

शयर र माैजमस्ती गर्न मात्रै किन पठाइन्छन् सरकारी अनुगमन टोली ?

सुसान आचार्य केहि समय अघि बैदेशिक रोजगार प्रबर्दन बोर्डकी निर्मला थापा ९उप(सचिव०को नेतृत्वमा बोर्डका अशोक गौतम, नीर कुमार केसी , सूचना अधिकारी तारा वहादुर कुँवरसहित श्रम मन्त्रालयकी पवित्रा घिमिरे खनाल सहभागी ५ सदस्यीय टोलि युएइ आएको थियो । वैदेशिक रोजगारीका क्रममा युएइमा कार्यरत नेपाली श्रमिकको अबस्था ,समस्या तथा समाधानका उपाय बारे स्थागत अबलोकन गरि रिपोर्ट तयार गर्न आयको टोलिले पाँच दिने औपचारिक भ्रमण पूरा गरि स्वदेश फर्कियो । वर्षैपिच्छे सरकारी अनुगमन टोली यहाँ भ्रमण गर्छन् । तर बिडम्बना, नेपालीले भोग्नु परेका समस्या भने ज्यूँ का त्यूँ छन् ।  युएइमा विभिन्न पेशामा झण्डै चार लाख नेपाली श्रमिक कार्यरत छन् । वर्षैपिच्छे सरकारी अनुगमन टोली यहाँ भ्रमण गर्छन् । तर बिडम्बना, नेपालीले भोग्नु परेका समस्या भने ज्यूँ का त्यूँ छन् । त्यसैले यस्ता अनुगमन टोली आउँदा “समस्या समाधान भन्दा पनि घुमफिर गरि भत्ता पचाउन आएका” भन्ने टिप्पणी हुन्छ । यसपटक भने सुरुमा आउँदा मजदुरका समस्या पहिचान र समाधानको उपाय खोजी गर्न भन्दै आएको टोलि युएइ टेक्ने बितिक्कै गायब भएको गुनासो धेरैले गर्न थालेका थिए । सातवटा राज्य रहेको युएइ भ्रमणमा आएको टोलिले आफ्नो पाइला राजधानी अबुधाबी बाहेक अन्त नसार्नुले पनि झनै शंकाको अवस्था सिर्जना गरेको थियो । सामाजिक तथा राजनीति पार्टिका भातृ सङठनसहित पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन गरि झन्डै सय भन्दा धेरै सघसस्था रहेको युएइभित्र सरकारी टोली आउँदा कसैलाई औपचारिक जानकारी नदिनु, मजदूरहरुसँग कुनै अन्तक्र्रिया नगरिनु र दूतावासले समेत यसबारेमा कुनै जानकारी नदिनुबाट टोलीको वास्तविक उद्देश्य समस्या भन्दा पनि घुमफिर मात्रै हो भन्ने पुष्टि हुन्छ । त्यसैले नेपालमा आर्थिक बर्षको अन्त्य हुनै लाग्दा तीब्र गतिमा देखिने यस्ता भ्रमण केबल राज्यको ढुकुटी रित्याउन तयारी गरिएको एउटा खेल नै मान्दा फरक नपर्ला भनेर अहिले व्यापक चर्चा हुन पुगेको हो । दूतावासले भने राजधानी अबुधाबीबाहेक अन्य क्षेत्रमा जान सवारी साधन नभएको तथा बजेट नै अभाव भएको हचुवा प्रतिक्रिया दिएको छ । तर बजेट र सवारी साधनको व्यवस्था नै गर्न नसक्ने हो भने आबुधाबीसम्म आउनु नै किन पर्यो त ? भन्ने प्रश्नको जवाफ भने न टोलीसँग छ, न दूतावाससँग । यसले त झन उनीहरु कुनै मजदुरका समस्या ,आबाज र गुनासो बुझन र सुन्न नभई अनुगमनको नाममा यहाँ रगत पसिना बेचेर पठाएको कोषबाट मोजमस्त ीगर्न मात्रै आएको भन्ने स्पष्ट भएन र ? आफ्ना नागरिकको गुनासो ,समस्या र आपतकालीन अबस्थामा सहयोग र उद्दार गर्न भनि खोलिएको नेपाली दूतावास पनि पछिल्लो समय दलालहरुको बैधानिक कार्यालय बनेको देख्न सकिन्छ । एकातिर मानव तस्करी ,हुन्डी तथा सुन ब्यापारीले आफ्नो बलियो पडक नै बनाउन लागि सकेको अवस्था छ । अर्कोतर्फ मजदूरहरु दैनिकजसो समस्यामा परेका छन् । यो अवस्था थाहा पाउँदा समेत झारा टार्ने तरिकाले आउने सामान्य औपचाकिरतावश समेत मजदूरहरुसँग भेटघाट नगर्ने, पीडित नेपालीको अबस्था, सेवा सुविधाको अनुगमन, सम्बन्धित युएई प्रशासन र नेपाली दूतावासको ध्यानाकर्षण गर्ने काम गर्नुपर्नेमा आफ्नो भ्रमणलाई व्यक्तिगत घुमफिर जस्तो बनाउनुल नेपाल सरकारको नुन खायर सेवा गर्न बसेका कर्मचारीको ब्यबहारिकता सिसा जस्तै छर्लङ्ग भएको छ । विशेषगरी नेपालबाट नै सेटिङ मार्फत भिजिट भिसामा युएई ल्याइ अलपत्र पार्न दलाल हरुको गिरोह नै सक्रिय भै सकेको अबस्थामा समेत यसरी आउने टोलिले यहाँको समस्या बारे जानकारी नै लिन नखोज्नु र घुमफिर मै दिन बिताउनु लाई आम श्रमिकले राम्रो रूपमा पक्कै लिन सक्दैनन । त्यसो त आफ्ना नागरिकको गुनासो ,समस्या र आपतकालीन अबस्थामा सहयोग र उद्दार गर्न भनि खोलिएको नेपाली दूतावास पनि पछिल्लो समय दलालहरुको बैधानिक कार्यालय बनेको देख्न सकिन्छ । यस्को ज्वलन्त उदाहरण महिनौं देखि अबुधाबी मुसफा युएइमा अलपत्र परेका १९ जना पीडितलाई लिन सकिन्छ । दूतावासबाट मात्रै ३५ किलोमीटरको दूरिमा रहेका पीडितले आफूमाथि भएको अन्याय र दलालबाट भएको अत्याचारबारे लिखितरूपमा निवेदन पेस गर्दा समेत कुनै वास्ता नगरी दलाललाई कारबाही गर्न दूतावासमा बजेट नै छैन भन्दै कार्यबाहक राजदुतबाट आयको अभिव्यक्तिले वैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकको सुरक्षा र सहयोग गर्न भनी खोलिएको दूतावास र पठाएका कर्मचारी नै दलालको संरक्षणमा लागेको बुझेर दूतावासप्रतिको बिश्वास सबैबाट हराउँदै गएको छ । युएइ मात्रै नभै मलेसिया साउदी, कतार लगायतका विभिन्न खाडी मुलुकमा गरिने सरकारि भ्रमण र त्यहाँस्थित दूतावासले केबल बजेट रित्याउने खेल मात्रै बनेको गुनासो यसअघि नै धेरैबाट आइसकेको छ। तर यसबारे सरकारको मौनता भने अचम्मको छ । पछिल्लो समय युएइ भ्रमणमा आयको टोलिले सवारी साधन अभाव र बजेटको कमि लाई प्रमुख कारण देखाइ दुबई ,फुजेरा ,रसअल खेमा ,अलेन लगायतका छेत्रमा रहेका पीडित नेपाली श्रमिकका गुनासो सुन्नै चाहेन त्यसोत यसबारे दूतावास आफै पनि मौन रहयो । कसलाई कहाँ लैजाने र कहाँ कस्तो समस्या देखिएका छन भन्ने बारे दूतावास आफै प्रष्टरूपमा जानकार हुँदाहुँदै पनि देखाएको यो गैरजिम्मेवारपनले वैदेशिक रोजगारीमा रहेका लाखौ नेपालीहरुले न्यायको आसा राख्नै नसक्ने अबस्था सिर्जना भएको छ । लाखौ श्रमिकले आफ्नो रगत पसिना बेचेर पठायको रेमिट्यान्स नै आम्दानीको मुख्य स्रोत बनेको देशमा तिनै श्रमिकमाथि आज अन्याय हुँदा सम्बन्धित निकाय र तिनै निकायमा रहेका भ्रष्ट कर्मचारीहरु सहयोग र उद्दार गर्न छोडेर दलाललाई अझै काखी च्याप्दै हिँड्छन भने यस्तो अबस्थामा समेत सरकार मौन रहनु र नदेखे नसुने झै गर्नुलाइ आम श्रमिकले सकारात्मक रूपमा लिन सकिन्न । सरकारमा पुग्नु अघि चिल्ला र मिठा भासण लगाउने अनि सरकारमा पुग्ने बितिक्कै सबै कुरा बिर्सने मन्त्री र नेतालाइ एक दिन यिनै पीडितका आँसुले नपोलोस ।

गुल्मीमा रित्तियो नयाँशक्ति, केन्द्रदेखि जिल्ला नेता माओवादी केन्द्रमा

गुल्मी, साउन १ । केन्द्रदेखि जिल्लासम्मको नेता र कार्यकर्ताहरु माओवादी केन्द्रमा गएपछि गुल्मीमा नयाँशक्ति पार्टी रित्तिएको  छ । लामो समयदेखि माओवादी केन्द्रसंग पार्टी एकताका लागि भएको छलफलले आज औपचारिक रुप लिएको हो । नयाँशक्तिका केन्द्रीय सदस्यद्वयः चन्द्र बिश्वकर्मा र कविता विश्वकर्माले जिल्लाका सम्पुर्ण कार्यकर्तासहित माओवादी केन्द्रसंग पार्टी एकताको घोषणा गरेका हुन् । नयाँशक्ति नेपाल गुल्मीका जिल्ला संयोजक मनिराम ज्ञवाली सहितका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रसंग पार्टी एकता गरे लगत्तै नयाँशक्तिका दुई केन्द्रीय सदस्यले पनि आज पार्टी एकताको घोषणा गरेका छन् । श्रावण २९ गते माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुुदर्शन वराल, जिल्ला सह–ईञ्चार्ज निमबहादुर पाण्डे र केन्द्रिय सदस्यद्धयः बिश्वकर्माको हस्ताक्षर सहित गरिएको पार्टी एकताको सहमति पत्र आज मात्रै सो पार्टीले सार्वजानिक गरेको हो । केही साथीहरुको पदिय हैसियतबारे छलफल चलाईएको र केहि साथीहरुसंग सहमति लिन बाँकी रहेकोले आज टुङ्गोमा पुगेर सार्वाजानिक गरिएको पोलिटव्युरो सदस्य वरालले जानकारी दिए ।

हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, रामबहादुर लिम्बू र रिया भन्ने सोनिसा लिम्बूलाई जनही रु २० जरिवानाको सजाय तोकिएको छ । गत पुस १७ गते इलाका वन कार्यालय, खोक्लिङमा कार्यरत वन रक्षक शाहीको हत्या भएको थियो ।

प्रदेश नम्बर २ मा माओवादीले देखेको जित्ने आधार

काठमाडौं , असार ३० । नेकपा माओवादी केन्द्रले तेस्रोत चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रीय सचिवालय बैठक डाकेको छ । बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचनको रणनीति र सांगठनिक संरचनाबारे छलफल हुनेछ । बैठकपछि पार्टीको सबै शक्ति प्रदेश नम्बर २ मा केन्द्रित गर्ने माओवादीले जनाएको छ । ‘अहिले केन्द्रीय सचिवालय बैठकको तयारी लागेका छौँ,’ प्रवक्ता पम्फा भुसालले भनिन्, ‘बैठकपछि मात्र उम्मेदवार छनोट हुन्छ र प्रदेश नम्बर २ मा निर्वाचनका गतिविधि बढाउँछौँ ।’ निर्वाचनका लागि अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरू २ नम्बर प्रदेशमा जाने तयारीमा छन् । प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवले निर्वाचन लक्षित गरेर साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाउने तय भएको बताए । पार्टीको सबै शक्ति लगाए प्रदेश नम्बर २ मा पहिलो वा दोस्रो शक्ति हुने माओवादीको अपेक्षा छ । ‘हामीले उम्मेदवार उठाउँदा सामाजिक सम्बन्ध राम्रो भएको र जित्ने सम्भावना भएकालाई प्राथमिकतामा राख्छौँ,’ नेता मणी थापाले भने, ‘पार्टीमा योगदान गरेको, परिवर्तनका लागि लडेको र समाजमा राम्रो छवि भएकालाई उच्च प्राथमिकता दिन्छौँ ।’ माओवादीले देखेको जित्ने आधार निर्वाचनमा माओवादीले तराई मधेसमा जित्ने बलियो आधार धेरै भएको प्रवक्ता भुसालले तर्क गरिन् । रामबहादुर थापा समूहलगायत अन्य साना समूहसँग पार्टी एकतापछि मधेसमा पार्टी बलियो भएको माओवादी नेताहरूको विश्लेषण छ । मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने नेता यादवको तर्क छ । ‘हामीले अहिले पनि संविधान संशोधन सकेसम्म पास गराउने पक्षमा लागी रहेका छौँ,’ थापाले भने, ‘संविधान संशोधन पास वा फेल जे–जस्तो भए पनि अगाडि बढाएरै छाड्ने योजना छ ।’