छात्रवृत्तिका लागि ६ लाखको अक्षयकोष
पोखरा, वैशाख १२ । स्थानीय रामबजारको रञ्जित परिवारले यहाँका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु.छ लाख अक्षयकोष स्थापना गरेको छ ।
रामबजारस्थित कालिका माविमा रु.चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु.दुई लाखको अक्षयकोष स्थापनाका लागि मंगलबार रकम हस्तान्तरण गरिएको छ । सो ठाउँ निवासी बैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जितले आफ्ना पिता स्व हरिगोपाल र आमा गणेशमायाका नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गरेको हो ।
रञ्जित चार दाजुभाइले आफ्ना पिताको ४५ औँ दिनको तिथि पारेर मंगलबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरेको साहिँला छोरा फोटो पत्रकार सुदर्शनले जानकारी दिए ।
अक्षयकोषबाट प्राप्त ब्याजबाट कालिका माविमा कक्षा ९ देखि १२ कक्षासम्म र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
ख्याल ख्यालमा बल्झियो साँच्चैको व्यथा
शब्द /तस्बीर श्रीधर न्यौपाने सिन्धुपाल्चोक, चैत २० । कार्यक्रम ख्याल ख्याल तर भैदियो साँच्चै । “घटनास्थल : सिन्धुपाल्चोक सदरमुकाम चौतारा । समय शुक्रबार विहान ९ : ३० बजे । जिल्ला समन्वय समितिका अधिकृत एवं विपद जोखिम न्युनिकरण समितिका सम्पर्क व्यक्ति अनिरुद्र नेपालले सिन्धुपाल्चोकमा फेरि अर्को भूकम्पको ठूलो धक्काले जनधनको क्षति भएको जानकारी दिए । उनले घरबाटै बाहिरै सुरक्षित स्थानमा बस्न सर्बसाधारणलाई आव्हान गरे । उनैले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बस्न लागेको जानकारी गराए । उनलाई जिल्ला प्रशासन कार्यालयका अधिकृत हेमराज फुँयालले पनि सघाए । करिब ५ मिनेट पछि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु चौतारा टुँडिखेलमा आईपुगे । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित विषयगत कार्यालयका प्रमुखहरु सहित दैविप्रकोप उद्धार समितिको बैठक बस्यो, मिनेट मिनेटमा विपदबाट भएको मानविय एवं भौतिक क्षतिबारे जानकारी गराईयो । केहीबेरपछि सञ्चारकर्मीहरु पनि पुगे । स्थानीय रेडियोहरुले घटनाको प्रत्यक्ष प्रशारण गरे । प्रमुख जिल्ला अधिकारीले विपदको सामना गर्न सरकार एक्लैको प्रयास पर्याप्त नरहेको भन्दै तत्काल जिल्लामा कार्यरत एनजिओ, आईएनजिओलाई सहकार्यका लागि आग्रह गरे । त्यस लगत्तै गैरसरकारी संस्था महासंघ सिन्धुपाल्चोकका सचिव राजेन्द्र शर्माले घरबार विहिन बनेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका नागरिहरु र अरु सर्बसाधारणलाई दिउँसो खानको व्यवस्था गर्न सकिने जानकारी गराए । त्यतिबेला सम्म सुरक्षा निकायहरुसंग समन्वय गरि रेडक्रस लगाएतका संस्थाहरुले भूकम्पमा परि घरभित्रै फसेका, पुरीएका मानिसहरुलाई उद्धार गरेर टुँडिखेल ल्याईपुर्याए । जिल्ला अस्पतालको टोलीले उपचारमा ध्यान दियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको नेतृत्वमा रहेको वास क्लष्टरले अक्सफाम तथा वल्डभिजनको सहयोगमा तत्काल खानेपानीको ब्यवस्था गर्यो । शिक्षा कार्यालयले विपदमा फसेका विद्यार्थीको उद्धारमा ध्यान दियो । महिला बालबालिका कार्यालयले महिला बालबालिकाहरुकै ध्यान दियो र आफ्नो कार्यालय भत्किएर कर्मचारी पुरिएकोले उद्धार गर्न आग्रह गर्यो । जिल्ला दैवि प्रकोप उद्धार समितिको दोस्रो बैठकले सुरक्षा निकायलाई सो सरकारी भवन खाली गर्न र बाटो हिड्न खतरा भएकोले खोजि र उद्धार पछि भत्काउन निर्देशन दियो । सुरक्षाकर्मीले त्यहि अनुसार काम गरे । त्यतिबेलासम्म जिल्ला कृषिविकास कार्यालयको नेतृत्वमा रहेको खाद्यान्ह क्लष्टरले तत्कालका लागि आबस्यक पर्ने खाना जुटाएको जानकारी गरायो । अनि भबन निर्माण विभाग संगको समन्वयमा रहेको आवास क्लष्टरले अस्थाई बसोबासको ब्यवस्था गरिएको जानकारी दियो । भूकम्पमा परि ज्यान गएकाहरुको शब टुँडिखेलको एकाकुनामा जम्मा गरियो । घाईतेलाई उपचार अनि बेपत्ता भएकाहरुको खोजि जारी राखियो । पटक पटक आईरहेका पराकम्पनको सुचना दिंदै सुरक्षित रहन दैविप्रकोप उद्धार समितिले आग्रह गरिरह्यो । केही बेरमा डोजर चलाएर भुकम्पले भत्कीएर बाटोमा जोखिमपुर्ण अबस्थामा रहेको घर पनि भत्काउन थालियो । घटनास्थल वरपर रातो डोरी टाँगेर सर्बसाधारणलाई प्रवेशमा रोक लगाईयो । ठिक त्यहि बेला नजिकको स्याउलेबाट आईपुग्यो अनि राहतका लागि आग्रह गर्यो । अधिकारीहरुले धैर्य गर्न भन्दै थियो । समुहले एउटा गाडिमा आएको राहतको सामाग्री लुट्न थाल्यो । प्रहरीले बल प्रयोग गरेर सामान फिर्ता लियो । टुँडिखेलमा कतै घाईतेको रुवावासी, कतै आफन्त गुमाएकाहरुको रुवाबासी, कतै राहतका लागि नाराबाजी कतै शान्त रहन आब्हान चलिरह्यो । ” यस्तै देखियो शुक्रबार दिनभर चौतारामा । चुनाबी माहौलले रन्किएको बेला शुक्रबार सिन्धुबासी अर्कै तयारीमा थिए । sindhupalchok-earthquake sindhupalchok-earthquake 2 sindhupalchok-earthquake 1 sindhupalchok-earthquake 3 sindhupalchok-earthquake 4 sindhupalchok- earthquake 5 जिल्ला दैविप्रकोप उद्धार समितिको संयोजनमा विषयगत सरकारी कार्यालयका अधिकारीहरु, गैरसरकारी क्षेत्र, सुरक्षाकर्मी र सर्बसाधारणको बाक्लो उपस्थितिमा भूकम्पमा आधारित कृतिम घटना अभ्यासको कार्यक्रम थियो । वि स २०७२ साल बैशाख १२ गतेको जस्तै भूकम्प वा त्यति नै क्षति पुर्याउने खालको अर्को बिपत्ती आयो भने कसरी सामना गर्न सकिएला भनेर कृतिम अभ्यास आयोजना गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएको छ । त्यहि अभ्यासका क्रममा भईदियो साँचिकै अर्को अर्को घटना । पछिल्लो तीन वर्ष, २०७१ सालमा जुरे पहिरोले सयौंको ज्यान लिएको र भोटेकोशी नदिनै थुनिएको संकट खेपेको सिन्धुपाल्चोकले २०७२ साल बैशाख १२ को भूकम्पमा देशभर ज्यान गुमाएमा मध्य आधा ३ हजार पाँच सय ७० जनाले ज्यान गुमाए । फेरि ७३ सालमा भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोकले ठूलो क्षति बेहोर्नु पर्यो । ति विपदहरु र खासगरि भूकम्पमा उद्धार गरिएका, आफै उद्धारमा खटेका र पराकम्पनबाट घाईते भएकाहरु पनि कृतिम अभ्यासमा सहभागी थियो । उद्धार र रातको काम अनि माहौल । उपस्थित मध्य ४ जना फरक फरक समयमा टुँडिखेलमा लडे र बेहोस भए । प्राथमिक उपचार पछि होस खुल्दा पो थाहा भयो, उनीहरु कोही भूकम्पले पुरिएर बाँचेका, कोही सख्त घाईते भई बल्ल निको भएका, कोही आफन्त गुमाएकाहरु रहेछन् । किन यस्तो भएछ त, जिज्ञासामा जनहितका राजेन्द्र शर्माले भने, पुरानो घटनाले व्यथा बल्झिएछ, ख्याल ख्याल भनेको साँच्ची भयो । विनाशकारी भूकम्प गएको २ वर्ष बितिसक्दा पनि भूकम्पको त्रासले सिन्धुका सर्वधारणको मानसपटलमा बास जमाईरहेको प्रमाण थियो त्यो । विपदले हामीलाई पछ्याईरहेको छ, हामी संधैभरी सचेत रहनुपर्ने अबस्था छ, गैरसरकारी संस्था महासंघका जिल्ला सचिब समेत रहेका जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा भन्छन उद्धार, राहत र पुनःर्थापनाको कार्यक्रममा गैरसरकारी संस्थाहरुको जिम्मेवारी अझ महत्वपुर्ण देखिएको छ । उनल कृतिम अभ्यासबाट तत्काल खोज तथा उद्धार र तात्कालीन राहतका लागि सबै तयारी अबस्थामा रहेको पाईएको सुनाए । कृतिम अभ्यासको चाँजोपाँजोमा सक्रिय जनहितकै विपद जोखिम न्युनिकरण अधिकृत चिरन कट्टेलले भूकम्पमा आधारित कृतिम अभ्यासमा संलग्न भईरहँदा आफूलाई दुईबर्ष अघिको भूकम्पमा उद्धारमा खटेको झल्झली याद आएको बताए । हाल अक्सफामसँगको साझेदारीमा जनहितले जिल्लाका साबिकका २२ गाविसमा सञ्चालन गरेको स्थानीय विपद जोखिम न्युनिकरण व्यवस्थापन योजना बनाई सकेका उनी उद्धारमै लागेको बेला गएको पराकंपनमा लडेको घरले किचेर गम्भीर घाईते बनेका थिए । घाउ थाक्दै गर्दा आगामी दिनमा आईपर्नसक्ने अप्ठेरो र तयारीबारे उनले सबैलाई सचेत गराए । विपद सामाना गर्न हामी कत्तीको तयार छौं भनेर पनि यस्ता कृतिम अभ्यास गर्नुपर्ने खाँचो रहेको अक्सफामका विपद जोखिम न्युनिकरण अधिकृत द्रोण उप्रेतिको तर्क छ । विपद जानकारी दिएर आउँदैन, जुनसुकै बेला तयारी अबस्थामै रहनुपर्छ, उनले थप प्रष्ट पारे ।
नेपालमा नयाँ विषयमा पठनपाठन सुरु
काठमाडौँ, चैत १७। पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक तहमा कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इञ्जिनियरिङ र विजनेस एड्मिनिस्ट्रेसन विषयको अध्यापन सुरु गरेको छ । बेलायतको प्रसिद्ध विश्वविद्यालय युनिभर्सिटी अफ बेडफोर्डसायरबाट सम्बन्धन लिएर उक्त कलेजले यसै शैक्षिकसत्रबाट ती विषयका पठनपाठन सुरु गरेको हो । एक सय ३० वर्ष पुरानो सो विश्वविद्यालय विश्वको उत्कृष्ट आठ सय विश्वविद्यालयअन्तर्गत पर्छ । कलेजले ती विषयका पठनपाठन बारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवर्षे अध्ययन अवधि रहेको ती विषयमा विद्यार्थीको अध्ययन अवधि ३६० क्रेडिट आवर रहेको र सो कार्यक्रम पूरा गर्नका लागि रु १० लाख शुल्क लाग्नेछ । सूचना प्रविधिमा आधारित रही पठनपाठन हुने ती विषयका विद्यार्थीले चाहेको खण्डमा पहिलो वर्ष नेपालमा र बाँकी दुई वर्ष बेलायमै गई अध्ययनसमेत गर्न सकिने व्यवस्था भएको कलेजका अध्यक्ष पङ्कज जालानले जानकारी दिए । उनका अनुसार कजेलमा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीका लागि रोजगारीका अवसर वा आफैँ व्यवसाय गर्न विशेष परामर्शको व्यवस्था मिलाइएको जानकारी दिए । बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसायबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीले छ महिनामै रोजगारी सुरु गर्र्ने गर्छन् । कलेजका प्राज्ञिक निर्देशक डा राजिव क्षेत्रीले विश्वविद्यालयको सो कार्यक्रम सञ्चालन गर्ने आफ्नो कलेज पहिलो भएको जानकारी दिँदै सो कार्यक्रम चीन, युरोप, दक्षिणपूर्र्वी एसियाका देशमा सञ्चालनमा रहेको बताए । कलेजका व्यवस्थापक योगेश क्षेत्रीले कलेजमा प्राज्ञिकबाहेक विद्यार्थीका व्यक्तित्व विकास गर्न लर्निङ जोन, प्रोजेक्ट रुमलगायतको व्यवस्था गरिएको र बेलायत अध्ययन गरी फर्किएका अनुभवी व्यक्तिले अध्ययन गराउने जानकारी दिए ।
आरआरमा स्ववियु निर्वाचन सम्पन्न
काठमाडौं, चैत १५ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा कुल मतदाता तीन हजार ५ सय ८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेको स्ववियुका निवर्तमान सभापति राजकुमार हमालले जानकारी दिए । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो । निर्वाचन गराउन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । साँझ ६ बजेबाट ६ स्थानमा मतगणना भइरहेको छ । तीन घन्टाभित्र निर्वाचन परिणाम घोषणा गर्ने तयारी रहेको छ । ८ वर्षपछि यहाँ स्ववियु निर्वाचन भएको हो । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी संघबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भएको छ ।
कडा सुरक्षाबीच आरआर क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान सुरु
काठमाडौं, चैत १५ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्ववियू निर्बाचन आज मंगलबार सुरु भएको छ । पटक पटक विवाद भएर स्थगित भएको आरआर क्याम्पसको निर्वाचन आज विहान ९ बजेबाट मतदान सुरु भएको हो । आरआर क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र माअोवादी निकट अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धी छन् । निर्बाचनमा अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउदको समूह चुनावी मैदानमा छ । नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर अरबन्द्रि भट्टराईको नेतृत्वमा मैदानमा छ । निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने बताइएको छ । क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको छ ।आरआरमा करिव ३ हजार ५ सय बढी मतदाता छन् ।
बेइजिङमा व्यस्त प्रचण्ड-आज उच्च नेता र व्यापारीसँग भेटदेखि सम्बोधनसम्म
बेइजिङ, चैत १३ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आइतबार पनि व्यस्त रहने भएका छन् । आइतबार विहानैदेखि चिनियाँ उच्च अधिकारीसँग भेटघाटमा रहेका प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटी परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी विश्वविद्यालयले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा आज सम्वोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार नै चिनियाँ व्यवसायीसँग दुई मुलुकको व्यापारिक सम्भावना बारे छलफल समेत गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग प्रधानमन्त्रीले आजै भेटवार्ता गर्ने कार्यक्रम छ । हेनानमा आयोजित बोआओ सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार बेइजिङ फर्केका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसारको सबैभन्दा लामो र ठूलो ग्रेटवाल पर्खालको अवलोकन पुगेका छन् । प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाश शरण महत, नेपाली दूतावासका पदाधिकारीलगायत रहेका थिए । प्रचण्डले भोली राष्ट्रपति सि जिनपिङसँग दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण भेटवार्ता गर्नेछन् । यस्तै १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै, राष्ट्रपति भवनमा सम्मान कार्यक्रम
काठमाडौँ, चैत १२ । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ । भारतीय सेनाको २७ आँै सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो । उहाँले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्नुहुनेछ ।
उपप्रधानमन्त्री निधि र चीनिया रक्षामन्त्री चाङबीच भेटवार्ता
काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज शिष्टाचार भेटबार्ता भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहाँ आइपुगेका चिनिया रक्षामन्त्री चाङ र उपप्रधानमन्त्री निधिबीच आज दिउँसो गृहमन्त्रालयमा भएको भेटमा आपसी हित र सहयोग आदान प्रदानका बिषयमा कुराकानी भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संचार प्रणाली आधुनिकिकरण गर्ने, गृहमन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम उपलब्ध गराउने बिषयमा पनि छलफल भएको थियो । गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहि आएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए । भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीन बिरोधी गतिबिधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनीयाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगका लागि आभार व्यक्त गरे । गत बर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री चाङको ध्यानाकर्षण गराएका छन् । चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस बिषयमा थप कुराकानी गर्ने उल्लेख गरे । साथै, उनलले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैब सहयोग गर्ने पनि बताएका छन् । त्यस अबसरमा गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।
डेढ अर्बको आलु उत्पादन
कलैया, चैत ११। बारामा यसवर्ष रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ । यसवर्ष सी ४० र खुमलटार रातो जातको आलु सात हजार ४५ हेक्टर जग्गामा खेती गरी प्रतिहेक्टर १५ मेटिक टनका दरले एक लाख पाँच हजार ६७५ मेटिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले जानकारी दिए । जिल्लाको अमृतगन्ज, गोलागन्ज, हरिहरपुर, देवापुर, उचिडिह, भगवानपुर, भटिअर्वा, पिपरपानी, बरियारपुर गाविस आलुखेतीको पकेट क्षेत्र मानिन्छ । हाल कलैया बजारमा व्यापारीले आलु प्रतिकिलो रु १५ मा बिक्री गरिरहेका छन् । गत वर्ष विभिन्न जातको आलु सात हजार ४० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १५ मेट्रिक टनका दरले एक लाख पाँच हजार ६०० मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । रासस
हरेक मतदाता तथा उम्मेद्वारलाई सुरक्षा दिइने
काठमाडौं, चैत १० । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाबारेमा जानकारी लिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । छलफलमा आयोगका पदाधिकारीले सुरक्षा तयारीका विषयमा कमजोरी हुन नपाओस् भनेर थप सुझाव पनि दिएका थिए । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानपछिको मतपेटिका ढुवानी, मतगणनाको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था हुने गरी काम गर्न निर्देशन दिए । निर्वाचन आयोग, उच्चस्तरीय सुरक्षा समितिका संयोजकसमेत रहनुभएका आयुक्त सुधीरकुमार शाहले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाप्रति सन्तोष व्यक्त गर्दै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयनयोग्य सुरक्षा योजनालाई प्राथमिकता दिन आग्रह गरेका थिए । गृहसचिव लोकदर्शन रेग्मीले क्षेत्रीयदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा सुनिश्चितता दिने किसिमले मन्त्रालय अगाडि बढेको जानकारी गराए । छलफलमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सचिव गोपीनाथ मैनाली पनि सहभागी थिए । यसैगरी निमित्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठसमेत सहभागी थिए । मतपत्र छपाइ जारी स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा जारी छ । यही चैत ६ गतेदेखि सुरु भएको छपाइका क्रममा १२ जिल्लाका मतपत्र छापिइसकेको प्रवक्ता शर्माले जानकारी दिए ।
कम सुत्नेलार्इ बढी रूघा खोकी
चैत १० । अपर्याप्त निद्राका कारण मानिसमा रुघाखोकीको जोखिम बढ्ने एक अनुसन्धानले देखाएको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका मुख्य शोधकर्ताहरुका अनुसार दैनिक ६ घण्टाभन्दा कम मात्र सुत्ने मानिसलाई रुघाखोकीले बढी सताउने बताउँछन् । डाक्टर एरिक प्राथरका अनुसार रुघाखोकीले सताउने कारक तत्वहरुमा अन्य मध्ये कम निद्रा वा अनिद्रा सबैभन्दा महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ । मानिसहरुको उमेर, वर्ग, तनावको अवस्था, शिक्षा तथा आय वा अन्य जिवनशैली जे सुकै रहेपनि रुघाखोकीका लागि निद्रा सबैभन्दा महत्वपूर्ण विषयको रुपमा रहेको उनले बताएका छन् । शोधका क्रममा १६४ जना स्वस्थ मानिसहरुलाई एक हप्तासम्म उनीहरुको नाडीमा सेन्सर बाँधेर उनीहरुको सामान्य निद्राको आनीबानी रेकर्ड गरिएको थियो । त्यसपछि उनीहरुको नाकबाट रुघा लगाउने राइनो भाइरसको झोल हालियो । अनि उनीहरुलाई ५ दिनसम्म होटलमा छुट्टै राखेर अवलोकन गरियो की कति जनालाई रुघाखोकीको लक्षण देखापर्छ । त्यसक्रममा कम समय मात्र सुत्ने गरेका मानिसहरुमा रुघाखोकीको लक्षण तत्कालै देखा पर्यो भने पर्याप्त निद्रा सुत्ने मानिसहरुमा रुघाखोकी देखा परेन । अपर्याप्त निद्राले मानिसको रोग प्रतिरोधी क्षमता पनि घटाउँछ भन्ने यसअघिको सिद्धान्त समेत यो प्रयोगले सिद्ध गरेको दाबी शोधकर्ताको छ । रातमा ७ घण्टाभन्दा बढि समयसम्म सुत्ने मानिसहरुमा चिसो तथा रुघाखोकीले सताउने जोखिम थोरै सुत्ने मानिसमा भन्दा कम रहने अध्ययनको निष्कर्ष छ । विज्ञहरुका अनुसार स्वस्थ मानिसका लागि रातमा ८ घण्टाको गहन निद्रा आवश्यक हुन्छ ।
शहीद गौतमको घरमै पुगेर माओवादी केन्द्रले दियो छ लाख नगद
कञ्चनपुर, चैत १० । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानेर हत्या गरेका नेपाली युवा गोबिन्द गौतमको परिावारलाई माओवादी केन्द्रले घरमै पुगेर नगद ६ लाख प्रदान गरेको छ । बिहिबार माओवादी केन्द्रकी नेतृ वीना मगरले शहीद गौतमको श्रीमती लक्ष्मी गौतमलाई घरमै पुगेर भेटेर नगद छ लाख दिएकी हुन् । नगद रकम हस्तान्तरण गर्दा गौतमका बुबा, आमा र छोरीलाई साथै राखिएको थियो । माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । धनगढीबाट १० किलोमिटर दक्षिणको सीमावर्ती कञ्चनपुरको आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा फागुन २६मा एसएसबीले प्रहार गरेको गोली लागि गौतमको निधन भएको थियो। सरकारले फागुन २७मा एसएसबीको गोलीबाट निधन भएका पुनर्वास–८, कञ्चनपुरका २५ वर्षका गौतमलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित प्रहरीले ११ तोपको सलामी सहित फागुन २९ मा दोदा नदीकिनारमा अन्त्येष्टि भएको थियो । शहीद गौतमको परिावालाई नेकपा एमालेले दिने भनेको पाँच लाख रुपैयाँको चेक वाउन्स भएपछि आलोचना भएको थियो ।
कुमारी बैंकले नगद लाभांश वितरण गर्ने
काठमाडौँ, चैत ९ । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज सम्पन्न १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पँुजीको २१ प्रतिशत अर्थात् रु ५६ करोड ६८ लाख बराबरको बोनस सेयर स्वीकृत गरेको हो । साधारणसभाले कुमारी बैंकले काष्ठमाण्डप डेभलमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउने प्रस्तावसमेत पारित गरेको कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जानकारी दिनुभयो । बैंकले माथि उल्लिखित प्राप्तिसम्बन्धी कार्य समाप्त भई एकीकृत कारोबार भएपश्चात् कायम हुने चुक्ता पुँजीमा थप रु एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात क्रमशः सुधार हुँदै गएर आव २०७२÷७३ मा १.१५ प्रतिशत कायम रहेको र सो अवधिमा बैंकले रु सात करोड १६ लाख खुद मुनाफा गर्न सफल भएको छ ।
निर्वाचनले पाल्पाका मतदातामा उत्साह
पाल्पा, चैत ९ । आगामी २०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यहाँका मतदातामा उत्साह थपिएको छ । लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायप्रति नागरिकका समस्या तथा गुनासा बढेका बेला स्थानीय तहको निर्वाचन हुने भएपछि मतदातामा उत्साह थपिएको हो । स्थानीय तहको निर्वाचनमा एकपटक पनि मतदान नगरेका मतदाताले आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने भएसँगै खुसी देखिएका छन् । स्थानीय बासिन्दा शिव विश्वकर्माका अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचनले आफूहरुले नेतृत्व चुन्न पाउनेभएकामा खुसी छन् । स्थानीय तहको निर्वाचनपछि वडा र गाउँपालिका तथा नगरपालिकामा जनप्रतिनिधि आउने र कर्मचारीको भरमा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यतासमेत हट्नेछ । जनताका काम छिटोछरितो रुपमा सम्पादन हुने आशाका साथ मतदाता निर्वाचनमा सहभागी हुने देखिएका छन् । स्थानीय बासिन्दा आफूले रोजेको प्रतिनिधि चुन्न पाउने भएसँगै पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकामा उत्साह थपिएको हो । मतदाताले जनप्रतिनिधि चुन्न पाउने भएपछि निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा चहलपहल बढ्ने पनि बताएका छन् । करिब बीस वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेको थिएन । योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामा मात्र गाउँको विकास हुने भएकाले मतदाताले आफूले रोजेको योग्य, सक्षम, इमान्दारी व्यक्तिले मात्र मत पाउने देखिएको छ । सक्षम व्यक्तिलाई मात्र मतदान गर्ने र पार्टी नभन्ने स्थिति सिर्जना हुने भएपछि दललाई उम्मेदवारी दिने मोह बढेपनि उम्मेदवार छनौटमा समस्या हुने देखिएको हो । नेपालकै पुरानो नगरपालिकामा तानसेनमा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसले प्रतिनिधि छनौटमा ककसलाई उम्मेदवारमा उठाउँदा विजय हुन्छ भन्ने विषय नै दलमा महत्वका साथ उठेको छ । लोकप्रिय र विकासप्रेमी नेतालाई चुनावी मैदानमा उठाउनु बाध्यता रहेको छ । पाल्पाको पुरानो सहर तानसेनमा को को उम्मेदवार बन्ने हुन् र कसले निर्वाचनमा जित्ने हुन् भन्ने चर्चा चियापसलदेखि चोकचोकमा हुन थालेको छ । आफ्नो मान्छेभन्दा पनि राम्रो मान्छे मतदाताले रोज्ने कुरा दलले बुझेका छन् । तानसेनमा प्रभाव जमाएका प्रभावशाली नेतालाई निर्वाचनमा उठाउँदा पार्टीको अस्तित्व रहने भएकाले उम्मेदार उठाउने विषयले दलभित्र समेत चर्चा परिचर्चा हुन थालेको पाइन्छ । नेपाली काँग्रेसले तानसेन नगरपालिकाको प्रमुखमा पार्टी सचिव अजयमान कर्माचार्य, पूर्वनगरसभापति चोकमान शाक्य र राजेन्द्र गोपाल सिंहको नाम यतिबेला चर्चामा छ । नेकपा (एमाले)ले तानसेन नगरपालिकाको प्रमुखका पूर्वमेयर अशोक शाही, डा पुरन बज्राचार्य र एकप्रसाद भण्डारी तथा तीर्थप्रसाद गौतमको नाम चर्चाको विषय बनेको छ । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का पूर्वनगर अध्यक्ष केशव पौडेल, गोपाल पौडेल, विन्दु रावल र नवीन थापाको नाम चर्चामा रहेको छ । दलले यी स्थापित नेतालाई निर्वाचनमा उठेको अवस्थामा निर्वाचन कडा प्रतिस्पर्धा हुने र आफ्नो पक्षमा भारी मत पर्ने दाबी छ । तानसेन नगरपालिकामा मात्र होइन, दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिका, बगनाँसकाली गाउँपालिका माथागढी, तिनाउ, रिब्दीकोट, रम्भादेवी, छहरा, रैनादेवी, पूर्वखोला र निस्दी गाउँपालिकामा दलले निर्वाचनको माहोल बनाउन बैठक, सभा, सम्मेलन तथा कार्यकर्तासँग भेटघाटलाई निरन्तरता दिँदै आएका छन् । यसले निर्वाचनको माहोल बढेको छ । तानसेन नगरपालिकामा २१ मतदान केन्द्र, रामपुर नगरपालिकामा १४, बगनाँसकाली गाउँपालिका ११, माथागढीमा १०, तिनाउमा नौ, रिब्दीकोटमा १०, रम्भादेवीमा नौ, छहरा रैनादेवीमा १४, पूर्वखोलामा १० र निस्दी गाउँपालिकामा नौ गरी जिल्लामा एकसय १७ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय पाल्पाको प्रमुख धर्मा अर्यालले बताउनुभयो । हालसम्म एकलाख ६८ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा पाल्पामा एकलाख ३६ हजार मतदाता रहेका थिए । रासस
प्रधानमन्त्री र जापानका पूर्व प्रधानमन्त्रीबीच भेट
काठमाडौं, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. युकियो हातोयामाबीच शिष्टाचार भेट भएको छ । मंगलबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा नेपाल र जापानबीचको आपसी हित र सम्वन्धका वारेमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र जापानबीच आत्मीय र भावनात्मक सम्बन्ध रहेको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्वन्धलाई थप गतिशील बताउने बताए । प्रधानमन्त्रीले अहिले नेपालमा नेपाली जनता आफैले लेखेको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तहको निर्वाचनमा जुटेको वताउँदै आफूले राजनीतिक परिवर्तन संस्थागत गरेर आर्थिक विकास र सम्वृद्धिमा जोड गरिरहेको जानकारी गराए । प्रधानमन्त्रीले भुकम्पपछिको पुर्ननिर्माणमा जापानी सहयोगप्रति आभार प्रकट गर्दै सुरुङ मार्ग निर्माण सहित पूर्वाधार र विकास निर्माणमा प्राप्त सहयोगप्रति धन्यवाद दिए। प्रधानमन्त्रीले नेपालमा विदेशी लगानीका लागि सकारात्मक वातावरण वनाउन सरकार र राजनीतिक दलहरु लागिपरेको बताउँदै जापानको अनुभव र प्रविधिवाट नेपालले धेरै कुरा सिक्न सक्ने जनाए । जापानी पूर्व प्रधानमन्त्रीले तीन वर्षपछि पुनः नेपाल आउँदा यहाँ नयाँ संविधान बनेर चुनाव हुन लागेको खवर पाउँदा आफू धेरै खुशी भएको बताउँदै संविधान कार्यान्वयनसँगै आर्थिक विकास र सम्वृद्धिका लागि स्पष्ट धारणाका साथ अघि बढेकोमा प्रधानमन्त्रीलाई सफलताको कामना गरे । उनले बुद्धको देश नेपालमा प्रधानमन्त्री दाहालले भगवान अशोकाले झैं युद्धवाट शान्तिमा आएर शान्ति र विकासमा योगदान पुर्याएको भन्दै उनलाई आधुनिक अशोकाको संज्ञा दिए । प्रधानमन्त्री प्रचण्डले आफू युद्धवाट शान्तिमा आएकोमा खुशी रहेको बताउँदै अब आफ्नो सम्पूर्ण शक्ति, समय र क्षमता नेपालको विकास र सम्वृद्धिमा लगाउन इच्छुक रहेको जानकारी दिए । जापानले नेपाललाई नगिचवाट सहयोग गर्ने बताउँदै पूर्व प्रधानमन्त्री हातोयामाले नेपाल प्राकृतिक, साँस्कृतिक, धार्मिकरुपमा धेरै धनी रहेकाले छिट्टै आत्म निर्भर अर्थतन्त्र निर्माण र विकासमा फड्को मार्ने अपेक्षा गरे ।
पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै कञ्चनपुरवासीले बुझाए प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र
कञ्चनपुर (सप्तरी), चैत ८ । स्थानीय तह पुनःसंरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढङ्गले गाविस समाहित गरिएको भन्दै यहाँ असन्तुष्टि देखिएको छ । यसै क्रममा सोमबार स्थानीयले त्रुटिपूर्ण पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नपामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै सङ्कटमा पर्ने ठहर गर्दै नगरवासीको बृहत् भेलाले पूर्व मेयर सैलेश चौधरीको संयोजकत्वमा एकहजार एक सदस्यीय ‘राजविराज नगर सीमाङ्कन सुधार सङ्घर्ष समिति’ गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको हो । सङ्घर्ष समितिका संयोजक चौधरीले भन्नुभयो, “अविलम्ब त्रुटि नसच्याए दोस्रो चरणमा आन्दोलनको सशक्त कार्यक्रम अघि बढ्छ ।” ज्ञापनपत्रमा पूर्वमा खाडो खोलाभन्दा पश्चिम, उत्तरमा बसविट्टि गाविसको सीमादेखि औद्योगिक क्षेत्रसम्म, पश्चिममा घोडदहनीदेखि पूर्व र दक्षिणमा इटहरी विष्णुपुर गाविसको पश्चिम कोसी नहरदेखि उत्तरको भाग मात्र राजविराज नगरपालिकामा गाभिनुपर्ने माग अघि सारिएको छ । हाल नपामा हरिहरपुर को मधेपुरा, देउरी भरुवालगायतका गाविस समेटिएका छन् जुन अत्यन्तै अपायक र अव्यवहारिक भएको र नयाँ संरचनाले नगरलाई झन् अस्तव्यस्त बनाउने सङ्घर्ष समितिको ठहर छ । ज्ञापनपत्रमा स्थानीय तह पुनःसंरचना गर्दा नगर र जिल्लावासीसँग कुनै छलफल र सुझाव सङ्कलन नै नगरी काठमाडौँमा बसेर केही नेता र सांसदको चुनावी लाभका लागि एकपक्षीय ढङ्गले सीमा तोकिएको उल्लेख गर्दै त्यस्तो संरचना आफूहरुलाई कुनै पनि हालतमा स्वीकार नहुने जनाइएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिनुभयो । रासस –––––––