प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि राजनीतिक सबै दलहरु बीचमा सहमति गराउन प्रधानमन्त्रीले सर्वदलको बैठक डाकेका हुन् ।
प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने ३० वटै दललाई दिउँसो ३ बजेपछि संसद् भवन बानेश्वरमा बोलाउनु भएको छ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाविन्द आचार्यले भने ।

व्यवस्थापिका संसद बानेश्वरको शंकर हलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइएको उनले बताए ।

छलफल संविधान संशोधन र सरकारले सोमबार घोषणा गरेको स्थानीय तहको चुनावमा केन्द्रीत हुने प्रेस सल्लाहकार आचार्यले बताए ।
गएको मंसिर १४ गते नै संसदमा दर्ता भएको संशोधन विधेयकमाथि कानुनमन्त्री अजयशंकर नायकले सैद्धान्तिक छलफल अघि बढाउन प्रस्ताव गर्नुहुनेछ । सोमबारको मन्त्रिपरिषद् बैठकले
मधेस केन्द्रित दलले संशोधन प्रस्ताव पारित गर्न माग गर्दै आएका छन् भने प्रमुख विपक्षी एमालेले संशोधन प्रस्तावमाथि छलफल नै अघि बढाउन नहुने अडान राख्दै आएको छ । सरकारले आफ्नो माग अनुसार चुनावको मिति पनि घोषणा गरेकाले एमालेले को संसद बैठकमा लचकता अपनाउने विश्वास गरिएको छ । सत्ता साझेदार नेपाली कांग्रेस सहित विपक्षी दल एमाले, राप्रपा लगायतले चुनावको मिति घोषणा सकारात्मक भएको बताएका छन् ।

मधेसी मोर्चाले भने चुनावको मिति घोषणामा विमती जनाएको छ । मिति घोषणा लगत्तै बसेको मोर्चाको बैठकले संविधान संशोधन प्रक्रिया अघि नबढाई सरकारले एक्कासी चुनाव घोषणा गरेको भन्दै मंगलबारदेखि विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

अपराधीलाई राजनीतिक संरक्षणका कारण दन्डहिनता बढेको आरोप

सुनसरी, फागुन ६ । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गर्ने गरेका कारण दन्डहीनता बढेको आरोप लगाएका छन् । जिल्ला सरकारी कार्यालय सुनसरीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै महान्यायाधिवक्ता श्रेष्ठले अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गर्न नछाडेसम्म नेपालको न्याय क्षेत्र हस्तक्षेपमुक्त नहुने बताए । उनले गम्भीर प्रकृतिका अपराधीलाई कानुनी कारबाही अगाडि बढाउँदा राजनीतिक दलका नेताहरुले प्रहरी, सरकारी वकिल र न्यायाधीशहरुलाई नै त्यसो नगर्न दबाब दिने गरेको खुलासा पनि गरे । अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदासमेत राजनीतिक दलहरुबाट अपराधीको पक्षमा समर्थन हुने गरेको उनको भनाइ थियो ।

राप्रपा अध्यक्ष पदमा डा. लोहनीको उम्मेदवारी घोषणा

काठमाडौँ, फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “एकतन्त्रिय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।” राप्रपा र राप्रपा नेपालबीच एकता हुँदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उलङ्घन हुँदा लाखौं कार्यकर्ताको उत्साह मर्ने भएकाले आफूले कार्यकर्ताको उत्साहलाई भर्न तथा पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारी दिने निधो गरेको डा लोहनीले बताउनुभयो । महाधिवेशनमा आफनो विजय सुनिश्चित रहेको र पार्टीभित्र शक्ति सन्तुलन र नियन्त्रणमा आफूले खलल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टी एकता हुँदा चुनाव चिन्ह हलो राख्ने सहमति भएको उहाँको भनाइ छ । पार्टी एकतापछि पछिल्लो समय राष्ट्रिय अध्यक्षको भूमिकामा रहनुभएका डा लोहनीले धर्म जीवनको अङ्श भएकाले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म र राजसंस्थाको पक्षमा आफनो पार्टी रहेको उल्लेख गर्नुभयो । दुबै पार्टीको एकतापछि राप्रपाको पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो । यस अघि बिहीबार मात्रै कमल थापाले आफूलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको दाबी गर्नुभएको थियो । रासस

रसियाली राष्ट्रपति पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड

मस्को (रसिया), फागुन ६। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य राष्ट्रसँगको कुराकानीलाइृ पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ । रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको कुराकानीका क्रममा बताउनुभयो । सम्बन्धमा आएको गतिरोध वा सम्बन्ध विकासमा समस्या आउनुमा रसियाको गल्ती नभएको बताउँदै आतङ्कवादविरोधी कार्यमा सम्पूर्ण जिम्मेवार राष्ट्रबीच सहकार्य हुनु विल्कुल आवश्यक विषय भएको छ, पुटिनले एफएसबीसँगको कुराकानीमा बताउनुभयो । अमेरिकी प्रशासनको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि रसिया र अमेरिकाको सम्बन्ध सुधारको सङ्केत देखिएको बेला पुटिनको यो भनाई आएको छ । रसियाली राष्ट्रपतिले आतङ्कवादी च्यानल र स्रोतहरुका बारेमा आदानप्रदान हुने सामान्य सूचना आतङ्कवादीविरुद्धको अभियानमा एउटा कोसेढुृङ्गा हुनसक्छ भन्नुभयो । तर अमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध र रसियाको अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषय अमेरिकी राजनीतिक जगत्मा ठूलो चर्चांको विषय बनेको छ । रासस

यसकारण बसिरहेको छ, एमालेको पोलिटब्युरो बैठक

काठमाडौं, फाल्गुन ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा शुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । अध्यक्षको प्रतिवेदनमा संविधान कार्यान्वयन, निर्वाचनको वातावरण, पछिल्ला राजनीतिक घटनाक्रम र प्रवित्तिहरु समेटिएको सचिव योगेश भट्टराईले जानकारी दिए । दुई दिनसम्म चल्ने पोलिटब्युरो बैठकले राजनीतिक निकासका लागि पार्टीको आगामी भूमिका र रणनीति तय गर्ने भट्टराईले बताए । यही फागुन २१ गतेबाट सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानका कार्यक्रममाथि छलफल गर्दै बैठकले अन्तिम रुप दिने एमालेले जनाएको छ । एमालेले यही आउँदो फागुन २१ गते झापाको काकडभिट्टाबाट अभियानको सुरुवात गर्दैछ । पछिल्लो समय मधेशी मोर्चासँगको सम्बन्ध सुधार उन्मुख भएको निष्कर्षमा पुगेको एमालेले पोलिट्ब्युरो बैठकमा त्यसलाई सुदृढ पार्ने थप रणनीति तय गर्नेछ । बैठकमा आगामी फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा पार्टी निकट अनेरास्ववियुलाई जिताउने सम्बन्धमा समेत रणनीति तय गर्ने सचिव भट्टराईले जानकारी दिए ।

डडेल्धुरा जीप दुर्घटनामा मृतक संख्या सात पुग्यो (नामावलीसहित)

डडेल्धुरा, ४ फागुन । आज भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक दुर्घटनामा परेको हो । सो दुर्घटनामा परेर भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । यस्तै दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै तथा भागेश्वर–७ का पदम मल्लको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । घाइते पाँच जनाको उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ । जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश सडक जोखिमपूर्ण छन् ।

चार जनाको सामुहिक हत्या गर्ने अभियुक्त छत्तिस वर्षपछि जेल चलान

रुकुम, फागुन ४ । जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ। जिल्लाको चुनवाङ–४ भेडिडाँडामा २०३७ साल कात्तिक ३ गते भएको चार जनाको सामूहिक हत्याकाण्डका अभियुक्त रुँघा–६ का धनबहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो। घटनाका मुख्य अभियुक्त रुघाँ–६ कै मनबहादुर खत्री भने अझै बेपत्ता रहेको बताइएको छ। उनीहरुले एकै परिवारका चारजनाको हत्या गरेका थिए भने तीनजनालाई घाइते बनाएका थिए। सो घटनामा तुलसी खड्का, सर्केनी खड्का, प्रतिमान खड्का र तृथाकुमारी खड्काको हत्या भएको थियो भने उक्त परिवारकै नन्दकुमारी खड्का, भूपबहादुर खड्का र विर्सु खड्का घाइते भएका हुन्। घटनामा दोषी पाइएपछि जिल्ला अदालत रुकुमले २०४० साल जेठ ३ गते मनबहादुरलाई सर्वश्वसहित जन्मकैद र धनबहादुरलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। तर घटनाको फैसला हुनुअघि नै क्षेत्रीय अदालतले २०३८ साल साउन १९ मा दुवैलाई तारेखमा छाडेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि घटनाका अभियुक्त दुवैजना फरार भएका थिए । प्रहरीले गत माघ २७ गते खत्रीलाई आफ्नै घरबाट पक्राउ गरेको थियो। रासस

कर्णालीमा २० किलो चामल दिने प्रक्रिया सुरु

मुगु, २ फागुन । सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हँुदा र मृत्यु संस्कारमा सरकारले स्थानीयवासीलाई २० किलो चामल अनुदानमा दिने घोषणा गरेको थियो । सरकारले घोषणा गरेको पाँच महिनापछि मुगुलगायत कर्णालीका अन्य पाँच जिल्लामा चामल दिने प्रक्रिया सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गर्दा सामाजिक सञ्जाल र कर्णाली क्षेत्रका राजनीतिज्ञ, विज्ञ, तथा नागरिकले अनुदाने चलनले कणालीवासीलाई परनिर्भर नबनाउने बरु कर्णालीवासी झन गरिब हुने भन्दै दिने भए दीर्घकालीन विकास देउ, शिक्षा, रोजगारीमा अवसर देउ भनी चर्को विरोध गरेका थिए । विरोधका बीच सरकारले संसद्बाट कर्णाली क्षेत्रमा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामल र ढुवानी खर्च दिनेसम्बन्धी निर्देशिका पारित गरेको थियो । सरकारले २० किलो चामल र ढुवानी खर्च वितरणका लागि सरकार मातहतको नेपाल खाद्य संस्थानलाई जिम्मा दिएको छ । कर्णालीमा रहेका संस्थानका पाँच वटै शाखा कार्यालयले आइतबार पाँच वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खाद्य व्यवस्थापन समितिको बैठक बसी २० किलो चामल र ढुवानी खर्च दिने सरकारको निर्णय कार्यान्वयन गर्न निर्णय गरेका छन् । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला खाद्य व्यवस्थापन समिति मुगुका संयोजक केशवराज शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले जन्म र मृत्यु भएको गाविसको प्रमाणित कागजात ल्याएमा संस्थानमा आउने कर्णालीवासीलाई आइतबारबाट चामल दिने र चामल लिन शाखा तथा डिपो कार्यालय रहेका गाविसभन्दा बाहिरका स्थानीय आएमा प्रतिदिन रु ५०० का दरले ढुवानी खर्च दिने र यो बढीमा दुई दिनसम्मको मात्र दुवानी खर्च दिने निर्णय भएको बताउनुभयो । मुगु मात्र नभएर यो प्रक्रिया कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा समेत समितिले निर्णय गरेर संस्थानलाई निर्देशन समेत दिएको पनि प्रजिअ शर्माले बताउनुभयो । सरकारले गत पुस १ गतेबाट चामल र ढुवानी दिन निर्देशन दिएको भए पनि कर्णालीमा अख्तियारी ढिला आउँदा समय लागेको मुगु खाद्य संस्थानका शाखा प्रमुख गङ्गाराम साहले बताउनुभयो । रासस File photo

नारायणकाजी किन गए अचानक दिल्ली ?

काठमाडौं, २ फागुन ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । आजको नागरिक दैनिकमा खबर छ– पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन् । मुलुकभित्र संविधान संशोधन र निर्वाचनमा ‘सहमति जुटाउन’क्रियाशील श्रेष्ठले अचानक नयाँदिल्ली पुगेर थालेको राजनीतिक भेटघाटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । ‘श्रेष्ठले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहमत गराउनेबारे नयाँदिल्लीमा भारतीय नेतासँग छलफल गर्देछन्’श्रोतले भन्यो । माओवादी केन्द्रका विदेश विभाग सदस्य युवराज चौलगाईका अनुसार पार्टी संगठनको सम्मेलन उद्घाटन गर्न गए पनि नेता श्रेष्ठले भारतीय राजनीतिक दलका नेतासँग पनि राजनीतिक भेटघाट गर्नेछन् ।‘पार्टीका प्रवास संगठनको सम्मेलन उद्घाटन गर्न जानुभएको हो।’चौलगाईले भने, ‘र सोही क्रममा भारतीय भारतीय राजनीतिक दलका नेतासँग स्वभाविक रुपमा त्यहाँ भेटघाटका कार्यक्रम हुनेछन्।’उनका अनुसार सोमावार श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम भएपनि लम्बिन सक्ने सम्भावना बढ्दै गएको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख राम माधव, कांग्रेस आईका वरिष्ठ नेता करण सिंह, मणिशंकर ऐयर, भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम येचुरीलगायतसँग हुने भेटघाट खुलेको भए पनि अन्य ‘शीर्ष राजनीतिक भेटघाट’ बारेमा भने माओवादीले केही खुलाएको छैन ।

इन्भेष्टमेन्ट बैंकबाटै २३ लाख गायव

धनगढी, फागुन १ । नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट रु २३ लाख गायब भएको छ । सो ठूलोमात्रामा रकम गायव भएको वैकका कर्मचारीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

ट्रम्पको अपिल पुनरावेदन अदालतबाट पनि खारेज

एजेन्सी, वासिङट्न, माघ २८ । अमेरिकाको संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिल खारेज गरेको छ । सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा बन्देज लगाउने आफ्नो आदेशलाई एक संघीय अदालतले रोकेपछि उनले सानफ्रान्सिस्कोस्थित पुनरावेदन अदालतमा त्यसविरुद्ध अपिल गरेका थिए । तर तीन जना न्यायाधीशको इजलासले सर्वसम्मतिका आधारमा ट्रम्पको अपिललाई खारेज गरेको छ । उक्त निर्णयसँगै ट्रम्पले इरान, इराक, सोमालिया, सुडान, सिरिया र यमनसहित सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने योजना अन्यौलमा परेको छ। न्यायाधीशहरूले भनेका छन्, ‘ट्रम्पले बन्देज लगाएका ७ मुस्लिम राष्ट्रका नागिरिकले अमेरिकामा कुनै आतंकवादी गतिविधिमा संग्लग्न रहेको प्रमाण अदालतमा प्रस्तुत भएन ।’ राष्ट्रपतिले राष्ट्रिय सुरक्षाका निम्ति लिएका कदमविरुद्ध अदालतले केही गर्न नसक्ने भन्ने सरकारको भनाइलाई पनि अदालतले खण्डन गरेको छ। अदालतले भनेको छ–संवैधानिक लोकतन्त्रमा अदालतको भूमिका महत्वपूर्ण हुन्छ । गत हप्ता न्यायाधीश जेम्स रोबार्टले ट्रम्पको आदेशलाई अन्तिम फैसला नभएसम्म लागू नगर्न आदेश दिएका थिए। रोबर्ट रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका जर्ज डब्ल्यु बुशले नियुक्त गरेका न्यायाधीश हुन् । ट्रम्पको अपिललाई खारेज गर्ने तीन न्यायाधीशमध्ये दुई जना डेमोक्रयाटिक र एक रिपब्लिकन पार्टीका राष्ट्रपतिबाट नियुक्त भएका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अब राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन्। अहिले त्यहाँ ८ न्यायाधीश रहेकोमा ४ जना रिपब्लिकन र ४ डेमोक्र्याटिक पार्टीबाट नियुक्त भएका हुन् । यदि रिपब्लिकन पार्टीका राष्ट्रपतिद्वारा नियुक्त भएका न्यायाधीशले ट्रम्पको पक्ष लिए सर्वोच्च अदालतको मत ४र४ मा बाँडिने छ। त्यस्तो अवस्थामा तल्लो अदालतको फैसला सदर हुनेछ ।

प्रेस काउन्सिलले विधागत पत्रकारिताबारे नयाँ रणनीति ल्याउने

काठमाडौँँ,  माघ २८ । प्रेस काउन्सिल नेपालले विधागत (बिट) पत्रकारितामा देखिएका समग्र समस्याको पहिचान गरी नयाँ नीति तय गर्ने भएको छ । काउन्सिलले  बिहिबार आयोजना गरेको विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिसँगको अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो । खास गरी विधागत पत्रकारितालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन त्यससँग सम्बन्धित सरोकारवालासँग काउन्सिलले पहिलो पटक छलफल गरेको अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रममा ‘नेपाल फोरम अफ साइन्स’ जर्नालिस्टका अध्यक्ष छत्र कार्की, वैैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल र शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहाल लगायतले विधागत पत्रकारितामा देखिएका विकृत्तिलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार सङ्घका उपाध्यक्ष नवराज पुडासैनी र विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई लगायतले विधागत पत्रकारितालाई थप व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । ‘विधागत पत्रकारिता विशिष्ट आचारसंहिता’ बनाउनेसम्बन्धी काउन्सिलले छलफलसमेत अगाडि बढाउने भएको छ । कार्यक्रमका सहभागीले पत्रकारितामा अघोषित सिन्डिकेटको विकास भएको, उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गर्न नसकिएको, विधागत पत्रकारितामा विज्ञ व्यक्तिको अभाव, तालिमको अभाव, नयाँ नीति र समन्वयको अभावलगायतका समस्या रहेकाले त्यसको समाधानका लागि विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थासंग समन्वय गरेर अगाडि बढ्न प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका थिए । रासस

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

काठमाडौं, माघ २७ । मन्त्रीपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजवीनका लागि बेपत्ता आयोगको म्याद एक वर्ष थप भएको छ । बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद्को बैठकले दुई आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । निर्धारित समयमा काम नसकिएको भन्दै दुवै आयोगले सरकारसमक्ष म्याद थपको लागि आग्रह गरेका थिए । दुवै आयोग २०७१ माघमा गठन भएको थियो । दुवै आयोगको म्याद बुधबारदेखि माघ २६ देखि सकिएको थियो । बैठकले नेपाल प्रहरी र शसस्त्र प्रहरीको महानिरीक्षकको बिषयमा कुनै निर्णय गरेन । दुवै संगठनका प्रमुखहरु उमेर हदका कारण फागुन २ गते अवकाश हुँदैछन् । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगै सबै एआईजीहरु अवकाश पाउने भएकाले त्यसअघि नै मन्त्रिपरिषद्ले भावी प्रमुखबारे निर्णय गर्नुपर्ने हुन्छ । केही विषयमा निर्याय गर्ने भन्दै दिउँसो मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकिएको थियो । बिहीबार विहान बस्ने भनिएको मन्त्रिपरिषद् एक्कासी स्थगित गरिएको थियो ।

आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा

सप्तरी, माघ २७ । विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ । कार्यालय प्रमुख मनिष दासका अनुसार राजविराजस्थित गरगहना पसलमा आज अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको हो । कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, श्री गणेश ज्वेलर्स, न्यू जगदम्बा ज्वेलर्सका व्यवसायी तथा लहानका अन्य तीन सुनचाँदी व्यवसायीलाई नापतौल ऐन, २०२५ बमोजिम कारबाही अघि बढाइएको उहाँले बताउनुभयो । यसैगरी स्वीकृति नलिई सञ्चालनमा रहेका केही पसललाई तीन दिनभित्र इजाजत पत्र लिन निर्देशन दिएको र त्यसको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गरिने क्षेत्रीय प्रमुख दासले जानकारी दिनुभयो ।

डन दीपक मनांगे राप्रपाको जिल्ला अध्यक्ष निर्वाचित

काठमाडौं, माघ  २६।  डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो । प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए । ‘कानुनले मनांगेलाई सजाय तोकेको छैन । पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।’ निर्वाचित भएपछि मनांगेले ३५ सदस्यीय समिति गठन गरेका छन् । निर्वाचित भएपछि मनांगेले कुनै प्रतिक्रिया दिएनन् । मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । गत संविधानसभा चुनावमा मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले १४ सय मत ल्याएर जितेका थिए । राप्रपाले ११ सय र राप्रपा नेपालले ६ सय मत ल्याएको थियो । दुई राप्रपा एक हुँदा मनाङमा राप्रपा बलियो देखिएको थियो । मनांगे प्रवेश गरेपछि राप्रपा बलियो भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनाङमा निर्वाचन हुँदा काठमाडौंबाट भोटरलाई हेलिकोप्टरमा लगेर दलहरूले आफ्नो दलमा भोट हाल्न लगाउने गरेका छन् । यो खबर आजको नयाँ पत्रिकामा  छ ।

९० प्रतिशतको मृत्युको कारणः प्रदूषण

ललितपुर,  माघ २५। वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ । नेपालजस्ता विकासोन्मुख देशमा अधिक रुपले प्रदूषणकै कारण मृत्यु हुने मानिसको सङ्ख्या भने डरलाग्दो स्थितिमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख छ । यो सङ्ख्या नेपालको परिप्रेक्ष्यमा प्रदूषणका कारणले ९० प्रतिशत मानिसको ज्यान जाने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा खेम कार्कीका अनुसार एसिया क्षेत्रका देशमा प्रत्येक तीन मानिसको मृत्यु हुँदा दुई जना वायु प्रदूषणकै कारण हुने गरेको छ । प्रद्ूषण अधिक रुपमा विद्युत्भार कटौतीका समयमा हुने गरेको उहाँले बताउनुभयो । यसैगरी काठमाडौँ उपत्यकाका हकमा यहाँ सञ्चालित इँटाभट्टाबाट अधिकमात्रामा प्रदूषण बढ्दै गएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार प्रदूषण न्यून गर्नका लागि व्यवस्थित रुपमा कलकारखाना तथा उद्योग सञ्चालन गरिनुपर्छ । विद्युत्भार कटौतीको समयमा चलाइने जेनेरेटरका कारण आउने धुवाँले वायु प्रदूषणमा वृद्धि भइरहेको जनाइएको छ । उक्त समयमा ५७ दशमलव ५४ प्रतिशत वायु प्रदूषण हुने गरेको अध्ययनले देखाएको छ । उहाँका अनुसार वायु प्रदूषण मध्याह्नभन्दा बिहान बेलुका अधिकतम रहने गरेको छ । नेपालमा मात्रै बर्सेनि एक लाख ३६ हजार मानिसको प्रदूषणकै कारण मृत्यु हुने गरेको उहाँले बताउनुभयो । प्रदूषणले मानिसको स्वास्थ्यमा गहिरो असर पारिरहेको बताइएको छ । यसबाट मुटु, दमखोकी र फोक्सोमा अधिकतम असर पर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार प्रदूषणले ७२ प्रतिशत मुटु, १४ प्रतिशत दमखोकी र १४ प्रतिशत फोक्सोमा रोग लाग्ने गरेको छ । प्रदूषणकै कारणले निमोनिया रोगमा वृद्धि तथा ट्राफिक प्रहरीलाई पनि अधिक समस्या ल्याएको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वायु विशेषज्ञ भूपेश अधिकारीका अनुसार वायु प्रदूषणले मानिसको जीवनयापनमा थप चुनौती ल्याएको छ । यसले अकालमा बर्सेनि हजारौँ मानिसले ज्यान गमाउनु परेको उहाँले बताउनुभयो । प्रदूषणले अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज अवतरणमा समेत समस्या आइरहेको उहाँको भनाइ छ । हवाइजहाजको दृश्यपनमा समस्या आउनाले अवतरणमा जोखिम रहेको उहाँले बताउनुभयो । नेपाल जस्तो अविकसित देशमा प्रदूषण न्यून गर्न सम्बधित निकायको बेलैमा ध्यान नगए यसले दीर्घकालीन समस्या ल्याउनेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । प्रदूषण कम गर्ने उपायको खोजी गरेर समाधानतर्फ जानुपर्नेमा उहाँको जोड छ । उहाँका अनुसार मानिसले खोक्दासमेत वायु प्रदूषणमा असर देखिएको छ । खासगरी सडकमा गुड्ने यातायातका साधनबाट अधिक रुपमा दिनानुदिन वायु प्रदूषण वृद्धि भइरहेको उहाँको तर्क छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा डा जीवराज पोखरेलका अनुसार वायु प्रदूषण नियन्त्रणका लागि राज्यले गर्ने लगानीमा वृद्धि गरिनुपर्छ । प्रदूषण न्यून गर्न नास्टले समेत समय समयमा आवश्यक भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । प्रदूषण नियन्त्रणम नागरिकलगायत राजनीतिक इच्छाशक्ति हुनु जरुरी रहेको उहाँको भनाइ छ । रासस