बरालडाँडा भगवतीमा माघेसङ्क्रान्ति मेला सुरु

पोखरा, माघ १ । कास्की जिल्लाको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने बरालडाँडामा आजदेखि बरालडाँडा भगवती माघेसङ्क्रान्ति मेला सुरु भएको छ ।

‘बरालडाँडा भगवती मन्दिरमा जाऔं, भगवती माईको दर्शन गरौं, माघेसङ्क्रान्ति मेलामा रमाऔं’ भन्ने मूलनाराका साथ आयोजना गरिएको सो मेला भोलिसम्म चल्ने छ ।

बरालडाँडा तमु समाज सेवा समितिको आयोजनामा भएको सो मेलामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम र छेलो हान्ने प्रतियोगिता हुने छन् ।

पुरुष भलिबल प्रतियोगितामा १३ टोलीले भाग लिएका छन् । प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीलाई क्रमशः रु.२५ हजार र रु।

१५ हजार पुरस्कार दिइने मेला व्यवस्थापन समितिका संयोजक चीनबहादुर गुरुङले बताए ।

संसदको लेखा समितिमा एमालेको बार्गेनिङ, विवादका कारण सभापति चयन कार्यक्रम स्थगित

काठमाडौं, पुष २७ । व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिका सभापतिको निर्वाचन कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले सभापति चयन प्रक्रिया पारदर्शी नभएको आरोप लगाएपछि विवाद सिर्जना भएको हो । विवादका कारण आज बुधबार चयन हुने भनिएको प्रक्रिया अवरुद्ध भएको छ । एमालेले निर्वाचन कार्यक्रम तय भएपछि सभामुख ओनसरी घर्तीले सदस्य थप गरेको भन्दै आपत्ती जनाएपछि आजको कार्यक्रम स्थगित गरिएको हो । समितिमा नेपाली कांग्रेसका तर्फबाट धु्रव वाग्ले थपिएका थिए । यद्यपी संख्यात्मक आधारमा हेर्दा सदस्य थपिएपनि त्यसले निर्वाचनको परिणामलाई भने कुनै असर पर्ने देखिन्न । समितिमा एमाले सांसदको संख्या एक तिहाई समेत छैन । कूल ५१ ५१ सदस्य मध्ये एमालेका १५ जना छन् । कतिपयले एमालेको यो आपत्री सभापतिमा आफ्नो दावीका लागि बार्गेनिङ गर्नुका अर्थमा समेत लिएका छन् ।

पृथ्वीनारायण शाहको योगदान सकारात्मक– प्रधानमन्त्री

चितवन, पौष २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताउनु भएको छ । चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको छ । नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे रु यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’ चितवनको विकासबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले केही दिन पहिल्यै मात्रै स्थानीय तह पूनर्संरचनाको रिपोर्ट बुझेको छु । चितवन अब महानगरपालिका बन्दैछ । हामी सबै महानगरपालिकाका बासिन्दा हुँदैछौं । मैले प्रतिवेदन बुझिसकेको छु, अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको छ । महानगरपालिकाको मापदण्डमा पनि हाम्रो आफ्नै सीमा छ, विकासको गति र जनघनत्वका आधारमा हामीले महानगरपालिका मौलिक रुपमै बनाउँदै आएका छौं । चितवन विकासको बहुआयमिक सम्भावना बोकेको जिल्ला हो । चितवनको विकास र समृद्धिबारे मैले हिजै आफ्नो दृष्टिकोण राखिसकेको छु ।’ नगर परिषद् उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, पूर्वमन्त्री एवं सांसद सुरेन्द्र पाण्डे, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहाल, प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु गीता वाग्ले, कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, सन्तकुमार दराई लगायतको उपस्थिति थियो । तेस्रो नगर परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ का लागि ८९ करोड ५० लाख ९९ हजार ४ सय रुपैयाँ बजेट प्रस्तावित गरेको कार्यकारी अधिकृत महेश बरालले बताउनु भयो ।

चुनावको माहोल बन्यो–शशांक

पोखरा, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्। पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको सोमबार शिलान्यास गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताए । देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताउँदै उनले त्यसका लागि क्रियाशील बन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । आर्थिक समृद्धि र विकास अब देशको प्राथमिकता रहेकामा उनको जोड थियो । नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस एकाइ अध्यक्ष एवम् बिपी स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माले बिपीका आदर्श र योगदानलाई जीवन्त राख्न उहाँको स्मृतिमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए। नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले निर्माणाधीन पार्क निर्माणका लागि नेपाली काँग्रेस कास्कीका साथै अन्य निकायबाट सहयोग जुटाइने विश्वास व्यक्त गरे। नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की काँग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी नेताहरू आशिष शर्मा, आदर्श लामिछानेलगायतले आ–आफ्ना धारणा राखे ।

हर्देनी जिप दुर्घटनाका घाइतेको उपचार सरकारले गर्ने

उदयपुर, पुस २४ । उदयपुर जिल्लाको हर्देनी–३ गहुँबारीमा बलेरो जिप दुर्घटना हुँदा घाइतेहरुको उपचार सरकार गर्ने भएको छ । शुक्रबार भएको दुर्घटनाका घाइतेहरुको रकम अभावले अस्पतालले उपचार गर्न मानेको थिएन । उपचारका लागि भर्ना गरिएका सम्बन्धित अस्पतालहरुले पहिला नै रकम जम्मा गर्नुपर्ने र रकम जम्मा नगरी उपचार नगर्ने बताएपछि शनिबारसम्म पनि उपचार हुन सकेको छैन । उपचारको पहल गरिदिनका लागि इप्रका, कटारीले उदयपुरका सांसद भेषकुमारी राउत (कोपिला)को ध्यानाकर्षण गराएपछि सांसद राउतको पहलमा घाइतेको उपचारको खर्च गृहमन्त्रालयले व्यहोर्ने सर्तमा अहिले बिरामीको उपचार हुन थालेको सांसद राउतले बताइन । अधिकांश घाइतेको मस्तिष्क र टाउकोको उपचार गर्नु पर्ने हुँदा प्रतिबिरामीको उपचारका लागि तत्काल रु पाँच लाखभन्दा बढी खर्च लाग्ने अस्पतालले बताएको छ । जिप दुर्घटनामा सख्त घाइते भएकामध्ये हर्देनीकै ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, ४० वर्षीय निरबहादुर कार्की, ४६ वर्षीय रेशम कार्की, १७ वर्षीया एलिना श्रेष्ठ र १४ वर्षीय विमल बस्नेत गम्भीर घाइते भएका थिए । सख्त घाइतेमध्ये निरबहादुर कार्कीलाई विराटनगरको नोबेल अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पताल तथा अन्यलाई विराटनगरको न्युरो अस्पताल पठाइएको इप्रका, कटारीले बताएको छ । जिप दुर्घटनामा गाडी धनी ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइते निरबहादुर कार्कीको आइतबार बिहान काठमाडौँमा मृत्यु भएको इप्रका कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताए । गाडी धनीको नै मृत्यु भएपछि गाडीको बिमाको कागजसमेत बेपत्ता भएको र मृतकलाई दिइने क्षतिपूर्ति व्यवस्थापन गर्नसमेत समस्या आएको इप्रका, कटारीले बताएको छ ।

महायज्ञमा एक करोड भन्दा बढी सङ्कलन

पाल्पा, पुस २३ । गङ्गा माध्यमिक विद्यालय रामपुरमा सञ्चालन भइरहेको श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु.एक करोड २६ लाख २६ हजार ६६४ बराबरको जग्गा र रकम संकलन भएको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उदेश्यले आयोजना गरिएको सो महायज्ञमा पाँचौं दिनसम्म रु ३२ लाख ८४ हजार ७८१ नगद र रु ९३ लाख ४१ हजार ८८३ बराबरको जग्गा दान संकलन भएको लेखासमिति संयोजक खगेन्द्र न्यौपानेले बताए । अहिलेसम्म ६ सय मुरी धान सङ्कलन भएको छ । महायज्ञका अवसरमा अहिलेसम्म २० जनाले तुलादान गरेका छन् । गत पुस १८ गतेबाट सञ्चालन भएको महायज्ञ आउँदो पुस २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेको मुखारविन्दबाट संगीतमय शैलीमा कथा वाचन भइरहेको छ । रासस

धादिङमा जीपको ठक्करबाट एक जनाको ज्यान गयो

धादिङ, पुस २३ । धादिङमा जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट मनाङका लागि छुटेको बा १५ च ४४८२ नम्बरको जीपले नौविसे ४, कानाकोटमा ठक्कर दिँदा अन्दाजी ६५ वर्षका सानु थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय बासिन्दाले धादिङ–नौबिसे सडकखण्ड अवरुद्ध गरेका हुन् । प्रहरीले बल प्रयोग गरेर भएपछि बाटो खुलाउने प्रयास गरिरहेको छ प्रहरीले ठक्कर दिने जीप चालकलाई पक्राउ गरेको छ । सांकेतिक तस्वीर

‘झोलामा खोला राख्नेको लाइसेन्स खारेज भइसक्यो’–उर्जामन्त्री शर्मा

चितवन, पुस २२ । उर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन्। प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए। मन्त्री शर्माले काठमाडौँ, पोखरा, विराटनगरलगायतका ठाउँमा लोडसेडिङ नभएको भन्दै अन्य क्षेत्रमा पनि दुई घन्टाको हाराहारीमा मात्र लोडसेडिङ रहेको बताए। लोडसेडिङ क्रमशः घटाउँदै लैजाने बताउँदै उनले जनशक्ति र प्रविधिको सही उपयोग गर्न सकेकै कारण लोडसेडिङ घटाउन सकेको बताए। मन्त्री शर्माले लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको बताउँदै आन्तरिक रुपमा काम भइरहेकाले के–कति कारबाहीमा पर्छन् अहिले नै भन्न नसकिने धारणा व्यक्त गरे। झोलामा लाइसेन्स राख्ने परम्पराको अन्त्य गरी लाइसेन्स बिक्री गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिदैं उनले भने ‘जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछ।’ मन्त्री शर्माले संविधान संशोधन प्रक्रियामा जान पुस २४ गतेसम्ममा दलहरुकाबीच सहमति जुट्ने बताउँदै उनले भने, ‘विषय वस्तु वा प्रक्रियामा सहमति गर्ने गृहकार्य भइरहेको छ, मलाई लाग्छ प्रक्रियामा सहमति हुन्छ।’ ‘सरकार संविधान संशोधन गराउने कुरामा प्रयासरत रहेको छ, उनले भने,‘सरकारले सबै दललाई सहमतिमा ल्याएर देशलाई निर्वाचनतर्फ लैजाने तयारीमा रहेको छ।’ रासस

आज ठूलो भर्याङमा अनुमतिपत्र बनाउने कार्यालयको उद्घाटन

काठमाडौं, पुस १७ । आइतबारदेखि काठमाडौंको ठूलो भर्याङमा सवारी चालक अनुमतिपत्रका लागि नयाँ कार्यालय खुल्दैछ । यस कार्यालयको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले समय १० बजे गर्नुहुने छ । अबदेखि कार्यालयबाट विद्युतीय सवारी चालक अनुमतिपत्र अर्थात स्मार्ट ड्राइभिङ लाइसेन्सको लागि फारम लिने, लिखित परीक्षा दिने लगायत सेवा दिइने यातायात व्यवस्था विभागले जनाएको छ । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय बागमतीले उपभोक्ताको चाप थेग्न नसक्ने भएपछि उपत्यकामा थप तीनवटा कार्यालय खोल्न लागेको छ । काठमाडौंको चावहिल र भक्तपुरको सुर्यविनायकमा पुस २७ गतेदेखि थप कार्यालय पनि उद्घाटन गर्ने तयारी रहेको मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । यातायात व्यवस्था विभागका अनुसार नयाँ तीनवटै कार्यालयमा ३६÷३६ जना कर्मचारी रहनेछन् । यस्तै नयाँ कार्यालयबाट लाइसेन्स लिन अनलाइनबाट पनि फारम भर्न सकिने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए ।

सिसिटीभी फुटेजका आधारमा गाडीमा आगो लगाउनेहरुको पहिचान

काठमाडौं, पुष १७ । बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी राखेको बा।१झ १३९२ नम्बरको गाडीमा शुक्रबार दिउँसो आगजनी गरिएको थियो । बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा अभियुक्त पक्राउ नगरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी भएको थियो । यो खबर आजको नयाँ पत्रिकामा छ । धेरैको पहिचान भयो, खोज्दै छौँ’ ‘आगो लगाउनेमध्ये धेरैको पहिचान भइसकेको छ,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायण चिमोरियाले भने, ‘उनीहरू हाल फरार छन्, जसरी पनि पक्राउ गरी कारबाही गर्छौं ।’ आगो लगाइएको गाडी बागमती सभ्यता एकीकृत विकास समितिको हो । समितिले भने आफ्नो गाडीमा आगजनी भएको जाहेरी प्रहरीमा दिएको छैन । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान गरी दोषीलाई आगजनी मुद्दा चलाइने डिएसपी चिमोरियाले बताए । यस्तो मुद्दामा क्षतिअनुसार जरिवाना र कैद सजायको व्यवस्था छ । सिसिटिभी फुटेजमा युवा संघका कार्यकर्ता राष्ट्रपति कार्यालयमा काम गर्ने सुमित्रा थापा, युवा संघका नेता निरेशलाल सिंह, रोशन बस्नेत, प्रकाश गौतमलगायत व्यक्ति आगलागीका वेला घटनास्थलमा थिए । सिसिटिभी फुटेजका आधारमा उनीहरूको पहिचान भएको प्रहरी स्रोतले बताएको छ । तोडफोड भएको हो, जलाएका होइनौँ युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले एमाले र युवा संघलाई बदनाम गर्न सरकारको घुसपैठमा शुक्रबार गाडी जलाइएको बताए । शनिबार बिदाको दिन संघको कार्यालयअघि श्रीमती र छोराछोरीलाई गाडी सिकाइँदै थियो । किन बिदाको दिन यसो गरियो भनेर सोध्ने क्रममा सिकाउने व्यक्तिले नै प्रतिवाद गर्दा ‘हाम्रा साथीहरूले आक्रोशमा एक–दुई गाडी तोडफोड मात्रै गरेका हुन्, जलाइएको होइन’ उनले भने।

कांग्रेसका मन्त्रीसहित ४८ जना बसेको मञ्च भत्कियो, एक जना घाइते

धादिङ, पुस ११ । धादिङमा मन्त्रीसहित बसेको मञ्च भाँचिदा कांग्रेसका अठचालिस जना नेता घाइते भएका छन् । धादिङको मिलनटोलमा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलान्यास कार्यक्रममा मञ्च भाँचिदा एक जनाको खुट्टा भाँचिएको छ । पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दै गरेकी नेपाल महिला संघकी नेतृ भगवती पौडेलको मञ्च ढलेर खुट्टा भाँच्चिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ जना नेता कार्यकर्ता बसेको मञ्च भत्किएको हो । भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रम मञ्च फलामे डण्डीको थियो । ४८ जना नेता कार्यकर्ताहरुले अतिथी आशन गरिसकेपछि एक्कासी मञ्च भत्किएको थियो ।

सात स्वर्णसहित सेना पहिलो स्थानमा

 झापा, पुस ११। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आज दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहित दोस्रो स्थानमा तथा नेपाल प्रहरी तीन स्वर्ण हात पार्दै तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आयोजक पूर्वाञ्चलले एक–एक स्वर्णमा चित्त बुझाएका छन् । आज सम्पन्न खेलमा नेपाली सेनाका लागि ५२ किलोमुनिको तौलमा लीला अधिकारी, ६३ किलोमुनिको तौलमा फूपु ल्हामू खत्री, ७८ किलोमुनिमा पुनम चौधरी, ५० किलोमुनिमा तिलकबहादुर देउजा तथा ६० किलोमुनिको तौलमा सुदिप बोहराले स्वर्ण पदक जिते । यस्तै नेपाल प्रहरीका सञ्जित डङ्गोलले ७३ किलोमुनिको तौलमा, श्रीराम मकाजुले ९० किलोमुनितर्फ र राजन जोशीले १०० किलो तौलभन्दा बढी तौलमा स्वर्ण पदक जिते । मध्यपश्चिमका लागि एक मात्र स्वर्ण ४४ किलोमुनिको तौलमा सोनु भट्टले जिते । आज सम्पन्न जुडो खेलमा महिलातर्फ ४४ किलोमुनिको तौलमा पश्चिमाञ्चलका सोमिया तामाङले रजत तथा सुदूरपश्चिमका विमला महत र नेपाली सेनाका सुमित्रा राईले कास्य पदक जिते । ५२ किलोमुनि तौलमा प्रहरीका दिलकुमारी छत्यालले रजत तथा सशस्त्र प्रहरीका देविका खड्का र कविता नेपालीले कास्य पदक प्राप्त गरिन् । यस्तै, ६३ किलोमुनि तौलमा प्रहरीका निशा चौधरीले रजत तथा मध्यपश्चिमका दिलमाया ऐरी र आयोजक पूर्वाञ्चलका दिलकुमारी सिजालीले कास्य पदक जितेका छन्। ७८ किलोमुनिको तौलमा पूर्वाञ्चलका बबिता चौधरीले रजत तथा प्रहरीका भावना घर्तीमगर र कृष्णा राईदासले कास्य पदकमा चित्त बुझाए । यसैगरी पुरुषतर्फ ५० किलोमुनिको तौलमा पश्चिमाञ्चलका मनोज आचार्यले रजत तथा सशस्त्र प्रहरीका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चव्रmबहादुर रोक्काले कास्य पदक प्राप्त गरेका छन् । ७० किलोमुनिको तौलमा प्रहरीका उमेश मगरले रजत तथा पूर्वाञ्चलका विकास भुजेल र दिनेश मगरले कास्य पदक जितेका छन् । यस्तै ७३ किलोमुनिको तौलमा मध्यमाञ्चलका रामबहादुर तामाङले रजत तथा प्रहरीका निर्दोष चलाउने र सेनाका जगतबहादुर सारुले कास्य हात पारे । ९० किलोमुनितर्फ पश्चिमााञ्चलका सञ्जय महर्जनले रजत तथा सेनाका सूर्यमान लामा र सुदूरपश्चिमका चन्द्रप्रसाद चौधरीले कास्य जिते । यसैगरी १०० किलो बढी तौलमा सेनाका कुलमान तामाङले रजत तथा पूर्वाञ्चलका बच्चुलाल चौधरी र सुदूरपश्चिमका आशिष ओझाले कास्य पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल जुडो सङ्घका केन्द्रीय अध्यक्ष दीपक बज्राचार्यलगायतले मेडल वितरण गरेका थिए । रासस  

‘गौ’ मारिँदा सडकमा राप्रपा

कैलाली, पुस १० । ‘गौ’ मारिएको विरोधमा सुदूरपश्चिम बन्दको घोषणा गरिएको छ । गत बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर हत्या गरिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाहरुले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन् । दोषीलाई कारवाहीको दवाव स्वरुप बन्दकर्ताले र्‍यालिसमेत निकालेका छन् । उनीहरुले सुदूरपश्चिम बन्दको घोषणा गरेका हुन् । कैलालीमा बन्दको प्रभाव परेको भएपनि अन्य जिल्लाहरुमा भने बन्दको खासै प्रभाव देखिएका छैनन् । सडकमा छाडा छोडिएका गाई गोरुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले गाडीमा हालेर उक्त स्थानमा छाडेको थियो । गाई गोरु बोक्न प्रयोग गरिएको ट्रक र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आवश्यक अनुसन्धान भइरहेको र दोषीउपर कारवाही हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

सहमतिबाटै अघि बढौं : प्रधानमन्त्री

रुकुम, पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन् । रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिन विभिन्न तत्वहरु लागि परेका भएपनि आन्दोलनले कुने पनि उपलब्धी नहुँने भन्दै सहमतिबाटै अघि बढ्न जोड दिए । नयाँ संविधान घोषणाका क्रममा केही कुरा छुटेकाले त्यसलाई पूरा गर्न सरकारले व्यवस्थापिका–संसद्मा संशोधन विधयेक दर्ता गराएको उल्लेख गर्दै उनले मधेसी, मुस्लिम, थारु, जनजातिलगायत पछाडि पारिएका समुदायको अधिकारलाई सुश्चित गर्न विधेयक दर्ता गराएको बताए । उनले यो प्रस्ताव संविधान बन्नुभन्दा पहिले एमालेले ल्याएको र हाल त्यसलाई अनुसरण मात्रै गरेको जनाउँदै एमाले ‘विरोधको लागि विरोध’ को मनशायबाट माथि उठ्न चेतावनी दिए । प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रुपले समृद्ध बनाएर जनवादलाई पूरा गर्दै समाजवादतर्फ अगाडि बढ्ने तयारीमा रहेको बतए । देश आर्थिक रुपले समृद्ध नभएसम्म विकास हुन नसक्ने भएकाले संविधान कार्यान्वयन गरेर आर्थिक समृद्धितर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । संविधान कार्यान्वयन नभए अहिलेसम्मका सबै उपलब्धि गुम्ने खतरा रहेकाले सरकारले तोकिएकै समयमा तीनै तहको निर्वाचन गराएर छोड्ने प्रधानमन्त्री दाहालको दाबी थियो । उनले जनयुद्धको उद्देश्य पूरा नभई अहिले एउटा बिसाउनीमा विश्राम गरिरहेकाले आफूहरुको यात्रा अझै जारी रहेकाले यात्रामा निरन्तर सहयोग गर्न रुकुमवासीलाई आग्रहसमेत गरे ।

स्थानीयलाई खाद्यान्न ढुवानी गर्न मुस्किल

जाजरकोट, पुस ९ । यहाँको सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुन सकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् । जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नपुुर्याउँदा यस्तो अवस्था आएको हो । गाउँका स्थानीयवासीले संस्थानले बिक्री गर्ने सहुलियतको चामल पाउन सकेका छैनन् । सदरमुकाम खलङ्गामा रहेको संस्थानको गोदाममा बिक्री नहुँदा दुई हजार १७२ क्विन्टल चामल मौज्दात छ । चालू आवमा ३०० क्विन्टल चामल मात्र ढुवानी भएको छ । चालु आवका लागि स्वीकृत तीन हजार १०० क्विन्टल चामल ढुवानी हुन बाँकी नै रहेको संस्थानले जानकारी दिए । सबै स्वीकृत चामल आएमा राख्ने ठाउँको समेत समस्या हुने संस्थान प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । यो आवमा जिल्लाका तीन डिपोमा भने चालु आवमा चामल पुग्न सकेको छैन । नायकवाडा खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा लिएका लक्ष्मण निर्माण सेवाका भक्तबहादुर बस्नेतले चालु आवमा तीन क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । नायकवाडामा माग अत्यधिक रहे पनि ठेकेदारले समयमा चामल ढुवानी नगर्दा समस्या भएको स्थानीय प्रेम शाहीले बताए । ठेकेदारलाई डिपोमा चामल लिन ताकेता गरिए पनि कतिपयले अटेरी गर्दा समस्या भएको खाद्य संस्थान प्रमुख धर्मबहादुर बस्नेतको भनाइ छ । उत्ता दसेरा र पजारु खाद्य डिपोमा खाद्यान्नको अत्यन्त माग भए पनि गत वर्ष ढुवानीको जिम्मा लिएका विकेन्द्र कन्स्ट्रक्सनएन्ड विकेन्द्र सप्लायर्सले ताकिएको दुई हजारमध्ये १०० क्वीन्टल मात्र ढुवानी गर्दा स्थानीयवासीले चामल खाना पाएका थिएनन् । यी दुई डिपोका लागि संस्थानको अञ्चल कार्यालय नेपालगन्जले ढुवानी गराउँदै आएको छ । चालु आवमा पनि दसेरामा खाद्यान्न ढुवानी जिम्मा लिएको आइडी सप्लायर्स कोहलपुर–४ बाँकेले चामल ढुवानी नगरेको खाद्य संस्थानले जनाएको छ । त्यस्तै पजारुका लागि पहिलो पटक खोलिएको बोलपत्र अस्वीकृत भएपछि पुनः खोलिएको र केही दिनमै ढुवानीकर्ता छनोट हुने अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मोतीराज ज्ञवालीले बताउनुभयो । दसेरामा तत्काल चामल ढुवानी गर्न संस्थानले सप्लायर्सलाई ताकेता गरिरहेको उनले जानकारी र्दिए । संस्थानले चारवटै डिपोमा एक, एक हजार क्विन्टलका दरले चामलको कोटा निर्धारण गरेको छ । तर, सदरमुकाममा गतवर्षकै चामल बिक्री नभएपछि चार हजार क्विन्टल कोटाबाट तीन हजार एक सयमा सीमित भएको छ । जिल्लाका सवै ठाउँमा यातायात सुविधा नपुगेका कारण यहाँका स्थानीयले भनेको समयमा खाद्यान्न ढुवानी गर्न मुस्किल छ । जिल्ला सदरमुकाममा जतिसुकै चामल थन्किएपनि गाउँमा भने सधै खाद्यान्न अभाव नै हुँने गरेको छ । सिचाई योग्य जमिन कम, वर्षेनी उत्पादनमा आएको गिरावटले गर्दा यो समस्या आएको हो ।

स्थानीय बासिन्दाद्धारा स्वास्थ्य चौकीलाई जग्गादान

बैतडी, पुस ९। पुर्चौडीका स्थानीय बासिन्दाले हाट स्वास्थ्य चौकीलाई निःशुल्क पाँच रोपनी जग्गादान गरेका छन् । डिलाशैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहराले सगोल रुपमा (दुई रोपनी) निःशुल्क जग्गादान गरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले बताउनुभयो । यसअघि स्वास्थ्य चौकीका लागि सुविधा सम्पन्न भवन बनाउन जग्गा अभाव रहेको थियो । निःशुल्क जग्गा पाएसँगै अब सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने उहाँले बताउनुभयो । रासस