भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसंगको छलफलमा उहाँले त्यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह छ ।
प्रधानमन्त्री प्रचण्डले भने, “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।”
प्रधानमन्त्री प्रचण्डले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र राष्ट्र र जनताको हितमा काम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।
लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु
पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
बालकुमारी तनाब घटना : छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं । ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा २ परीक्षार्थीको ज्यान गएपछि सरकारले घटनाको छानबिन गर्न समिति बनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरेको हो। समितिलाई ७ दिनभित्रमा घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ। यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीले औधोगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन्। आन्दोलनकारीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ। एक जनाको गोली लागेको छ भने अर्काको शरीरमा चोट लागेको छ। यसैबीच शुक्रबार नै उच्च अदालत पाटनले सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको छ।
सङ्घीयताबारे भ्रम फैलाइयो, योबिना देश अगाडि बढ्न सक्दैन : नेता सापकोटा
कञ्चनपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले सङ्घीयताबिना देश अगाडि बढ्न नसक्ने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उनले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताए । सङ्घीयताबारे भ्रम फैलाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले जनताको अपेक्षाअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताए । “जहिले पनि पार्टी नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ”, उनले भने, “बत्तीस सिटमा पार्टी खुम्चिनुका कारण वर्गीय धरातल छोड्दा नै हो, पार्टी नेता दलाल, माफियाको घेराबन्दीमा पर्दा जनसङ्घर्षका सहिद परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेलाई बिर्सियौँ ।” अहिलेको आवश्यकता सामाजिक, राजनीतिक, वैचारिक, सांस्कृतिक सङ्गठन गठन पर्नुरहेको नेता सापकोटाले बताए । “विसं २०६७ मा अग्रगामी छलाङमार्फत पार्टीले राजनीतिक विश्लेषण गर्यो”, उनले भने, “त्यसपछि पार्टीमा कुनै पनि राजनीतिक विष्लेषण भएको छैन, विचारको विकास भएन भने शून्यता हुन्छ, वैचारिक संलेष्ण छोड्दा पछाडि पर्यौँ ।” परिस्थितिजस्तो छ त्यसकै बीचबाट पार्टीलाई अगाडि बढाइनुपर्ने पूर्वसभामुख सापकोटाले बताए । विचार र विधिको विकास गरे पार्टीलाई पहिलेजस्तै अगाडि लैजान सकिने उनको भनाइ थियो । “पर्ख र हेरको नीतिले अब काम गर्दैन, विज्ञान र दर्शनको विकास गर्नुपर्छ”, उनले भने, “सबै कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।” संविधानमा समाजवाद शब्द राखिए पनि त्यसको व्याख्या गर्न बाँकी रहेको उनले बताए । सामाजिक न्यायसहितको समाजवाद पार्टीभित्रबाटै लागू गर्नुपर्ने उनले उल्लेख गरे । आधुनिक समाजवादभित्र कृषि, उद्योग, विज्ञान, प्रविधि र राष्ट्रिय सुरक्षाको प्रश्न अहम् रहेको उनको भनाइ छ ।
सिन्धुलीमा बसको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा सवारी अवरुद्ध
काठमाडौं । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सुनकोसी ३ मा भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । “एकजनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना घाइते भएका छन्,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरन्जिवी दाहालले भने, “मृतकको पहिचान हुन बाँकी छ ।” मृतकका आफन्ताले अहिले उक्त सडकखण्डमा अवरोध गरेको डीएसपी दाहालले जानकारी दिए । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् ।
सरकारले उखुको न्यूनतम मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
काठमाडौं । सरकारले उखुको न्यूनतम मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने निर्णय गरेको हो । “उखुको न्यूनतम खरिद मूल्य जुन छ उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ । यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने एउटा मात्रै निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
विधान संशोधन गर्न छलफल गर्दै एकीकृत समाजवादी
काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज पनि निरन्तरता दिंदै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । सोमबारको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरिएको थियो । विधान संशोधन कार्यदलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको हो । यसअघिको बैठकले पार्टीका संगठन विभाग प्रमुख तथा उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय कार्यदल बनाएको थियो । बैठकमा कार्यदलका संयोजक भुसालले प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावमाथिको छलफल आजको बैठकमा पनि जारी रहने नेताहरूले बताएका छन् ।
कांग्रेसबाट राष्ट्रिय सभा उम्मेदवार सभापति देउवाले छान्ने
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए । उनले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई दिइएको बताए । निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ। त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताए भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपियाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको छ। उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले दल दर्ता गर्ने निर्णय गरेको छ। उम्मेदवार बनाउँदा हस्ताक्षर सभापति शेरबहादुर देउवाको चल्ने भन्ने निर्णय भएको छ। यसको सम्पूर्ण व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ। केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्दैछौँ। विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्नुपर्ने हुन्छ। ’’ नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए। उनले पार्टीका विधानमा रहेका केही अनुसूचीहरु परिमार्जन गर्ने, पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा रहेका केही केन्द्रीय सदस्यको नाम आजै फिर्ता लिने निर्णय भएको पनि बताए। उनले बारामा शिक्षकको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय भएको बताए। उनले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको जानकारी दिए । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो। तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गतेसम्म पु¥याएको थियो। उनले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको बताए ।
काठमाडौँ महानगरपालिकाले २९ औं स्थापना दिवस मनाउँदै, प्रधानमन्त्री प्रमुख अतिथि
काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज आफ्नो २९ औँ स्थापना दिवस मनाउँदै छ । महानगरपालिकाले बिहान ९ बजे देखि सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभा गर्ने गरेको छ । सभालाई प्रमुख अतिथिकाे रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । ‘काठमाडौँको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् । तत्कालीन सरकारले २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रूपमा घोषणा गरेको थियो । महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मङ्सिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।
पदमप्रसाद पाण्डेय संसद्को कार्यवाहक महासचिव नियुक्त
काठमाडौं । संघीय संसद्को कार्यवाहक महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त भएका छन् । उनलाई सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिव तोकेको उनको सचिवालयले जनाएको छ । संघीय संसद्का महासचिव डा। भरतराज गौतमले राजीनामा दिएपछि पद रिक्त छ । सभामुखले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न जिम्मेवारी तोकेका हुन् । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सचिवालयले जनाएको छ ।
१४ किलो सुन छानबिन गर्न ६ सदस्यीय समिति गठन
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताए । प्रमुख भन्सार प्रशासक पाण्डे गएराति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखिएको जानकारी दिए । उनले फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए । उनले विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा सात थान बिस्कुट आकारको सुन बरामद गरेको बताए । प्रमुख भन्सार प्रशासक पाण्डे चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका अर्का मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको जानकारी दिए । प्रमुख भन्सार प्रशासक पाण्डे विशेष सुराकिको आधारमा बाहिरबाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानहरुमा निगरानीमा रहेको बताए। उनले १० किलोसम्म सुन बरामत हुनसक्ने सुराकिको आधारमा भन्सार विभाग परिचालित भएको बताए । पक्राउ पर्नेहरुको प्रारम्भिक बयानमा सुन नै हो भन्ने रहेको उनको भनाइ छ । उनले सुन सजिलै बाहिर ल्याउन सक्ने सम्भावना नभए पनि भन्सारको सूक्ष्म निगरानीका कारण भन्सार विभागले विमानबाट नै नियन्त्रणमा लिन सफल भएको बताए ।
यस्ता छन् मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्यो । बैठकले विभिन्न निर्णय गरेको छ । यस्ता छन् मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १.दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने । सदस्यः श्री फणिन्द्र गौतम, सचिव– नेपाल सरकार सदस्यः श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थमन्त्रालय सदस्यः श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सदस्यः श्री सुजनकुमार काफ्ले, अध्यक्ष– २.खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभुषण शर्मालाई नियुक्त गर्ने । ३.विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।
विराटनगर आगलागीबाट ज्यान गुमाउनेको संख्या तीन पुग्यो
काठमाडौं । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो लागेको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन जनाको ज्यान गएको छ । काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो। उपचारका लागि काठमाडौं पठाइएका चारमध्ये सुनिता कामतको बुधबार राति ८ः२५ मा उपचारकै क्रममा निधन भएको हो भने घटनास्थलमै जलेर ज्यान सुशीला पासवानको ज्यान गएको थियो । आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो। थप घाइते ३ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गोदाममा काम गर्ने मजदूरहरुले चुरोट पिउन खोज्दा त्यसैबाट आगो सल्किएको थियो। कवाडी गोदाममा केमिकलमा हाल्ने परफ्युम भर्ने क्रममा चुरोट सक्लाउँदा आगजानी भएको पाइएको छ ।
हमास र इजरायलबीच युद्धविरामको समयावधी सकिँदै
एजेन्सी । हमास र इजरायलबीच पछिल्लो युद्धविरामको समयावधी सकिँदैछ । युद्धविराम लम्ब्याउन पहल जारी रहेपनि हालसम्म युद्धविराम लम्ब्याउने सम्झौता हुन सकेको छैन । आज युद्धविरामको छैटौं तथा अन्तिम दिन । थप सम्झौता नभए युद्धविरामको पछिल्लो समयावधी स्थानीय समय अनुसार आज विहान ७ बजे सकिँदैछ । पछिल्लो खेपमा हमासले आफ्नो कब्जामा रहेका १६ जना रिहा गरेको छ । यसमध्ये १० जना इजरायलसंगको सम्झौता अनुसार र ४ जना थाई र दुई जना रसियाली नागरिक भिन्दै सहमतिमा छाडिएको कतारी भनाइ छ । यसको बदलामा इजरायली कैदमा रहेका ३० जना प्यालेस्टायनी कैदीबन्दी छाडिएको अलजजीराले जनाएको छ । यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन इजरायल पुगेका थिए । अक्टोबर ७ मा युद्ध सुरु भएयता ब्लिंकेन तेस्रो पटक तेल अभिभ पुगेका हुन् । ब्लिंकेन वेस्ट ब्यांक क्षेत्र पनि जाने तयारीमा रहेका छन् ।
झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौं । झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका-४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल(४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ।
“खुशीराम पाख्रिन स्मृतिग्रन्थ”को विमोचन
काठमाडौं । “खुशीराम पाख्रिन स्मृतिग्रन्थ” विमोचनको आज विमोचन गरिएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष अग्नीप्रसाद साप्कोटाले संयुक्त रुपमा खुशीराम पाख्रिनको छैठौँ स्मृति दिवसको अवसरमा “खुशीराम पाख्रिन स्मृतिग्रन्थ” विमोचन गरेका हुन् । सो पुस्तकको विमोचन प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा गरिएको हो ।