वर्षातको पानी सङ्कलन आयोजना संचालन
काठमाडौँ, माघ २२ । खानेपानी तथा ढल निकास विभागले खानेपानी समस्या समाधानका लागि वर्षात् पानी सङ्कलन आयोजना सञ्चालन गर्न लागेको छ ।
खानेपानीको अति समस्या हुने क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई पानी खुवाउने उद्देश्यका साथ वर्षातमा परेको पानी पोखरी बनाएर सङ्कलन गर्न लागिएको हो ।
विभागका उपसचिव अरुणकुमार सिम्खडाले पोखरी बनाएर जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “खानेपानी अति दुःख हुने स्थानमा यो आयोजना लक्षित गरेका हौं ।”
विभागले हाल भक्तपुरको महादेवखोला र दाङको पाटुखोलामा वर्षात् पानी सङ्कलनका लागि पोखरी निर्माण गरेको छ भने अरु स्थानमा अध्ययन गरेको छ ।
विभागले नागरिकका घर घरमा खानेपानी पु¥याउन तराई क्षेत्रमा डिप बोरिङ तथा पहाडी क्षेत्रमा खोलाबाट मोटरमार्फत पानी तान्ने प्रक्रियालाई अगाडि बढाएको छ ।
अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी भएको राष्ट्रसङ्घको ठहर
जेनेभा (स्वीट्जरल्यान्ड), माघ १८ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ । ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिनुभएको छ । राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लङ्घन हो भन्दै जैयदले ट्रम्पको निर्णय उक्त कानुनको बर्खिलाप भएको दाबी गर्नुभएको छ । जैयदले सन्देशमा ट्रम्पबाट आएको उक्त निर्णयले वास्तविक रुपमा आतङ्कवादविरुद्धको अभियानलाई प्रभावित पार्ने बताउनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपतिद्वारा इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने निर्णयको इराकी संसदमा व्यापक विरोध भएको छ । इराकी संसदले ट्रम्पद्वारा इस्लामिक राष्ट्रमाथि लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिकी नागरिकलाई पनि इराक प्रवेशमा रोक लगाउने पक्षमा मतदान गरेको छ । रासस
कस्तो छ स्वास्थ्यवस्था अहिले ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा (मसाल) का अध्यक्ष मोहन बिक्रम सिंहलाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै । तस्बिर : प्रदीपराज वन्त, काठमाडौ
ट्रम्पको आदेशको विरोध गर्दै गूगलले फिर्ता बोलायो आफ्ना कर्मचारी
वाशिंगटन, राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सातवटा मुश्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इन्टरनेट सर्च कम्पनी गुगलले हाल विदेश भ्रमणमा रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ। कार्यकारी आदेशमा सिरियाली शरणार्थीहरुलाई अर्को सूचना नआएसम्म प्रतिबन्ध लगाइएको छ। इरान र इराक सहित ६ देशका नागरिकलाई आगामी तीन महिनासम्म प्रवेशाज्ञा दिइनेछैन। इन्टरनेट सर्च इन्जिन गुगलले बीबीसीलाई उक्त आदेशबाट आफुहरु चिन्तित भएको र त्यसले अत्यन्त प्रतिभाशालीहरुलाई पनि अमेरिका प्रवेश गर्नमा रोक्नेछ भनेको छ। राष्ट्रपति ट्रम्पको आदेशले इरान, इराक, सिरिया, यमन, सुडान, सोमालिया र लिबियाका हजारौं नागरिकलाई अमेरिका जाने उडानहरुमा अनुमति नदिइन सक्छ। असर नयाँ बन्देजले विश्वभरबाट एच वान-बि प्रवेशाज्ञामा कर्मचारी भर्ना गर्ने प्रविधि सम्बन्धी कम्पनीहरुमाथि ठूलो असर पार्नेछ। अमेरिकामा काम गर्ने स्वीकृति पाएका ग्रीन कार्ड भएकाहरुलाई पनि उडानमा जान नदिइएका खबरहरु सार्वजनिक भइसकेका छन्। तर कार्यकारी आदेशमा ग्रीन कार्डको उल्लेख गरिएको छैन। ट्रम्पले आफ्नो कार्यकारी आदेशमा दिइएको विस्तृत विवरणबाट उनकै शब्दमा अतिवादी इश्लामिक आतंकवादीहरुलाई अमेरिका प्रवेश गर्नमा रोक लगाउनेछ भनेका छन्। तर अधिकारवादी समूहहरुले अमेरिकामा रहेका सिरियाली शरणार्थी र आतंकवादीबीच सम्बन्ध नरहेको बताएका छन्। क्षति बीबीसीका व्यापार संवाददाता जो लीनम भन्छन्, राष्ट्रपतिले केही मुश्लिमहरुलाई रोक्न खोजेका छन् तर त्यसले अमेरिकाको असाध्यै महत्वपूर्ण र नाफामूलक क्षेत्र प्रविधिमा ठूलो क्षति पुग्न सक्छ। उक्त कार्यकारी आदेश विरुद्ध अमेरिकाका प्राध्यापकहरुले शुरु गरेको हस्ताक्षर अभियानमा ११ जना नोबेल पुरस्कार विजेताहरुले हस्ताक्षर गरिसकेका छन्। फेसबुक संस्थापक मार्क जकरबर्गले लामो नोट पोष्ट गर्दै आफु सहित थुप्रै अमेरिकीहरु आप्रवासीका सन्तान, दरसन्तान भएको उल्लेख गरेका छन् र राष्ट्रपतिको कार्यकारी आदेशप्रति गम्भीर चिन्ता व्यक्त गरेका छ्न। बीबीसीबाट
कर्णालीमा भारी हिमपात, सडक अवरुद्ध, जनजीवन प्रभावित
जुम्ला, माघ १४ । बिहीबार रातिदेखि बदली भएको मौसम र शुक्रबार परेको हल्का वर्षाले कर्णालीको अधिकांश क्षेत्रमा हिमपात भएको छ । कर्णालीका जुम्ला, डोल्पा, हुम्ला र कालिकोटसहित मुगुमा पनि हिमपात भइरहेको छ । हिमपातसँगै त्यहाँको जनजीवन प्रभावित भएको त्यहाँबाट हाम्रान सहकर्मीले जनाएका छन् । कर्णालीका पाँचै जिल्लाका उच्च स्थानमा हिमपात भएको बताएका छन् । मौसम बदली र हिमपातका कारण शुक्रबार बिहानैबाट कर्णालीका सबै जिल्लाहरुमा दैनिक हुने उडान रद्ध भएको छ । मुगु सदरमुकाम जोड्ने नाग्मा गमगढी सडकखण्ड अवरुद्ध भएको छ । जुम्लाका पातारासी, डिल्लीचौर, गोठिचौर, छुमचौर ताम्ती गाविसका माथिल्ला क्षेत्रहरु, मुगुका रारा, मुर्माटप ताल्चा, झ्यारी टोप्ला, रोवा, सोवा लगायतका क्षेत्रसहित करान भेगका पाँचै गाविसहरुमा र कालिकोटका माथिल्ला क्षेत्रहरु मानिने धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे, पाङ्खा गाविस र सदरमुकाम मान्म लगायतका ठाउँसहित डोल्पामा पनि हिमपात भइरहेको सहकर्मीले बताए । शुक्रबार बिहानैबाट हिमपात भएपछि चिसो अत्याधिक बढेर जनजीवन प्रभावित भएको हो । हिमपात र मौसम बदलीसँगै बढेको चिसोका कारण स्थानीय बासिन्दाहरुले दैनिक काम गर्न सकेका छैनन् । स्थानीय पत्रकारको सहयोगमा
प्रहरी र सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन राजधानीमा सुरु हुँदै
काठमाडौं, माघ १४ । महान्यायाधिबक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको तीन दिने प्रथम राष्ट्रिय सम्मेलन राजधानीमा आजदेखि सुरु हुँदैछ । प्रभावकारी अनुसन्धान र अभियोजन, सुदृढ फौजदारी न्याय प्रशासन’को अवधारणासहित सुरु हुने सम्मलेनलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज दिउँसो ३ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार सम्मेलनमा फौजदारी मुद्दाका अनुसन्धान अधिकृत प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच आइपर्ने असमझदारी, अन्योल, तथा समस्याका बारेमा छलफल हुनेछ । सम्मेलनमा सरकारबादी फौजदारी मुद्धाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु,सरोकारवाला निकायका प्रतिनिधिहरु गरि ५ सय भन्दा वढीको सहभागिता रहने सम्मेलन १६ गतेसम्म चल्नेछ ।
कुखुराको भालेको बन्ध्याकरण !
पाल्पा, माघ १२ । सुन्दा अनौठो लाग्न सक्छ, कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा तर यो सत्य घटना हो । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ । कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताउँछन् । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनी बताउँछन् । पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताउँछन् । सुरुसुरुमा केही कुखुरा मरे पनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ । कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ । ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन् । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ । नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो । पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन् । करिब पाँच–सात वर्षदेखि कुखुराको शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाएका छन् ।
महावाणिज्य दूतावासले एम्बुलेन्स र स्कुल बस दिने
पर्सा, माघ १२। नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले विभिन्न नेपाली स्वास्थ्य तथा शैक्षिक संस्थालाई दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस निःशुल्क सहयोग दिने घोषणा गरेको छ । भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा यही माघ १३ गते वीरगन्जमा आयोजना हुने एक कार्यक्रमबीच एम्बुलेन्स र स्कुल बस वितरण गर्ने महावाणिज्य दूतावासले घोषणा गरेको हो । महावाणिज्य दूतावासले मङ्गलबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै महावाणिज्यदूत वैष्णोचरण प्रधान (बिसी प्रधान) ले २६ जनवरीका अवसरमा आयोजना हुने कार्यक्रममा एम्बुलेन्स र स्कुल बसको कागजात तथा साँचो वितरण गर्ने जानकारी दिए । उनले प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मेडिकल कलेज, जनकपुर र नेपाल रेडक्रस सोसाइटी, पथरैया, सर्लाहीलाई एक–एक थान एम्बुलेन्स हस्तान्तरण गरिने बताए । त्यस्तै, श्री झमकेश्वरी सेकेन्डरी स्कुल, पालुङ, मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस, धनुषालाई स्कुल बस वितरण गर्ने निर्णय गरेको महावाणिज्यदूत प्रधानले जानकारी दिए । महावाणिज्यदूत प्रधानले नेपालको उद्योग व्यवसायलाई फस्टाउनमा मद्दत गर्न भारत सधैँ प्रयासरत रहेको बताए । उनले नेपाल सरकारको पहलमा भारत सरकारले बारा–पर्सा औद्योगिक कोरिडोरलाई विद्युत्भार कटौतीमुक्त गर्न रक्सौल–परवानीपुर ५० मेगावाट प्रसारणलाईन तयार पारिरहेकोे जानकारी दिए। रक्सौलबाट आयात गरिएको ५० मेगावाट विद्युत्ले बारा–पर्सा औद्योगिक कोरिडोर विद्युत्भार कटौतीमुक्त भएपछि यस भेगको उद्योग व्यापार फस्टाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । पत्रकारसम्म्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानले नेपालमा लगानी भित्र्याउन वाणिज्य दूतावासले भारतीय उद्योगपतिमाझ पहल गरेको र यसको सकारात्मक प्रभाव चाँडै देखिने दाबी गरे । उनले तराईको विकास र तराईवासीको जीवनस्तरलाई उकास्न भारत सरकारले स्वास्थ्य, शिक्षा, सडक तथा पूर्वाधार विकासमा आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । रासस
केटीको प्रयोग गरेर व्यापारीको अपहरण र ब्ल्याकमेलिंग
काठमाडौं – युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कुमारनन्द खड्का र नवीनकुमार राईलाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ । उनीहरूले सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई अपहरण गरी धनमाल लुट्नुका साथै फिरौती लिएर छाडिदिएका छन् । कुँवरलाई ४ पुसमा युवतीकै काठमाडौंको सुकेधारास्थित डेरामा बन्धक बनाई १२ लाख चेक लिएर छाडिएको थियो । पक्राउ परेका खड्का र राईलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । गिरोहका युवतीसहित नाइके फरार छन् । घटनाको तीन सातापछि २९ पुसमा गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका खड्का र राई प्रहरी बनेर धम्क्याउने व्यक्ति हुन् । प्रहरीका अनुसार व्यवसायी कुँवरसँग प्रेमको नाटक गरी युवतीले महाराजगन्जस्थित आफ्नो डेरामा लिएर गएकी थिइन् । डेरामा पुगेपछि आफ्ना सहयोगीहरू बोलाई बलात्कार गरेको बताएकी थिइन् । प्रहरीलाई खबर गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै उनीहरूले ब्ल्याकमेलिङ गरेका थिए । कोठामै बन्धक बनाई पैसा दिए प्रहरीमा उजुरी नदिने भन्दै फिरौती माग्न थालेका थिए । खड्का र राई आफूहरू प्रहरी भएको भन्दै कोठामा गएर उनलाई थप धम्क्याएका थिए । कुँवरसँग भएको नगद, मोबाइल, सुनको सिक्री लुटेपछि १२ लाख रुपैयाँदिने सर्तमा उनलाई कोठाबाट मुक्त गरिएको थियो । मुक्त भएपछि कुँवरले आफूलाई योजनाबद्ध रूपमा फसाइएको भन्दै उजुरी दिएका छन् । ‘सो गिरोहले धेरैजनालाई फसाइसकेको बुझिएको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पुरीले भने, ‘अन्य पीडितहरू पनि सम्पर्कमा आउनुभएको छ ।’ पेसेवर रूपमा नै सो समूहले व्यवसायी तथा पैसावाल व्यक्तिहरू खोज्ने, सुन्दर युवतीहरू खटाएर प्रेमको नाटक गर्न लगाउने र सम्बन्ध राख्नका लागि भनेर कोठामा लिएर जाने गरेका । त्यसपछि बलात्कार गरेको भन्दै पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । सो समूहबाट एक सरकारी कर्मचारीसमेत पीडित भएको प्रहरीले जनाएको छ ।
अब सैनिक अस्पताल सर्वसाधारणलाई पनि खुल्ला
काठमाडौँ, माघ ८। नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच आज भएको सैद्धान्तिक सहमति अनुसार नेपाली सेनाले आफ्नो स्थापना दिवस (शिवरात्रि)को अवसर पारेर आगामी फागनु १३ गतेदेखि सर्वसाधरणका लागि बहिरङ्ग उपचार सेवा उपलब्ध गराउने भएको हो । सरकारले विशिष्ट व्यक्तिलाई देशभित्रै स्तरीय उपचार सेवा उपलब्ध गराउन प्रेरित गर्न र सुरक्षाको प्रत्याभूति दिन सैनिक अस्पतालमा उपचार गर्ने प्रबन्ध गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सहमतिअनुसार फागनु १३ गतेदेखि अपराह्न ३.३० देखि ५ बजेसम्म सर्वसाधारणले नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा बहिरङ्ग सेवा पाउने छन् । त्यस्तै काठमाडौं बाहिर नेपाली सेनाको २४ स्थानमा भएका चिकित्सिकमार्फत पनि सर्वसाधारणलाई बहिरङ्ग सेवा उपलब्ध गराउने, नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालको विशिष्ट कक्षमा अति विशिष्ट व्यक्तिहरुको उपचारार्थ स्वास्थ्य मन्त्रालयले आवश्यक मद्दत गर्ने र यसलाई शीघ्र कार्यान्वयनमा ल्याउने सहमति भएको छ । स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाली सेना मिलेर विशेषज्ञ सेवा नपुगेका विभिन्न जिल्लामा शल्यक्रिया सुविधासहितको स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने पनि सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि नेपाली सेनाको मोबाइल अस्पताल प्रयोग गरिने सैद्धान्तिक सहमति भएको जनाएको छ । रासस
कलङ्की–कोटेश्वरका चार पुल निर्माण अन्तिम चरणमा
ललितपुर,माघ ७ । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका काम मात्रै बाँकी छ ।’ कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारीमा मनोहरा खोलामा गरेर चार स्थानमा पुल निर्माणको काम भइरहेको छ । सडक जस्तै पुल पनि आठलेनको बनाउन लागिएको हो । मुख्य लेन चार र साइड लेन दुई÷दुई गरेर आठ लेनको बाटो पुलमा निर्माण भइरहेको छ । पहिले मोटर गुड्ने पुल भएका यी स्थानमा छेउ–छेउबाट थप गरेर आठ लेन गुड्ने बनाउन लागिएको दृष्टि बताउँछन् । उनले भने, ‘आठलेन गुड्ने भएपछि पुलमा पनि सडकमा जस्तै जाम हुने छैन ।’ चिनियाँ सहयोगमा निर्माणाधीन चक्रपथको कलङ्की–कोटेश्वर सडकको कुल लागत तीनसय १२ मिलियन युयान रहेको छ । १०.३९ किलोमिटर सडकमा ५ किलोमिटर सडक यो वर्ष र बाँकी ५.३९ किलोमिटर सडक अबको दुई वर्षभित्रमा सम्पन्न हुनेछ । रासस फाइल तस्वीर
एक घण्टाभित्र इटालीमा तीनवटा भूकम्प
रोम, माघ ५ । इटालीको मध्यभागमा एक घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्पको कम्पन गएको छ । गत अगस्तमा विनाशकारी भूकम्पको असर अहिलेसम्म झेलिरहेको इटालीमा फेरी लगातार भूकम्प आएपछि आमजनता त्रसित बनेको मिडियाले जनाएका छन् । आज आएको भूकम्पको तीब्रता ५.४ रेक्टर स्केल रहेको जनाइएको छ । भूकम्पको कम्पन राजधानी रोममा समेत अनुभूति गरिएको थियो । गत अक्टुबरमा इटालीमा आएको भूकम्पबाट हजारौं घरहरु ध्वस्त भएको थिए । लगातार तीनवटा भूकम्प आएपछि सरकारले स्कूल र मेट्रोलाई खाली गराएको छ ।
तेस्रो बङ्गलादेश एक्स्पो उद्घाटन
काठमाडौं, माघ ५ । आपूर्तिमन्त्री दीपक बोहरा र बङ्गलादेशी राजदूत मास्फी विन्ते शाम्सले भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आयोजना गरिएको तेस्रो बङ्गलादेश एक्स्पो–२०१७ को मंगलबार संयुक्तरुपमा उद्घाटन गरे । माघ ४ गतेदेखि ८ गतेसम्म जारी रहने सो एक्स्पोमा बङ्गलादेशबाट भवन तथा निर्माण सामग्री, छालाका सामग्री, कपडा, जुत्ता, इलेक्ट«ोनिक सामान, हस्तकला, जेनेरेटर, मोटर साइकल, प्रशोधित खाद्य, सञ्चार प्रविधि, शैक्षिक संस्थाका सामानका स्टल राखिएका छन् । सो एक्स्पोमा नेपाली निर्यात तथा उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी दुवै देशका व्यापारी तथा निर्यातकर्तालाई फाइदा पु¥याउने उद्देश्यले गरिएको बङ्गलादेशी दूतावासले मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । उद्घाटन कार्यक्रममा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, सिएनआइका हरिहर शर्मा, एनसिसीका राजेशकाजी श्रेष्ठ तथा नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भवानी राणालगायतको उपस्थिति रहेको थियो ।
पूर्व–पश्चिम रेलमार्ग बन्ने निश्चित, ११ हजार १ सय २३ रुख काट्न सिफारिस
काठमाडौं, माघ ४ । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाब्यता अध्ययन थालिदै गर्दा तराईमा पूर्व–पश्चिम रेलमार्ग बन्ने निश्चित भएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको रेल विभागले रेलमार्ग निर्माणका लागि रुख कटानका लागि स्वीकृति मागेको छ । मेची–महाकाली रेलमार्गअन्तर्गत १०८ किलोमिटर वर्दिबास–सिमरा खण्डमा पर्ने सागरनाथ वन विकास परियोजनाका ११ हजार १ सय २३ ओटा रुख काट्न सिफारिस मागिएको विभागले जनाएको छ । परियोजनाअन्तर्गत सर्लाही र महोत्तरीमा पर्ने वनमा रहेका साल, साज, मसला, बाँझी, सिमल, सत्तीसाल, कर्मा, जामुन, खयर, टिक, सिसौलगायत गरी करिब १ लाख ५० हजार क्युविक फिट काठ काट्न विभागले स्वीकृति मागेको छ । मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले रुख कटान गर्ने स्वीकृति दिएपछि काम अघि बढ्ने रेल विभागको भनाइ छ । रुखविरुवा नभएका ठाउँ तथा खोलानालमा समेत काम गर्न मन्त्रालयले स्वीकृति प्रदान नगर्दा निर्माणको जिम्मा पाएको परियोजनाले काम तीब्र गतिले अघि बढाउन सकेको छैन । वन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर उक्त प्रस्ताव पारित गराउनु पर्नेछ । मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले आइतबारदेखि अवकाश पाएपछि त्यसको जिम्मेवारी भने सहसचिव डा. प्रेमनारायण कँडेललाई दिइएको छ ।
कार्यवाहक प्रधानमन्त्रीले भने, ‘एमालेले मधेसमा भ्रम सिर्जना गर्न खोज्दैछ, सावधान !’
वीरगन्ज, ३ माघ । कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले एमालेले तराईमा भ्रम सिर्जना गर्न खोजेको भन्दै सावधान रहन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस, पर्साका कार्यकर्तालाई सम्बोधन गर्दै सोमबार मन्त्री निधीले सो निर्देशन दिएका हुन् । उनले भने, ‘संविधान संशोधन प्रक्रिया अगाडि बढिरहेका बेला नेकपा (एमाले)ले भने मधेसमा भ्रम सिर्जना गरिरहेका छ ।’ उनले उक्त भ्रमप्रति सजग रहन सबैसँग आग्रह गरे । उनीले अब जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले निर्वाचनका लागि कर्मचारीहरुलाई तयारी रहन आग्रह गरे । जिल्ला प्रशासन कार्यालय, पर्सामा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री निधिले संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेकाले जुनसुकै बेला स्थानीय निकाय निर्वाचनका घोषणा हुनसक्ने विश्वास व्यक्त गरे । आर्थिक कारोबारका लागि वीरगन्ज राष्ट्रियस्तरमा महत्वपूर्ण भएकाले यहाँ भइरहेका विकासका कामलाई दु्रत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री निधिले पुँजीगत खर्च भएन भन्ने विषय बारम्बार मन्त्रिपरिषद्को बैठकमा उठ्ने गरेकाले पुँजीगत खर्चमा वृद्धि गरी राजस्व वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले एउटै ज्ञापनपत्रमा व्यापारीहरुले पटकपटक सामान आयात गर्ने गरेकाले सम्बन्धित निकायले यस्तो कार्यलाई रोक्नुपर्ने बताए । यसअघि मन्त्री निधिले मध्यमाञ्चलका सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षास्थितिबारे जानकारी दिँदै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पर्न निर्देशन दिइका थिए ।
कञ्चनपुरका किशोरकिशोरी लागुऔषधको कुलतमा फस्दै, अभिभावक चिन्तित
कञ्चनपुर, माघ ३ । विद्यालय पढ्ने उमेरका किशोरकिशोरी लागुऔषधको कुलतमा फस्न थालेपछि कञ्चनपुरको झलारीका अभिभावक चिन्तित छन् । भारतीय निकटवर्ती बजारमा रहेका औषधि पसल र स्थानीय बजारमा रहेका निजी औषधि पसलबाट १२ वर्षदेखि १६ वर्षमुनिका किशोरकिशोरीले लागुऔषध खरिद गरी प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित भएका हुन् । नेपालमा बेच्न प्रतिबन्धित गरिएका लागुऔषधका रुपमा प्रयोग हुने औषधि खुलेआम औषधि पसलमा बिक्री हुँदै आएकाले स्थानीय प्रशासनले कडा निगरानी गरी नियन्त्रण गर्नुपर्ने शिक्षिका धर्मा भण्डारीले बताइन् । “किशोर अवस्थाका बालबालिका नशामा लठ्ठ परेका हुन्छन् अभिभावकले समेत चासो नदिँदा समस्या झनै विकराल बन्दै गएको छ” उनले भनिन् । अभिभावकले बालबालिकालाई पढ्नका लागि विद्यालय पठाउँछन् । राजनीतिककर्मी लालबहादुर महराले भने– “बालबालिका कुलतमा फसेका कारण विद्यालय बाहिर नशामा डुबेका भेटिदा अभिभावक निकै चिन्तित छन् ।” बालबालिकालाई कुलतबाट बचाउन अभिभाक सचेत हुनुपर्ने बताउँदै स्वाथ्यकर्मी गङ्गा बस्नेतले भन्छन–“निजी र सामुदायिक दुबै विद्यालयमा लागुऔषधले पुर्याउने हानीबारे विद्यार्थीलाई सचेतनामूलक शिक्षा दिनुआवश्यक रहेको छ ।” आनीबानी, लवाइखवाइ र सङ्गतले समेत असर गर्ने भएकाले अभिभावकले बालबालिकाको बानी सुधार्नका लागि समेत घरबाटै प्रयास गर्नुपर्ने समाजसेवी दिलबहादुर बुढाले बताए । लागुऔषधलगायतका अनैतिक कार्य गर्नेलाई प्रहरीले पक्राउ गरे राजनीतिक दबाब दिएर छोड्न बाध्य गराउने परिपाटीले समेत लागुऔषधको प्रयोगमा बढावा मिलेको पूर्व देखतभूली गाविसका अध्यक्ष तनुकलाल चौधरीले बताउए। “अभिभाकले बालबालिका आनीबानी सुधार्ने र लागुऔषध बिक्री गर्ने मेडिकलका सञ्चालकमाथि हुदैसम्मको कानुनी कारबाही गर्नका लागि सबैले प्रहरीलाई साथ दिए मात्रै लागुऔषधको प्रयोगलाई नियन्त्रण गर्न सकिन्छ” उनले बताए । दुई दिनअघि मात्रै इलाका प्रहरी कार्यालय झलारीमा पुगेका प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउद समक्ष समेत लागुऔषधको बढ्दो प्रयोग रोक्नका लागि यहाँका राजनीतिकर्मी, समाजसेवी, वुद्धिजीवी, व्यवसायीले आग्रह गरेका थिए । एक साताभित्रै परिवर्तनको अनुभूति हुने गरी लागुऔषध, अवैध मदिरा र देह व्यापार रोक्नका लागि काम गर्न उहाँले इप्रका झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिनुभएको थियो । इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले लागुऔषधको अवैध कारोबार गर्ने र सेवन गर्नेको पहिचान गर्ने कार्य अगाडि बढाएको बताए । लागुऔषधको प्रयोग गर्ने बालबालिकाको सङ्ख्या झलारीमा मात्रै तीसभन्दा बढिरहेको बताइएको छ । घरबाट लागुऔषध प्रयोग गर्न पैसा नपाइदा धेरै जनाले चोरी गरेर पनि पैसा जुटाउने गरेको स्थानीयवासीको भनाइ रहेको छ । रासस