पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै कञ्चनपुरवासीले बुझाए प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र
कञ्चनपुर (सप्तरी), चैत ८ । स्थानीय तह पुनःसंरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढङ्गले गाविस समाहित गरिएको भन्दै यहाँ असन्तुष्टि देखिएको छ ।
यसै क्रममा सोमबार स्थानीयले त्रुटिपूर्ण पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नपामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै सङ्कटमा पर्ने ठहर गर्दै नगरवासीको बृहत् भेलाले पूर्व मेयर सैलेश चौधरीको संयोजकत्वमा एकहजार एक सदस्यीय ‘राजविराज नगर सीमाङ्कन सुधार सङ्घर्ष समिति’ गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
सोहीअनुरुप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको हो । सङ्घर्ष समितिका संयोजक चौधरीले भन्नुभयो, “अविलम्ब त्रुटि नसच्याए दोस्रो चरणमा आन्दोलनको सशक्त कार्यक्रम अघि बढ्छ ।”
ज्ञापनपत्रमा पूर्वमा खाडो खोलाभन्दा पश्चिम, उत्तरमा बसविट्टि गाविसको सीमादेखि औद्योगिक क्षेत्रसम्म, पश्चिममा घोडदहनीदेखि पूर्व र दक्षिणमा इटहरी विष्णुपुर गाविसको पश्चिम कोसी नहरदेखि उत्तरको भाग मात्र राजविराज नगरपालिकामा गाभिनुपर्ने माग अघि सारिएको छ ।
हाल नपामा हरिहरपुर को मधेपुरा, देउरी भरुवालगायतका गाविस समेटिएका छन् जुन अत्यन्तै अपायक र अव्यवहारिक भएको र नयाँ संरचनाले नगरलाई झन् अस्तव्यस्त बनाउने सङ्घर्ष समितिको ठहर छ ।
ज्ञापनपत्रमा स्थानीय तह पुनःसंरचना गर्दा नगर र जिल्लावासीसँग कुनै छलफल र सुझाव सङ्कलन नै नगरी काठमाडौँमा बसेर केही नेता र सांसदको चुनावी लाभका लागि एकपक्षीय ढङ्गले सीमा तोकिएको उल्लेख गर्दै त्यस्तो संरचना आफूहरुलाई कुनै पनि हालतमा स्वीकार नहुने जनाइएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिनुभयो । रासस
–––––––
२४ वर्षीया आलिया भाटको बलिउड यात्रा
चैत २ । बलिउडमा सानो उमेरमा नै चर्चित बन्न सफल बलिउड नायिका आलिया भट्ट आजबाट २४ वर्ष पुगेकी छिन् । बलिउडमा कम उमेरमा चाँडो सफलता हासिल गर्न सफल नायिकाहरुमा आलिया पर्छिन् । बालकलाकारबाट डेब्यु गरेका आलियाको फिलिम ‘संघर्ष’ पश्चात करण जोहरको ‘स्टुडेन्ट अफ द इअर’बाट नायिकाको जिन्दगी सुरु गरेकी थिइन् । ‘स्टुडेन्ट अफ द इअर’मा आलियाले पहिलोपटक मुख्य नायिकाको रुपमा प्रस्तुत भएकी थिइन् । हालसम्म उनले अभिनय गरेकामध्ये अधिकांश फिलिम सफल नै भएका छन् । साहिद कपुरसँग खेलेको आलियाको फिल्म ‘उड्ता पन्जाब’ भने सबैभन्दा झुर सावित भएको थियो । अलियाले अहिलेसम्म संघर्ष, स्टुडेन्ट अफ द इअर, उड्ता पन्जाबसहित ‘हाइवे’, ‘टु स्टेट्स’, ‘हम्पी शर्माकी दुल्हनिया’, ‘अग्ली’, ‘सान्दार’, ‘कपुर एन्ड सन्स्’, ‘ए दिल हे मुस्किल’, ‘डियर जिन्दगी’ र ‘बद्रिनाथकी दुल्हनिया’ लगायत १२ ओटा फिल्म खेलिसकेकी छन् । त्यस्तै, ‘गोइङ होम’ नामक फिचर फिल्मचाँहि उनी आफैंले बनाएकी थिइन् । उनले हम्पी शर्माकी दुल्हनिया फिल्ममा गीतसमेत गाएर गयिकाको रुपमा आफूलाई उभ्याइसकेकी छन् । आलियाले अहिलेसम्म दुई दर्जनभन्दा बढी ‘फिल्मफेयर’मा मनोनीत भएर १० ओटा अर्वाड हात पारिसकेकी छन् । त्यस्तै, ‘टाइम्स अफ इन्डिया’को ‘मस्ट डिजायरवल वमेन’को सूचीमासमेत परिसकेकी छन् । उड्ता पन्जाब र हाइवेजस्ता फिल्ममा आलिया फरक भूमिकामा देखिएकी थिइन् । उनको यो भूमिकालाई सबैले प्रशंसा गरेका थिए । अचम्मको कुरा के भने उनी अहिलेसम्म आफ्ना बाबु बलिउडकै चर्चित फिल्म निर्देशक महेश भट्टको फिल्ममा भने काम गरेकी छैनन् । उनको अर्काे ‘सेक्रेट’ कुरा भनेको उनले बेलायतको नागरिकता लिएकी छन् । यसकारण उनी भारतीय नागरिक भने होइनन् । उनी अहिले अभिनेता सिद्धार्थ मल्होत्राको साथ ‘रिलेसनसिप’मा रहेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी
व्यक्तिगत कारणले बालुवाटार छोड्न पर्यो– तिमिल्सिना
काठमाडाैँ, चैत २ । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयबाट राजीनामा दिएका मनहरी तिमिल्सिनाले व्यवहारिक जटिलताले बालुवाटार छोड्नुपरेको बताएका छन् । बालुवाटार छोडेको विषयमा बिभिन्न कोणबाट टिका टिप्पणी भएको भन्दै स्वकीय उपसचिव रहेका तिमिल्सिनाले यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित भएको बताएका छन् । बालुवाटार छोड्नुमा कसैका दोष छैन शीर्षकमा विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले लेखेका छन्– फागुन २७ गते व्यवहारिक जटिलताको कारण दर्साउँदै मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । मैले राजीनामा पत्रमा लेखेको थिएँ, ‘प्रस्तुत सम्बन्धमा व्यवहारिक जटिलताका कारण मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयमा रहेर काम गर्न नसकेको कारण स्वकीय उपसचिव पदबाट राजीनामा दिएको छु । यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित दुवै छु । आशा छ, यहाँहरुले मेरो बाध्यता बुझिदिनु हुनेछ ।’ केही दिनयता अखबारबाहेक सामाजिक सञ्जाल र अनलाइन मीडिया हेरेको छैन । तर, साथीहरुबाट सुन्दैछु, ‘पारिवारिक कारणले मनहरिले स्वकीय सचिवालय छोड्यो, चुनावको उम्मेदवार हुने तयारीका लागि बालुवाटार छोड्यो, प्रकाश दाहाल लगायतको दवावका कारण सचिवालय छोड्यो, आदि इत्यादी । तर, मेरो राजीनामासँग माथि उल्लेखित कुनै पनि अनुमानहरुको सम्बन्ध छैन र उम्मेदवार हुने विषयमा पनि अन्तिम निर्णयमा पुगिसकेको छैन । अरु कुनै पनि कारण छैन भने किन छोडिस् त ? प्रश्न जरुर उठ्छ । बिना जानकारी सचिवालय छोड्नैपर्ने के बाध्यता आइलाग्यो ? के तँलाई व्यक्तिगत निर्णयका आधारमा जिम्मेवारी छोड्ने छुट छ ? यस्ता अनेकौं प्रश्नहरुको कठघरामा पक्कै पनि म छु र मैले त्यसको चित्तबुझदो जवाफ दिनैपर्छ । म पूर्ण विश्वस्त छु, ‘सम्पूर्ण व्यवहारद्वारा नै मैले आफूलाई सही सावित गर्न सक्नुपर्छ र सक्नेछु । अनि, राजनीति र सामाजिक कर्महरुद्वारा जीवनलाई थप गतिशील बनाउनेछु।’ व्यक्तिगत जीवनमा केही व्यवहारिक जटिलताहरु थिए । जटिलताहरुको सहज निरुपणका लागि मलाई केही समयको जरुरत पर्दथ्यो । व्यस्त राजनीतिक कार्यसूचिमा मैले लामो बिदा लिनु पक्कै पनि राम्रो हुने थिएन । मैले सोचें, ‘जिम्मेवारीमा रहेर आफ्नो कर्तव्य पुरा नगर्नुभन्दा जिम्मेवारी छोड्नु नै उचित हुन्छ ।’ मैले सल्लाहमै जिम्मेवारी छोड्न चाहन्थें । तर, मलाई सजिलै उम्कन दिने कामरेडहरुको मनसाय र चाहना छँदै थिएन । परिस्थितिले पनि मेरो आवश्यकताकै माग गर्दथ्यो । त्यसैले मैले जिम्मेवार साथीहरुलाई पनि जानकारी नदिई आफ्नो निर्णय लिएको थिएँ । विश्वासपूर्ण जिम्मेवारी छोड्नु मेरै लागि पनि सुखद् कुरा थिएन । मेरो व्यक्तिगत चाहना पनि पक्कै त्यस्तो थिएन । यद्यपि, परिस्थितिको दवाव झेल्न म चुकें । त्यतिबेलै मैले अनुभूत गरेको थिएँ, मैले भूल नै गर्दैछु । तर, भूलले नै आगामी गन्तव्य र प्रतिकूलतालाई छिचोल्न सक्छ भने एकपटक जाने बुझेरै भूल गर्छु । अनि, म राजनीतिक जीवनमै क्रियाशील हुने संकल्पसहित राजीनामा दिने निर्णयमा पुगें । म जति समय बालुवाटार बसें । व्यक्तिगत जीवनमा कसैसँग नराम्रो भएन । मैले पनि आफ्नो औकातले भ्याएसम्मको जिम्मेवारीमा रहेर काम गरें । सचिवालय परिवारमा सबै साथी र कामरेडहरुको मप्रति असीम माया नै थियो । मेरा साना, ठूला समस्या र जटिलताहरुमा मैले उहाँहरुको साथ पाइरहें । उहाँहरुको छत्रछायाँ र विश्वासकै कारण मैले आफ्नो जिम्मेवारीलाई सहजतापूर्वक पुरा गर्न सकेको थिएँ । जोखबहादुर महरा, प्रकाश दाहाल र रमेश मल्लहरु प्रमूख स्वकीय सचिव र स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँहरु सबैको मप्रति सधैं ममता, विश्वास र मित्रवत् सम्बन्ध रह्यो । मेरो आठ महिनाको सहकार्यले भन्छ, ‘जोखबहादुर महरा एक आदर्श नेताको नाम हो ।’ उहाँको हमेशा चिन्ता प्रधानमन्त्री प्रचण्डको कार्यकाल कसरी सफल पार्ने ? जिम्मेवारीमा रहेको बेला नमूनायोग्य काम कसरी गर्ने ? धेरै राम्रो गर्ने परिस्थिति नभएपनि नराम्रोबाट कसरी जोगिने ? महरा सरको हमेशा चिन्ता हुन्थ्यो । अनि, उहाँका प्रत्येक व्यवहारले भन्थे, ‘महरा निश्चित समर्पण र संकल्पका लागि बालुवाटार छ र रहनेछ ।’ प्रकाश दाहालसँग मेरो सम्बन्ध निकै आत्मीय थियो । मलाई हेक्का छ, ‘उहाँ मनहरिले बालुवाटार छोड्ने निर्णयमा पुगोस् भन्ने कदापी चाहनु हुन्थेन ।’ मप्रति कुनै आशंका वा अविश्वास रहन्थ्यो भने व्यक्तिगत जीवनका असाध्यै सामान्य कुरा पनि आदान प्रदान पक्कै गर्नु हुन्थेन । म उहाँको लागि साँच्चिकै भाइ थिएँ । मप्रतिको व्यवहार सधैं आत्मीय नै थियो । व्यक्तिगत जीवनका साना ठूला समस्यामा पनि उहाँको बलियो साथ थियो । उहाँ मेरो जीवनको एक उत्प्रेरक हुनुहुन्थ्यो । समयको क्रममा विगतमा प्रकाश दाहालका केही प्राविधिक त्रुटीहरु भए । ती नियतजन्य मनस्थितिका उपज थिए वा परिस्थितिजन्य जटिलता ? अनि, उहाँको जीवनमाथि राजनीति गर्ने नियत नराखेको भए समस्याहरु सहजै सल्टन सम्भव थिएन ? मेरो विचारमा पक्कै सल्टन्थे । आज पनि ठान्छु, ‘प्रकाश दाहालको प्राविधिक त्रुटीलाई हतियार बनाइयो र उनीमाथि प्रहार गरियो, जुन आजसम्म पनि रोकिएको छैन ।’ मैले चिन्दा प्रकाश दाहाल एक सफल स्वकीय सचिवको नाम हो । समयको व्यवस्थापन, मानिसहरुको मनोविज्ञान अनुसार बहस अन्तरक्रिया, समयको मूल्याङ्कनका सन्दर्भमा प्रकाश दाहालको क्षमता अब्बल नै छ । व्यक्तिका केही व्यक्तिगत विशेषताहरु हुन्छन्, ती विशेषता प्रकाश दाहालमा पनि छन् । तर, असल साथीका लागि ज्यान दिने उहाँको स्वाभाव हामीजस्ता पछिल्ला पिँडीका लागि निकै प्रेरणादायक छ र हुनेछ । कतिपयले ठान्छन्, ‘प्रचण्डले आफ्नै छोरालाई स्वकीय सचिव बनाए ।’ तर, मेरो आठ महिनाको अनुभवले भन्छ, ‘प्रकाश दाहाल सचिवालयमा नभएको भए प्रचण्डको दैनिकी नै अस्तव्यस्त हुन्थ्यो ।’ आफू नराम्रो भएरै भएपनि प्रधानमन्त्रीको छवि बचाउन हरदम प्रयत्न गर्ने प्रकाशको म सम्मान गर्छु र गरिरहनेछु । यो अवधिमा प्रकाश दाहाल मात्र नभएर बिना मगरसँग पनि सङ्गत गर्ने अवसर मिल्यो । प्रकाश र बिना मगरबारे जति चर्चा र प्रचार गर्ने गरिएको छ, वास्तविकता त्यसभन्दा बिलकूल फरक पाएँ । जिल्लामा हुने साना ठूला घटनामा पनि बिना मगरको चासो रहँन्थ्यो । विकास र समाज सेवाको हुटहुटी देख्दा लाग्थ्यो, बिना मगरजस्ता नेतृहरु हुने हो भने सामाजिक विकास र राजनीतिक जागरणले उचाई लिन्थ्यो । तर, उहाँहरु थोरै पनि उठ्न खोज्दा विरोधीहरु अनेकौं बहानामा निरन्तर आक्रमण गरिरहेका छन् । सायद सोच्दा हुन्, ‘यिनीहरुलाई आक्रमण गरेर सिध्याउन सकिन्छ ।’ तर, उहाँहरुको मनोबल सामान्य चूनौतिसामू झुक्ने खालको मैले देखिनँ । सल्लाहकार टिममा मूख्यतः गोविन्द आचार्य दाजुसँग सङ्गत गर्ने अवसर मिल्यो । गोविन्द आचार्य निकै मिलनसार स्वाभावको हुनुहुन्थ्यो, हरेक विषयमा अरुका कुरा सुन्ने उहाँको स्वाभावले मलाई निकै नै आकर्षित गथ्र्यो । बरु, म बेलाबखत रिसाउने गर्थें । तर, प्रकाश दाहाल, गोविन्द आचार्यहरु हाँसेर टार्नुहुन्थ्यो । उहाँहरुको प्रेरणा नै मेरो कार्यकालका लागि निकै राम्रो उर्जा र प्रेरणा बनिरह्यो । आठ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डको अनुहारमा कहिल्यै उन्माद देखिनँ । उहाँमा एक खालको गहिरो जिम्मेवारी बोध थियो । दुई अतिवादी प्रवृत्तिलाई सँगै लिएर संविधान कार्यान्वयनमा लाग्नु बाघ चराउनु बराबर थियो । तर, प्रचण्ड गल्नुभएन र थाक्नुभएन । उहाँको दैनिक व्यस्तता र कार्यसूचि देख्दा बरु हामी गल्थ्यौं । तर, उहाँले कुनै दिन सुस्केरा हालेको अनुभूति गरिनँ । यसपटकको कार्यकाल जसरी पनि फलदायी बनाउनुपर्छ भन्ने गहिरो जिम्मेवारी बोधसहित उहाँ खटिरहनु भएको छ । अनि, परिणाममा पनि सकारात्मक सङ्केतहरु देखा पर्दैछन् । माओवादी केन्द्र अहिले पहिलो पार्टीको रुपमा छैन । तर, देशलाई गति दिनसक्ने, जुनसुकै पात्र र प्रवृत्तिलाई मिलाएर राष्ट्रिय निकास दिनसक्ने नेता प्रचण्ड नै हो । राजनीतिक आस्था र संगठनमा बिमति होलान् । तर, विरोधीहरु पनि प्रचण्ड जत्तिको अर्को नेता नेपालमा छ भन्न सक्दैनन् । यहीँ संकल्प र गुणले म प्रधानमन्त्री प्रचण्डसँग प्रभावित छु । मेरो सहकार्यले भन्छ, ‘प्रचण्डको चेहरामा राजनीतिक निकास र आर्थिक विकासको संकल्प छ । अनि, आगामी पुस्ताले पुस्तौसम्म स्मरण गर्न योग्य काम गर्ने आकांक्षा छ ।’ मेरो राजीनामाको एक मात्र कारण म नै हुँ, अरु कुनै व्यक्ति वा संस्थामाथि आशङ्का र आरोपित गर्नु पूर्णतः निराधार छ । प्रष्ट रुपमा भन्न चाहन्छु, ‘मैले लिएको कदम मेरो रुचिको विषय पक्कै थिएन । त्यसमाथि स्वकीय सचिवालयबाट अलग रहँदैमा राजनीतिक जीवनबाट बिश्राम लिने वा सुस्ताउने पनि छैन । तर, व्यक्तिगत जीवनका जटिलताहरु निरुपण गर्न यसले सहजता पैदा गर्ने मेरो विश्वास हो, यसमा प्रगति हुने नै छ । म जहाँ रहेपनि माओवादी आन्दोलनमा छु । आफ्नो ठाउँबाट माओवादी आन्दोलन, यसको नेतृत्वको रक्षा गरी रहनेछु । माओवादी आन्दोलन र नेतृत्वको पक्षमा बोल्नेछु, लेख्नेछु र लड्नेछु । सचिवालयमा नभए पनि माओवादी आन्दोलनको निश्चित जिम्मेवारीमा छु र हुनेछु । आगामी जिम्मेवारी कसरी लिने ? आन्दोलनले ममाथि गरेको लगानीको कसरी सम्मान गर्ने ? त्यसमा गम्भीर छु र हुनेछु । अन्त्यमा, मेरो निर्णयको दोष कसैमाथि थोपर्ने, गलत प्रचारवाजी गर्ने कुरा भ्रामक हुन् । मेरो निर्णयको जिम्मेवारी मैले नै लिनुपर्छ र लिनेछु । अनि, माओवादी आन्दोलनलाई नयाँ उचाईमा उठाउन आफ्नो ठाउँबाट संकल्प गर्ने नै छु । २०७३।१२।०२
भारी हिमपातबाट जुफाल विमानस्थल ठप्प
डोल्पा, फागुन २७ । भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ । आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ । विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ । अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ । यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उत्पन्न भएको छ । त्यस्तै दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ । भारी वर्षातका कारण उक्त विमानस्थलमा बिहीबार पनि उडान/अवतरण हुन सकेको थिएन । रासस फाइल फोटो
नेपाली हिराे, हिरोइनको उमेर कति ? (भिडियाे)
चलचित्र उद्योगमा अधिकांश हिरो र हिरोइनहरुले आफ्नो उमेर लुकाउने गर्छन् । यसो गर्नुका पछाडिको कारण उनीहरुले आफू अझै तन्नेरी रहेको देखाउनु नै हो । दर्शकहरुले भने उनीहरुका बारेमा अनुमान लगाउने काम गरेका हुन्छन– फलानो हिरोइन यति वर्ष पुगी होलि भनेर । कतिपयले चाहिँ आफ्नो उमेर नढाँटी बताउने पनि गर्छन् । यो भिडियोमा नेपालका हिरो हिरोइनहरुको वास्तविक जन्ममिति र उमेर हेर्न सकिन्छ ।
चितवनमा लागुऔषध मुद्दामा ६१ जनालाई कारबाही
चितवन, फागुन २१ । चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको चालु आव २०७३र७४ को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले चितवन लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको प्रस्टिन्छ। देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकाले चितवनमा लागुऔषधको कारोबार बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। चालू आवको माघ महिनासम्म चितवनमा करिब तीन सय ४९ किलो चरेस बरामद भएको छ । त्यसैगरी २६ किलो गाँजा र १४ लिटर कोरेक्स बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। चालु आवको सात महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय चितवनले डाइजापाम नौ सय ६० एम्पुल, ब्रुफिर्नोफिन नौ सय ४८ एम्पुल, फेनारगन नौ सय ३८ एम्पुल, खैरो हिरोइन १७ ग्राम, नाइट्राजेपाम दुई सय ४६ ट्याब्लेट, स्पास्मो प्रोक्यभोन ३२ क्याप्सुलजस्ता लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। लागूऔषध कारोबारमा संलग्न विभिन्न व्यक्तिलाईसमेत प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । चितवनमा २०७३ साल साउनदेखि माघ महिनासम्ममा लागुऔषधसम्बन्धी विभिन्न ३५ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६१ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । लागूऔषधको कारोबारमा संलग्न सबैलाई लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐनअन्तर्गत मुद्दा दायर भएर कारबाही चलाइएको छ । रासस
झण्डै १४ खर्बको लगानी भित्र्याउने प्रतिबद्धता
काठमाडौँ, फागुन २० । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले राजधानीमा आयोजित दुईदिने ‘नेपाल लगानी सम्मेलन’ सकिएको छ । नेपालका करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) भित्र्याउने प्रतिबद्धतासहित उक्त सम्मेलन सकिएको हो । सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा सहभागी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित रहेको बताए । सरकारले नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित गरेर आयोजना गरिएको सम्मेलनबाट रु एक खर्ब लगानीको प्रतिबद्धता आउने विश्वास लिएको थियो । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरियो । नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भन्ने विश्वास दिलाएर लगानीको प्रतिबद्धता ल्याउन सफल भएको उद्योगमन्त्री जोशीले बताए । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासकाबारेमा सहभागीलाई जानकारी दिइएको थियोे । सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी थिए । उनीहरुले रु आठ खर्ब ३० अर्बको लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
दलितबस्तीमा फैलिएको झाडापखालाबाट ५८ बिरामी, विरामी ओसार्न एम्बुलेनसको अभाव
धादिङ, फागुन २० । धादिङको ज्याम्रङ्गस्थित दलित वस्तीमा झाडापखालाले महामारीको रुप लिएको छ । वस्तीमा विषाक्त खाना र दूषित पानी पिउनुपर्ने बाध्यका कारण सो बस्तीमा झाडापखाला फैलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । केही दिनअघि विवाहभाेज खाएकाहरू पनि विरामी भएका छन् भने अन्य भने विवाह भाेजमा सामेल नभएकाहरू पनि विरामी परेका हुन् । पानीको चरम अभावका कारण एक हप्ताअघि मात्रै बस्तीमा एक दर्जन प्लास्टिक ड्रमका काला ड्रम राखेर खानेपानी संकलन र वितरण गरिएकोमा हाल सोही प्रदुषित पानी कारण ज्याम्रुङ्ग–७ को कुमाईगाउँ दलितबस्ती दलित बस्तीमा झाडावान्ता र पखालाको प्रकोप फैलिएको हो । एकै परिवारका १८ जना बिरामी भएपछि सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्याएइको छ भने थप ४० जना बस्तीमै छटपटाइरहेका छन् । एक्कासी फैलिएको झाडापखालाको प्रकोपका कारण विरामी ओसार्न एम्बुलेन्सको समेत समस्या भएको विरामीका आफन्तजनले बताएका छन् । हाल विरामीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । भूकम्पमा काम गर्न आएको संस्थाले स्थानीय झाक्रेखोलाको मुहानबाट पानी ल्याएर गत हप्तामात्रै १ हजार लिटर क्षमताका १२ वटा काला ड्रमहरु बस्तीका विभिन्न स्थानमा राखिदिएको थियो । त्यसपछि मंगलबारबाट बस्तीमा झाडापखालाको महामारी फैलिएको हो । केहीलाई बस्तीमै उपचार गर्न स्वास्थ्यकर्मीको टोली पठाइएको र स्थानीयवासीको दाबी जे भए पनि विषाक्त खानाका असरहरु देखा परेको प्रजिअ उमेश ढकालले बताएका छन् ।
उपप्रधानमन्त्री महरा र भारतीय वित्तमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, फागुन २०। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने विषयमा भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग छलफल गर्नुभएको छ । दोस्रो लगानी सम्मेलनमा भाग लिन आज मात्रै यहाँ आइपुग्नुभएका जेट्लीसँग आज भएको भेटवार्तामा अर्थमन्त्रीले व्यापार घाटा घटाउन र लगानी अभिवृद्धिका विभिन्न आयामका बारेमा द्विपक्षीय कुराकानी गर्नुभएको हो । संविधान निर्माणपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेको र लगानीमैत्री वातावरण सिर्जना भएको भन्दै अर्थमन्त्री महराले नेपालको आर्थिक विकासका लागि भारत सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभएको उहाँका प्रेस विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो । अर्थमन्त्री महराले भारतीय मुद्राका कारण नेपाली लगानीकर्ता र आम नागरिकमा परेको समस्याको गाँठो तत्काल फुकाइदिनसमेत भारतीय समकक्षी जेट्लीलाई आग्रह गर्नुभएको थियो । अर्थमन्त्री महराको जिज्ञासाको जवाफमा भारतीय वित्तमन्त्री जेट्लीले व्यापार घाटा कम गर्न नेपालमा नै उद्योग स्थापना गर्न आग्रह गर्नुभयो । नेपाल र भारतका उद्योगी तथा व्यवसायीले संयुक्तरुपमा पनि उद्योग तथा व्यवसाय सञ्चालन गर्नसक्ने र त्यसमा आफूहरुका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भारतीय मुद्राका कारण परेको समस्याप्रति भारत सरकार जानकार रहेको भन्दै उहाँले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकका उच्च अधिकारीले समस्या समाधान गर्ने विश्वास दिलाउनुभएको थियो । गैरकानुनी गतिविधि नहोस् भन्नेतर्फ मात्रै भारत सरकारको चासो रहेको भन्दै शीघ्र समस्या समाधान गर्ने वचनसमेत भारतीय वित्तमन्त्रीले दिनुभएको थियो । भेटमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदीलगायत अर्थमन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो । रासस
काम चाँडाे गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुकम्पबाट सबैभन्दा बढी पीडित भएकाहरुलाई राहत पुग्ने गरी द्रुत गतिमा कार्य अघि बढाउन सरोकारवाला मन्त्रालय तथा पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् । आइतवार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्राधिकरणसहित सरोकारवाला मन्त्रालयको संयुक्त बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । भुकम्पवाट क्षति भइ जोखिमयुक्त बस्तीमा बसिरहेका परिवारलाई तत्काल अन्यत्र बसोवासको व्यवस्था मिलाउन, घर निर्माण गर्ने पीडितलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन तथा भुकम्प पीडित सुकुम्वासीहरुलाई राहतको व्यवस्था गर्ने गरी कार्यविधि ल्याउन प्रधानमन्त्रीले निर्देशन दिए । बैठकमा शहरी बिकास मन्त्री अर्जुन नरशिंह केसी, स्थानीय विकास मन्त्री हितराज पाण्डे, शिक्षा मन्त्री धनीराम पौडेल, मुख्य सचिव सोमलाल सुवेदी सहित सरोकारवाला मन्त्रालयका सचिव, पुर्ननिर्माण प्राधिकरणका अध्यक्ष, गर्भनरसमेतको सहभागिता थियो ।
शनिबार उम्मेदवारी दर्ता हुन नसकेका क्याम्पसमा आज मनोनयन हुने
काठमाडौं फागुन १५ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को उम्मेदवारी मनोनयन दर्ता आज पनि हुँदैछ । विभिन्न विद्यार्थी संगठनको बिरोध र तालाबन्दीका कारण शनिबार प्रभावित क्याम्पसहरुमा आइतबार मनोनयन दर्ता हुने भएको हो । विद्यार्थी संगठनको तालाबन्दीले मुलुकभरका ३८ क्याम्पसमा हिजो हुने भनिएको उम्मेदवार मनोनयन दर्ता हुन सकेको थिएन । त्रिविका रेक्टर सुधा त्रिपाठीले भनिन हिजो मनोनयन दर्ता नभएका क्याम्पसमा आज साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने र भोली बिहान १० बजेसम्म आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी अन्तिम नामावली प्रकाशन गरिनेछ । जस्तोसुकै अवस्थामा पनि निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न त्रिवि तयार रहेको त्रिपाठीले बताइन । प्रमुख विद्यार्थी संगठन र त्रिविका बीचमा समन्वयात्मक छलफल गर्ने र प्रभावित बनेको कार्यतालिका संशोधन गरी मनोनयन दर्ता नभएका क्याम्पसमा आज प्रक्रिया अघि बढाउने सहमती भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । त्रिविसँग निर्वाचन सहमती भइसकेकाले क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचन प्रक्रियामा सहभागी हुने र निर्धारित समयमा नै निर्वाचन गर्न प्रमुख विद्यार्थी संगठन एकमत भएको बस्नेतको भनाई छ । शनिबार मनोनयन दर्ता भएका २२ वटा क्याम्पसमा भने आज निर्धारित कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढ्ने त्रिविले जनाएको छ । उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्न १० बजेसम्मको समय निर्धारण गरेको त्रिबिले छानविनपछि मध्यान्न १२ बजे नामावली प्रकाशन गर्ने जनाएको छ । अपरान्ह ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकेको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
जोखिममा २१ हिमताल
काठमाडौं, फागुन १४ । सगरमाथा क्षेत्रमा पर्ने इम्जा हिमतालमा निकास खोलेर नेपाली सेनाले ३ दशमलव ४ मिटर सतह घटाएपछि त्योभन्दा तल ५० किलोमिटर क्षेत्रका बासिन्दा सुरक्षित भएका छन् । ३ हजार हिमतालमध्ये २१ वटा फुट्न सक्ने उच्च जोखिममा छन् । हिमाली क्षेत्रमा लामो समयदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले सन् २०११ मा प्रकाशित गरेको प्रतिवेदनमा २१ हिमताल उच्च जोखिममा रहेको उल्लेख छ । प्रतिवेदनअनुसार च्छो रोल्पा, वरुण, इम्जा, लुम्दिङजस्ता हिमताल जोखिमसूचीको माथिल्लो क्रममा छन् । यसमध्ये अहिलेसम्म च्छो रोल्पा र इम्जाको मात्रै सतह घटाउने काम भएको छ । ‘यसको मुख्य कारण बढ्दो ग्लोबल वार्मिङ हो,’ सिँचाइ मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत श्रीकमल द्विवेदीले भने, ‘विश्वको तापक्रम वृद्धिसँगै हिमनदीको हिउँ पग्लिने क्रम तीव्र भयो । यसले नयाँनयाँ हिमताल बन्नुका साथै हिमतालमा पानीको मात्रा बढ्दै गयो र हिमताल फुट्ने खतरा पनि बढ्यो ।’ लामो समयदेखि नेपालका हिमनदी तथा हिमतालबारे अनुसन्धानमा संलग्न द्विवेदीका अनुसार इम्जाजस्तै अधिकांश हिमताल सन् १९५० पछि बनेका हुन् । यस्ता हिमतालको बनोट नै कच्चा र जोखिमयुक्त हुन्छ । हिमनदी सबैभन्दा तल्लो भागबाट पग्लन सुरु हुन्छ । हिमनदीको हिउँ पग्लिएको ठाउँमा गहिरो खाल्डो बन्छ । हिमनदीले नै जम्मा गरेका चट्टानका टुक्राले पर्खालको काम गरेपछि त्यहाँ पानी जम्न सुरु हुन्छ । हिमनदी माथिमाथि सर्दै जाने र माथिबाट हिउँ पग्लिएर आउने दुवै क्रमले तीव्रता पाएपछि हिमतालले थेग्न सक्नेभन्दा धेरै पानी जम्मा हुन्छ र यसले विस्फोट हुने खतरा बढ्छ ।नेपालमा हिमताल विस्फोटको सबैभन्दा पुरानो घटना करिब ४ सय ५० वर्षअघिको माछापुच्छ्रे हिमताल विस्फोटलाई मान्ने गरिएको छ । यही हिमताल विस्फोट भएर पोखरा उपत्यकाको अहिलेको स्वरूप बनेको मान्यता छ । रेकर्डमा भेटिने पहिलो घटना भने १९ साउन २०३४ मा नारे हिमताल विस्फोट हो । आमादाब्लम हिमालमा रहेको यो हिमताल विस्फोट हुँदा तीनजनाले ज्यान गुमाउनुपरेको अनुमान छ । यसले ठूलो भौतिक क्षति पनि गरेको इसिमोडले उल्लेख गरेको छ । यसको तीन वर्षपछि २०३७ असार १० गते तमोर उद्गम स्थलमा रहेको नग्मा पोखरी विस्फोट भयो । यसले ७१ किलोमिटर तलसम्म क्षति पु¥याएको थियो । यी घटनाले पनि सरकारको ध्यान तान्न सकेकै थिएन । हिमताल विस्फोटबारे सरकारको ध्यान गएको सन् २०४२ पछि मात्रै हो । २० साउन २०४२ मा सगरमाथाकै फेदमा रहेको डिग च्छो हिमताल विस्फोट भएको थियो । यसले निर्माणाधीन नाम्चे जलविद्युत् परियोजना पुरै बगाइदियो । यहाँ करिब ३० लाख रुपैयाँबराबर क्षति भएको अनुमान छ । यही घटनाले सरकारको ध्यान तान्यो । विदेशी संस्था पनि सक्रिय भए । त्यसपछि बल्ल हिमतालको खतराको अध्ययन सुरु भयो । ६ वर्षपछि २९ जेठ २०४८ मा दोलखाको छुबुङ हिमताल विस्फोट भयो । यसले रोल्वालिङ उपत्यकामा ठूलो सन्त्रास उत्पन्न ग¥यो ।सन् २०५० सालमा जल तथा ऊर्जा आयोगले केही जापानी संस्थासँग मिलेर गरेको अध्ययनको प्रतिवेदन आयो । यसले खतरामा रहेका हिमतालबारे जानकारी दियो । प्रतिवेदनमा सातवटा हिमताल उच्च जोखिममा रहेको औंल्याइएको थियो । त्यतिबेला हिमताललाई लिएर विभिन्न समयमा विभिन्न किसिमका अध्ययन भए । विदेशी विश्वविद्यालय र अनुसन्धाताहरूसँगको अनुसन्धानमा कुनै न कुनै रूपमा नेपाल सरकारको पनि संलग्नता रह्यो । सरकारले हिमतालको जोखिम कम गर्ने ठोस कार्यक्रम भने ल्याउन सकेन । यसैबीच १८ भदौ २०५५ मा तामपोखरी विस्फोट भयो । द्विवेदीसमेत संलग्न रहेको टोलीले उक्त विस्फोटबारे अध्ययन गरेको थियो । यो घटनामा पनि दुईजनाको मृत्यु भयो । आठवटा पुल र ठूलो मात्रामा भौतिक संरचनाको क्षति भयो । नदी किनारका उब्जाउ बेंसीहरू पुरिए । ३० साउन २०६० मा माछापुच्छे« शृंखलामै पर्ने कबचे हिमतालनजिक ठूलो बाढी आयो । सुरुमा कबचे हिमताल नै विस्फोट भएको अनुमान गरिए पनि नजिकैको सोंबु हिमनदीमा हिमपहिरोले बाढी सिर्जना गरेको देखियो । यसले मादी नदीवरपर ठूलै क्षति निम्त्यायो । यसैगरी, २०६९ वैशाखमा सेती नदीमा आएको बाढी पनि अन्नपूर्ण हिमशृंखलामै सिर्जना भएको हो । तर, यो बाढी हिमताल विस्फोटको कारणले नभएर हिमपहिरोका कारणले आएको द्विवेदी बताउँछन् । यस्ता घटनाले नेपालमा हिमताल विस्फोटको जोखिम रहेको बताउँछ ।सन् १९९३ मा सातवटा मात्रै जोखिमपूर्ण हिमताल पहिचान भएकामा सन् २०११ मा आइपुग्दा यो संख्या२१ पुगेको छ । यो संख्या अझ बढ्न सक्छ । त्यसपछि कुनै अध्ययन नहुँदा जोखिममा रहेका हिमतालको अध्ययन आवश्यक छ । ‘ग्लोबल वार्मिङ जति बढ्दै जान्छ, हिमनदीमाथि सर्ने प्रक्रिया त्यति नै छिटो हुन्छ,’ विभिन्न कालखण्डमा इम्जाको आकार कसरी बढ्दै गयो भन्ने चित्र देखाउँदै द्विवेदीले भने, ‘यसरी हिमतालको जोखिम बढ्दै जान्छ ।’ यो जोखिमको पहिलो भागिदार नजिकै रहेका हिमाली क्षेत्रका बासिन्दा नै हुन् । त्यसपछि उक्त हिमताल नजिकैबाट बग्ने नदीवरपर रहेका तराईसम्मकै बासिन्दाले जोखिम भोग्नुपर्छ । बेंसीका रहरलाग्दा खेत र वारिपारि आवतजावत गर्ने पुल सबै हिमतालको जोखिममा छन् । नदी किनारमा करोडौं लागतमा बनिरहेका जलविद्युत् आयोजनालाई पनि हिमताल विस्फोटले क्षति पु¥याउँछ भन्ने त डिग च्छो विस्फोटले नै देखाएको छ । यसरी बढेको हिमतालको सतह घटाउने र सम्भावित हिमताल बन्ने ठाउँमा निकास दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । नेपाली सेनाले इम्जा हिमतालको सतह घटाएर आर्जन गरेको आत्मविश्वास, अनुभव र उत्साह कायम राख्दै अरू हिमतालमा पनि काम गर्नुपर्ने विज्ञहरूले सुझाउँदै आएका छन् । नेपाली सेनाले यो काम गर्न सक्ने बताइसकेका छन् । इम्जामा बिनाक्षति काम सम्पन्न भएपछि सेना उत्साही भएको र महŒवपूर्ण अनुभव आर्जन भएको जनाएको छ । इम्जाको कामको कमान्ड गरेका प्रमुख सेनानी इन्जिनियर भरतलाल श्रेष्ठले नेपाली सेना हिमतालको सतह घटाउने कामका लागि योग्य भएको बताएका छन् ।सेनाको यो अनुभवलाई उपयोग गर्दै सरकारले २१ वटै हिमतालको सतह घटाउने काम थालनी गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । हिमतालको सतह घटाउनु जोेखिमयक्त काम हो ।इम्जाको सतह घटाउन राष्ट्रसंघीय वातावरणका लागि विश्व कोषको करिब ३० लाख अमेरिकी डलर खर्च भएको छ । यसलाई हेरेर हिमताल नबनून् भन्नेमै ध्यान दिनुपर्दछ । यो खबर आजको राजधानी दैनिकमा छ ।
नेपाल सद्भावना पार्टी असन्तुष्ट
काठमाडौँ, फागुन ११ । संविधान संशोधन नगरी यथास्थितिमा स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा नेपाल सद्भावना पार्टीले सरकारप्रति असन्तुिष्ट व्यक्त गरेका छन् । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष अनिलकुमार झाले संविधान संशोधन नगरी यथास्थितिमा संविधान कार्यान्वयनका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन जनताको चाहाना विपरीत रहेको आरोप लगाए । सरकारले देशको शोषित, पीडित उपेक्षित जनताको भवना चाहाना र अपेक्षामाथि कुठाराघात गर्दै एकल जातीय एवम् वर्गीय स्वार्थबाट प्रेरित भएर स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएको भन्दै पार्टीले त्यसको विरोध जनाएको सम्मेलनमा पार्टीका प्रवक्ता डा डिम्पल कुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पार्टीको २८ औँ स्थापना दिवस आगामी वैशाख ३ गते गरिने पनि उल्लेख छ । लामो समयपछि हुन लागिएको स्ववियु निर्वाचन पनि मनोमानी ढङ्गले त्रिभुवन विश्व विद्यालयको मर्यादा विपरीत गर्न लागिएको आरोप पनि विज्ञप्तिमार्फत सो पार्टीले लगाइएको छ ।
चासो र चर्चाको विषय बन्दै स्थानीय तहको निर्वाचन
वासुदेव पौडेल पोखरा, फागुन ११ । सरकारले स्थानीय तहको निर्वाचन कार्यक्रम घोषणा गरेसँगै यतिखेर सामान्य चिया पसलदेखि होटेल, रेष्टुरा र सार्वजनिक स्थलहरूमा निर्वाचनको विषयले चर्चा पाउन थालेका छन् । नयाँ संविधानको कार्यान्वयनको प्रमुख खुड्कीलाका रुपमा लिइएको यो निर्वाचनलाई सरकार, राजनीतिक दल तथा नागरिक समाज सबैको सकारात्मक सहयोगमा सम्पन्न गरी दुई दशकदेखिको जनप्रतिनिधि बिहीनताको अवस्था अन्त्य गर्नुपर्ने आवाज जनस्तरमा उठेको छ । राजनीतिक सङ्क्रमणको अन्त्यका लागि पनि निर्वाचनको विकल्प नभएको अवस्थामा सरकारले स्थानीय तहको निर्वाचन घोषणागर्नु स्वागतयोग्य भएको बताउने यहाँका क्रियाशील राजनीतिक दलका नेता तथा सामाजिक अगुवाले यसलाई सम्पन्न गराउनु राज्यको प्रमुख दायित्य भएको बताउँछन् । लगभग दुई दशकयता स्थानीय तहको निर्वाचन हुन नसकेका कारण देशमा जनताले स्थानीय निकायबाट प्राप्त गर्ने सेवा सुविधा सहज रुपमा प्राप्त गर्न नसकेको जिल्ला विकास समिति कास्कीका पूर्व सभापति एवम् नेकपा एमाले प्रदेश नं ४ कमिटका सदस्य पुण्य पौडेलले बताएका छन् । “जनप्रतिनिधि बिहीनताका कारण स्थानीयस्तरमा विकास निर्माणका काम पनि धेरै प्रभावित बनेका छन्,” उनले भने, “लामो समयदेखिको जनप्रतिनिधि बिहीनताको अन्त्य गर्दै देशलाई अघि बढाउनका लागि घोषित निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्छ ।” लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय निकायमा सुशासन कायम हुन नसकेको बताउँदै पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने निर्वाचनले जनताप्रति उत्तरदायी नेतृत्व छनोट गर्ने र यसले लोकतन्त्रलाई पनि बलियो बनाउने धारणा व्यक्त गरे । “दुई दशकसम्म स्थानीय निकायको निर्वाचन हुन नसकेका अवस्थामा सरकारले घोषणा गरेको निर्वाचन आफैंमा महत्पूर्ण तथा स्वागतयोग्य छ,” उनले भने, “लोकतन्त्रको सुन्दरपक्ष निर्वाचन हो, घोषित निर्वाचनलाई सबै मिलेर सफल बनाउनुको विकल्प छैन,” नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले भने – सबैको सहयोगमा सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल पार्नुपर्ने अहिलेको अनिवार्य आवश्यकता हो । “आन्दोलनरत मधेसी दलको मागलाई समेत संम्बोधन गर्ने गरी सरकारले संविधान संशोधनको प्रक्रियालाई अघि बढाउँदै देशमा निर्वाचनको वातावरण बनाउनु आवश्यक छ,” – उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष जयलाल पुनले संविधान कार्यान्वयनको पहिलो खुड्कीलाका रुपमा निर्वाचन रहेको बताउँदै निर्वाचन गराउन नसके मुलुक नै असफल बन्ने कुरालाई राजनीतिक दल तथा सम्बद्ध सबैले गम्भीरताका साथ आत्मसात गर्नुपर्ने विचार व्यक्त गरे । राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरीका अध्यक्ष शङ्कर बरालले लामो समय स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले प्रश्रय पाएको र विकास निर्माण लगायतका काम प्रभावित बनेको बताए । “वर्तमानमा निर्वाचन देशको प्रमुख आवश्यकता हो, कुनै पनि बाहानामा यसलाई प्रभावित पार्नु हुदैन,”– उनले भने ।
नकाबधारी समूहले ८ लाख ७५ हजार लुटे
भक्तपुर, फागुन १० – लुटेराको समूहले भक्तपुर नगरपालिका-२ लिवालीस्थित राजकुमार लाखेमरुको घरबाट ८ लाख ७५ हजार ६ सय ६० रुपैयाँ लुटेर लगेका छन् । सोमबार राति दुईवटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरब इँटाभट्टाका सञ्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर रकम लुटेर लगेको पीडित लाखेमरुले बताउनुभयो । दुईजनाले घरको ढोकामा पहरा दिएको र तीन जना घर भित्र प्रवेश गरेर लुटपाट गरेका थिए । उहाँले ईटा भट्टामा बुझाउन दराज र कपडामा राखेको रकम, दुईवटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताउनुभयो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे ढिलो गरि जानकारी आएको बताउँदै प्रहरीले घटनाबारे जानकारी आए लगत्तै लुटेराको समूह खोजी एवं अनुसन्धान तीब्र पारेको बताउनुभयो ।
प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए
काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि राजनीतिक सबै दलहरु बीचमा सहमति गराउन प्रधानमन्त्रीले सर्वदलको बैठक डाकेका हुन् । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने ३० वटै दललाई दिउँसो ३ बजेपछि संसद् भवन बानेश्वरमा बोलाउनु भएको छ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाविन्द आचार्यले भने । व्यवस्थापिका संसद बानेश्वरको शंकर हलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइएको उनले बताए । छलफल संविधान संशोधन र सरकारले सोमबार घोषणा गरेको स्थानीय तहको चुनावमा केन्द्रीत हुने प्रेस सल्लाहकार आचार्यले बताए । गएको मंसिर १४ गते नै संसदमा दर्ता भएको संशोधन विधेयकमाथि कानुनमन्त्री अजयशंकर नायकले सैद्धान्तिक छलफल अघि बढाउन प्रस्ताव गर्नुहुनेछ । सोमबारको मन्त्रिपरिषद् बैठकले मधेस केन्द्रित दलले संशोधन प्रस्ताव पारित गर्न माग गर्दै आएका छन् भने प्रमुख विपक्षी एमालेले संशोधन प्रस्तावमाथि छलफल नै अघि बढाउन नहुने अडान राख्दै आएको छ । सरकारले आफ्नो माग अनुसार चुनावको मिति पनि घोषणा गरेकाले एमालेले को संसद बैठकमा लचकता अपनाउने विश्वास गरिएको छ । सत्ता साझेदार नेपाली कांग्रेस सहित विपक्षी दल एमाले, राप्रपा लगायतले चुनावको मिति घोषणा सकारात्मक भएको बताएका छन् । मधेसी मोर्चाले भने चुनावको मिति घोषणामा विमती जनाएको छ । मिति घोषणा लगत्तै बसेको मोर्चाको बैठकले संविधान संशोधन प्रक्रिया अघि नबढाई सरकारले एक्कासी चुनाव घोषणा गरेको भन्दै मंगलबारदेखि विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।