वास्तविक प्रतिस्पर्धा अब सुरु हुन्छ : निशान भट्टराई

काठमाडौं, असोज ८ – नेपाल आइडलमा फस्र्ट रनर अपको उपाधि जितेका निशान भट्टराईले अब आफ्नो प्रतिस्पर्धा सुरु भएको बताएका छन् ।

३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेर नेपाल आइडलको फस्ट रनर अप बनेका निशानले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘मसँग सबैजनलाई एकमुष्ट सम्वोधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म आफुले आफुलाई नै अपरिचत ठानिरहेको छु र बिस्तारै आफुभित्र हराइरहेको छु । समय उहीँ हो तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर आउँदो रहेछ । मेरो हकमा समयले नेपाल आइडलको मञ्च लिएर आयो । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल आइडलको फष्ट रनर अप जस्तो गरिमामय उपाधी दिलाइ दियो यसका लागि नेपाल आइडलप्रति आभारी छु ।’

नेपाल आइडलले आफूलाई सामान्य मञ्चबाट धेरै माथि पु¥याएको भन्दै अब आफ्नो जीन्दगीमाप्रतिष्पर्धा गर्ने समय आएको भट्टराईले बताएका छन् ।
उर्लाबारी मोरङका निशान भट्टराईले फस्ट अनरअपको उपाधीसहित १५ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । नेपाल अाइडल पाेखराका बुद्ध लामा बने भने सेकेन्ड रनरअप ललितपुरका प्रताप दास बनेका हुन् ।

 

बालबालिकाको समग्र विकासका लागि कानून ल्याइँदै

काठमाडौँ, भदौ २९ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस–२०७४ का अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री कोइरालाले ऐनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा छलफल अगाडि बढाइएको र त्यसलाई छिट्टै संसद्मा पठाइने जानकारी दिनुभयो । मन्त्री कोइरालाले बाल विवाहलगायत बालबालिकामाथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताउनुभयो । महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रञ्जु कुमारी झाले समाज कल्याण परिषद्मा सुधार गर्न नयाँ ऐन ल्याउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा जिल्ला बालकल्याण समितिमा कार्यरत केबी राना मगर ९बाग्लुङ०, कैलाश ठाकुृर ९नवलपरासी०, मेघराज भट्ट ९प्यूठान०, रामनाथ भट्टराई ९तनहुँ०, पार्वती अधिकारी ९धादिङ०, बद्रीप्रसाद लम्साल ९मकवानपुर०, रामप्रसाद सुवेदी ९कञ्चनपुर०, लालबहादुर ओली ९बाजुरा०, प्रकाश अधिकारी ९इलाम०, लुमनाथ लामिछाने ९गोरखा०, भोलानाथ योगी ९दाङ०, रामबहादुर हायु ९सिन्धुली० र शेरसिंह खड्का ९कैलाली०लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

सन् २०२४ र ०२८ को ओलम्पिक पेरिस र लस एन्जलसमा हुने

काठमाडौं, भदौ २९ । अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले सन् २०२४ र ०२८ को ओलम्पिक प्रतियोगिता आयोजना गर्न क्रमशः पेरिस र लस एन्जलसलाई जिम्मा दिएको छ । आईओसीको बुधबार बसेको वैठकले फ्रान्सको राजधानी पेरिसलाई २०२४ को ओलम्पिक आयोजनाको जिम्मा दिएको हो । यसैगरी अमेरिकी शहर लस एन्जलसले २०२८ को ओलम्पिक आयोजना गर्ने अख्तियारी पाएको छ । यसअघि पेरिस र लस एन्जलस दुवै शहरले २०२४ को ओलम्पिक आयोजना गर्ने दावी गरेका थिए । तर पछि आआईओसीकै सुझाव अनुसार लस एन्जलस ४ वर्ष पछि ओलम्पिक आयोजना गर्न तयार भएपछि आईओसीलाई निर्णय गर्न सहज भएको हो । पेरिसले यसअघि सन् १९२४ मा ओलम्पिक खेल आयोजना गरेको थियो भने लस एन्जलसले १९३२ र १९८४ मा ओलम्पिक गेम्स आयोजना गरेको थियो । तीन वर्षपछि सन् २०२० को ओलम्पिक खेल भने जापानको टोकियोले आयोजना गर्दैछ ।

भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने

काठमाडौ २७ भदौ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सूर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने भएको छ । उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र यही भदौ ३१ गते हुने समापन समारोहमा समेत सहभागी हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सैनिक टोली आगामी असोज १ गते स्वदेश फर्कन बताइएको छ । यस अभ्यासबाट दुवै देशका सैनिकहरु बीच सयुंक्त रुपमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादसम्बन्धी युद्धकलाको साथै बिपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस

मादी नदीले बगाएर बालक बेपत्ता

दमौली, भदौ २४ । व्यास नगरपालिका–१० कुमालटारीस्थित शिशौघारी नजिक पौडी खेल्ने क्रममा आज मादी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ गल्बुबेँसी बस्ने १३ वर्षीय रवी रुचाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रुचाललाई नदीले बगाएको हो । बेपत्ता बालकको प्रहरी र स्थानीयबासिन्दाले खोजी गरिरहेको बताइएको छ ।

तराइमा भ्रमको खेती गर्दै एमाले, केन्द्रीय नेता रंगेहात समातिएपछि बबाल

काठमाडौं, भदौ २५ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन जित्नका लागि सबै दलहरु प्रचार प्रसार अभियानमा जुटेका छन् । प्रमुख प्रतिपक्षी एमाले निर्वाचन जित्नका लागि झुठको खेती गर्दै भ्रम छर्र्दै हिँडिरहेको छ । दुई नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा जित्नका लागि एमालेका एक जना केन्द्रियस्तरका नेताले झुठो प्रचारवाजी गरेका छन् । यही शनिवार काठमाडौंबाट बारा जाने क्रममा एमाले निकट युवा संघका अध्यक्ष राजीव पहारी र राजपाका नेता मनीष सूमनसँग त्रिभुवन विमानस्थलमा भयो । उनीहबीच कुराकानी र सेल्फी फोटो सम्म खिचियो । दुवै जना आ–आफ्नो बाटो लागे । तर चुनावको मुखमा एमाले नेता पहारीले उक्त सेल्फीलाई दुरुपयोग गरे । उनले मनीष समूनले मधेसमा एमालेको जित सुनिश्चित रहेको भनेर स्वीकारेको भनी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरे । त्यतिमात्रै होइन् वीरगन्ज लगायतका महत्वपूर्ण नगर र गाउँपालिकामा एमाले विजयी हुने र एमालेले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने कुरा खुलस्त स्विकार गरेको कुरा पनि फेसबुकमा लेखे । साथै एमालेको सहि नीति र नेतृत्वको कारणले एमालेप्रतिको बिश्वास अन्य पार्टीमा पनि बढ्दै गएको कुरा पनि मनीषले भनेको उल्लेख गर्दै उनले फेसबुकमा थप लेखे, मनिषजीलाई पनि एमालेमा छिटै स्वागत गर्न पाइयो । आफूसँग खिचेको सेल्फीको दुरुपयोग गर्दै उनले भ्रम फैलाउनेगरी एमालेका युवा नेता राजीव पहारीले झुटो कुरा लेखेपछि मनीष सूमनले पनि फेसबुकबाटै प्रतिवाद गरे । उनले भ्रम फैलाउने काम नगर्न चेतावनी दिँदै मधेसीलाई आमाचाक्री गाली गर्ने, आँप, विहारी भनेर होच्याउने मधेसी विरोधी एमालेलाई लोप्पा खुवाउने भनेर जवाफ दिएका छन् । मनीषले लेखेका छन्, ‘सेल्फी खिचाउने रहर बोकेका राजिवजी लाई हेक्का होस, मधेशी नेतालाई आमा,चकारी गाली बक्ने वामदेव गौतमको एमाले, हठका कारण सप्तरी मलेठ मा ५ जना को हत्या गराउने एमाले, मधेशीलाई कालो, लटरम्म आंपबाट झरेका दुई,चार आंप, धोतीजस्ता असभ्य अमर्यादित टिप्पणी गर्ने एमालेले अब मघेसमा लोप्पा मात्र पाउनेछ । भेटघाटमा हुंदै नभएको गफलाई मनोगत रूपले फसबुकमा प्रयोग नगरौं मित्र । मनिष सुमन मघेशवादी थियो, छ र रहनेछ । मघेश विरोधी एमालेले स्वागतको तयारी नगरोस् ।’ उसो त भ्रमको खेती गर्ने, झुटा आश्वासन बाडेर चुनाव जित्ने एमालेको पूरानो परिपाटी नै हो । र, अहिले उसका केन्द्रीय नेता भ्रम फैलाउने क्रममा रंगेहात समातिएका हुन् ।

इंग्लिस प्रिमियर लिग: चेल्सीले लेस्टरलाई हरायो, म्यानयु रोकियो

काठमाडौं, भदौ २५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० को फराकिलो अन्तरमा हराएको छ । सिटीको मैदानमा शनिबार साँझ भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ग्याब्रिएल जिसस र लेरोए सानेले २–२ गोल गर्दा सर्जियो अगुएरोले एक गोल थपे । खेलको ३७औं मिनेटमै लिभरपुलका सादियो माने रातोकार्ड खाँदै बाहिरिएपछि पाहुना टोली १० जनामा समेटिएको थियो । प्रिमियर लिगअन्तर्गत्कै अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । चेल्सीका अल्भारो मोराटा र एन्गोलो कान्तेले एक–एक गोल गर्दा लेस्टरका जेमी भार्डीले पेनाल्टीमार्फत् एक गोल फर्काएका थिए । शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–० ले हरायो । आर्सनलको जितमा ड्यानी वेल्बेकको २ तथा अलेक्जेन्डर लाकाजेटको एक गोल सामेल थियो । प्रिमियर लिगमा टोटनह्याम हट्सपरले एभर्टनलाई उसैको मैदानमा ३–० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडलाई स्टोक सिटीले २–२ गोलको बराबरीमा रोकेको छ । स्टोकको मैदानमा भएको खेलमा म्यानयुका लागि रोमेलु लुकाकु र मार्कस रास्फोर्डले एक–एक गोल गरे । स्टोक सिटीका चोउपो मोटिङले २ गोल गरेपछि म्यानचेस्टर युनाइटेडको शतप्रतिशत विजयी यात्रा रोकिएको हो । प्रिमियर लिगअन्तर्गत् शनिबार राति भएका अरु खेलहरुमा ब्राइटनले वेस्ट ब्रोमलाई ३–१ ले हराँउदा वाट्फोर्डले साउथह्याम्पटनमाथि १–० को जित निकाल्यो । यी खेलहरुपछि प्रिमियर लिगको अंकतालिकामा ४ खेलबाट १०–१० अंक जोडेका म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको चेल्सीको ९ अंक छ भने ८ अंकको साथ वाट्फोर्ड चौथो स्थानमा रहेको छ ।

आन्दोलन उद्गमस्थलमै मधेसी दललाई सकस

लहान, भदौ २५ । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए । साँझ घर फर्केका यादवले चौधारी मत माग्न आएको परिवारले जानकारी दिएपछि थप आक्रोशित भएका थिए । यादवले अन्नपूर्णसँग शनिबार भने–‘कुनै बेला ममाथि २८ ओटा मुद्दा लगाउने यी पूर्वपञ्चलाई म कसरी फोरम हो भनेर मत दिने ।’ ०६३ माघको पहिलो मधेस विद्रोहका बेला यादव लहानमा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक हुन् । ५ माघ ०६३ मा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि पहिलो मधेस आन्दोलन चर्किएको थियो । आन्दोलनको कृष्णबहादुरले नै लहानमा नेतृत्व गरेका थिए । उपेन्द्र यादवको कार्यशैलीप्रति असहमति जनाउँदै पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामै फोरम छाडेका यादव त्यसयता स्वतन्त्रपूर्वक जीवन बिताइरहेका छन् । पहिलो मधेस आन्दोलन तथा गौरकान्डपछि उनीमाथि अझै ५ ओटा मुद्दा चलिरहेको छ । ‘आन्दोलन गरी फोरमलाई राजनीतिक शक्ति बनाउने हामी आज त्यतिकै बरालिएका छौं । जिन्दगीभर राप्रपामा रहेका लक्ष्मण चौधरी हाम्रो नगरपालिकामा फोरमबाट मेयरको टिकट पाएका छन्–यादवले आक्रोशयुक्त टिप्पणी गर्दै भने । चौधरी पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाबाट फोरम प्रवेश गरेका थिए । लहान आन्दोलनबाटै राजनीतिक हैसियत पाएको फोरम नेपालको अवस्था चित्रित गर्दै यादवले भने–‘फोरम टिक्दैन भनेर पहिलो संविधानसभालगत्तै मैले गरेको भविष्यवाणी अहिले मिल्दै गएको छ ।’ दुईओटा मधेस विद्रोहपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल सिरहा र सप्तरीका ९० प्रतिशत सिटमा विजयी भएको थियो । ६ ओटा निर्वाचन क्षेत्र भएको सिरहाबाट ५ ओटामा फोरम विजयी भएको थियो भने सप्तरीका ६ मध्ये ४ सिटमा फोरमकै उम्मेदवार विजयी भएका थिए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा फोरम नेपाल सिरहा र सप्तरी दुवै जिल्लाबाट एक सिट पनि ल्याउन सकेन । पुनःसंरचना आयोगले सिरहामा १७ र सप्तरीमा १८ स्थानीय तह बनाएको छ । मधेस आन्दोलनको उद्गमस्थलमा स्थानीय तहको निर्वाचनमा फोरम नेपालले आफ्नो पुरानो हैसियता फर्काउन सक्ल ? प्रश्न जटिल बनेको छ । स्थानीय बुद्धिजीवी भन्छन्–‘त्यो गाह्रो देखिन्छ ।’ सिरहा गोलबजार क्याम्पसका प्राध्यापक प्रदीप साह भन्छन्–‘सिरहामा मुख्यगरी कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा देखिन्छ ।’ सिरहामा कांग्रेस र एमाले दुवैको संगठन बलियो मानिन्छ । यद्यपि, केही ठाउँमा माओवादीसमेत मुख्य प्रतिस्पर्धीकारूपमा देखिएको छ । यहाँका १७ स्थानीय तहमध्ये अहिलेसम्म तीन ठाउँमामात्रै फोरम नेपालका मेयर उम्मेदवार मुख्य प्रतिस्पर्धीकारूपमा देखिएका छन् भने अर्को मधेसी पार्टी राष्ट्रिय जनता पार्टी नेपाल दुई स्थानमा प्रतिस्पर्धीकारूपमा देखापरेको छ । लहानमा एमालेका उम्मेदवार मुन्नी साहको जितलाई सुनिश्चितजस्तै ठान्छन् स्थानीय जानकार । सदरमुकाम सिरहा बजारमा कांग्रेस, एमाले र फोरम नेपालका उम्मेदवारबीच कडा प्रतिस्मर्धा हुने अनुमान गरिएको छ । उम्मेदवारी मनोनयनका दिनमा कांग्रेस सिरहाभित्र देखिएको विवादपछि एमाले यहाँ थप हौसिएको अधिकारकर्मी दुर्गा महतो बताउँछिन् । महतो भन्छिन्–‘टिकट वितरणकाक्रममा सिरहा कांग्रेसभित्र देखिएको विवाद अन्तिम समयसम्म कसरी सल्टिछ, त्यसले यहाँको नतिजालाई प्रभाव पार्न सक्छ ।’ सप्तरीलाई पनि मधेस आन्दोलनको अत्यधिक प्रभाव क्षेत्र मानिन्छ । सप्तरीमा पहिलो संविधानसभामा ६ मध्ये चार सिट फोरमले जितेको थियो भने १ सिट सद्भावना र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायणसिंहको गृहजिल्ला भएकाले सप्तरीलाई मधेसको कोर क्षेत्र मानिन्छ । तर, पहिलो संविधानसभापछि लगातार आरोलो लागेका मधेसी शक्ति स्थानीय तहमा पुनःस्थापित हुन्छन् कि हुँदैन भन्ने अझै द्विविधा छ । दुई वर्षअघि भएको संविधानविरुद्धको आन्दोलनमा सप्तरी एउटा प्रमुख केन्द्र नै बनेको थियो । सप्तरीको भारदहमा आन्दोलनकारी मारिएपछि आन्दोलन झनै चर्किएको थियो । सप्तरीका वरिष्ठ पत्रकार शिवहरि भट्टराई भन्छन्–‘सप्तरीमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा होला भन्ने हाम्रो आकलन थियो । तर, उम्मेदवार मनोयनसँगै कांग्रेस र राजपा दुवैभित्र व्यापक असन्तुष्टि सुनिएको छ । एमाले र माओवादी विस्तारै बलियो ढंगले आउन खोज्दै छन् ।’ भट्टराईकाअनुसार दलहरूले उम्मेदवार छान्दा पैसा र जातलाई मुख्य आधार बनाएपछि पार्टीभित्र भाँडभैलोको देखिएको छ । ‘हुन त हरेक निर्वाचनमा यस्ता कुरा अलिअलि आउँछन्–उनी भन्छन्–‘दलहरूले यस्ता कुरालाई कसरी व्यस्थापन गर्छन्, त्यो महत्वपूर्ण पक्ष हुनेछ ।’ पहिलो संविधानसभामा फोरम नेपाल बलियो देखिएको सप्तरीमा पछिल्लो मधेस आन्दोलनपछि राजपा त्यहाँ बलियो उपस्थिति देखाउन थालेको जानकार बताउँछन् । राजविराजका एक अधिवक्ता अशोक चौधरी भन्छन्–‘मधेसी पार्टीमा निर्वाचन र संगठनको गतिलो अभ्यास नै सुरु नभएकाले मधेस आन्दोलनको प्रभाव क्षेत्रकारूपमा रहेको लहान र राजविराजमा पनि प्रमुख दल हाबी हुने देखिन्छ ।’ चौधरी भन्छन्–‘यो स्वाभाविक हो । ०७२ असोज ३ मा संविधान जारी भएसँगै प्रमुख दलहरू आन्तरिक रूपमा निर्वाचनको तयारी सुरु गरिसकेका थिए । तर, मधेसी पार्टी निर्वाचन मिति घोषणा हँुदा पनि सहभागी हुने कि नहुने अन्योल थियो ।’ सप्तरीका १८ स्थानीय तहमध्ये चार ठाउँ फोरम नेपालका उम्मेदवार मुख्य प्रतिस्पर्धी देखिएका छन् भने दुई ठाउँमा एमाले र २ ठाउँमा माओवादी केन्द्र । बाँकी ठाउँमा कांग्रेस र राजपाबीच प्रतिस्पर्धा देखिएको स्थानीय नागरिक अगुवा विश्लेषण गर्छन् । सप्तरीका पुराना अधिवक्ता तथा नागरिक अगुवा हिम्मत सिंह भन्छन्–‘मधेसी मनोविज्ञान प्रतिदिन बलियो हुँदै गए पनि मधेसी नेतृत्वप्रति आममधेसीलाई विश्वास छैन । जसको फाइदा निर्वाचनमा प्रमुख दललाई हुने गरेको देखिन्छ ।’ सिंह भन्छन्–‘त्यससँगै यहाँको निर्वाचनमा पैसाको चलखेल र जातीय गणितले अन्तिम समयमा निर्वाचनलाई प्रभावित पार्दोरै’छ ।’ -अन्नपूर्ण पोस्ट्बाट 

नेपाल आइडलमा बुद्ध लामालाई सर्वाधिक मत, निशान भट्टराई तेस्रो, बाहिरिए सागर

एपी वान टेलिभिजनबाट प्रशारित गायन रियालिटी सो ‘नेपाल आइडल’बाट सागर आले बाहिरिएका छन् । सयौं प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै टप ४ सम्म आइपुगेका आलेले दर्शकहरुको भोटिङको आधारमा भएको निर्णयपछि ‘नेपाल आइडल’को मञ्च छोड्नु पर्ने भएको हो । नेपाल आइडलका लागि प्रतिष्पर्धारत निशान भटराई, प्रताप दास, बुद्ध लामा र सागर आले थिए । यही शुक्रबारबाट सागर आले नेपाल आइडलको मञ्चबाट बाहिरिएका हुन् । आलेले यसअघिका प्रतियोगिहरुले झै आफूलाई यस स्थानसम्म ल्याइदिएको नेपाल आइडलको मञ्च, प्रिय दर्शक, गुरुहरु सबैलाई सम्झिए । सागर बाहिरिने निर्णयपछि सागर प्रेमी दर्शकहरुको आँखा रसाएका थिए । आगामी दिनका प्रतिष्पर्धीहरु निशान, प्रताप, बुद्ध पनि रोएका थिए । सागरले नेपाल आइडलको मञ्चमा अन्तिम दिन सुगम पोखरेलको ‘सम्हाल्लिन्छ कैले मन्…’ बोलको गीत गाएर विदा भए । नेपालमा सर्वाधिक हेरिएको र चर्चामा रहेको को बन्ला नेपाल आइडलका विषयमा चार प्रतिष्पर्धीमध्ये कसले कति पाए भन्नेबारे भोट दिने र प्रतिष्पर्धीमात्रै होइन सम्पूर्ण नेपालीको चासोको विषय बनेको छ । अन्तिम ४ प्रतिष्पर्धीबाट ३ मा जाने विषयमा नेपाल आइडलको सवैभन्दा विवादित र चर्चामा रह्यो । यसै विषयमा जिल्ला अदालत काठमाडौंमा रिट समेत पर्यो । गत हप्ता ३७ लाख २० हजार २ सय ८० मत नेपाल आइडलका प्रतिस्पर्धीवीच ४ जनालाई आयो । यसमा सवैभन्दा वुध्द लामाले प्राप्त गरे भने कम सागर आलेले । यही कारण आले आउट पनि भए । गत हप्ता ३७ लाख २० हजार २ सय ८० मत नेपाल आइडलका प्रतिस्पर्धीवीच ४ जनालाई आयो । यसमा सवैभन्दा वुध्द लामाले प्राप्त गरे भने कम सागर आलेले । यही कारण आले आउट पनि भए । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका हुन् । बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । जसमध्ये ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् । तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् । चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् । उसोतः यसअघिसम्म बजारमा निशान भट्टराई नेपाल आइडल बन्छन् भन्ने हल्ला चलेको थियो प्रस्तुती हेर्दा पनि अन्य प्रतिष्पर्धीको भन्दा निशानको नै उत्कृष्ट देखिन्थ्यो । तर हिजो सार्वजनिक भएको भोटिङ नतिजाबाट निशान तेस्रो स्थानमा पर्न पुगेका छन् । यसले गर्दा नेपाल आइडलको अन्तिममा आएर भोटिङ प्रणालीलाई मात्रै अपनाउनाले वास्तविक प्रतियोगिको क्षमतामाथि कुठाराघात हुन लागेकोसम्म टिकाटिप्पणी गरिरहेका छन् । फेसबुक सामाजिक सञ्जालहरुमा निशान नै नेपला आइडलको विजेता हुनुपर्ने दावी गर्दै आएकाहरु पनि चकित बनेका छन् । बुद्ध लामाको जीतबाट भन्दा पनि निशानको हारबाट नेपाली दर्शकहरु चिन्तित देखिएका छन् । अब प्रतिस्पर्धी बुद्ध, प्रता र निशान भट्टराई मध्ये एकजना नेपाल आइडल हुनेछन् । जसका लागि यो हप्तादेखी अर्को हप्तासम्म मत दिन पाइने छ । लगभग १५ घण्टा मत दिने अवधीलाई बढाएर हप्ताभर मत दिनको लागि आव्हान हुनेछ । असोज ६ गते कतारको दोहाबाट नेपाल आइडल सहित पहिलो रनर अप र दोस्रो रनर अप घोषणा गरिने छ ।

श्रमजीवी पत्रकार ऐन लागु गर्न आग्रह

काठमाडौं, भदौ २३। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र राज्यमन्त्री तप्तबहादुर विष्टको कार्यकक्षमा पुगी महासंघका सभापति गोविन्द आचार्यको नेतृत्वले मिडिया सञ्चालक, महासंघ र सञ्चार मन्त्रालय एकजुट भई भई श्रमजीवी ऐन लागू गर्नुपर्नेमा जोड दिएको छ । श्रमजीवी ऐनले छापामाध्यम, रेडियो, टेलिभिजन र अनलाइनमा नियुक्ति लिएर समाचारसम्बन्धी कार्य गरेको व्यक्तिलाई श्रमजीवी पत्रकार भनी किटान गरेको छ । सञ्चारमन्त्री बस्नेतले ध्यानाकर्षणपत्र बुझ्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र स्वतन्त्र प्रेसको पक्षमा आफू सदैव क्रियाशील रहने बताए । सरकारी अनुदानमा सञ्चालित गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभजनबाहेक निजी सञ्चारगृहमा काम गर्ने झण्डै ८० प्रतिशत श्रमजीवी पत्रकारले नियुक्ति पत्र नपाएको महासंघका सभापति आचार्यले बताए । प्रेस काउन्सिल नेपालको तथ्यांकानुसार नियमित प्रकाशन भइरहेका पत्रिका एक हजार, एफएम रेडियो सात सय, टेलिभिजन एक सय र अनलाइन सात सय ५० नियमित सञ्चालनमा छन् । नियुक्तिपत्र नपाउनु, ऐनले तोकेअनुसारको पारिश्रमिक नदिइनु र भनेको बेलामा तलब नपाइनु श्रमजीवी पत्रकारका समस्या भएको महासंघका महासचिव रमेश विष्टले बताए । विसं २०५१ मा जारी भएको श्रमजीवी पत्रकार ऐन र त्यसअन्तर्गत बनेको नियमावली २०५३ मा तोकिएको सेवासुविधा श्रमजीवी पत्रकारले प्राप्त गर्न सकेका छैनन् । सरकारबाट गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले पछिल्लो पटक श्रमजीवी पत्रकारको तलब करिब रु १९ हजार ५०० तोकेको छ । महासंघले पत्रकारका हत्यामा संलग्नमाथि कारबाही र बेपत्ता पत्रकारको खोजी गर्न पनि सञ्चारमन्त्रीलाई आग्रह गरेको छ । महासंघले ‘राष्ट्रिय आमसञ्चार नीति–२०७३’ को कार्यान्वयन, सञ्चार क्षेत्रको स्वायत्त र स्वतन्त्रता, अधिकारसम्पन्न प्रेस रजिष्ट्रार नियुक्ति, पत्रकार दुर्घटना बीमाको व्यवस्था गर्न पनि मन्त्रीलाई अनुरोध गरेको छ । त्यसैगरी स्वास्थ्य बीमा, ज्येष्ठ पत्रकार जीविकोपार्जन भत्ता, पत्रकार कल्याण कोषमा वृद्धि, आपत्कालीन राहत कोषको व्यवस्था एवं यसअघि निर्णय भएको ५० प्रतिशत स्वास्थ्योपचारमा छुटको व्यवस्था कार्यान्वयन तत्काल अगाडि बढाउन सञ्चारमन्त्रीको ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, मिडिया आयोग वा प्राधिकरणको गठन, आमसञ्चार संग्रहालय र इ–लाइब्रेरीको स्थापना, अपांगता, तथा अल्पसंख्यक र महिला श्रमजीवी पत्रकारले सञ्चालन गरेका सञ्चारमाध्यमलाई विशेष सहुलियतको व्यवस्थाका लागि समेत मन्त्रीलाई अनुरोध गरिएको छ । महासंघमा १५ हजार सदस्य आबद्ध छन् भने सूचना विभागले २२ हजार पत्रकारलाई पत्रकार परिचयपत्र वितरण गरेको छ । रासस

संघीयता पहिचान र विकासको मेरुदण्ड : नारायणकाजी श्रेष्ठ

काठमाडौं, भदौ २३ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संघीयता भनेको फेसन नभई पहिचान र विकासको मेरुदण्ड रहेकाे बताएका छन् ।  महोत्तरीको गौशाला नगरपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले संघीयताका लागि मधेशी जनताले विभिन्न समयमा आन्दोलन गर्दा देशमा संघीयता लागू भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आगामी मंसिरमा हुने दुई चरणको चुनावले देशमा संघीयता लागू हुने र सोबाट जनआन्दोलनका शहीदको सपना साकार हुने बताए । प्रदेश नं २ मा जनता माओवादी केन्द्रमा विश्वास गर्दै आएका कारणले धमाधम मधेशी नेता माओवादी केन्द्रमा प्रवेश गर्दै आउनु यसको प्रत्यक्ष उदाहरण रहेको धारणा राखे । माओवादी केन्द्रले आगामी निर्वाचनमा पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

ट्यांकी निर्माणका लागि विद्यालय तीन लाख सहयोग

पोखरा भदौ २१। पोखरा–लेखनाथ महानगरपालिका–१० स्थित कुँडहर आधारभूत प्राथमिक विद्यालयको हातामा १० हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ । लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको सक्रियतामा बेलायतस्थित क्वीन एलिजावेथ ग्रामर स्कुलको रु तीन लाख १० हजारको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे होे । नवनिर्मित ट्यांकी लायन्सक्लबका राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर ३२५ बी १ का गभर्नर धनराज आचार्यले एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङलाई हस्तान्तरण गरेका छन् । रासस

भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

काठमाडौं, भदौ २१ । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो । ५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् । चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए । गौरीले सोही पत्रिकामार्फत् आफ्नो पत्रकारिता यात्रा अघि बढाएकी थिइन् ।

स्नातकोत्तर प्रथक वर्षको नतिजा प्रकाशित

काठमाडौँ, भदौ १६ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एमफिल, एमए जेन्डर, एमए मैथिली, एमए पपुलेसन र एमए इतिहासको पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । नतिजा www.tu.ntc.net.np मा हेर्न सकिन्छ वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ ।

गृहमन्त्री शर्मा र राष्ट्रसंघीय प्रतिनिधिबीच यस्तो भयो सहमति

काठमाडौं, भदौ १५ । गृहमन्त्री जनार्दन शर्मा र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भेरिया जुलियाण्ड बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार गृहमन्त्रालयमा आयोजित शिष्टाचार भेटमा गृहमन्त्री शर्माले सय बर्षको ईतिहाँसमा नेपालमा बाढीले सवैभन्दा ठुलो क्षती गरेको जानकारी दिँदै विपद् ब्यवस्थापन ऐन कम्तिमा एक साताभित्र ब्यवस्थापिका संसदमा पेश गरिने बताए । बाढी प्रभावित परिवारलाई पुनस्र्थापित गर्ने लगायतका काम चाँडै गर्ने प्रयत्नमा आफु लागेको जानकारी दिँदै मन्त्री शर्माले डुबानमा परेका परिवालाई अन्यत्र सार्न संभव नहुने भएकाले तराई क्षेत्रमै पुनस्र्थापना गरिने बताए । सरकारी संयन्त्रलाई बाढीको क्षती मुल्यांकनका लागी परिचालन गरिएको उल्लेख गरे । ‘क्षती मुल्यांकनको कार्य सकिएपछी पुनस्र्थापना र क्षतिपुर्ती बारे निर्णय गर्छौ । बिपद् ब्यवस्थापनका लागी हरेक टोलमा भोलेन्टीयर ब्युरो गठन गरेर तालिम दिने सोचमा छु’ मन्त्री शर्माले भने, ‘आगामी बर्षामा संभावित बाढीलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे पनी दिर्घकालिन योजना बनाएर लागु गर्ने छौं ।’ शिष्टाचार भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसंघकी आवासिय प्रतिनीधी जुलियाण्डले गृहमन्त्री शर्माले अगाडी सारेको ८४ बुँदे गृह प्रसासन सुधार मार्गचित्रबारे आफु जानकार रहेको बताइन् । ‘उर्जामन्त्री हुँदा तपाईले जादु गर्नुभएको थियो’ जुलियाण्डले भनिन्, ‘अहिले गृहमन्त्री हुँदा बिपद् ब्यवस्थापन बारे के गर्दै हुनुहुन्छ, ध्येय जान्न पाउँ ।’ बाढी प्रभावित बस्तिमा वितरण हुने राहत कार्यक्रमा पनी राजनिती हुने खतरा औंल्याउँदै आवासिय संयोजक जुलियाण्डले तेस्रो चरणमा हुन लागेको स्थानिय निर्वाचनमा बाढीको प्रभावबारे जिज्ञासा समेत राखिन् । जवाफमा मन्त्री शर्माले राहतमा हुने राजनितीलाई निर्वाचन आयोगमार्फत नियन्त्रण गर्न खोजिएको जानकारी दिँदै राज्यको रेकर्डमा राखेर मात्र राहत वितरण गरिएको बताए ।

सहकारीले चौबीस अर्ब कारोबार

दमक, भदौ १५ । जिल्लाका विभिन्न सहकारी संस्थाले करिब रु २४ अर्बको कारोबार गरेका छन् । वर्षेनी सहकारी थपिने क्रम बढेसँगै कारोबारमा पनि वृद्धि हुँदै गएको छ । सहकारी डिभिजन कार्यालयका डिभिजन अधिकृत दुर्गाप्रसाद न्यौपानेका अनुसार आव २०७२-७३ मा लेखा परीक्षण प्रतिवेदन बुझाएका सहकारी संस्थाको कुल कारोबार रु २३ अर्ब ९६ करोड ५१ लाख ६७ हजार रहेको छ । आव २०७३-७४ को लेखापरीक्षण प्रतिवेदन आउन बाँकी छ । सहकारी संस्थाले असोज मसान्तसम्म कार्यालयमा लेखा प्रतिवेदन बुझाउनुपर्ने नियम छ । असोज मसान्तपछि सहकारीले जरिवाना बुझाएर लेखापरीक्षण प्रतिवेदन बुझाउने सक्ने प्रावधान छ । आव २०७३-७४ सम्ममा जिल्लामा ८९९ वटा सहकारी दर्ता छन् । तीमध्ये नौवटा खारेजी तथा छवटा आपसमा गाभिएका छन् । बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाको कारोबार उच्च रहेको देखिएको छ । प्रतिवेदन बुझाएका २३६ वटा बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाले रु छ अर्ब ८५ करोड ७७ लाख ८५ हजार बचत गरी रु नौ अर्ब १० करोड ८१ लाख ८३ हजार ऋण लगानी गरेका छन् । यस्तै प्रतिवेदन बुझाएका २७३ वटा कृषि प्रकृतिका सहकारी संस्थाले रु एक अर्ब ३९ करोड ८७ लाख ७७ हजार ६४७ बचत गरी रु दुई अर्ब २९ करोड ९५ लाख ४० हजार ८३४ ऋण लगानी परिचालन गरेका छन् । प्रतिवेदन बुझाएका ७४ वटा बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाले रु पाँच अर्ब ३७ करोड ९४ लाख ९० हजार बचत गरी रु छ अर्ब २५ करोड चार लाख ७७ हजार ऋण लगानी गरेका छन् । एक सय ४६ वटा सहकारीले वर्षेनी रु एक करोडदेखि रु पाँच करोड, ४८ वटा सहकारीले रु पाँच करोडदेखि रु ५० करोडसम्मको तथा रु ५० करोडभन्दा बढी चारवटा सहकारीले कारोबार गर्दैआएका छन् ।