अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मंचले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ ।
मंचले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
मंचका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचीव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उहाँका निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मंचलाई धन्यवाद दिनुभयो । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताउनुभयो ।
बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उहाँले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो ।
उहाँले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरुको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा बिपक्षी दलहरुको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।
मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टी कमिटीहरुले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताउनुभयो ।
अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या
काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।
बेलायतमा आप्रवासी विरोधी हिंसाको डर, संयमता अपनाउन नेपालीलाई आग्रह
काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई सुरक्षा संयमता अपनाउन आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।मंगलबार एक सूचनामार्फत दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा पछिल्लो समय दङ्गा फैलिएका छन् । यस हप्ता बढी आप्रवासी विरोधी हिंसाका घटनाहरू हुने डर रहेको छ । सोमबार राति दक्षिणपश्चिम इङ्गल्याण्डको तटीय शहरमा भएको हिंसामा प्लायमाउथमा प्रहरी अधिकारीहरू घाइते भएका छन् । पछिल्लो समय बेलायतका दुई शहरहरूमा सप्ताहन्तमा फारराइट उत्तेजकहरूले शरणार्थीहरूलाई आवास दिइरहेका होटेलहरूमा आगो लगाए ।जुन घटनाले भित्र रहेका व्यक्तिहरू भयभित भएका थिए । यद्यपी अन्य शहरहरूमा दङ्गाकारहरू सार्वजनिक भवनहरूलाई क्षति पुर्याउँदै र प्रहरीसँग भिड्दै, अधिकारीहरूमा वस्तुहरू फ्याँक्दै र उनीहरूको सवारीसाधनहरू तोड्दै थिए। गत महिना उत्तर इङ्ल्यान्डको साउथपोर्टमा तीन बालबालिकाको मृत्यु हुने गरी भएको छुरा प्रहारको आक्रमणले बेलायतिहरुलाई आप्रवासीविरुद्ध क्रोधित र उत्तेजित बनाएको छ । यी हिंसाका घटनापश्चात बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ । आपत्कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
आप्रवासन नीति सच्याउन पोर्चुगलका राष्ट्रपतिसँग माग
पोर्चुगल । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष गरी पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो । टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले भेटवार्तामा टोलीले पोर्चुगल सरकारले हालै परिवर्तन गरेको आप्रवासनसम्बन्धी नीतिनियमका कारण आप्रवासीमा देखापरेका समस्या र कठिनाइका विषयमा राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको बताए । आप्रवासनसम्बन्धी नीतिनियमका कारण लाखौँ आप्रवासी प्रभावित भएको जनाउँदै सो विषयमा पुनर्विचार गरी संशोधन गर्न आग्रह गरिएको उनले बताए । सदस्य थापाले टोलीले आप्रवासीलाई कडाइ नगर्न आप्रवासी प्रतिनिधिहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेको बताए । उनका अनुसार आप्रवासी प्रतिनिधिले राखेको आप्रवासनसम्बन्धी परिवर्तन भएको नीति र आप्रवासीका समस्याका विषयमा राष्ट्रपति सौसाले विशेष चासो व्यक्त गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । सो अवसरमा टोलीले आप्रवासीका समस्या र कठिनाइका विषयमा ५१ आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्र राष्ट्रपति समक्ष हस्तान्तरण गरेको थियो । सोही अवसरमा सदस्य थापाले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले प्रकाशन गरेको ‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए। गत महिना पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै आप्रवासीका लागि कडाइ गरेपछि आप्रवासीहरू प्रभावित भएका छन् । सरकारले यहाँको आवास अनुमतिका लागि आवेदन दिने प्रकिया नै बन्द गरेपछि आप्रवासीहरू प्रभावित भएका हुन् ।
भारतको सिलोङमा नेपालीसहित चार जनाको हत्या
काठमाडौं ।भारतको सिलोङमा एक नेपालीसहित चारजना हत्या गरिएको छ। मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ। मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ। ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ। ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ।
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
दमौली । अवैधरूपमा रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थिच भोटेश्वाराका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले उनका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । “सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो,” उनले भने । गुरुङका साथीले आफूहरू द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्,” गुरुङले भभने । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको बताए । “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ,” उनले भने । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरूलाई स्तब्ध तुल्याएको बताए । “मेरो वडाले एक होनहार युवा गुमाएको छ,” उनले भने । रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ । रासस
पोर्चुगलमा गैर आप्रवासीहरुले नयाँ आवेदन दिन पाउने
हरि शाह /लिस्बोन, पोर्चुगल । पोर्चुगलमा गैरकानुनी हैसियतमा रहेका आप्रवासीहरुले केही महिनामा नयाँ आवेदन दिन पाउने भएका छन् । प्रधानमन्त्री लुईस मोन्टेनेग्रोले शुक्रबार एक कार्यक्रममा बोल्दै गैरकानुनी हैसियतमा रहेका आप्रवासीहरुले नयाँ आवेदन दिने संकेत गरेका हुन् । उनले अहिलेसम्म अस्थायी आवास अनुमति नभएका आप्रवासीहरुहरूलाई फिर्ता जान पनि नभनेको बताए । प्रधानमन्त्री मोन्टेनेग्रोले हाल पोर्चुगलमा करिब चार लाख विदेशी श्रमिकहरूको वैधानिकीकरणको प्रक्रिया बाँकी रहेको बताउँदै त्यो काम नसक्दासम्म नयाँ आवेदनहरू रोकिएको जनाएका छन्। यहाँ गत वर्ष मात्र झन्डै १ लाख ८० हजार आप्रवासीहरूलाई वैधानिक बनाइएको थियो। यस अघि विचाराधीन ४ लाख आप्रवासीहरुको अस्थायी आवास अनुमति प्रक्रिया समाधान नभएसम्म नयाँ आप्रवासी योजना घोषणा लागु हुने भएको बताईएको थियो । नयाँ लागु आप्रवासी योजनामा विचाराधीन ४ लाख आप्रवासीहरुलाई अनुमति दिएपछि मात्र नयाँ आवेदनको बारेमा सरकारले नयाँ घोषणा गर्ने पोर्चुगलका संचारमाध्यमले उल्लेख गरेका छन् । विचाराधीन ४ लाख आप्रवासीहरूलाई अस्थायी आवास अनुमति दिन ६ देखि ९ महिनामा लाग्ने पनि समाचारमा बताइएको छ । यसअघि पोर्चुगल सरकारले घोषणा गरेको आप्रवासन सम्बन्धी नयाँ योजना अस्थायी रहेको राष्ट्रपति कार्यालयले उल्लेख गरेको थियो । स्थानिय संचारमाध्यमले उल्लेख गरे अनुसार (https://observador.pt/2024/06/05/marcelo-e-governo-em-desacordo-presidente-quer-que-fim-da-declaracao-de-interesse-seja-temporaria/) लामो समयदेखि विचाराधीन ४ लाख आप्रवासीहरुको अस्थायी आवास अनुमति प्रक्रिया समाधान नभएसम्म नयाँ आवेदन दिनेमा रोक लगाएको हो। समाचारमा उल्लेख भए अनुसार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा (https://www.presidencia.pt/atualidade/toda-a-atualidade/2024/06/presidente-da-republica-promulga-diploma-do-governo/) पनि ४ लाख विचाराधीन प्रक्रिया समाधान नभएसम्म नयाँ योजना घोषणा लागु हुनेछ । जारी विज्ञप्तीमा हजारौं विचाराधीन बसोबास अनुमति प्रक्रियाहरू नियमित गर्ने अत्यन्त जरुरी अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपतिले स्वीकृत गर्नुभयो भनि उल्लेख गरिएको छ । लाखौं विचाराधीन प्रक्रियाहरूले ओभरलोड भएको भन्दै यसबाट जोगिन नयाँ योजना घोषणाको स्वीकृत गरिएको विज्ञप्तीमा भनिएको थियो । झन्डै ३८ हजार सदस्य रहेको 'पोर्चुगलमा नेपाली सहयोगी समूह' नामको एक फेसबुक पेज चलाइरहेका करिब एक दशकदेखि लिज्बनमा बसिरहेका सुनिल ढुङ्गानाले भने; “यहाँ गठबन्धन सरकार बन्ने क्रममा दक्षिणपन्थी दलहरूको मागमा यस्तो निर्णय भएको हो। तर यो कतिन्जेल रहन्छ भन्ने प्रस्टता छैन। समय सीमा पनि तोकिएको छैन। त्यसैले त्यसरी अत्तालिएकाहरूलाई केही महिना 'पर्ख र हेर' गर्न र आफूले गरिरहेका काम गर्दै जान भनेका छौँ । “नत्र कोही कोहीले अन्य देशतर्फ जाने कि भन्ने योजना समेत बनाउन थालिसके। हामीले पर्खन किन पनि भनेका छौँ भने अहिलेसम्म कार्ड नबनिसकेकाहरूलाई पनि फिर्ता जान पनि भनिएको छैन।” पुब्लिको, अब्सरभाडोर पत्रीकाको समाचार अनुसार राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले नयाँ योजना घोषणाको छिटो अन्य होस् भन्ने चाहन्छन् । विचाराधीन प्रक्रियाहरूको समस्या सरकारले टास्क फोर्स बनाएर, भर्खरै स्थापित आप्रवासन र सीमा एजेन्सीको पुनर्संरचना गरेर र कर्मचारी वृद्धि गरेर समाधान गर्ने आशा गरेको छ। साथै यसअघि आवेदन दिएका विचाराधीन ४ लाख आप्रवासीहरूलाई अस्थायी आवास अनुमति दिन ६ देखि ९ महिनामा लाग्ने पनि समाचारमा बताइएको छ । आप्रवासीहरूले लामो समयदेखि रेसिडेन्सी र अन्य कागजातहरू प्राप्त गर्न गम्भीर ढिलाइ भएको गुनासो गरेका बेला नयाँ योजना घोषणा ल्याइएको थियो । धेरै वर्षदेखि पोर्चुगलमा विभिन्न रूपमा छिर्ने गरेका आप्रवासीहरूले एक वर्षसम्म सामाजिक सुरक्षा कर तिरेपछि आवास अनुमति प्राप्त गर्न निवेदन दिन सक्थे। यस्तै नयाँ आप्रवासी निती घोषणा पछि लिस्बोनमा आएका गोर्खाका पूर्ण भट्टराई भन्छन्; नेपालमा व्यापार गर्दा डुबेर आएको हुँ। नेपालका टिक टक, यूट्यूबर्सले यथार्त नबुजी बोल्छन्, ४ लाख आवेदन पेन्डिङ पनि छन् भन्छन् अनि सदाको लागि बन्द पनि गयो भन्छन् । अझै त्यो अन्लाईनखबरको बार्सिलोनाबाट बसेर समाचार लेख्ने रानाभाटले झन के के लेखेको छ । राष्ट्रपति, यहाँको न्युजको पढेर बनाउन त पर्छ नि । ४ लाखका बाँकी छन् ओभरलोडिङ भएको तिनिहरुको समाधान गर्न यो नियम ल्याएको भनेको छ । यो समाचार कुनै बि.बि.सी सिएनएन लगायत ठुला मिडियामा समाचार आएका थिएनन् । गत जुन ३ सोमबार पोर्चुगलको मन्त्रिपरिषद्ले विदेशी पर्यटकहरूलाई वैधानिकीकरण गर्न अनुमति दिने आप्रवासी कानून ५९/२०१७ को धारा ८८, र ८९ लाई खारेज प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरी आधिकारिक राजपत्रमा प्रकाशित गरेको थियो । नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि पनि बाटो खुल्ला रहेको जनाएका छन्, उनले भने; हामीलाई पोर्चुगलमा अझ राम्रो र समृद्ध समाज निर्माण गर्न मद्दत गर्न इच्छुक व्यक्तिहरू चाहिन्छ। यस्तै प्रधानमन्त्री मोन्टेनेग्रोले भने; हाल ४ लाख बढी नियमितीकरण प्रक्रियाहरू पेन्डिङ छन्, जुन समस्या सरकारले टास्क फोर्स बनाएर, भर्खरै स्थापित आप्रवासन र सीमा एजेन्सीको पुनर्संरचना र कर्मचारी वृद्धि गरेर समाधान गरिने छ । विपक्षी दलहरूको विरोध आप्रवासी योजनामा राष्ट्रपति मार्सेलो र सरकार बिच मतभेद रहेको र घोषणाको अन्त्य अस्थायी होस् भन्ने राष्ट्रपति चाहन्छन् । उता युरोपेली चुनाव अगाडि सरकारले ल्याएको अस्थायी नयाँ आप्रवासी योजनाको लगभग सबै विपक्षी दलहरूले आलोचना गरेका थिए । आप्रवासी विरोधी जनवादी चेगा पोर्चुगल पार्टी र उदारवादी पार्टी इनिसिएटिभा लिबरल (IL) पार्टीले मात्र घोषणा गरिएका नयाँ योजनाहरूबाट खुसी देखिन्थ्ये। उता यहाँ ४४ पृष्ठ लामो नयाँ योजना घोषणाको विपक्षमा विरोध प्रर्दशन भएका छन् । तर पोर्चुगलको समाजवादी पार्टी (पीएस) का नेता पेड्रो नुनो सान्तोसले योजनालाई “अस्पष्ट” भनेका थिए। भविश्वमा अवैध आप्रवासीलाई सम्बोधन नगरि ल्याएको यो नयाँ योजना विरोधाभास रहेको पेड्रो सान्तोसले बताएका थिए । चेगा पार्टीका नेता आन्द्रे भेन्चुराले भने "सरकारका योजनाहरू पर्याप्त मात्रामा नपुगेको अयोग्यता र प्रभावहीनताका साथ राखिएकोले संसदबाट पारित हुने सम्भावना छैन।" यस्तै ब्लोको डे एस्क्वेर्डा (बीई) पार्टीका नेता मारियाना मोर्टागुआले भन्छन्; नयाँ योजनाले थप अवैध आप्रवासी निम्त्याउँछ। नेपाल सरकारको औपचारिक विवरणमा पोर्चुगलमा २१ हजार नेपाली रहेको ठानिए तापनि गैरआवासीय नेपाली सङ्गठन लगायतले त्यहाँ ६० हजार हाराहारीमा रहेको बताउने गरेका छन्। पोर्चुगलको आप्रवासी जनसंख्या पाँच वर्षमा दोब्बर भएको छ, धेरै मानिसहरू एसियाबाट खेतमा र रेस्टुरेन्टहरूमा काम गर्न आएका छन्। पोर्चुगलमा करिब ८००,००० आप्रवासी बस्छन्, जुन एक दशक अघिको तुलनामा झण्डै दोब्बर छ। करिब १४% करदाताहरू आप्रवासी हुन् । जसले २०२२ मा अर्थतन्त्रमा १.६ बिलियन यूरो भन्दा बढी योगदान पुर्याइरहेका छन्, जबकि सामाजिक लाभहरूमा लगभग २५७ मिलियन यूरो प्राप्त हुन्छ । भारत, पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेश जस्ता दक्षिण एसियाली देशहरूका आप्रवासीहरूका लागि पोर्चुगल ईयू देशमा छिटो छरितो स्थायी बसोबास पाईने अन्तिम आशा रहेको देखिन्छ। पोर्चुगल अधिकारीहरूका अनुसार, 86,000 भन्दा बढी दक्षिण एसियाली नागरिकहरू २०१८ र २०२२ को बीचमा पुरानो मार्ग मार्फत वैध भएका थिए। भने कुल आप्रवासी सन् २०१५ मा ३ लाख ८३ हजार ७ सय ५९ को संख्याका रहेकोमा सन् २०२३ सम्म १० लाख ४० हजार पुगेको छ । युरोपका २९ वटा शेन्जेन देशहरुमा एकबाट अर्को देशमा यात्रा गर्दा कुनै आन्तरिक सीमा जाँच गरिदैन । निर्वाध आवतजावत छ। तसर्थ एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा सहज छ। तसर्थ पोर्चुगलमा बसोबास अनुमति लिएर रोजगारीको लागि अन्य देशमा गएको देखिन्छ ।
पोर्चुगलमा आप्रवासी नीतीमा कडाईपछि पनि क्रम रोकिएन् आप्रवासन
हरि शाह /लिस्बोन, पोर्चुगल । पोर्चुगल सरकारले आगामी युरोपेली चुनाव अघि आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने नयाँ योजना घोषणा गरेको छ । आप्रवासीहरूले लामो समयदेखि रेसिडेन्सी र अन्य कागजातहरू प्राप्त गर्न गम्भीर ढिलाइ भएको गुनासो गरेका बेला नयाँ योजना घोषणा ल्याइएको हो । धेरै वर्षदेखि पोर्चुगलमा विभिन्न रूपमा छिर्ने गरेका आप्रवासीहरूले एक वर्षसम्म सामाजिक सुरक्षा कर तिरेपछि आवास अनुमति प्राप्त गर्न निवेदन दिन सक्थे। गत जुन ३ सोमबार पोर्चुगलको मन्त्रिपरिषद्ले विदेशी पर्यटकहरूलाई वैधानिकीकरण गर्न अनुमति दिने आप्रवासी कानून ५९/२०१७ को धारा ८८, र ८९ लाई खारेज प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरी आधिकारिक राजपत्रमा प्रकाशित गरेको र आगामी महिनाहरूमा "संसदमा [सामान्य] कानूनको संशोधन" हुनेछ। नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि भने बाटो खुल्ला रहेको जनाएका छन्, उनले भने; हामीलाई पोर्चुगलमा अझ राम्रो र समृद्ध समाज निर्माण गर्न मद्दत गर्न इच्छुक व्यक्तिहरू चाहिन्छ। यस्तै प्रधानमन्त्री मोन्टेनेग्रोले भने; हाल ४ लाख बढी नियमितीकरण प्रक्रियाहरू पेन्डिङ छन्, जुन समस्या सरकारले टास्क फोर्स बनाएर, भर्खरै स्थापित आप्रवासन र सीमा एजेन्सीको पुनर्संरचना र कर्मचारी वृद्धि गरेर समाधान गरिने छ । यस अगाडि आवेदन दिएर बसेका ति सबै ४ लाख आप्रवासीहरूले अस्थायी आवास अनुमति प्राप्त गर्नेछन् तर त्यसपछि अवैध आप्रवासी योजना बारेमा भने प्रधानमन्त्री मोन्टेनेग्रोले केही बताएका छैनन् । विपक्षी दलहरूको विरोध उता युरोपेली चुनाव अगाडि सरकारले ल्याएको नयाँ आप्रवासी योजनाको लगभग सबै विपक्षी दलहरूले आलोचना गरेका छन् । आप्रवासी विरोधी जनवादी चेगा पोर्चुगल पार्टी र उदारवादी पार्टी इनिसिएटिभा लिबरल (IL) पार्टीले मात्र घोषणा गरिएका नयाँ योजनाहरूबाट खुसी देखिन्छ। उता यहाँ ४४ पृष्ठ लामो नयाँ योजना घोषणाको विपक्षमा विरोध प्रर्दशन भएका छन् । तर पोर्चुगलको समाजवादी पार्टी (पीएस) का नेता पेड्रो नुनो सान्तोसले योजनालाई “अस्पष्ट” भनेका छन्। उनि भन्छन्; भविश्वमा अवैध आप्रवासीलाई सम्बोधन नगरि ल्याएको यो नयाँ योजना विरोधाभास रहेको छ। चेगा पार्टीका नेता आन्द्रे भेन्चुराले भने "सरकारका योजनाहरू पर्याप्त मात्रामा नपुगेको अयोग्यता र प्रभावहीनताका साथ राखिएकोले संसदबाट पारित हुने सम्भावना छैन।" यस्तै ब्लोको डे एस्क्वेर्डा (बीई) पार्टीका नेता मारियाना मोर्टागुआले भन्छन्; नयाँ योजनाले थप अवैध आप्रवासी निम्त्याउँछ। अब २, ३ वर्षमा कार्ड बनाउन सकिने स्पेन लगायतका देशहरुमा गन्तव्य यस्तै पोर्चुगल अधिकारीहरूका अनुसार आप्रवासन नयाँ योजना घोषणा भएपनि यहाँ आउने आप्रवासी रोकिएको छैन्, तर सेन्जेन भिसा नभएका पासपोर्ट लगायत डकुमेन्ट फ्याँकेर अवैधानिक रुपमा पोर्चुगल आउनेको संख्यामा भने कमी आएको छ । आवासीय अनुमति आवेदन दिने स्थानहरुमा भिड देखिन्छ । उता नयाँ सार्वजनिक योजनापछि पनि पोर्चुगलमा अवैधानिक आप्रवासीको संख्या निरन्तर बढ्ने बताई रहेको बेला प्रधानमन्त्री मोन्टेनेग्रोको भनाई अनुसार नयाँ योजनामा आवेदन दिने प्रक्रिया बन्द भएपनि अवैध आप्रवासीलाई सम्बोधन कार्यक्रम केही समयमा ल्याउने अपेक्षा गरिएको छ । जसमा अन्य युरोपियन देशहरुमा जस्तै अवैध आप्रवासीहरुलाई कानुनी अनुमति लिन २,३ वर्ष लाग्ने सक्नेछ । उता आवासीय अनुमति आवेदन लिन बन्द गर्ने सरकारको घोषणा लगतै नेपालबाट जर्मनी हुँदै लिस्बोनमा आएका राजेन्द्र लामाले भन्छन्; यहाँ वकिलले ढुक्क हुन भनेको छ- ढिलो चाडो पेपर हुन्छ - म त यता आए, म सँगै भारतीय लगायत ४ जना विधार्थी साथीहरु आएका थिए उनिहरु अवैध बसेर २,३ वर्षमा रेसिन्डेन्सी लिन सकिने स्पेन, इटली, फ्रान्स, स्विडेन जस्ता सेन्जेन देशहरुमा लागे। पेपर बनाउन २,३ वर्ष लाग्छ भन्ने त थाहा थियो, स्पेन तिर पनि जानु छ एक पटक त्यो - - नगरपालिका रजिस्टर गरेर आउन्छु । यस्तै स्पेन लगायतका देशहरुमा अवैधानिक बसेका आप्रवासीले २,३ वर्षमा आवासीय अनुमति लिन सक्छन् । तसर्थ आप्रवासीले अबका दिनमा २,४ वर्ष लगाएर भएपनि कागज बनाउन सकिने देशहरुमा गन्तव्य बनाउने देखिन्छ। जस्तो स्पेनमा आर्राइगो फरमासियनको आधारमा हप्ता, महिनाको छोटो रेस्टुरेन्ट किचन, माछा-मासु काट्ने सिप, कृषि जस्ता तालिम लिएको आधारमा २ वर्ष भित्रमा पेपर बनाउन सकिन्छ । यस्तै ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्षको कामको करारका आधारमा आर्राइगो सोसियलबाट पनि पेपर बनाउन सक्छन् । पोर्चुगलमा छोटो समयमा पेपर बनाउन सकिन्थ्यो भने अन्य देशहरुमा २,३ वर्ष लुकेर बसेर पेपर बनाउदै आएको देखिन्छ । पोर्चुगल, स्पेन लगायतका देशहरुमा अवैध बसेकाहरुलाई कुनै अपराध बाहेक पेपर नभएको आधारमा डिपोर्ट गरेको देखिदैन। पोर्चुगलको आप्रवासी जनसंख्या पाँच वर्षमा दोब्बर भएको छ, धेरै मानिसहरू एसियाबाट खेतमा र रेस्टुरेन्टहरूमा काम गर्न आएका छन्। पोर्चुगलमा करिब ८००,००० आप्रवासी बस्छन्, जुन एक दशक अघिको तुलनामा झण्डै दोब्बर छ। करिब १४% करदाताहरू आप्रवासी हुन् । जसले २०२२ मा अर्थतन्त्रमा १.६ बिलियन यूरो भन्दा बढी योगदान पुर्याइरहेका छन्, जबकि सामाजिक लाभहरूमा लगभग २५७ मिलियन यूरो प्राप्त हुन्छ । भारत, पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेश जस्ता दक्षिण एसियाली देशहरूका आप्रवासीहरूका लागि पोर्चुगल ईयू देशमा छिटो छरितो स्थायी बसोबास पाईने अन्तिम आशा रहेको देखिन्छ। पोर्चुगल अधिकारीहरूका अनुसार, 86,000 भन्दा बढी दक्षिण एसियाली नागरिकहरू २०१८ र २०२२ को बीचमा पुरानो मार्ग मार्फत वैध भएका थिए। भने कुल आप्रवासी सन् २०१५ मा ३ लाख ८३ हजार ७ सय ५९ को संख्याका रहेकोमा सन् २०२३ सम्म १० लाख ४० हजार पुगेको छ । युरोपका २९ वटा शेन्जेन देशहरुमा एकबाट अर्को देशमा यात्रा गर्दा कुनै आन्तरिक सीमा जाँच गरिदैन । निर्वाध आवतजावत छ। तसर्थ एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा सहज छ।
खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे मा हुँदै
कतार । खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे २०२४ मा हुने भएको छ । कतारको नेपाली सामाजिक सस्थाहरु मध्ये जेठो सस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै १२औं अधिवेशनको लागि सस्थाका पदाधिकारिहरु तिब्र तयारीमा जुटेका हुन्। प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारा सहित सन १९९८ जनवरी ३१ तारिक मा स्थापना भएको सस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै १२औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सकृय सस्थाले शिक्षा स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको सस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताएकाछन । विभिन्न पेशा ब्याबसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षा सहित सस्थाको १२औ अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने महासचिव पर्शुराम श्रेष्ठ पवनले बताएकाछन साथै अन्य ब्याबस्थापकिय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरेका छन्। सस्थाको अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हुदा कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सबैलाइ सस्थाको फेसबुक पेज मार्फत सुचित गरिएको हुँदा स्वतस्फूर्त ढङ्गले सस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न उपाध्यक्ष डिल्लिशेर खड्काले अनुरोध गरेका छन्। सांस्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उदेश्य सहित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीको साथमा साहित्यको उच्च संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताएका छन्।
कश्मीरमा बन्धक बनाइएका ३५ नेपाली मजदुरको उद्धार
नयाँदिल्ली । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट कश्मीर पुर्याएका उनीहरुलाई सकुशल उद्धार गरिएको हो । दलालहरुले राम्रो आम्दानीको प्रलोभन दिई कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर बिना ज्याला काममा लगाइएको थियो। दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ।
फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ सम्पन्न
दोहा, कतार । फुलबारी रेष्टुरेन्टले आयोजना गरेको फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ भब्य रुपमा सम्पन्न भएको छ । मानव सेवा आश्रमको सहयोगार्थ “फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उदघाट्न गर्दे नेपाली राजदुतावास कतारका नियोग उप–प्रमुख कुमार राईले नेपाली कला र संस्कृतीको मुख्य खम्बा भनेको लोक गित संगित भएकोले सबैले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । राईलले आफ्नो मौलिक लोकगित र संगितलाई माया गरेर प्रवासमा रहेर पनि विभिन्न कार्यक्रम आयोजना गरेर नेपाली दाजुभाई तथा दिदिबहिनिहरु सहभागी हुने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले विदेशी भुमिमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई गायन तथा नृत्य मार्फत जगेर्ना गरिरहेका कलाकारहरुलाई सबैले माया र हौसला दिनुपर्ने भन्दै एनसीसी कतारले सदैव कतारमा रहेका कलाकारलाई प्राथमिकतामा राख्ने बताए। साथै उनले सचेतनामुलक तथा नेपाली मौलिक कला संस्कृतिको जगेर्ना गर्ने खाले कार्यक्रममा एनसीसीले सदैव साथ सहयोग गर्ने बताए। दुई शो मा भएको कार्यक्रमका मुख्य आर्कषक लोकप्रिय लोक तथा दोहोरि गायक पशुपति शर्माका दर्जन बढि गितमा दर्शक झुमेका थिए। शर्माले लोकप्रीय गितहरु खाडि तिरै भेटौला, लुटन सके लुट सके, स्याङजा जाने बाटोमा तनँहु लगाएतमा दर्शकहरुलाई भरपुर नचाएका थिए । कार्यक्रमममा नेपाल देखी आएका चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल र सविता भुसालले पनि आफ्नो प्रस्तुती राखेका थिए ।नेपाल देखी आएक कलाकार सँगै गैरआवासीय नेपाली तारा –४ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम निरु श्रेष्ठ, एनआरएनए द सिङगर सिजन १ की फाइनलिस्ट गुना मगर लगाएत एक दर्जन कलाकारले गायन, नृत्य र हास्य व्यङग्य प्रस्तुती दिएका थिए । कार्यक्रमको अन्त्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका पशुपति शर्मा र प्रतिष्ठानको शाखा कतारका कलाकार रश्मी विश्वकर्मा लगाएतले प्रस्तुत गरेको लाईभ दोहोरी पनि दर्शकको आर्कषण बनेको थियो । सनैयामा स्थीत फुलबारी रेष्टुरेन्टको सभाहलमा रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक रोशन अर्यालले स्वागत गरेका थिए भने औपचारीक कार्यक्रमको सहजिकरण दिप जंग शाह र सास्कृतिक कार्यक्रमको सञ्चालन भानु शर्माले गरे थियो।
पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई चयन
युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश गौतम (साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु रहेका छन् । बुधबार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ बलियो र एकताबद्ध बनाउनुपर्ने बताए । उनले त्यसो भएमा मात्रै पत्रकारहरु दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए । कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनकालागि राजदूत गेहेन्द्र राजभण्डारी, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल ,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष शान्त पहारी, प्रेस सेन्टर नेपाल केन्द्रीय उपमहासचिव राजेश चाम्लिंग राई, प्रवास इञ्चार्ज इञ्चार्ज आरबी खड्का, प्रवास अध्यक्ष हरि नेपाली, एनआरएनए अभियन्ताहरु रामशरण सिंम्खडा, प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङ, जनसम्पर्क समिति युरोप महामन्त्री गंगाधर गौतम ,नेपाली जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष गंगाप्रसाद भुसाल, प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज सुवास पोखरेल, एनपिपीएृफ आयरल्याण्ड महासचिब मिलन छन्त्याल, एनपिपीएफ जर्मनी अध्यक्ष गोबिन्द भण्डारी , राप्रपा पोर्चुगल निबर्तमान अध्यक्ष दिपक शर्मा , प्रेस युनियन पोर्चुगल सभाति बसुदा सत्याल ,प्रवासी पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष चिरन शर्मा, प्रवास नेपाली सम्पर्क विभाग९रास्वपा० भोला लामिछाने, पोर्चुगलकालागि पर्यटन नेपाली प्रवर्द्धक रमेशराज बाँस्तोला, एनआरएनए बेल्जियम एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, अनेसास पोर्चुगल महासचिव एनबी अन्जान, पानी अभियान्ता मित्रलाल पार्देलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए। पत्रकार महासंघले तोकेका केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा ,सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयॉ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्दै बन्द सत्र सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको सभापतित्व प्रेम परियार, संचालन द्रोण रिजाल र स्वागत मन्तव्य राजकुमार थापाले गरेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले १० बुँदे प्रस्तावहरू पारित समेत गरेको छ। पारित प्रस्तावहरुः १. युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ । २. प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ। ३. युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ । ४. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ । ५. सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ । ६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ। ७.नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ। ८. सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ । ९. युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ। १०. यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।
पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव फेला
लिस्बन (पोर्चुगल) । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव फेला परेको छ। धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीले बताएको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष प्रबल भट्टराईले जानकारी दिए । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए । उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो । परिवारको आग्रहमा दुवैजनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायत आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिइन् । वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए । धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । नाताले काकाभतिज पर्ने दुवैजना लिस्बन नजिकैको मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलामा राखिएको छ । रासस
नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् । चालु आवको नौ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार चालु आवको नौ महिनामा पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख ३७ हजार ९८१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । अघिल्लो महिनासम्म नेपाली श्रमिकको तेस्रो श्रम गन्तव्य रहेको साउदी अरब चैत महिनामा तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ । यस अवधिमा साउदी अरबका लागि एक लाख पाँच हजार ५७० वजन श्रम स्वीकृति लिएका छन् । अघिल्लो महिनासम्म दोस्रो श्रम गन्तव्य देश रहेको कतार चैत महिनाको तथ्याङ्कले तेस्रो श्रम गन्तव्य बनेको छ । अछिल्ला दुई वर्ष नेपालीको पहिलो श्रम गन्तव्य बनेको देश मलेसिया चौथो श्रम गन्तव्यमा मलेसिया परेको छ । यस्तै यस अवधिमा दक्षिण कोरियाका लागि १० हजार २०९ जनाले श्रम स्वीकृति लिएका छन्। विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँको भनाइ छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठ महिना (फागुन महिना) सम्म नौ खर्ब ६१ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । गत वर्ष सो अवधिमा सात खर्ब ९४ अर्ब रुपियाँ विप्रेषण भित्रिएको थियो । विप्रेषण भित्रिने दरमा २१ प्रतिशतले वृद्धि भएको हो ।
जनप्रगतिशील मंच न्यु साउथ वेल्सको संयोजकमा जीवन न्यौपाने
सिड्नि । नेपाली जनप्रगतिशील मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको तेस्रो अधिवेसनबाट जिवन न्यौपाने संयोजकमा निर्वाचित भएका छन् । २० अप्रिलमा सम्पन्न तेस्रो अधिबेशनले न्यौपानेको संयोजकत्वमा ११ सदस्यको कार्यसमिति गठन गरेको हो । अघिवेसनबाट उपाध्यक्षमा रमन के.सि., सचिवमा रबिन अधिकारी, कोषाध्यक्षमा नवकिरण गौतम, सहसचिवमा भरत न्यौपाने तथा कार्यकारी सदस्यहरूमा संतोष काण्डेल, विष्णु भुसाल, सुदीप शर्मा, गोविन्द बहादुर थापा र अशोक श्रेष्ठ चयन भएका छन्। कार्यक्रममा प्रमुख अतिथि मंचका अध्यक्ष प्रबिन कंडेलले नेपालीहरुको पहिचान दिन र सुखदुखमा साथ दिन जनप्रगतिशील मञ्चले प्रभावकारी काम गरेको बताए । महासचिव चुन्ना क्षेत्रीले मञ्चलाई अझै धेरै नेपालीहरुसामु पु¥याउनुपर्नेमा जोड दिए । न्यु साउथ वेल्स राज्यको संयोजक बाबुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन न्यु साउथ वेल्स राज्यको उपसंयोजक सुमन न्यौपाने गरेका थिए । सम्मेलनले अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र प्रभावलाई थप सुदृढ गर्दै छलफल र सञ्जालका अवसरहरू संलग्न गराउने मञ्चको रूपमा काम गरेको नवनिर्वाचित संयोजक जीवन न्यौपानेले बताए । न्यौपानेले यस सम्मेलनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको उपस्थिति र प्रभावलाई अभिवृद्धि गर्ने, छलफल र सञ्जालका अवसरहरू उपलब्ध गराउने मञ्च प्रदान गर्ने विश्वास ब्यक्त गरे । नवनिर्वाचित कार्यसमितिलाई मंचका अध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्य खिम भण्डारि लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
सिड्नीमा नवाज कप फुटबल आइतबार सुरु हुँदै
सिड्नी । भोलि अप्रिल २१ देखि साउथ ग्रानभिलमा नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को आयोजनामा नवाज कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । अस्ट्रेलियाको सिड्नीका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगिता भोलि आइतबार सुरु हुने भएको हो । लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष चिरन तिवारीले जानकारी दिए । समाजका अध्यक्ष तिवारीले सामाजिक कर्ममा अगाडि रहेको नवाजको २५ औ स्थापना दिवको उपलक्ष्यमा प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे । उनले प्रतियोगिता सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गर्न लागिएको बताए । अप्रिल २१ को आइतबार देखि हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए । नवाजले केही समयको बिश्रामपछि फेरि खेलकुद प्रतियोगिता आयोजना गरेकोमा सिड्नी सहित अष्ट्रेलियमा रहेका नेपाली समुदाय खुशी भएका छन् । नेपाली राष्ट्रीय टोलीमा रही हाल अष्ट्रेलिया पुगेका करिब चालिस जना खेलाडी रहेको अस्ट्रेलियाको यी बिभिन्न क्लबहरुको यो लिग निकै रोमान्चक हुने बिश्वास लिइएको छ । यो प्रतियोगिता ४०/४० चालिस मिनेट गरी ८० मिनेटको हुनेछ । अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले केही समयपछि भएपनि नवाजले यस्तो खालको प्रतियोगिता गरेकोमा धन्यबाद दिदै यसको निरन्तरताको लागि आफ्नो सहयोग रहने विश्वास दिलाए । यस पटक प्रतियोगितामा सहभागि क्लबहरुलाई चार समुहमा बिभाजित गरि ड्र समेत सार्वजनिक गरिसकिएको थियो ।