कसरी सिक्ने अंग्रेजी भाषा? जान्नुहोस् सरल उपाय

कसरी सिक्ने अंग्रेजी भाषा? जान्नुहोस् सरल उपाय

काठमाडौंः  कुनै पनि भाषा सिक्ने मानिसको अभ्यासमा निर्भर रहन्छ । हामी नेपाली भाषा राम्ररी बोल्न र बुझ्न सक्छौं किनभने यसको अभ्यासका निम्ति हामीसंग प्रशस्त समय रहेको हुन्छ । यदि हिन्दी भाषामा राम्रो प्रभाव छ भने त्यस पछाडिको कारण भनेकै हिन्दी सिक्ने अवसर मिलेको भएर हो ।

अंग्रेजी भाषा पनि पनि नेपाली र हिन्दीजस्तै अभ्यास गरेर सिक्ने भाषा हो । यो कुनै कठिन र तेस्रो ग्रहबाट आएकाहरुले मात्र जान्ने भाषा होइन । यहाँ हामीले अंग्रेजी भाषा सिक्ने विधि उल्लेख गरेका छौं । जसबाट तपाईं थोरै समयमा अंग्रेजी भाषाको जानकार व्यक्ति बन्नु सक्नुहुनेछ ।

१. अर्थ सम्झिएर अंग्रेजी किताव पढ्ने

अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा त्यसको अर्थ लगाएर पढ्ने बानी बसाल्नुस् । अलिकति मात्र भाव बुझेर पढ्नु अंग्रेजी सिक्नेका लागि राम्रो तरिका होइन । यदि तपाईं अंग्रेजीमा धेरै कमजोर हुनुहुन्छ भने एकैपटक कुनै कठिन किताव वा पत्रिकाको अर्थ सम्झेर पढ्ने प्रयाश नगर्नुहोस् । पहिला साधारण र हलुका कितावको व्यवस्था गर्नुस् । त्यसको अर्थ दिनको दुई या तीन पेज दिनहुँ कुरा बुझेर पढ्ने गर्नु उपयुक्त हुन्छ । यस प्रयोजनका लागि तपाईंलाई डिक्सनरी आवश्यक हुनसक्छ । आजकल त गुगलमा तपाईंले चाहेका डिक्सनरी उपलब्ध छन् । यदि डिक्सनरीमा उल्लेख भएका शब्दको भाव बुझ्न कठिन भएमा कुनै साथी या शिक्षकको सहायता लिन नबिर्सनुस् । तपाईंले अंग्रेजीमा पढेको अध्याय नेपालीमा राम्ररी भन्न सक्ने गरी सिकेको हुनुपर्छ ।
यसरी साधारण अंग्रेजी कितावको अर्थ बुझेर पढ्ने क्षमता भइसकेपछि विस्तारै विस्तारै अलि कठिन कितावको अर्थ सम्झिएर पढ्ने कोशिस गर्दा उचित हुन्छ । तपाईं धैर्यसाथ यो काम अघि बढाउँदै जानुभयो भने यसमा उल्लेखनीय प्रगति गर्न सक्नुहुनेछ । यही प्रयाशको फलस्वरुप जुनसुकै खालका अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा राम्ररी कुरा बुझ्न सक्नुहुनेछ ।

२. अनुवाद गरी जाँच गराउने

कुनै विषयबस्तु नेपाली भाषामा लेख्नुपर्यो भने हामी सजिलै लेख्न सक्छौं । त्यही काम अंग्रेजीमा गर्नुपर्यो भने शब्द र वाक्य बनाउने वाक्यको विधि नमिल्दा भावमै अन्तर आउन सक्छ । फलस्वरुप अंग्रेजीमा लेखिएको शब्दको आनको तान फरक आई कमजोरी छताछुल्ल हुनपुग्छ । यही कमजोरीलाई हटाउन सबैभन्दा उत्कृष्ट तरिका हो– नेपाली अंग्रेजीमा र अंग्रेजी नेपालीमा अनुवाद गर्नु । यस कमजोरीलाई हटाउन सबभन्दा उपयुक्त विधि भनेको एउटा साधारण अनुवादको किताव जुन अंग्रेजी र नेपाली अनुवाद भएको होस् । जसभित्र दैनिक जीवनमा प्रयोग गरिने भाषाको प्रशस्त अभ्यास भएको होस् । त्यसपछि दिनैपिच्छे एक दुई पाठ नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्नुहोस् ।

अनुवाद गरेपछि त्यसलाई जचाएर कहाँ गल्ती छ, सच्याएर अघि बढ्नुस् । शुरुमा सजिलो खालको अनुवाद गर्नुस र अध्ययन बढ्दै गएपछि कठिन भाषाको अनुवादमा लाग्नुस् । अनुवादका कस्ता पुस्तक उपयोगी हुन्छन रु पठनशैली कस्तो गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा शिक्षकको सल्लाह उपयुक्त हुन्छ । यसखाले दोहोरो अनुवाद र लेखनको अभ्यास एकसाथ गर्दै जाँदा मानिसमा मौलिक सिर्जना गर्ने आत्मविश्वास बढ्दै जान्छ । यसका लागि धैर्य आवश्यक छ । एक या दुई महिनाको प्रयासले यस्तो उपलब्धि हात लाग्दैन् । कम्तिमा एक वर्ष तपाईंले समर्पण गर्ने आँट गर्नुभयो भने सुधार हुने विश्वास लिन सकिन्छ ।

३. अंग्रेजी व्याकरण पढेर अभ्यास गर्ने

कुनै पनि भाषाको स्वरुपा या बनोट त्यसको व्याकरणमा निर्भर रहन्छ । त्यसैले अंग्रेजीको राम्रो जानकारीका लागि अंग्रेजी व्याकरणको जानकारी आवश्यक छ । तर तपाईं अंग्रेजी भाषाको गहिराईसम्म पुग्न चाहनुहुन्न भने बढी टाउको दुखाउने जरुरी नै भएन । यस्तो स्थितिमा तपाईं आफ्नो अंग्रेजीको जानकारीका आधारमा व्याकरणको आवश्यक पाठ पढ्ने र सिक्ने गर्नुस् । पढेर सिकेपछि त्यसमा दिएका अभ्यास गर्न छुटाउनु हुँदैन् । यसका लागि दुई, तीनखाले अंग्रेजी व्याकरण कितावको जरुरी हुन्छ । पढ्ने र अभ्यासको काम निरन्तर चलिहन जरुरी छ । व्याकरण पढेपछि गरिएका अभ्यास शिक्षकलाई जचाउन भुल्नु हुँदैन् । यसले त्रुटी सच्याउन मद्दत गर्छ । व्याकरण शुद्ध भएन भने न बोलाई र लेखाईमा शुद्धता दुर्लभ हुन्छ ।

४. अंग्रेजीमा कुरा गर्ने

अंग्रेजी भाषाको सैद्धान्तिक ज्ञान मात्रले काम चल्दैन । यसका लागि व्यावहारिक ज्ञान पनि अनिवार्य छ । व्यावहारिक ज्ञान प्राप्तिका लागि व्यावहारिक बाटो अवलम्बन गर्न जरुरी छ । अंग्रेजी बोल्ने क्षमताको विकास अंग्रेजी बोलेरै गर्न सकिन्छ । तपाईंको अंग्रेजी भाषामा जतिसुकै गहिरो लिखित ज्ञान भएपनि अभ्यास नभएको अवस्थामा अंग्रेजीमा कुराकानी गर्न सक्नुहुन्न । मौखिक क्षमता विकासका लागि सबैभन्दा राम्रो तरिका भनेको आफ्ना समकक्षी साथीभाइसंग अंग्रेजीमा कुराकानी गर्नु । यदि कुराकानी गर्ने साथी अनुकूल नभए कुनै भाषा प्रशिक्षण केन्द्रमा भर्ना हुनु उपयुक्त हुन्छ । लामो समयसम्म अंग्रेजी बोल्ने क्रम जारी राख्नुभयो भने अंग्रेजी बोल्ने आत्मविश्वास बढ्दै जानेछ । यही आत्मविश्वासले तपाईंले अंग्रेजीमा सक्षम र आत्मनिर्भर तुल्याउने छ ।

५. अंग्रेजी सुन्ने क्षमताको विकास गर्ने

कसैले अंग्रेजीमा बोलेको कुरा सुनेर राम्ररी बुझ्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । यो कुनै तपाईं अंग्रेजी भाषा लेखपढ गर्न वा बोल्न सिकिसकेपछि कसैका कुरा पनि विशेष गरी विदेशीले बोलेको टोन पनि बुझ्नु हुनेछ । हाम्रो देशको वातावरणमा हुर्केका व्यक्तिहरुमा भन्दा पश्चिमी मुलुकका व्यक्तिको आवाज बढी पातलो र लचिलो खालको हुन्छ । त्यसैले उनीहरुले बोलेको हामी प्रष्टसंग नबुझ्न पनि सक्छौं । साथै नेपाल र यसका छिमेकी राष्ट्रमा केही व्यक्तिको घरेलु वातावरण अंग्रेजीमय हुन्छ । उनीहरुको बोली पनि पश्चिमा मुलुकका नागरिकसंग मिल्ने भएका कारण बुझ्न कठिन हुन्छ । कसैको छिटो बोल्ने बानी हुन्छ भने कति चाहिँ शान झार्न छिटो बोलेको देखाउँछन् । यस्तो स्थितिमा पनि दोहोरो संवादमा अप्ठेरो पर्न सक्छ ।

हामी सबैले बुझेको सत्य के भने अंग्रेजी विदेशी भाषा हो । त्यसैले बोलिने टोन पनि विदेशी नै हो । यदि हामी अंग्रेजी भाषा सिक्न चाहन्छौं भने आफ्नो टोन पनि उस्तै बनाउनु पर्यो । हुन त फोनेटिक्स विषय पढेर भाषाको उच्चारणलाई शुद्ध बनाउन सकिन्छ । यदि त्यो सम्मको झन्झट व्यहोर्नु छैन भन्ने लाग्छ भने साधारण अभ्यास नै काफी छ । यसका लागि टेलिभिजन, रेडियो, युट्युब च्यानलको सहयोग लिनुभयो भने तपाईंको दक्षतामा निखार आउँदै जान्छ । अंग्रेजी सिरियल, समाचार, डकुमेन्ट्री, कमेन्टरी हेरेर स्पष्टसंग बुझ्ने कोशिस जारी राख्नुहोला । जुन दिन यी माध्यमबाट आएका विषयवस्तु बुझ्नुहुन्छ, त्यसदिनबाट तपाईं अंग्रेजी भाषाको शुभयात्रामा प्रवेश गर्नुभयो भनेर जाने हुन्छ । तर धैर्य हुन जरुरी छ । धैर्य नभएको मानिसका लागि भाषा कठिन हुन्छ ।

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय