खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी : उपप्रधानमन्त्री खड्का

खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् । विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको जानकारी दिए । उनले सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना स्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताए । उनले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धता जनाए ।

‘‘विशेष गरी नेपालको खेलकुद विकास, खेलाडीको उन्नति प्रगति हामी सबैको प्रयास, खेलाडीहरूको समर्पण, निष्ठा, पूर्णरुपमा आफ्नो जीवनलाई खेलमा समर्पण गरेका खेलाडीहरूलाई जसरी हामीले उत्साहित, प्रोत्साहित गर्न जरुरी छ ।,’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘त्यसका लागि सबैको सहयोगको आवश्यकता छ । सङ्घीय, प्रदेश, स्थानीय तहको सरकार सबैले आफ्नो तहको श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षण, उन्नति र प्रगतिका लागि त्यसतर्फ केन्द्रित गर्नुपर्ने जरुरी छ । खेलाडीहरूको उन्नति प्रगतिमा थप लगानी गर्नेछौँ ।’’

उपप्रधानमन्त्री खड्काले खेलाडीहरूको सेवा सुविधा बढाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

‘‘नेपालको खेलकुदको सन्दर्भमा भौतिक पूर्वाधारहरू जुन गतिमा तीव्र गतिमा अघि बढाउनुपर्ने हो त्यो गतिमा बढाउन सकेका छैनौँ । त्यसैले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै आज र भोलिका दिनमा हामीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।,’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘खेलाडीहरूमा जुन ऊर्जा र उत्साह छ, जुन समर्पण छ, विशेष गरी खेलका पूर्वाधारहरू नहुँदा आवश्यक आर्थिक उपलब्धताको कमीका कारणले जति प्रगति गर्नसक्ने क्षमता हो त्यसमा अघि बढ्न सकेको छैन । हामी सबै समर्पित भएर अघि बढ्न जरुरी छ । सङ्घ, प्रदेश र स्थानीय सरकार एकताबद्ध भएर खेलकुदको विकास र उन्नतिका लागि, भौतिक पूर्वाधार विकासका लागि, खेलाडीहरूको उन्नति प्रगतिका लागि प्रोत्साहित गर्न र सेवा सुविधा बढाउन एकताबद्ध भएर अघि जानु छ ।’’

महिला साफमा आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिपमा आइतबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। काठमाडौंमा जारी साफको सेमिफाइनलमा पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ। दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ। महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो। अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ। सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको थियो। त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो। यद्यपि यसपालि अनुभवी खेलाडी र घरेलु मैदानको लाभ नेपालले लिन सक्छ। नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो। समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । गोलअन्तरले नेपाल समूह बिजेता र भुटान उपविजेता बनेको थियो।साविक विजेता बंगलादेश समूह बी को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।  

आईसीसी विश्वकप लिग– २ मा आज अमेरिकासँग खेल्दै नेपाल

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ। एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार आज राति ९: १५ बजेदेखि अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा सुरु हुने छ। यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ। नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन् ।  देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ। नेपालले अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ। जबकी एक खेल अनिर्णीत हुँदा अङ्क बाँडेको थियो। अहिलेसम्म १२ खेल खेल्दै १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ भने अमेरिका ९ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डस् ८ खेलमा १२ अङ्क हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अङ्क हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अङ्क हासिल गर्दै पाँचौँ स्थानमा छ।

महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, यस्तो छ खेल तालिका

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ। सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको‌ थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत सेमिफाइनलमा पराजित भएको थियो। त्यति बेला नेपालसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालले भारतलाई महिला फुटबलमा‌ हराएको त्यो पहिलो पटक थियो। भारत सदा जस्तै प्रतियोगिताको मुख्य दाबेदार मध्येको‌ टोली हो। पाकिस्तानको भने साफ च्याम्पियनसिपमा‌ कमजोर उपस्थिति रहँदै आएको छ। २०१० मा‌ बाहेक पाकिस्तान सेमिफाइनलमा पनि पुग्न सकेको‌ छैन। भारतलाई रोक्न सके वा हराउन‌ सके पाकिस्तानी फुटबलका‌ ठूलो नतिजा ‌हुनेछ। भारत, पाकिस्तानसँगै बंगालादेश समूह एमा‌ छन् । नेपालसहित भुटान, श्रीलंका र माल्दिभ्स अर्को समूहमा छन्। भुटानसँग शुक्रवार खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल ५ः३० बजे सुरु हुनेछ।‌ त्यसअघि शुक्रवार श्रीलंका र माल्दिभ्स बीच खेल हुनेछ। नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको‌ आयोजना गर्दैछ। हेर्नुहोस् खेल तालिका   

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताउनुभएको छ । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिंदै आएको बताउनुभयो । ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिले सम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिंदै आएको छु’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राष्ट्रियता प्रवर्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो ।’ यसकै आधारमा आफूले खेलकुदलाई प्राथमिकता दिंदै आएको उहाँले बताउनुभयो । त्यस्तै संस्कृति अर्को महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संस्कृतिले देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायलाई जोड्दै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न यसको विशेष महत्व छ ।’ आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारको रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरिएको र त्यसमा सरकारको तर्फबाट दिल खोलेर सहयोग गरेको उहाँले स्मरण गराउनुभयो । खेल र संस्कृति यी दुबै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको उहाँले स्पष्ट गर्नुभयो । नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिहरुले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलोपटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताउनुभयो । त्यसका लागि खेलाडी र व्यवस्थापन पक्ष सबैलाई उहाँले बधाई र धन्यवाद पनि दिनुभयो । खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उहाँले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताउनुभयो । हिजो जनयुद्धकालमा जनमुक्ति सेना र पेशेवर कार्यकर्ताले खाली समय व्यति गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले चेसको विकास गर्ने अभियानमा त्यही क्रान्तिमा सामेल भएका पूर्वजनुक्ति सेनाहरुको नेतृत्वदायी भूमिका रहेको देख्दा खुशी लागेको बताउनुभयो ।  

लोकप्रिय