पूर्व लडाकु महराले जितेको वडामा जनसत्ताको अभ्यास

पूर्व लडाकु महराले जितेको वडामा जनसत्ताको अभ्यास

धनगढी। रातो हाप टिसर्ट र कट्टुमा भेटिएका थिए, वडा अध्यक्ष बहादुर सिं महरा । अनि बसेका थिए रातै डल्फीन कुर्चीमा । उनको हातमा थियो,जरिवाना रसिदको ठेली पनि । उनी एक अद्बैसे महिलालाई वडा कार्यालयको नियम बारे बुझाउँदै थिए । उनको हातमा थमाउँदै थिए जरिवाना रसिद पनि । तर ती महिला भने अटेर गरी रहेकी थिइन् । दुबै जनाबीच एकछिन चर्को भनाभननै चल्यो ।

नियम सबैका लागि समान हुन्छ,नियम मिच्ने जो सुकैलाई पनि कारबाही गरिन्छ भन्दै अन्तः जरिवाना रसिद थमाएरै छोडे । जंगल क्षेत्रमा गाई छाडा छोडे बाफत बयस्क गाईको १५ सय र सानोको एक हजार रुपैयाँ जरिवाना लिने नियम अनुसार रु २५ सय वडा अध्यक्ष महराले जरिवाना गराएका हुन् ।

जरिवाना नर्तिर्ने ढिपी गरि रहेकी महिला अन्तिममा स्थानीय तहको निर्वाचनमा आफुले भोट नहालेका कारण वडा अध्यक्षले आफुलाई जर्वजस्त जरिवाना गराएको र नमस्कार पनि नगरेको भन्दै रिसाएर घरतिर लागिन् । शुक्लाफाँटा नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन सम्बन्धी कार्यबिधी २०७५ अनुसार उनलाई जरिवाना गरिएको अध्यक्ष महराले बताए ।

शुक्लाफाँटा नगरपालिका-८ फुलेली वडापालिकाले मणीकाधाम जाने बाटो छेउमै बन बातावरण,विपद् व्यवस्थापन तथा बन्यजन्तु सुरक्षा बिशेष युनिट स्थापना गरेको छ । चुरे क्षेत्रसंग जोडिएको ८ नं.वडा आगलागी र नदी कटानयुक्त वडा हो । यहाँ गौडी नदी,घरकटुवा नदी -घर जग्गा कटान गर्ने हुनाले) सुनबरा नदी,बनहरा नदी,धारापानी खोलाले बर्षेनी कटान गर्नाले बस्तीनै जोखिममा रहेको छ । यहाँ बर्षेनी आगलागी र बाढीले समस्या निम्त्याउँछ ।

यसैलाई मध्यनजर गर्दै ०७५ भदौ १५ गते बिशेष युनिट स्थापना गरिएको हो । अग्नी नियन्त्रण र बाढी पिडित वडाबासीको खोज तथा उद्धारसंगै घाईते बन्यजन्तुको उद्धार तथा उपचारका लागि बिशेष सुरक्षा युनिट स्थापना गरी छाडा गाईबस्तुहरुको व्यवस्थापनका लागि गौशाला निर्माण गरेर अध्यक्ष महराले प्रशंसनीय काम गरेका छन् । शुक्लाफाँटा नगरपालिकाबाट प्राप्त दुई लाख रकममा ४० हजार जनश्रमदान जुटाएर उनले झलारी धारापानी सडकको ट्यांकीदेखी धारापानी लिंगासम्मको ६ मिटर चौडाई भएको ३ किलोमिटर २ सय ६० मिटर लामो बनपथ निर्माण गरेर उदाहरणीय काम समेत गरेका छन् ।

बिशेष सुरक्षा युनिटले ६० हजार हेक्टर बनक्षेत्रको सुरक्षा गर्दै आएको छ । सामुदायिक बन उपभोक्ता समितिको तीन बिघा क्षेत्रफल जमिनमा माटोले पोतेको आकर्षक टहरो निर्माण गरिएको छ । टहरोमा सभाहल,पशु स्वास्थ्य सेवा केन्द्र,उद्धार सामाग्री स्टोर,खाधान्न स्टोर,सुत्ने र भान्सा गरी ३ वटा टहरो र एउटा पक्की सौचालय निर्माण गरिएको छ । आकस्मिक आईपर्ने विपद्का लागि पूर्व तयारीको रुपमा अग्नी नियन्त्रण सामाग्री,बाढी पिडित उद्धार सामाग्री,सवारी साधन,प्राथमिक उपचार लगायत आबश्यक सामाग्रीहरु रहेका छन् ।

यहाँ अध्यक्ष महरासहित २५ जना तालिम प्राप्त उद्धारकर्ताहरु २४ सै घण्टा उद्धार कार्यमा खटिरहेका हुन्छन् । उद्धार दस्ता दैनिक विपद् व्यवस्थापन प्रतिकार्य अभ्यासमै व्यस्त रहनछन् । विहान बेलुका आलोपालो भान्साको काम गर्छन् । दैनिक भान्सामा मोटो चामल र दाल पाक्छ । पालैपालो आफै भात पस्केर सामुहिक रुपमा एकै थलोमा बसेर भोजन गर्छन् । जिम्मेवारी अनुसारको कार्य सम्पादन गर्न जंगल क्षेत्रमा परिचालन हुन्छन् । छाडा बस्तु चौपायाको रेखदेख,मलमुत्र संकलन,घाईते जंगली जनावरको उद्धार,चोरी सिकारी,काठ तस्करी नियन्त्रण गर्नु सुरक्षा दस्ताको दैनिकी हो । सबैले पालैपालो जंगलमा ड्युटी गर्ने नियम बसालिएको छ ।

घना जंगलबीचमा तीन ठाउँमा खरले छाएको सेन्ट्री निर्माण गरिएको छ । सेन्ट्रीमा सुरक्षा दस्ताले विहानदेखी बेलुकीसम्म पहरा दिई रहेका हुन्छन् । सुरक्षा दस्ताले पहरा दिन थालेपछि लुटपाट पूर्ण रुपमा अन्त्य भएको छ । यसअघि घासदाउरा लिन आउने र बाटो हिडेने महिलाहरु अपरीचित पुरुषहरुबाट लुटिने गरेका थिए । हातमा चक्कु बोकेर बसेकाहरुले महिलाहरुको सुनका गरगहनाहरु लुट्ने गरेको स्थानीयहरु बताउँछन् ।

युद्धकालमा जनमुक्ति सेनाले जे गर्ने गरेका थिए । त्यही अभ्यास महराले यहाँ पनि पालना गरेका छन् । समान काम समान व्यवहारको निति यहाँ लागु गरेका छन् । खाना,बासको व्यवस्था गरेर प्रति जनाले दैनिक ४ सय पचास रुपैयाँ पारिश्रमिक पाउँछन् । काम परेका बेला मात्र घर जाने महरा २४ सैं घण्टा यही युनिटमा बिताउँछन् ।

कार्यालय समयमा सेवाग्राहीको सेवाका लागि वडा कार्यालयमा रहने वडा अध्यक्ष महरा त्यसपछिको पुरै समय भने बिशेष सुरक्षा युनिटमै बिताउने गर्छन् । विहान सबेरै उठेर हाप टिसर्ट र कट्टुमा उनी दैनिक कार्य योजना अनुसारको जिम्मेवारी पुरा गर्नु र अन्य साथीहरुलाई पनि जिम्मेवारी अनुसारको खटनपटन गर्नमै व्यस्त रहन्छन् ।

जंगलभित्र ३ ठाउँमा गौशाला निर्माण गरिएको छ । पशु चौपायाका लागि ठाउँठाउँमा पानी खाने खाल्डो स्थल निर्माण गरिएको छ । छाडा छोडिएका पशुचौपायाको ब्यबस्थापन गर्न पटकपटक असफल भएपछि २०७५ साउन २६ गते शुक्लाफाँटा नगरपालिकाभरीका जनताले आन्दोलन गरि नगरपालिकाभित्र छाडा पशुचौपाया हुलेपछि छाडा पशुचौपायाको ब्यबस्थापन गर्न चुनौतीपूर्ण कदम उठाएको अध्यक्ष महराले बताए । उनले भने, गौशालाबाट संकलन गरिएको गौबर बिक्रि गरेर डेढ लाख रुपैयाँ आम्दानी समेत गरिएको छ । बहुउदेश्यिक छाला प्रशोधन उधोग स्थापना गर्न सके स्वरोजगार सृजना गर्न सकिने समेत उनले बताए ।

को हुन महरा ?

२०४३ साल भदौ ८ गते मार्मा गाउँपालिका ८ दार्चुलामा वुवा अमर सिंह र आमा द्रोपतीदेबी महराका आठौं सन्तानको रुपमा जन्मिएका ३३ बर्षिय बहादुर सिं महरा तत्कालिन नेकपा माओबादीले संचालन गरेको महान जनयुद्धमा होमिएका थिए । २०५८ पौष महिनामा वडा प्रमुखको जिम्मेवारी पाएर पूर्णकालिन बनेका उनी ०५९ सालमा जिल्ला मिलिसिया ०६१ साल असोज १५ गते जनमुक्ति सेनामा आबद्ध भए ।

जनमुक्ति सेनामा आबद्ध उनी फन्ट गार्ड लिडर,सेक्सन सहायक कमाण्डर सेक्सन कमाण्डर प्लाटुन सहायक कमाण्डर प्लाटुन कमाण्डर जिम्मेवारी सम्हाल्दै तत्कालिन शाही नेपाली सेनासंगको समायोजन प्रकियामा कैलाली जिल्लाको बडैपुरमा रहेका जनमुक्ति सेनाको सातौ डिभिजनबाट ०६९ असारमा स्वच्छीक अबकास लिएर फर्केका हुन् ।

०७२ असोज १० गते दार्चुलाबाट शुक्लाफाँटा नगरपालिका ८ फुलेलीमा बसाई सरी आएका महरा बसाई सरी आएको ६ महिनामै स्थानीयको साथ पाएर ०७२ चैत्र १२ गते श्री बैजनाथ सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भए । सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भएको १६ महिनामै स्थानीयको मनमनमा बस्न सफल भएका महरा स्थानीयकै अनुरोधमा ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६४१ मत प्राप्त गरी वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष भएपछि उनले यसअघि समितिमा हुदै आएको आर्थिक अनियमितता, अत्याचार, बन्यजन्तुको चोरी सिकारी, काठ तस्करी निर्मल पार्नुका साथै राजनीतिक पूर्वाग्रहका आधारमा उपभोक्ताहरुलाई बन पैदावार उपभोगबाट बंचित गरिनु लगायतका समस्याहरु हटाएपछि उनीप्रति एकाएक स्थानीयको बिश्वास बढेपछि उनी वडा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन् ।

शासन व्यवस्था परिवर्तनका लागि नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा अन्याय र अत्याचारका बिरुद्ध लड्न जनयुद्धमा होमिएका उनीसंग जनमुक्ती सेनाको कठोर अनुशासन पालना गरेको अनुभव छ । यही अनुभवले उनलाई छोटो अबधीमै चूनौतीको पहाड चड्न र सामना गर्न सिकायो । अन्तः उनले युद्धकालिन अनुभवलाई आफ्नो कार्यशैली मार्फत देखाउन सफल भएका छन् ।

जनमुक्ति सेनाको कठोर अनुशासनबाट खुल्ला जीवनमा आएको मेरा लागि नयाँ ठाउँमा चुनाव लडेर सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष बन्नु नौलो अभ्यास थियो तर पनि यहाँका जनताको साथ र बिश्वासले गर्दा अध्यक्ष बन्न सफल भएको उनले बताए ।

निकै चुनौतीकाबीच अध्यक्षको जिम्मेवारी सम्हालेको थिए,केही गरेर देखाउ भन्ने युवा जोस पनि थियो जनताले साथ दिए,रातदिन खटेर काम गरे अहिले पुरै सिस्टम परिवर्तन गर्न सफल भएको छु उनले छोटो अबधीमै सफल हुनुको अनुभव सुनाए ।

घना जंगल एरियामा बस्ती भएकाले युवाहरु दिउँसै कुखुरी बोकेर हिड्ने,जंगलमा घासदाउरा गर्ने महिलालाई लुटपाट गर्ने,पुरुषहरु दिनभर जुवातास खेल्ने साझ मदिरा सेवन गरेर श्रीमती कुट्ने लगायतका क्रियाकलापले वडानै बदनामीत भएको रहेछ । त्यसलाई पूर्ण रुपमा बन्द गर्न सफल भए । छोटो अबधीमै मेरो कामको मूल्यांकन गर्दै यहाँका जनताले वडा अध्यक्षको चुनाव लड्न आग्रह गरेपछि उम्मेदवारी दिए र बिजयी भए उनले भने,टिकटका लागि २८ जना दावेदार थिए मध्ये स्थानीयकै पहलमा आफुले टिकट पाएको बताए ।

जाड,रक्सी सेवन गर्ने,जुवातास खेल्ने,छाउपडी प्रथा,छुवाछुत,बहुविवाह गर्नेलाई वडाको सेवा सुबिधामा रोक लगाउने,जनताको जिउधनको सुरक्षा जनता आफैले गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न जनताको सुरक्षा जनताबाटै कार्यक्रम संचालन,प्रत्येक घरहरु राष्ट्रिय सडक संजालसंग जोडिनु,श्री सिद्धनाथ मा।वि।श्री बैजनाथ आधारभुत बिद्यालय,श्री पंचकोटी आधारभुत विद्यालय र श्री जनभावना आधारभुत बिद्यालयमा आबश्यक भौतिक पूर्वाधार निर्माण,नदी कटान रोक्न जैविक तटबन्धनको प्रयोग,यस क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुमा सडक विस्तार,पदमार्ग निर्माण र प्रचार,प्रचार लगायतका जनतासंग प्रत्यक्ष जोडिका कार्यक्रमहरु संचालन गरिनु नै मेरो दुई बर्षे कार्यकालको महत्वपूर्ण उपलब्धी हो अध्यक्ष महराले सुनाए । कट्‍‍वाल खबरबाट

उपाधि जित्ने नेपालको सपना पुन: अधुरै

काठमाडौं। उपाधि जित्ने नेपालको सपना पुन: अधुरो बनेको छ। नेपालले साफ च्याम्पियनसिप २०२४ मा पुनः उपविजेतामा सीमित भएको हो।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २-१ पराजित गरेसँगै नेपाल उपविजेता मै खुम्चिन एपरेको हो । योसँगै बंगलादेशले लगातार साफ जित्न सफल भएको छ। अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई यही मैदानमा ३-१ ले हराएको थियोे।  बंगलादेशलाई मनिका चक्माले सुरुआती अग्रता दिलाइन्। उनले ५३औं मिनेटमा अमृता जैशीले गरेको गल्तीमा गोल गरेकी हुन्। ग‍ोलरक्षक एन्जिला तुम्बापोले बचाउने प्रयास गरेपनि सकिनन्।  तर, त्यसको चार मिनेटपछि नै अमिषा कार्कीले गोल फर्काइन्। प्रीति राईको थ्रू बलमा अमिषाले काउन्टर अट्याकमा गोल गरेकी हुन्। ८१औं मिनेटमा बंगलादेशले पुन अग्रता लियो। ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई एन्जिलाले बाहिर पठाउने प्रयास गरेपनि असफल हुँदा नेपाल खेलमा पछि पार्यो।

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं । हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौं ।’ हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरुले क्रान्तिलाई किन सही रुपले अघि बढाउन सकेनौं र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई संघर्षकै रुपमा अघि बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’– उहाँले भन्नुभयो– ‘म आदर्शको रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।’ क्रान्तिकारीहरुले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो । ‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौं तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरुलाई परास्त गर्न सकिदैन’– उहाँले भन्नुभयो– ‘हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौं तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौं ।’ कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उहाँले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताउनुभयो । कम्युनिष्ट घटकहरुबीचको सम्बन्ध सुधारलाई उहाँले चार चरणमा विकास गर्न सकिने उल्लेख गर्दै भन्नुभयो– ‘सबैभन्दा पहिले विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौं, मिल्न नसक्नेले मोर्चा बनाऔं, त्यो पनि नसके कार्यगत एकता गरौं । त्यति पनि नसके हरेकले आफूलाई बदलेर समाजवादी क्रान्तिका लागि तयार पारौं ।  त्यति गर्दा मिल्ने जति मिल्दै जान्छन्, छाँटिने जति छाँटिदै जान्छन् ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्ने बताउनुभयो । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गणतन्त्र स्थापनामा कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका रहेकाले अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताउनुभयो । समाजवादी कार्यक्रमलाई कार्यनीति वा रणनीति के बनाउने बहसको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीभित्र रुपान्तरण गर्दै श्रेष्ठता हासिल गर्ने अभ्यास गर्दै जाँदा पुनः कम्युनिष्टहरुबीच सुदृढ एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले आजको कम्युनिष्ट आन्दोलनको गहिरो समीक्षा गरेर पछाडि फर्कने होइन, अगाडि बढ्ने बाटो तय गर्नुपर्ने बताउनुभयो । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा गणतन्त्र कम्युनिष्टकै कारण आएको उल्लेख गर्दै कम्युनिष्ट घटकहरुबीचको साझा मोर्चालाई अघि बढाउनुपर्ने बताउनुभयो  । माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो भने सचिव गिरिराजमणि पोख्रेलले नरबहादुर कर्माचार्यको जीवनीसहित उहाँको स्मृतिमा गरिने कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो ।

आजदेखि नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ

काठमाडौं । आजदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ ।  नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम आरम्भ भएको हो ।  कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेकोको अवसर पारेर वर्षभरि नै कार्यक्रम गरिदैछ । माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ ।  आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचारगोष्ठी गर्दैछ । अपरान्ह साढे १२ बजेदेखि सुरु हुने गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेताहरु मोहन बैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो ।  पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।  पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उहाँले निरन्तर पहल गरिरहनुभएको थियो । यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहनुभयो । संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ । यसैबीच नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरी वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरेको छ।  कर्माचार्यको व्यक्तित्व, सपनाहरु र सपना पार्ने आगामी योजनामा केन्द्रित रहेर कार्यक्रम गर्ने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोख्रेलले जानकारी दिनुभयो।

डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल उठाउने बाटो अदालतबाट खुल्ला

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनबाट प्रयोग गरेको विद्युत् महसुलको बक्यौतामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले हुलास स्टिल इन्डस्ट्रिजको नाममा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नीलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो ।  १४ करोड १२ लाख रुपैयाँ बक्यौता रहेको यो उद्योगमा ८ कात्तिकमा लाइन काटिएको थियो । त्यसपछि बक्यौता तिर्नुको सट्टा उक्त उद्योगले लाइन जोड्न माग गर्दै उच्च अदालत जनकपुरमा अन्तरिम आदेश माग गर्दै निवेदन दर्ता गराएको थियो । ‘विपक्ष विद्युत् प्राधिकरणले कात्तिक ८ गते रातिदेखि निवेदक उद्योग (हुलास स्टिल) को विद्युत् आपूर्ति लाइन विच्छेद गरिदिइसकेको भन्ने देखिई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ को अवस्था विद्यमान रहेको नदेखिँदा निवेदन मागबमोजिम अन्तरकालीन आदेश जारी गर्नुपर्ने देखिएन । नियमअनुसार पेस गर्नू’ आदेशमा छ ।  योसँगै प्राधिकरणलाई उक्त उद्योगबाट बक्यौता असुल गर्न थप सहज हुने देखिएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । यसले सांकेतिक रूपमा ठुलो महत्वराख्ने उनको भनाइ छ । यही विषयमा सात उद्योगले विभिन्न अदालतमा दिएको रिटमा अन्तरिम आदेश आएको छ । तर, हुलास स्टिलले भने अदालतबाट अन्तरकालीन आदेश पाउन सकेन । यही विषयमा सात उद्योगले विभिन्न अदालतबाट पाएको अन्तरकालीन आदेश भने अस्वाभाविक देखिएको प्राधिकरणका अधिकारी बताउँछन् ।  प्राधिकरणले पछिल्लोपटक ४९ उद्योगबाट बक्यौता उठाउने प्रक्रिया अघि बढाएको छ । तर, अदालतको ‘स्टे अर्डर’का कारण रिलायन्स स्पिनिङ मिल्स, अरिहन्त मल्टिफाइबर, अरिहन्त पोलिप्याक, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट, शिवम् र रघुपति जुट मिल्सको बक्यौता असुली प्रक्रिया रोकिएको छ ।  रिलायन्सको ७५ करोड ३६ लाख, अरिहन्त मल्टिफाइबरको ११ करोड ५२ लाख, अरिहन्त पोलिप्याकको ६ करोड ६२ लाख, युनाइटेड सिमेन्टको ११ करोड ३६ लाख, मारुतीको ५७ करोड ४४ लाख, शिवम्को ६६ करोड ८८ लाख, रघुपति जुट मिल्सको आठ करोड ५१ लाख रुपैयाँ बक्यौता छ । बक्यौता नतिरेका अन्य उद्योगमा लाइन काटिँदा स्टे अर्डरका कारण यी सात उद्योगमा लाइन काटिएको छैन ।  यी उद्योगले यसअघि उच्च अदालतहरूमा हालेको रिटमा दाबी नपुगेको भन्दै फैसला भएको छ । तर, अहिले जिल्ला अदालतहरूले स्टे अर्डर दिनु अनौठो भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । यसअघि विभिन्न अदालतले यीलगायत अन्य उद्योगीहरूले हालेको अधिकांश रिट खारेज गरेका छन् । खारेज नभएका मुद्दामा अदालतले प्राधिकरणको पक्षमा फैसला गरेको छ । प्राधिकरणले छुट बिल जारी गर्न पाउने भनेर पनि विभिन्न अदालतले फैसला गरेका छन् । साथै, पहिला उद्योगीहरू प्राधिकरणकै प्रशासनिक पुनरावलोकनमा जानसमेत विभिन्न अदालतले फैसला गरेका थिए । तर, केही उद्योगी प्राधिकरणको प्रशासनिक प्रक्रियामा नआई पुनः अदालत जानु र त्यसमा अदालतले स्टे अर्डरसमेत दिनु अस्वाभाविक देखिएको स्रोतको भनाइ छ । रिलायन्स स्पिनिङ मिल्सले ०७७ मै सुनसरी जिल्ला अदालतमा नेपाल विद्युत् प्राधिकरणविरुद्ध रिट हालेको थियो । त्यसमा अन्तरिम आदेश खारेज भए पनि अहिले मुद्दा विचाराधीन छ । यस्तै, उद्योगले ०७८ मा उच्च अदालत विराटनगरमा रिट हालेको थियो त्यसमा दिइएको अन्तरिम आदेश खारेज भए पनि हाल उक्त मुद्दा विचाराधीन छ । यसअघि उच्च अदालत पाटनमा ०७५ मा हालेको रिट ०७६ मा खारेज नै भएको थियो ।  त्यो अवस्थामा उद्योगले पुनः सुनसरी जिल्ला अदालतमा यही कात्तिक पहिलो साता रिट हालेको थियो । त्यसमा अदालतले गत ६ कात्तिकमै अन्तरकालीन आदेश दिएको छ । गत १२ कात्तिकमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । १२ कात्तिकका लागि छलफलमा बोलाइए पनि १३ कात्तिकसम्म प्राधिकरणको केन्द्रीय कार्यालय र वितरण तथा ग्राहक सेवा निर्देशनालयमा अदालतको पत्र पुगिसकेको छैन । सम्बन्धित निकायमा पत्र नपुगेको भन्दै अदालतले आगामी २८ कात्तिकका लागि छलफलमा बोलाएको छ । योसँग २८ कात्तिकसम्म उक्त उद्योगमाथि प्राधिकरणले थप कारबाही अघि बढाउन नपाउने भएको छ ।  यस्तै, उच्च अदालत पाटनले युनाइटेड सिमेन्टको रिटमा अन्तरकालीन आदेश दिएर मुद्दालाई अलपत्र छोडेको छ । धादिङ जिल्ला अदालतमा हालेको रिट पुस ०७९ मै खारेज भएपछि उद्योगले उच्च अदालत पाटनमा भदौ ०८० मा रिट दिएको थियो । त्यसमा २ असोज ०८० मा अदालतका रजिस्ट्रार ठगीन्द्र कट्टेलले नै अन्तरकालीन आदेश दिएका थिए । न्यायाधीशविनै अदालतका रजिस्ट्रारले अन्तरकालीन आदेश दिएका थिए । त्यसपछि गत जेठ ०८१ मा न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठले प्रत्यर्थी झिकाउने आदेश दिएका छन् । तर, मुद्दामा हालसम्म प्राधिकरणमा म्याद तामेली भएको छैन । फलस्वरूप प्राधिकरणले उक्त उद्योगमाथि बक्यौता असुलीको कारबाही अघि बढाउन सकेको छैन ।  यस्तै, अरिहन्त पोलिप्याकले मोरङ जिल्ला अदालतमा पुस ०८० मा रिट दर्ता गरेको थियो । त्यसमा अदालतले अन्तरकालीन आदेश दिएको छ । तर, हालसम्म निर्णय हुन सकेको छैन । यसअघि उक्त उद्योगले प्राधिकरणलाई विरुद्ध बनाएर उच्च अदालत पाटनमा हालेको रिट ०७६ मा खारेज भएको थियो । तर, अहिले जिल्ला अदालतले सोही विषयको मुद्दामा अन्तरकालीन आदेश दिएको छ ।  यस्तै, मोरङ जिल्ला अदालतले अरिहन्त मल्टिफाइबरको रिटमा पनि अन्तरकालीन आदेश दिएर थप निर्णय गर्न सकेको छैन । उक्त उद्योगले उच्च अदालत पाटनमा हालेको रिट ०७६ मै खारेज गरेको भएको थियो । तर, जिल्ला अदालतले सोही विषयको मुद्दामा अन्तरकालीन आदेश दिएर मुद्दा यत्तिकै छोडेको छ । उद्योगले जिल्ला अदालतमा पुस ०८० मा मुद्दा दर्ता गरेको थियो । त्यसवेला नै दिइएको अन्तरकालीन आदेश अझै कायम छ । साथै अदालतले त्यसमा थप निर्णय गर्न सकेको छैन । साथै, अन्तरकालीन आदेश बदर गर्न प्राधिकरणले दिएको निवेदनमा पनि कुनै निर्णय भएको छैन ।  यस्तै, शिवम् सिमेन्टको रिटमा पनि अन्तरकालीन आदेश दिएर उच्च अदालत हेटौँडाले थप कुनै निर्णय गर्न सकेको छैन । मकवानपुर जिल्ला अदालतको अन्तरिम आदेश खारेज भएपछि उक्त उद्योगले उच्चमा रिट दर्ता गरेको थियो । त्यसमा उच्चले भदौ ०७८ मा अन्तरिम आदेश दिएको थियो । त्यसपछि थप निर्णय गर्न सकेको छैन । फलस्वरूप उक्त उद्योगबाट बक्यौता उठाउने निर्णय अन्योलमा छ ।  यस्तै, मोरङ जिल्ला अदालतले पनि रघुपति जुट मिल्सको मुद्दामा पनि अन्तरिम आदेश दिएर थप निर्णय गर्न सकेको छैन । रघुपति जुट मिलले ०७५ मा उच्च अदालतमा हालेको रिट ०७६ असोजमा खारेज भएको थियो । साथै, उच्च अदालत विराटनगरमा हालेको रिट पनि फागुन ०७६ मा खारेज भएको थियो ।  सोही विषयको मुद्दामा जिल्ला अदालतले अन्तरकालीन आदेश दिएर थप निर्णय गर्न सकेको छैन । उद्योगले पुस ०८० मा मोरङ जिल्ला अदालतमा रिट हालेको थियो । त्यसवेला नै अन्तरकालीन आदेश दिएको थियो । त्यसपछि अदालतले यसमा थप निर्णय सुनाएको छैन । प्राधिकरणले अन्तरकालीन आदेशका लागि निवेदन दिए पनि त्यसमा कुनै निर्णय भएको छैन । फलस्वरूप उक्त उद्योगबाट बक्यौता उठाउने काम पुनः अन्योलमा परेको छ ।  यस्तै, मारुती सिमेन्टले प्राधिकरणविरुद्ध हालेको रिटमा सिराहा जिल्ला अदालतले अन्तिम निर्णय गर्न सकेको छैन । अदालतले जेठ ०७९ मै अन्तरकालीन आदेश दिएको हो । तर, हालसम्म थप निर्णय गर्न सकेको छैन । फलस्वरूप उक्त उद्योगमाथि प्राधिकरणले थप कारबाही अघि बढाउन सकेको छैन ।  –नयाँ पत्रिका दैनिकबाट

लोकप्रिय