प्रदेश नं. २ को राजधानी जनकपुरधाम कायम

प्रदेश नं. २ को राजधानी जनकपुरधाम कायम

काठमाडौं । प्रदेश नम्बर २ को राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार प्रदेश सभा बैठकमा मतदानमा सहभागी ९९ सांसदमध्ये ७८ जनाले प्रदेशको राजधानी जनकपुरधामका पक्षमा मतदान गरेसँगै प्रदेश २ को राजधानी जनकपुरधाम कायम भएको हो।

कूल १०४ सांसद रहेको प्रदेश नं. २ मा ७८ मत भनेको दुई तिहाई भन्दा बढी हो। यसअघि २०७६ चैत ३ गते प्रदेश राजधानीका विषयमा मतदान हुँदा दुई तिहाइ बहुमत आएको थिएन। दोस्रो पटकको मतदानमा आज प्रदेश राजधानी कायम भएको हो।

प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ।

प्रदेश राजधानी अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति भए पनि केही सांसदले व्यक्तिगत रुपमा वीरगञ्जलाई प्रदेश राजधानी बनाउनुपर्ने माग गरि प्रस्ताव दर्ता गरेका थिए।

प्रदेश २ को नामका लागि प्रदेश सभामा गोप्य मतदान जारी (हेर्नुस् प्रदेश सभा बैठक लाइभ)

काठमाडौं । केहीबेरअघि राजधानी टुङ्ग्याएको प्रदेश सभाले २ नं. प्रदेशको नामका लागि गोप्य मतदान शुरु गरेको छ। राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत् विभिन्न नामहरु प्रस्ताव गरेपछि सभामा अहिले गोप्य मतदान शुरु भएको हो। प्रदेश राजधानीका लागि जनकपुरमा दुई तिहाइ बहुमत प्राप्त भए पनि प्रदेशको नाममा भने दुई तिहाइ मत प्राप्त हुनेमा आशंका देखिएको छ। प्रदेशको नाम मधेश राख्नुपर्नेमा नेकपा (माओवादी केन्द्र), जसपा र लोसपा एक ठाउँमा उभिएका छन् भने नेपाली कांग्रेसले मिथिला–भोजपुरा प्रस्ताव गरेको छ। त्यस्तै केन्द्रमा पार्टीको अस्तित्व नै स्वीकार नगरेको एमालेले २ नं. प्रदेशको नाममा नेकपा एकीकृत समाजवादीसँग सहकार्य गर्दै जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ। त्यस्तै, बारा र पर्साका सांसदहरुले मध्य मधेस प्रदेश नाम राख्ने प्रस्ताव गरेका छन्। प्रदेश नं. २ मा १०४ जना सांसद छन्। कुनै पनि नाममा निर्णय हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ। १०४ को दुई तिहाइ बहुमत ७० हुन्छ। दुई तिहाइ मत नआए कुनै पनि नामबारे निर्णय हुने छैन।

काठमाडौंमा कहाँ र कसले लगाउन पाउँछन् कोभिड विरुद्धको बुस्टर डोज ?

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ। मंगलबारदेखि शुरुमा अग्रपंक्तिमा रहेर खट्ने व्यक्तिहरुलाई बुस्टर डोज खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्ले जानकारी दिनुभयो। काफ्लेका अनुसार ८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको छ। उहाँका अनुसार नेपाली सेनाको छाउनी अस्पताल, महाराजगञ्जस्थित प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, टेकु अस्पताल, सिभिल अस्पताल नयाँ बानेश्वमा बुस्टर डोज खोप दिइनेछ। त्यसैगरी नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु , सुभेक्षा अस्पताल सितापाइला, जनमैत्री अस्पताल बालाजु, पिपुल्स डेन्टल कलेज सामाखुशी, शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क, एपेक्स पोलिक्लिनिक जडिबुटीबाट पनि बुस्टर खोप लिन सकिने काफ्लेले बताउनुभयो। कसले पाउँछन् बुस्टर डोज ? पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मीहरू, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविकाहरु पर्दछन्। यही चरणमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू, सशस्त्रको बिओपीमा खटिएका, जनपथ प्रहरी, शव व्यवस्थापनमा खटिनेहरु पर्दछन्। यस्तै बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारीहरू पनि यस भित्रपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।

नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ। आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानूनबमोजिम कारबाही हुने बताउनुभयो। उहाँले भन्नुभयो, “रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा थुप्रै कमी–कमजोरी, गल्ती गरेको र आफूखुशी भवन निर्माण गरेको पाइएको छ, नियमविपरीत काम गर्न दिने र काम गर्नेलाई कारबाही हुन्छ।” दरबार सङ्ग्रहालयमा कमी–कमजोरी गर्ने जिम्मेवार व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारबाही हुनेसमेत उहाँले जानकारी दिनुभयो। “कफीसपका नाममा सङ्ग्रहालयको नाम–निसाना मेटिने गरी भवन निर्माण गर्न पाइन्छ?”, उहाँले थप भन्नुभयो, “सङ्ग्रहालयभित्र नाचघर तथा वाइन सपका लागि पनि भवन बनाउँदै गरेको पाइयो, दोषी ठहरिएका जति सबैलाई कानूनबमोजिम कारबाही हुन्छ।” नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयपछि उक्त समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण गरिरहेको थियो। दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयका बारेमा गठन गरिएको छानबिन समितिले क्यान्टिन–क्याफ्टेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरी आफ्नो प्रतिवेदन पेश गरेपछि दोषी ठहरिएकालाई कारबाहीका लागि मन्त्रालयलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयमा समेत पत्रचार गरेको छ। मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई गत पुस २० गते निर्देशन दिनुभएको थियो। समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो। पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना हुँदै आएको थियो। रासस

थप ४९६१ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ३४७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्या शनिबार देखिएको नयाँ सङ्क्रमितभन्दा ३२५ ले बढी हो। शनिबार देशभरमा चार हजार ६३६ नयाँ सङ्क्रमित पुष्टि भएको थियो। उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिएका छन्। जसअन्तर्गत काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो। १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा जम्मा परीक्षणमध्ये औषत सङ्क्रमणदर ३६ दशमलव एक प्रतिशत छ। यही अवधिमा ४३५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ६८० रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी भेन्टिलेटरमा २९ र आइसीयूमा १२२ जना रहेका छन्। होम आइसोलेशनमा २४ हजार ५८४, संस्थागत आइसोलेशनमा एक हजार ९६ र संस्थागत क्वारेन्टिनमा १२१ रहेका छन्। यसैबीच सरकारले आजदेखि अग्रपङ्तिमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो।

लोकप्रिय