खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले निजी मेडिकल कलेजहरुलाई फाइदा पुग्ने गरी गरेको निर्णय स्थगित भएको छ । भदौ ५ मा उपकुलपतिबाट अवकाश पाउँदै गर्दा खनियाँले चिकित्सा शिक्षामा प्रवेश परीक्षा बिनै विदेशी विद्यार्थी भर्ना गर्ने विवादास्पद निर्णय गरेका थिए ।
स्रोतकाअनुसार कार्यवहाक उपकुलपति सुधा त्रिपाठीले प्राज्ञिक परिषद्को बैठक डाँकेर उक्त निर्णय थप छलफलका लागि विद्या परिषद्मा पठाउने निर्णय गराएकी हुन्। खनियाँले विद्या परिषद्को सहमति र प्रस्ताव बिनै मेडिकल कलेज संचालकहरुको आग्रहमा प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने (नीड) लाई मान्यता दिएका थिए। त्रिपाठीले उक्त निर्णयबारे जानकारी नभएको प्रतिक्रिया दिएकी थिइन्।
सरकारले कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएपछि त्रिपाठीले प्राज्ञिक परिषद्बाट पुनर्विचार र थप छलफलका लागि उक्त निर्णय विद्या परिषद्मा फिर्ता पठाइदिएकी हुन्। जसका कारण विदेशी विद्यार्थीले यहाँका मेडिकल कलेजहरुमा भर्ना हुन अब अनिवार्य रुपमा प्रवेश परीक्षा पास गरेको हुनुपर्नेछ। प्राज्ञिक परिषदले विद्या परिषद्को राय लिएर नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (नीट) सम्बन्धी निर्णय रद्ध गर्ने त्रिवि स्रोतले जनाएको छ। यस विषयमा त्रिपाठीले कान्तिपुरसँग कुरा गर्न चाहिनन्।
‘प्राज्ञिक परिषद्मा उक्त निर्णयबारे छलफल चाँहि गरियो, केहि दिनमा पूर्ण निर्णय आउँछ,’ उनले भनिन्। प्राज्ञिक परिषद् बैठकमा खनियाँले गराएको निर्णय विद्या परिषद्मा फिर्ता मात्र गराउने कि रद्ध नै गर्ने भनेर छलफल भएको थियो। रद्ध गर्ने सहमति नजुटेपछि विद्या परिषद्को राय बुझेर मात्र निर्णय लिन लागिएको हो।
प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्ने निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त कमाइ हुने थियो। खनियाँले त्रिवि अन्तर्गतका ६ निजी कलेजहरुको प्रभावमा विदेशी विद्यार्थीलाई भर्ना सहज हुने गरी निर्णय गराइदिएका थिए। उक्त निर्णयबारे प्राज्ञिक परिषद्ले समेत अनविज्ञता प्रकट गर्दै आएको थियो।
नेपालका मेडिकल कलेजमा विदेशी विद्यार्थीका लागि कुल सिटको ३० प्रतिशत सिट तोकिएको छ। ती सिट विदेशी विद्यार्थीले पुरा नभए नेपाली विद्यार्थीले भर्ना पाउँछन्। गत वर्ष त्रिवि चिकित्सा शिक्षा अध्ययन शास्त्र (आईओएममा) भारतीय विद्यार्थीले प्रवेश परीक्षा पास गर्न नसकेपछि एक सय ५० नेपाली विद्यार्थीले उक्त रिक्त ठाउँमा भर्ना पाएका थिए।
यदि नीट लागु नभए प्रवेश परीक्षामा सहभागी नभई पुरा सिटमा विदेशी विद्यार्थी भर्ना हुन्छन्। ती विद्यार्थीबाट मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा दोब्बर शुल्क लिने गर्छन्। सोहि कारण उनीहरुले निर्णय गराउन दबाब दिँदै आएका थिए। भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले निट उत्तीर्ण गरेको हुनुपर्छ। आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो।
गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिने र नदिने छलफल भए पनि निर्णय भएको थिएन। तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरेका थिए।
त्रिविमा आबद्ध निजी मेडिकल कलेजहरूको संस्था ‘सोसाइटी अफ टीयू अफिलिएटेड हेल्थ इस्टिच्युसन्स नेपाल (स्टाहिन) ले ‘यस शैक्षिक सत्रदेखि निट लागू गर्ने’ भनी निवेदन दिएको थियो। सोहि आधारमा खनियाँले प्राज्ञिक परिषद्का सबै सदस्यलाई समेत थाहा नदिई निर्णय गराउन सफल भएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

