भारतमा सावित्राको निरन्तर गोल, टिम ९–० ले विजयी

भारतमा सावित्राको निरन्तर गोल, टिम ९–० ले विजयी

काठमाडौं, वैशाख २७ । भारतमा जारी महिला फुटबल लिगमा नेपाली फुटबल सावित्रा भण्डारीआवद्ध सेथु फुटबल क्लबले लगातार तेस्रो खेलमा पनि जीत निकाल्न सफल भएको छ । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काटेक फुटबल क्लबमाथि ९–० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । 

पहिलो दुई खेलमा टिममा परेकी सावित्रा शुक्रबार सुरुवातमा बेन्चमा बसेकी थिइन् । उनको स्थानमा अनिता बस्नेतलाई मौका दिइएको थियो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेकी सावित्राले प्रवेश गरेको केही मिनेटमा नै गोल गरिन् । शुक्रबारको खेलमा भारतीय खेलाडी रतनबालाले व्यक्तिगत ४ गोल गरिन् । उनले खेलको तेस्रो, २८ औं, ७४ औं र ८९ औं मिनेटमा गोल गरिन् ।

यस्तै खेलको ८ औं र ८७ औं मिनेटमा सन्ध्याले गोल गरिन् । ८२ औ मिनेटमा सब्सिच्युट खेलाडी सावित्राले ग्रसीको क्रसलाई सदुपयोग गर्दै गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पुर्‍याइन् । त्यसपछि सेतुले अर्को एक गोल थपेपछि नौ शून्यको भारी जित निकाल्यो । जारी प्रतियोगितामा लगातार तीन खेलमा जित हात पारेको सेतुले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । 

एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नुपर्छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका, धितालमा प्रस्तावित अखिल नेपाल फुटबल संघ (एन्फा) टेक्निकल सेन्टरको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने बताउनुभएको छ। बिहीबार धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, र जनप्रतिनिधिहरूको टोलीले अध्यक्ष प्रचण्डलाई भेटी निर्माण प्रक्रिया अघि नबढेको भन्दै पहल गरिदिन अनुरोध गरेको थियो। टोलीले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षणलगायत प्रारम्भिक कार्यहरू सम्पन्न भइसकेको र गाउँपालिकाको पहलमा जग्गा हस्तान्तरणसमेत भइसकेको जानकारी गराएको थियो। प्रतिनिधिहरूले प्रारम्भिक चरणमा बजेट विनियोजन र टेन्डर प्रक्रिया सम्पन्न भए पनि पछिल्लो समय यो योजना अलपत्र परेकोमा चिन्ता व्यक्त गरे। उनीहरूले निर्माण कार्यलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन प्रचण्डसँग आग्रह गरे। प्रतिनिधिहरूको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, “तपाईंहरूले यो योजनालाई अगाडि बढाउन देखाउनुभएको चिन्ता र चासोप्रति म धन्यवाद दिन चाहन्छु। यो योजना पहिलेदेखि नै अघि बढिरहेको छ र अब यो अवश्य बन्नुपर्छ। यो सेन्टर कास्कीको धितालमै बन्नुपर्छ भन्ने मेरो दृढ अडान हो।” प्रचण्डले नेकपा (माओवादी केन्द्र) को तर्फबाट यो योजनालाई कार्यान्वयन गर्न पार्टीका प्रतिनिधि, जग्गादाता, र स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर आवश्यक पहल गरिने आश्वासन दिनुभयो। उहाँले यो योजनालाई सफल बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा

काठमाडौं। श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलंकलाई ४-१ ले पराजित गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० ले पराजित गरेको थियो।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

लोकप्रिय