एभरेष्ट दैनिक

फोहोरमैला व्यवस्थापनका लागि ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

ललितपुर । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन 'नेपाल टेक मार्केट' ले एक नयाँ 'सफ्टवेयर' प्रणाली सार्वजनिक गरेको छ । यो प्रणाली सोलिड वेष्ट एसोसिएसन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा विकास गरिएको हो । नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले यो पहल प्रविधि मात्र नभई सामाजिक जिम्मेवारीसँग जोडिएको बताएका छन् । उनले फोहोरलाई समस्या मात्र नभई यसलाई पुनःप्रयोग र पुनःचक्रण गरेर दिगो समाधान सिर्जना गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए । अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इन्जिनियर मङ्गल कृष्ण प्रधानका अनुसार, यो प्रणाली प्रयोगकर्ता-मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी प्रचलनहरू समावेश गरिएको छ । उनले यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो भएको बताए । यसले फोहोर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । यो फोहोर व्यवस्थापन सफ्टवेयरका सम्भावित प्रयोगकर्ताहरूमा फोहोरमैला व्यवस्थापन कम्पनी, घरपरिवार, अस्पताल, होटल, व्यवसायी, विद्यालय, र सरकारी संस्थाहरू पर्छन् । यो प्रणालीमार्फत प्रत्येक फोहोर व्यवस्थापन कम्पनी, फोहोर उत्पादन गर्ने सङ्घसंस्था र घरहरूबिच अन्तरसम्पर्क गर्न सकिनेछ । यसका केही मुख्य विशेषताहरू यस प्रकार छन् । जसमा फोहोर व्यवस्थापनका लागि लाग्ने शुल्क अनलाइन भुक्तानी गर्न सकिन्छ । नगरपालिकाका लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराइएको छ, जसबाट उनीहरूले आफ्नो नगर वा वडामा भइरहेका फोहोर व्यवस्थापन गतिविधिहरू निगरानी गर्न सक्छन् । फोहोर बोक्ने सवारी साधनहरूमा जीपीएस प्रणालीको उपयोग गरिएको छ, जसले गर्दा व्यवस्थापन अझ प्रभावकारी हुन्छ । यस प्रणालीले फोहोरको वर्गीकरणअनुसार व्यवस्थित पुनःउपयोगमा पनि जोड दिन्छ । नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको र यसले स्थानीय तहको कार्यक्षमता बढाउनुका साथै समुदायलाई सफा सहर कायम राख्न प्रेरित गर्ने बताएकी छिन् ।