एभरेष्ट दैनिक

दाङमा टिपरकाे ठक्करबाट एकको मृत्यु

दाङ । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका–५ बस्ने १९ वर्षीय मोटरसाइकलमा सवार सुशील थापा रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना. ८ ख. ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु. ३९ प. ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिए ।  उनका अनुसार दुर्घटनामा गम्भीर घाइते थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।  प्रहरी निरीक्षक बमका अनुसार दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् ।  घाइते थापाको भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।