एभरेष्ट दैनिक

प्रदर्शनकारीमाथिकाे दमन बन्द गर्न मानव अधिकार आयोगको माग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी पुस्ताले आह्वान गरेको भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी विद्यार्थीहरूसहित डेढ दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने र ५०० भन्दा बढी किशोर–किशोरी घाइते हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको  छ ।  आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको नाममा व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको छ । आयोगले घटनाको गम्भीर अनुसन्धान गर्न सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको छ । आयोगले सोमबार पनि काठमाडौँसहित देशका विभिन्न भागमा भइरहेको आन्दोलन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लङ्घनबारे निरन्तर अनुगमन भइरहेको जनाएको छ । ‘लोकतन्त्रमा विचार र अभिव्यक्तिको स्वतन्त्रता सबैलाई हुन्छ,’ विज्ञप्तिमा भनिएको छ,’ नवपुस्ताका आवाजहरूलाई सम्बोधन गर्नुको सट्टा सरकारले दबाउने र सुरक्षाकर्मीले निर्दोष विद्यार्थी र युवाको ज्यान लिने कार्य कुनै पनि अर्थमा स्वीकार्य छैन ।’ आयोगले भीड नियन्त्रणको नाममा हत्या गर्ने कार्य तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । साथै, प्रदर्शनलाई मर्यादित, संयमित र शान्तिपूर्ण बनाउन जिम्मेवार बन्न प्रदर्शनकारीलाई समेत आग्रह गरेको छ । प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिई थप मानवीय र भौतिक क्षति हुन नदिन सरकारलाई सचेत गराइएको छ ।