एभरेष्ट दैनिक

३० हजार बढी मतान्तरले पार्वत गुरुङ बिजयी

दोलखा, मंसिर २३। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सार्वजनिक भएका मध्ये सबैभन्दा बढी मतान्तरले दोलखामा वाम गठबन्धनका उम्मेदवार एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केही बेर अगाडि सार्वजनिक भएको मत परिणाम अनुसार एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरसहित विजयी भएका हुन । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए । यसैबीच दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् । प्रदेशसभा २ तर्फ एमालेका पशुपति चौलागाईको बिजय घोषणा हुन बाँकी छ । उनको जित निश्चित भइसकेको छ ।