एभरेष्ट दैनिक

तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटे स्थानीय युवा

पाल्पा, असोज २० । रैनादेवी छहरा गाउपालिका– ५, मुझुङ्गको कटौजेपानीका युवाले तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटेको छ । सेनकाली राजाका पालादेखि तरबार लडाउने र नचाउने परम्परा रहेकोमा पछिल्लो समयमा यो लोप हुँदै गएको थियो । तर यसपाली स्थानीय युवाले ५० थान तरबार बोकेर प्रदर्शनीसमेत गरेका हुन । लोपन्मुख अवस्था रहेको यो पर्व स्थानीय युवाको सक्रियतामा फेरि संरक्षण हुन थालेको स्थानीयबासीले बताएका छन्। कोजाग्रत पूर्णिमामा कालिकादेवीको मन्दिरमा पूजागरी दिउँसो स्थानीय बासिन्दाको पहलमा तरबार लडाउने र अर्को पक्षले ढालले रोक्ने गरी सराय नाच निकालिने गरिन्छ । अघि पञ्चेबाजासहित विशाल ¥यालीपछि तरबार लडाउने युवा, कालिकादेवीको मन्दिरका पूजारीले निकालिएको सराय नाचमा रौनकता ल्याएको हो । आश्विन शुक्ल पूर्णिमाको दिन बिहीबार सराय निकालेर रमाइलो हुने भएपछि पश्चिम पाल्पाका मानिसको त्यहाँ ओइरो लाग्ने गर्छ । मन्दिरमा रोट, कुखुरा, हाँस, बोका, राँगोलगायतको बलि चढाउने चलन छ । पूर्णिमाको अवसरमा समेत वडाले पञ्चबलि चढाउने चलन रहेको मन्दिरका पूजारी जंगबहादुर आलेले बताए । मन्दिरमा बलि चढाएपछि तीन पटक कालीकादेवीको परिक्रममा गरेर सराय निकालिने गरिन्छ । स्थानीय बासिन्दा, युवा, मन्दिरका पूजारीको समेत सक्रियतामा लोपोन्मुख सराय नाच संरक्षणमा लागिपरेका थिए । तरबार बोकेका युवाले वाख्यौ हो भन्दै सरायलाई नाचमा सक्रियता देखाएपछि अझै रौनकता देखिएको स्थानीय बासिन्दा पोषण राना मगरले बताए । सराय नाच निकाल्ने यो चलन झण्डै दुईसय वर्ष अघिदेखि रहेको मन्दिरका पूजारी आलेले जानकारी दिए । मन्दिरबाट निकालेको सरायमा तरबार लडाउने चलन अझै पनि रहेको छ । तरबार नचाउने र लडाएपछि पूजारीले कुभिण्डो काटेर सराय विर्सजन गरिन्छ । त्यसपछि घरघरमा रहेको टीका र जमरासमेत फूलबारीमा फाल्ने चलन रहेको आलेले बताए । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले कालिकादेवी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्दछ भने । इतिहासका जानकार निर्मल श्रेष्ठले सयरा नाचको महत्व झल्काउन सकेको अवस्थामा यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताए । सराय अवलोकन लागि यो वर्ष उल्लेखनीय मानिसको उत्साहपूर्ण सहभागिता थियो । यो सराय पश्चिम पाल्पाको ठूलो सराय मेलाका रुपमा अझै निरन्तरता पाएको छ । सरायमा स्थानीय विभिन्न प्रकारका स्वादिलो खानाको स्वाद चाख्न पाइएको थियो । सो अवसरमा मुझुङ्ग पूर्णिमा महोत्सव २०७४ मूलसमितिको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको थियो ।