एभरेष्ट दैनिक

भारतको एक अस्पतालमा एकै दिन ८ बालबालिकाको मृत्यु

भारत, असोज २० । भारतमा एकै दिन ८ बालबालिकाको ज्यान गएको छ । भारतको आसाम राज्यको एक अस्पतालमा एकै दिन आठ बालबालिकाको ज्यान गएको बिबिसीले जनाएको छ । आसामको बारपेटामा रहेको फखरुद्दिन अली अहमद मेडिकल कलेजमा २४ घण्टामा आठ बालबालिकाको ज्यान गएको हो । त्यहाँका बासिन्दाले डाक्टरको लापरबाही र अस्पतालको कमजोर संरचनाका कारण बालबालिकाको ज्यान गएको आरोप लगाएका छन् । तर अस्पतालले भने यो एउटा संयोग मात्र भएको प्रतिक्रिया दिएको छ । ज्यान गुमाउने बालबालिका लामो समयदेखि अस्पतालमा भर्ना भएका पनि अस्पतालले दाबी गरेको छ । ज्यान गुमाउनेमा भर्खर जन्मेका शिुशुदेखि २ महिनासम्मका रहेका खबरमा उल्लेख गरिएको छ । गर्भावस्थामा आमाले राम्रो स्वास्थ्य जाँच नगराएकाले कमजोर शिशु जन्मिँदा ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । भारतको आसाम मातृमृत्युदर हुने राज्यमा दोस्रो स्थानमा छ ।