एभरेष्ट दैनिक

कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक

काठमाडौं,असोज १९ । सत्तारुढ नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आशन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल अघि बढाएपछिको अवस्था बारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो । बैठक शुक्रबार बिहान ८ वजे बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वाम गठबन्धनबाट नेपालको प्रजातन्त्र संकटमा परेको निष्कर्ष निकालेर गैरवामपन्थी शक्तिबीच तालमेलमा जुटेको कांग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति तयार गर्ने बताइएको छ । यसअघि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नै चुनाव गराउने निष्कर्ष निकाल्दै बृहत लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको थियो । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्नका लागि कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन ६ दल सहमतसमेत भइसकेका छन् । बुधबार राति बसेको संयुक्त बैठकमा कांग्रेससहित ६ दलबीच आगामी चुनावमा सहकार्य गर्न ७ सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । मुलुकका ठूला दुई वामपन्थी दलले चुनावी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको भोलिपल्ट लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुको बैठकले उक्त कार्यदलमा काँग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट एक÷एक जना सदस्य रहने निर्णय गरिएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । मुलुकको सामुन्ने विद्यमान परिस्थितिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएर जानु आवश्यक देखिएकाले त्यस सम्बन्धमा गृहकार्य गर्न कार्यदल गठन गरिएको छ, नेता निधिले भन्नुभयो, “कार्यदलका सदस्यको नाम भने बिहीबार बिहान सबै दलले दिने र त्यसपछि आवश्यक गृहकार्य एंव तयारी थालिने छ ।” कार्यदलले भोलि बिहानदेखि नै पार्टीका शीर्ष नेताहरुको निर्देशनमा आवश्यक गृहकार्य र तयारी थाल्ने नेता निधिले बताउनुभयो । बैठकमा मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच निर्वाचनको मुखमा भएको चुनावी गठबन्धन र पार्टी एकताको पहलका सबन्धमा गम्भीर र विस्तृत छलफल भएको थियो । बैठकमा वामपन्थी दलबीच भएको अस्वभाविक र रहस्मय गठबन्धनले निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका सिर्जना गरेको बारेमा छलफल भएको बताउँदै नेता निधिले भन्नुभयो, “बैठकमा सहभागी शीर्ष नेताले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सामूहिक रुपमा एकताका साथ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ ।”