एभरेष्ट दैनिक

पहिलेको जनसत्ताले राष्ट्रिय मान्यता पाएर अहिलेको स्थानीय सरकार बनेको हो : प्रचण्ड

रोल्पा, भदौ ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा चलाइएको जनसत्ताको अर्काे रुप नै अहिले स्थानीय सरकार भएको बताएका छन् । रोल्पाको थबाङमा शनिबार थबाङ गाउँपालिकाको पहिलो गाउँसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको स्थानीय सरकार नै जनसरकार भएको बताएका हुन् । प्रचण्डले भने, ‘हिजो पनि हामीले जनसरकार चलाएका थियौं, तर त्यसबेला राष्ट्रिय रुपमा मान्यता पाएको थिएन अहिले जे बनेको छ यो पनि जनसरकार नै हो ।’ थबाङबाटै जनसरकारको घोषणा गरेर जनसत्ता सञ्चालन गरेको स्मरण गर्दै माओवादी अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध तथा थबाङवासी जनताकै कारण मुलुकले काँचुली फेरेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले रोल्पाको विकासमा आफू सदैव प्रतिवद्ध रहेको बताए । आफू पहिलोपटक प्रधानमन्त्री बन्दा मैले सहिदमार्गको बाटो निर्माणका लागि पहल गरेको बताउँदै भने, ‘थबाङ गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन पहल गर्नेछु ।’ पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुई थबाङ क्षेत्रबाट निर्वाचित प्रचण्डले थबाङमा तटबन्ध निर्माण, १५ शैयाको अस्पताल निर्माण लगायतका कार्यलाई अगाडि बढाउन आफूले पहल गरेको जानकारी दिए ।