एभरेष्ट दैनिक

तेह्रथुमबाट ६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको आलु निर्यात

तेह्रथुम, भदौ २९ । तेह्रथुम जिल्लाबाट आर्थिक वर्ष २०७३/०७४ मा ६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको आलु निर्यात गरिएको छ । जिल्लामा उत्पादित ३४ हजार ६२ मेट्रिक टनमध्ये ६ करोड ८७ लाख रुपैयाँ बराबरको आलु जिल्ला बाहिर निर्यात गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष २५ हजार ४ सय २२ मेट्रिक टन वर्षे र ८ हजार ६ सय ४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो । जसमध्ये उत्पादनको ४० प्रतिशत मात्रै जिल्लाबाहिर निर्यात हुने गरेको छ । भु-बनोट र मौषम अनुसार खाद्यान्न बालीभन्दा तरकारी र नगदे बालीतर्फ आकर्षित कृषक आलुको व्यावसायिक खेतीमा लागेकाले धेरै आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । जिल्लाका जिरिखिम्ती, बसन्तपुर, आङ्दिम, खाम्लालुङ, सोल्मा, सुङ्नाम, फुलेकलगायत गाउँमा आलुको व्यावसायिक खेती हुने गरेको छ ।