एभरेष्ट दैनिक

देउबा सरकारलाई हाम्रो समर्थन जारी रहन्छ– माओवादी केन्द्र

 “वाम तालमेलबाट कोही सशंकित हुनु पर्दैन । यो विचारधारात्मक विषय हो । सरकारसँग यसलाई जोडेर हेर्नु हुँदैन । हामी सरकारको भूमिकाप्रति पूर्ण इमान्दार छौं ।” काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरुलाई हटाउने चर्चा चलिरहेको बेला माओवादी केन्द्रले भने देउबा सरकारलाई समर्थन कायमै रहने बताएको छ । “हाम्रो समर्थन कायम नै रहन्छ ।” माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एभरेष्टदैनिकसँग भनिन, “अध्यक्षले नै यसबारेमा प्रधानमन्त्रीलाई भनिसक्नुभएको छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न नगर्दासम्म हाम्रो समर्थन कायम रहन्छ” वाम तालमेल र ध्रुवीकरणको औपचारिक घोषणा अघि नै पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई भेटेर सरकारको भविष्यका बारेमा कुनै आशंका नगर्न स्पष्ट गरेको प्रवक्ता भुसालले बताइन । “देउबा जी या नेपाली कांग्रेससँग कुनै तिक्तता या असहमति भएर एमालेसँग तालमेल भएको होइन भनेर अध्यक्ष कमरेडले भन्नुभएको हो ।” भुसाललको भनाई थियो, “राजनीतिक विचार र कार्यदिशाको विषयमा एमालेसँग तालमेल र एकताको कुरा हो, सरकारसँग कुनै गुनासो भएर होइन भन्ने कुरा स्पष्ट पारेका छौं ।” सबै तहका निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयन सफल पार्न र संक्रमणकाललाई निष्कर्शमा पु¥याउने जिम्मेवारी बोकेर सरकार गठन भएकोले माओवादी केन्द्र त्यसप्रति इमान्दार रहने भुसालको जिकिर थियो । “वाम तालमेलबाट कोही सशंकित हुनु पर्दैन । यो विचारधारात्मक विषय हो । सरकारसँग यसलाई जोडेर हेर्नु हुँदैन । हामी सरकारको भूमिकाप्रति पूर्ण इमान्दार छौं ।” नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेल र बाम ध्रुवीकरणबारे औपचारिक घोषणा गरेकै दिन बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेका थिए । उक्त भेटमा प्रचण्डले देउवालाई पुरानै स्पिरिटका आधारमा चुनावलाई सम्पन्न गर्न अघि बढ्न र आफ्नो पार्टीका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।