एभरेष्ट दैनिक

फनपार्कको जग्गा कांग्रेस सांसदका अाफन्तलार्इ

काठमाडौं, भदौ २५ ।  समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ वर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् । राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरूङका परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ वर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगराई सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन् । फनपार्कले ६४ रोपनी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार वर्षका लागि सम्झौता गरेको थियो । त्यसपछि फनपार्कले २०६१ सालमा ५ वर्षका लागि मासिक २ लाख २ हजार ४ सय रूपैयाँमा र २०६९ सालमा १५ वर्षका लागि मासिक ५ लाख ५५ हजार रूपैयाँमा सम्झौता गरेको थियो। २०५७ पछि ५ वर्षका लागि जग्गा भाडामा दिँदा २ लाख ७२ हजार ६ सय रूपैयाँ कम दाममा जग्गा भाडामा दिइयो । जबकि भृकुटीमण्डप सञ्चालन कार्यालयलाई ३ रोपनीमा फैलिएको तरकारी बजारले मासिक ९ लाख ९० हजार रूपैयाँ बुझाउँछ भने ३० रोपनीमा फैलिएको निम्न ब्यापार संघले मासिक ७ लाख रूपैयाँ भाडा बुझाउने गरेको छ । –नेपाल समाचारपत्रबाट