एभरेष्ट दैनिक

भारतमा कार दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु

भदौ २३ । भारतको महाराजगञ्ज जिल्ला पुरन्दरपुर क्षेत्रको देउपुरमा आज भएको सवारी दुर्घटनामा सात जना नेपालीसहित आठ जनाको मृत्यु भएको छ। गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मृतक कारका चालक सुनौली कोतवालीका ३८ वर्षीय हाफिज रहेको भारतीय संचारमाध्यमले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । ट्यांकर चालक भने फरार रहेका छन् । दुर्घटनामा दुई बच्चा, एक महिलासहित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुने नेपालीहरुको सनाखत भने भएको छैन । ठक्करबाट कार क्षतविक्षत भएको छ। दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ।