एभरेष्ट दैनिक

मन्त्री पद बेचिदिने मनाङेको अभिव्यक्तिः के यसको छानविन होला ?

पोखरा । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध बनेका राजीव गुरुङ अर्थात् दीपक मनाङेले गण्डकी प्रदेश सरकार छाड्दै गर्दा दिएको अभिव्यक्ति अहिले चर्चामा छ । डेढ वर्षमा तीनपटक मन्त्री बनिसकेकाले मनाङेले दिएको मन्त्री पद विक्रीका लागि राखेको भन्ने अभिव्यक्तिको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । पत्रकार युवराज श्रेष्ठसँगको फोन वार्तामा उहाँले भन्नुभएको छ– ‘किन्ने मान्छे पाए बेच्ने हो, पैसा नदिई र नकिनी कहाँ मन्त्री बन्न पाइन्छ । यहाँ मात्र होइन, केन्द्रमा पनि मन्त्री बन्न पैसा तिर्नुपर्छ । पद लिनका लागि दुई चार करोड बुझाउनु त सामान्य कुरा हो । मैले मन्त्रालय बेच्दैछु, कांग्रेसले डेढ करोड जति दिन आइसक्यो, एमालेसँग पनि तीन मागिरहेको छु । मन्त्रालय नभन्ने, पैसा लिने प्लान छ मेरो । अब मन्त्रालय जाने होइन, बेचिदिनेहो । अहिले यहाँ पैसावाल छ नि त, मन्त्री नपाएका विचरा । त्यस्तालाई दिने कि भन्ने प्लान गरिरहेको छु, खै कांग्रेसले डेढभन्दा दिएन, त्यही त छ टेन्सन । एमालेले तीन दिनसक्छ होला तर पैसा छनैन होला, सबै भिकारी टाइपको छ त्यो ।’ राजनीतिकभन्दा गुण्डागर्दी पृष्ठभूमिका मनाङेले पटकपटक मन्त्री पाउनु आफैमा बिडम्बना थियो भने अहिले खुलेआम पैसाको वार्गेनिङ अडियो सार्वजनिक भएपछि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने विश्लेषकहरु बताउँछन् । के गण्डकीको प्रदेशसभाले त्यसो गर्दा ? के गण्डकीका दलहरु यसमा तयार होलान् ?