एभरेष्ट दैनिक

सभामुखले ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि माओवादी केन्द्रद्वारा सदन अवरोध

काठमाडौं । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको छ । बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाउनुभएको थियो । सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताउनुभएको थियो । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिनुभएको थियो ।  पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए। सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् । माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभाको बैठक असोज ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।