एभरेष्ट दैनिक

यस्ता चुनिय जनप्रतिनिधि : जन्मकैद पाएकादेखि एनजिओकर्मीसम्म

बाँके, असार । २४  बाँकेमा जन्मकैद सजाय पाएकादेखि ठेकेदारसम्मले स्थानीय निर्वाचन जितेका छन् । अदालतले जन्मकैद सुनाएका बेतहनीका नरेन्द्रकुमार चौधरी कुर्मी (पप्पु) डुडुवा गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । अदालतको सजाय भोगिरहेका पप्पुलाई कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले माफी दिएको थियो । जेलबाट छुट्ने बेला उनले कांग्रेसका नेता–कार्यकर्ता र साबिकको बेतहनी गाविसका नागरिकको भव्य स्वागत पाएका थिए । उनी ०७१ सालको प्रजातन्त्र दिवसको अवसरमा थुनामुक्त भएका थिए । बाँके जिल्ला अदालतले चौधरीलाई कर्तव्य ज्यान, डाँकालगायत पाँच मुद्दामा सर्वस्वसहित जन्मकैद सुनाएको थियो । दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योग गरी पाँच मुद्दामा अदालतले जन्मकैद सुनाएको थियो । नयाँ पत्रिकामा खबर छ । एनजिओकर्मी थारु विजयी राप्ती–सोनारी गाउँपालिकाको अध्यक्षमा गैरसरकारी संस्था ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) बाँकेका अध्यक्ष लाहुराम थारु विजयी भएका छन् । उनी पूर्वसभासद्लाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । थारु कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।