एभरेष्ट दैनिक

चीनले दिएको एक हजार थान सौर्य बत्ती हस्तान्तरण

पोखरा, वैशाख २४ । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ । गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै पोखराका विभिन्न सडकमा सौर्य बत्ती जडान गरी सबैतिर झिलीमिली पारिएको छ । पोखराको विजयपुरदेखि हल्लनचोक, नयाँबजार, पालिखेचोक, बुद्धचोकदेखि वन विज्ञान अध्ययन संस्थान तथा विभिन्न मठमन्दिरमा सौर्यबत्ती जडान गरी उज्यालो पारिएको छ । सौर्य बत्ती जडानका लागि तिब्बत सरकारले रु १५ करोड सहयोग गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत यु होङ र तिब्बत सरकारका वैदेशिक मामिलाका उपमहानिर्देशक मा क्विनसिङले पोखरा–लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा राजदूत होङले पोखराको विकासमा चीन सरकारले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।