एभरेष्ट दैनिक

विश्व औलो दिवसः झापा औलो उन्मूलन उन्मुख

झापा, वैशाख १२ । सन् २००३ देखि २००५ सम्म महारामारीका रुपमा रहेको औलो रोग झापामा उन्मूलन उन्मुख बन्दै गएको छ। जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेका अनुसार चालु आवमा झापामा आठ जनामा मात्र औलो रोग फेला परेको छ । यस वर्ष बनियानी, पाठामारी, बुधबारे, बिर्तामोड, भद्रपुर र पृथ्वीनगरमा एक÷एक जना तथा सतासीधाममा दुईजना औलो रोगी भेटिएको उहाँले बताउनुभयो । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको देखिन्छ । आव २०७०-७१ मा ८९ जना, ०७१-७२ मा ५८ जना, ०७२-७३ मा ४२ जना र चालु आव आठ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट (झुल) वितरण गरिएको थियो । गाउँ तथा सहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताउनुभयो । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट पीताम्बर ठाकुरले १२-१३ वर्षअघि झापामा औलो भयावह अवस्थामा रहेको बताउनुभयो । “मैले यहाँ काम गरेको १४ वर्ष भयो, पहिले औलोको जोखिम उच्च थियो” उहाँले भन्नुभयो, “अहिले हामी शङ्का लागेका बिरामीलाई जाँच गराउँछौँ तर औलोका केस कम्ती भेटिन्छन् ।” “पहिले सीमावर्ती भारतीय क्षेत्रमा औलो महामारीका रुपमा थियो, हाट बजार गर्न जाँदा औलो जोखिम बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त्यहाँ पनि औलो घट्दै गएको छ ।” सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ । तराई र भित्री मधेसका ३१ जिल्लालाई उच्च प्रभावित जिल्लाका रुपमा सरकारले राखेको छ । औलोको लक्षण ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सिफोरम परजीवीका कारण हुने औलोमा इन्सेफलाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ । रोकथाम यसका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, विषादीयुक्त झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउने गर्नुपर्छ ।