एभरेष्ट दैनिक

स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु भएका छन्: प्रधानमन्त्री

ललितपुर, वैशाख ११ । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकको सोमबार राजधानीमा प्रारम्भ गर्दै उनले स्वास्थ्यलाई ग्रामिण क्षेत्रको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिए । ‘सबैका लागि स्वास्थ्य’ भन्ने नारालाई सरकारले आत्मसाथ गरेको भन्दै उनले गरिबीमुखी स्वास्थ्य नीति सरकारको एजेण्डा भएको स्पष्ट पारे । कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले शहर केन्द्रीत स्वास्थ्यलाई ग्रामिण तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । सभामा प्रधानमन्त्रीले भने- ‘माननीय स्वास्थ्य मन्त्रीले पनि निरन्तर लागिरहेका छन् । मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ । यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका छन् । हामीले रचनात्मक र जवाफदेही भएर काम गरौं, जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गरौं । उनले स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन सरकार लागि परेको बताए । बैठकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति प्रतिवेदन पेश गरिनुका साथै प्रतिष्ठानको सेवा विस्तार र शैक्षिक कार्यक्रमबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो । सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताउनु भयो । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।