एभरेष्ट दैनिक

नेपाल प्रहरी विद्यालयमा एक छात्रको रहस्यमयी मृत्यु

काठमाडौं, चैत १७ । नेपाल प्रहरी विद्यालय सामाखुसीमा कक्षा ८ मा अध्ययनरत एक छात्रको रहस्यमयी मृत्यु भएको छ । कक्षा ८ को परीक्षा दिएर बसेका १४ वर्षीय कुन्दन थापालाई विद्यालय छुटी भएको अवस्थामा पनि विद्यालय प्रशासनले बोलाई उनको रहस्यमयी मृत्यु भएको परिवारजनले बताएका छन् । कुन्दनले सामाजिक संञ्जालको दुरुपयोग गरेको भन्दै विद्यालय पुनः संचालन हुने बेलासम्ममा उक्त विषयमा विकराल रुप लिनसक्ने भन्दै प्रशासनले छालफलका लागि कुन्दनलाई बोलाएको बताएको छ । स्कुल भवनको तीन तलामाथिको कोठामा केही बेरको छलफलपश्चात कुन्दन बाहिर निस्किई हामफालेको स्कुल प्रशासनले जनाएको छ । घटनालगत्तै उपचारका लागि त्रिवि शिक्षक अस्पताल महाराजगञ्ज लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । विद्यार्थीले गल्ती नै गरेको भएपनि अभिभावकलाई पो जानकारी दिनुपर्ने भन्दै स्कुलले विद्यार्थीलाई मात्रै बोलाई विद्यार्थीमाथि के कस्तो कारवाही गरेको भन्दै घटनाको शुक्ष्म छानविन हुनुपर्ने कुन्दनका आफन्तले दवाव दिएका छन् । कुन्दनको आँखाको मुनि गहिरो निलो डाम पनि भएका कारण विद्यालय प्रशासनले कुन्दनको हत्या गरेको हुनसक्ने परिवारजनले आरोप लगाएका छन् ।