एभरेष्ट दैनिक

मृत भेटिए कांग्रेस नेता एवं पूर्व सहायकमन्त्री रामहरि ढुंगेल

काठमाडौं, चैत ३ । कांग्रेसका नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको बिहिबार विहान काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ । उनको निधन हृदयघातबाट भएको हुन सक्ने अनुमान गरिएको छ । बेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको हो । २०५६ सालमा रामेछापेको क्षेत्र नम्बर दुईबाट सांसदमा निर्वाचित ढुंगेल केही महिना कृषि सहायकमन्त्री समेत बनेका थिए । अविवाहित ढुंगेल एक्लै बस्दै आएका थिए । राति केहि असजिलो भएपछि ढुंगेल हिमाल अस्पताल पुगेका थिए । अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि उनी कोठामा पुगेर सुतेका थिए । कांग्रेस नेता अर्जुन केसीका अनुसार बिहान मात्र उनको मृत्युबारे थाहा भएको हो । अहिले ढुंगेलको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको जनाइएको छ । पञ्चायत व्यवस्थाविरुद्ध कांग्रेसले चलाएको आन्दोलनदेखि ढुंगेल राजनीतिमा सक्रिय थिए । विद्यार्थी संघदेखि कांग्रेसका विभिन्न तहमा बसेर उनले राजनीति गरे । अनेकौं पटक जेलजीवन भोगेका ढुंगेल कृष्णप्रसाद भट्टराईसँग बढी प्रभावित थिए । पकरवास गाविसका जन्मेका ढुंगेल राजनीतिमा कुनै न कुनै कोणबाट सक्रिय थिए । नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव, सभापति हुँदै उनी चार दशकभन्दा बढी विभिन्न पदमा क्रियाशील थिए ।