एभरेष्ट दैनिक

सुवास नेम्वाङ भन्छन–‘हाम्रो आन्दोलन जारी नै रहन्छ, संसद् चल्न दिँदैनौं’

काठमाडौं, पुस २५ । एमाले संसदीय दलका उपनेता तथा सभामुख सुवास नेम्वाङले संसदीय मान्यता विपरित संशोधन विधेयक टेबल भएकोले एमालेले आन्दोलन गर्ने बताएका छन् । एक रेडियो अन्तर्वार्तामा नेम्वाङले भने–‘सरकारको संविधान संशोधन विधेयक औचित्यहीन एवं मुलुकको हितविपरीत रहेकाले हाम्रो सहमति हुँदैन, हाम्रो आन्दोलन जारी नै रहन्छ संसद् चल्न दिँदैनौं ।’ प्रतिपक्षीको विरोध गर्दा गर्दै संविधान संशोधन विधेयक प्रस्तुत भएको भन्दै उनले विधेयकमाथि छलफल हुन नदिने स्पष्ट पारेका हुन् । ‘संसोधन असफल बनाउने आन्दोलन जारी रहनेछ विधेयक अब पास हुन सक्दैन ।’ उनले औचित्यहीन एवं मुलुकको हितविपरीत सरकारले संशोधन विधेयक अगाडि बढाएकाले संसद्मा छलफल गर्न नदिई शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए । तर, नेम्वाङले संशोधन विधेयकबाहेक निर्वाचन, महाअभियोगलगायतका विषयमा एमालेले छलफल गर्न संसद् अवरुद्ध नगर्ने जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौ दलले संविधान संशोधनविरुद्ध आन्दोलन गर्दै आएका छन् । १४ मंसिरमा सरकारले संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि विपक्षी नौ दलहरूले १६ मंसिरदेखि नै संसद् र सडकमा आन्दोलन गर्दै आएका थिए ।