महावाणिज्य दूतावासले एम्बुलेन्स र स्कुल बस दिने
१२ माघ, २०७३
पर्सा, माघ १२। नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले विभिन्न नेपाली स्वास्थ्य तथा शैक्षिक संस्थालाई दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस निःशुल्क सहयोग दिने घोषणा गरेको छ । भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा यही माघ १३ गते वीरगन्जमा आयोजना हुने एक कार्यक्रमबीच एम्बुलेन्स र स्कुल बस वितरण गर्ने महावाणिज्य दूतावासले घोषणा गरेको हो । महावाणिज्य दूतावासले मङ्गलबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै महावाणिज्यदूत वैष्णोचरण प्रधान (बिसी प्रधान) ले २६ जनवरीका अवसरमा आयोजना हुने कार्यक्रममा एम्बुलेन्स र स्कुल बसको कागजात तथा साँचो वितरण गर्ने जानकारी दिए । उनले प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मेडिकल कलेज, जनकपुर र नेपाल रेडक्रस सोसाइटी, पथरैया, सर्लाहीलाई एक–एक थान एम्बुलेन्स हस्तान्तरण गरिने बताए । त्यस्तै, श्री झमकेश्वरी सेकेन्डरी स्कुल, पालुङ, मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस, धनुषालाई स्कुल बस वितरण गर्ने निर्णय गरेको महावाणिज्यदूत प्रधानले जानकारी दिए । महावाणिज्यदूत प्रधानले नेपालको उद्योग व्यवसायलाई फस्टाउनमा मद्दत गर्न भारत सधैँ प्रयासरत रहेको बताए । उनले नेपाल सरकारको पहलमा भारत सरकारले बारा–पर्सा औद्योगिक कोरिडोरलाई विद्युत्भार कटौतीमुक्त गर्न रक्सौल–परवानीपुर ५० मेगावाट प्रसारणलाईन तयार पारिरहेकोे जानकारी दिए। रक्सौलबाट आयात गरिएको ५० मेगावाट विद्युत्ले बारा–पर्सा औद्योगिक कोरिडोर विद्युत्भार कटौतीमुक्त भएपछि यस भेगको उद्योग व्यापार फस्टाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । पत्रकारसम्म्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानले नेपालमा लगानी भित्र्याउन वाणिज्य दूतावासले भारतीय उद्योगपतिमाझ पहल गरेको र यसको सकारात्मक प्रभाव चाँडै देखिने दाबी गरे । उनले तराईको विकास र तराईवासीको जीवनस्तरलाई उकास्न भारत सरकारले स्वास्थ्य, शिक्षा, सडक तथा पूर्वाधार विकासमा आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । रासस
विदेशमा जाने कामदारलाई २७ लाखसम्मको बिमा
१२ माघ, २०७३
पीके क्याम्पसमा हराएको बीपीको समाजवाद
१२ माघ, २०७३
बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ घाइते
११ माघ, २०७३
आजदेखि राप्रपा अध्यक्षका लागि लोहनीको पालो
११ माघ, २०७३