एभरेष्ट दैनिक

निगमको  गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छ :  उड्डयनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले  नेपाल वायुसेवा निगमको  गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका छन्। नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सवको अवसरमा आज बिहान आयोजित कार्यक्रममा मन्त्री तामाङले सो कुरा बताएका हुन्।  मन्त्री तामाङले भने -'निगम लामो इतिहास पार गर्दै आज  ६७ औं वर्षमा प्रवेश गर्दैछ । यसले  इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै  आपनै अलग्गै छाप र पहिचान बनाउन सफल भएको छ। अझै यसको  अभिवृद्धि गर्न ठोस योजना बनाएर अघि बढ्न आवस्यक  छ।' निगमले ६६औं वार्षिकोत्सव समारोहको उपलक्ष्यमा असार १७ गते विहान ७ः३० बजे प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । प्रभातफेरी निगमको कार्यालय परिसरबाट शुरु हुदै न्युरोड, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो।  वि.स.२०१५ साल असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दछ।  डगलस डिसी-३ डकोटा विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं. २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमको  कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। निगम वि.सं.२०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ-२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।