एभरेष्ट दैनिक

ट्रक खोलामा खस्दा २ को मृत्यु, एकजना गम्भीर घाइते

रत्ननगर, साउन २६ । चितवनको नारायणगढ-­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच ४२ टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस