एभरेष्ट दैनिक

सशस्त्रको नयाँ संरचना, सीमाका सुरक्षा कार्यालय गणमा रुपान्तरण

काठमाडौं, साउन १५ । सशस्त्र प्रहरी बलले संघीय संरचना अनुसार आफ्नो संगठनको नयाँ संरचना बनाएको छ । सशस्त्रले अब ७७ वटै जिल्लामा कार्यालय विस्तार गर्ने भएको छ । मुलुक संघीय संरचनामा गएपछि सशस्त्र प्रहरी बलले पनि आफ्नो क्षेत्र विस्तार गरेको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता डिआइजी बाबुराम पाण्डेले परिवर्तित व्यवस्थाअनुसार आफ्नो ढाँचा परिवर्तन गरिएको बताए । डिआइजी पाण्डेका अनुसार विद्यमान पाँचवटा बाहिनीहरुको संख्यालाई ७ प्रदेश र उपत्यकामा एक गरी ८ वटा बाहिनी राखिने छ । विद्यमान तालिम केन्द्रहरु यथावत् राखी सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप पाँचवटा तालिम केन्द्र स्थापना गर्दै २३७ सीमा सुरक्षा कार्यालयलाई नाम परिवर्तन गरी ६२१ नफ्रीको गणमा स्तर वृद्धि गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ । त्यसैगरी हालको ३८ वटा अनाश्रित गुल्महरुको संख्यामा वृद्धि गरी ५६ र १७ स्थानमा आश्रित गुल्महरु स्थापना भई सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल परिचालन हुने पाण्डे जानकारी दिए ।