एभरेष्ट दैनिक

यी नदीमा भिषण बाढी आउनसक्ने, सचेत रहन आग्रह

काठमाडौं, असार १७ । मनसुन सक्रिय भएकाले बाढीको खतरा हुने भएकाले सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार रोमबार चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो । गोरखा, धादिङ, लमजुङ तथा कास्कीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने जोखिम पनि हुन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । विशेष गरी बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने देखिएको छ । यस्तै कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीसहितका सबै मुख्य नदीमा पानीको बहाव बढ्दै गएको छ । सोमबार बिहानैसम्म सचेत हुन आग्रह गरिएको छ ।