एभरेष्ट दैनिक

गुल्मीका कांग्रेस नेताहरु वडावडामा पुग्ने, एकहप्ता दलित बस्तीमा श्रम गर्ने

गुल्मी, वैशाख २ । नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै वडामा पुग्ने अभियान सुरु गरेको छ । नयाँ वर्षको अवसर पारेर शनिबारदेखि सुरु भएको अभियान अन्तर्गत पार्टीका नेताहरु पार्टीको प्रतिनिधिका रुपमा जिल्लाका ९३ वटै वडामा पुग्ने नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ५० दिनसम्म चल्ने अभियान अन्तगर्त तेश्रो हप्ता अर्थात वैशाख १५ देखि २१ गतेसम्म नेताहरु हरेक वडाका दलित बस्तीमै बास बस्नेछन् । यो क्रममा दलित समुदायकै घरमा बस्ने उनीहरुसँगै खाने र उनीहरुलाई काम गर्न सघाउने सभापति श्रेष्ठले बताउनुभयो । अभियानको नाम ‘नेपाली कांग्रेस गुल्मीको आह्वान गाउँ जाउँ गाउँमै रमाउँ’ : पचास दिने महाअभियान राखिएको छ । स्थानीयबासीका समस्याको पहिचान तथा समस्या समाधानका लागि पहल गर्नु तथा पार्टीको संगठन सुदृढीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको सभापति श्रेष्ठको भनाई छ । अभियानले पार्टी नेतृत्व आम नागरिकको सम्पर्कबाट टाढीएको तथा नेता र नागरिकबीच दुरी बढेको भन्ने आलोचनालाई चिर्ने उहाँले बताउनुभयो ।