नेप्से २३.८१ अंकले घट्यो
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा रोकिएको हो ।
बुधबार चार अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक घट्नेमा वाणिज्य बैंकिङ समूह छ ।
क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गरिने
काठमाडौं। सरकारले अब क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने
काठमाडौं । सरकारले वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याइएको बताएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए । उनले आगार्मी आर्थिक वर्षमा एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्नेगरी बजेट ल्याइएको पनि बताए ।
रिटर्नी उद्यमशीलता कार्यक्रम घोषणा : १ लाखलाई स्वरोजगार बनाइने
काठमाडौं। वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई प्रोत्साहन गर्न सरकारले रिटर्नी उद्यमशीलता कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत विदेशबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रममार्फत एक लाख नागरिकलाई स्वरोजगार बनाउने घोषणा गरेका छन् । बजेट वक्तव्यमा अर्थमन्त्री पुनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्ने बताएका छन् । उनले वैदेशिक रोजगारीमा गएकाहरुले बैंक मार्फत पठाएको रेमिट्यान्सको आधारमा बिना धितो ऋण उपलब्ध गराउने निती लिएको बताएका छन् ।
सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले समस्याग्रस्त घोषित सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । उनले कानूनमा आवश्यक संशोधन गरी सहकारी सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने बताए । यस्तै बचत तथा ऋण सहकारीको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि उनले बताए ।
सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने
काठमाडौं । सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले स्वदेशी गलैँचाको प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख गरे । निजगढदेखि ढल्केबरसम्म पुर्वपश्चिम राजमार्गलाई नेपाली गलैँचा करिडोर बनाइने पनि उनले बताए । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहनका लागि नेपालमै बनेको गलैँचा प्रयोग गर्न बाध्य पार्न लागिएको हो ।
१२ खर्ब ५३ अर्ब ५२ करोड राजस्व संकलन हुने संशोधित अनुमान
काठमाडौं । चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको छ । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्ष्यानुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन् । यो लक्ष्यको तुलनामा ८८.१ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष्यानुसार राजस्व संकलन हुन नसकेको अर्थमन्त्री पुनले बताए ।
सरकारले गाँजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने
काठमाडौैं । गाँजाको व्यावसायिक खेती सुरु गर्न सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत गाँजालाई व्यावसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “गाँजाको व्यावसायिक प्रवर्द्धनका लागि कानुनी व्यवस्था मिलाइनेछ,” मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने । सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।
२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषण गर्ने
काठमाडौँ। सरकारले कृषि क्षेत्रमा वि.सं.२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका छन् । कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी सरकारी निजी सहरकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न कृषि लगानी दशक घोषणा गर्ने उनले बताए ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य सुरू भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले बजेट सार्वजनिक गर्दै छन् ।
बजेट पढ्न तयार अर्थमन्त्री, ब्रिफकेसको ढाँचा फेरियो
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले केहीबेरमा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दैछन् । दिउँसो ३ बजेदेखि बस्ने संयुक्त सदनको बैठकमा उनले बजेट सार्वजनिक गर्नेछन् । बजेटको ब्रिफकेस बोकेर उनी क्याविनेट बैठकमा छिरेका छन् । मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ । यसपटक नेपाली ढाकाबाट निर्मित ब्रिफकेस प्रयोग गरेर उनले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् ।
पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम
काठमाडौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो। बजेटसँगै संसदमा टेवुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ। आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ। बैठकममा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताउनु भयो । कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री प्रचण्डले बताए। बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित, आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मूख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्य र सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ १५ गते मंगलबार सन् २०२४ मे २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
करिब १९ खर्बको बजेट पस्तुत गरिदै, यस्ता छन् नयाँ कार्यक्रम
काठमाडौं ।अर्थ मन्त्रालयको टिम आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिन केन्द्रित भएको छ। बजेटमा केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम बजेटमा अघि सारिएको छ। गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानुनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ। यस पटक बजेट भाषण विगतभन्दा फरक हुने बताइएको छ। हरेक वर्ष अर्थमन्त्रीले गर्ने बजेट भाषण बढ्दै गएको थियो। धेरै लम्मेतान भएपछि यो पटक अनुसूचीमा ब्रेक डाउन गर्ने गरी मुख्य विषयमा मात्रै सम्बोधन गर्नुहुनेछ अर्थका एक अधिकारीले भने। अर्थ मन्त्रालय स्रोतका अनुसार राजमार्गहरू केन्द्रित नयाँ सहर निर्माण, भारत र चीनको सीमालाई समेत जोड्ने योजनाका साथ पर्यटकीय कोरिडोर निर्माण, नारायणी लगायत नदी किनारामा पर्यटकीय गतिविधि सञ्चालन गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम नयाँ कार्यक्रमको रूपमा हेरिएको छ। निजी क्षेत्र लगानीको वातावरणको खोजिरहेका छ। यसको लागि केही नयाँ सम्भावना देखाउने प्रयास गरिँदै छ। पर्यटन पूर्वाधार तथा औद्योगिक पूर्वाधार निर्माणसहित केही सहुलियतका कार्यक्रम बजेटबाट अघि सार्दा प्रभाव देखिने छु अर्थ मन्त्रालयका एक बजेट सम्बद्ध अधिकारीले भने। मदन भण्डारी राजमार्गमा विद्युत्, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार विकास गरी एकीकृत कार्यक्रम अघि सारिएको छ। अर्थका मन्त्रालयका अधिकारीहरूका अनुसार यो कोरिडोरलाई समृद्ध कोरिडोर मोडेलको रूपमा उत्पादन, उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित गर्न खोजिएको हो। नारायणी र सुनकोशी नदी कोरिडोरमा पर्यटकीय गतिविधि विस्तार गर्ने गरीका कार्यक्रम बजेटबाट ल्याइँदै छ। बहुवर्षीय तथा क्रमागत आयोजना बाहेक धेरै नयाँ बजेट भने सांसदहरूले छनोट गरेका पूर्वाधार विकासका कार्यक्रम राखिएको छ। राष्ट्रिय सभा, प्रतिनिधिसभा समानुपातिक तथा प्रतिनिधिसभा प्रत्यक्ष सबै सांसदहरूले छनोट गरिएका कार्यक्रम बजेटमा पारिएको छ। यस्ता कार्यक्रम तीन करोडदेखि १० करोडसम्मका छन्। करिब १८ अर्ब रकम यस्ता कार्यक्रमलाई खर्च हुने बताइएको छ। सामाजिक सुरक्षाको कार्यक्रम लक्षित बजेटले सामाजिक सुरक्षा कार्यक्रमबाट लक्षित वर्ग बढी लाभान्वित गर्दै लैजाने विषयमा बोल्ने छ। तर यसलाई कसरी लक्षित र प्रभावकारी बनाउने भन्ने विषय कार्यविधिबाट टुंगो लगाइने स्रोतले बतायो। अहिले करिब ३८ लाख नागरिकले सामाजिक सुरक्षा भत्ता लिएका छन्। सबै व्यक्तिलाई भत्ताको आवश्यकता नभएको तथा कति व्यक्तिलाई यो भत्ता पनि अपर्याप्त भएको सन्दर्भमा सामाजिक सुरक्षा कार्यक्रमलाई सुधार लक्षित वर्ग केन्द्रित गराउने उद्घोष बजेटबाट गर्न थालिएको हो। अहिले ६८ वर्ष माथिको नागरिकलाई वृद्धा भत्ता दिइने गरिएकोमा धेरै उमेर पुग्नेलाई बढी भत्ता दिने थालनी पनि बजेटबाट गरिँदै छ। पूर्व लडाकुलाई रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रममा पनि बजेट छुट्याइँदै छ। नयाँ करका रूपमा हरित कर सरकारले नयाँ करको रूपमा नेपालमा हरित करु सुरू गर्ने भएको छ। कार्बनको न्यून उत्सर्जन र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्य राखेर मंगलबार प्रस्तुत हुने बजेटमार्फत हरित करको प्रयोग सुरू गर्न थालिएको हो। संसारका विभिन्न देशहरूमा हरित कर सुरू भएको छ, यो वर्षबाट हामीले पनि सुरू गर्दैछौं, अर्थ मन्त्रालय सम्बद्ध एक अधिकारीले भने, कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको सिफारिसलाई समेत अध्ययन गरेर केही क्षेत्र सुरू गरिने छ। उनले तत्काललाई न्यून दर कायम गरेर यस्तो कर लगाउन खोजिएको बताए। पछिल्लो राजस्व संकलन वृद्धिदरमा ब्रेक लागेको तथा लक्ष्यको तुलनामा निकै न्यून मात्रै राजस्व संकलन भएको छ। यस्तो अवस्थामा सरकारले नयाँ शीर्षकबाट कर उठाउन सुरू गरेको छ। चालु वर्षको बजेटमा लक्जरी कर, वैदेशिक रोजगारी शुल्क र वैदेशिक पर्यटन भ्रमण शुल्क लगाउन सुरू गरेको थियो। चालु वर्षबाट सुरू गरिएको यी नयाँ कर कार्यान्वयन गर्न चुनौती तथा अपेक्षित रूपमा नयाँ कर संकलन हुन नसकेको रूपमा करको दायरा विस्तार गर्न भन्दै हरित कर सुरू गर्न थालिएको छ। अर्थ अधिकारीका अनुसार फःसल् फ्युल (जीवाश्म इन्धन)तथा यस्तो इन्धन खपत हुने क्षेत्रमा हरित कर लागू गर्न थालिएको हो। बजेटबाट ल्याइँदै छ महसुल ऐन सरकारले बजेटबाट नै महसुल ऐन ल्याउने भएको छ। चालु वर्षको बजेटको ४५९ नम्बर बुँदामा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले कर कानुनलाई थप व्यवस्थित गर्न र पारदर्शी बनाउन महसुल ऐन ल्याइने उद्घोष गरेका थिए। एक वर्षसम्म संसदमा यो ऐन नलगिएको पनि आर्थिक ऐनको अंगका रूपमा यो ऐन ल्याउन लागिएको हो। यो ऐन ल्याइएपछि भन्सारमा हुने चुहावट कम गर्नका साथै महसुल निर्धारणका आधार तोक्न र करका दर हेरफेरलाई पारदर्शी बनाउन सहयोग पुर्याउने अर्थका अधिकारीहरूको भनाइ छ। आलु प्याजको भ्याट हटाउने संकेत सरकारले गत आर्थिक वर्षदेखि सुरू गरेको आलु प्याजको भ्याटमा पुनर्विचार हुने भएको छ। स्रोतका अनुसार अहिलेलाई आलु प्याज र स्याउलाई भ्याट छुटको सूचीमा फेरि कायम गरिने तयारी भएको छ। यद्यपि आज राती मात्रै यो विषय टुंगो लगाइने छ। गत वर्ष सरकारले आलु, प्याज र स्याउ भ्याट छुटबाट हटाएको थियो। यसको अर्थ यी वस्तुमा भ्याट लगाइएको थियो। तर पछि व्यवसायीले विरोध गरेपछि आयातितलाई मात्रै भ्याट लगाउने सूचना आन्तरिक राजस्व विभागले गरेको थियो। सिद्धान्त ५० लाख भ्याट लगाइएका सामाग्रीमा ५० लाख भन्दा कमको कारोबारमा भ्याट नलाग्ने र बढीको कारोबारमा लाग्ने हुन्छ। विज्ञहरूले कृषि उपजको कारोबारमा तीन करोडसम्म भ्याट छुट दिएर तरकारीमा भ्याट लगाउन सुझाव दिएका थिए। यसो हुँदा आयातित तरकारीको लागत बढ्ने र स्वदेशीलाई प्रोत्साहन पुग्ने विज्ञहरूको भनाइ छ। सवा २० खर्ब पुगेको बजेट घटाइँदै विज्ञहरूको स्रोत र खर्चलाई ध्यानमा राखेर १७ खर्ब हाराहारीको मात्रै बजेट ल्याउन सुझाएकोमा छरिएका धेरै कार्यक्रम हालेर १९ खर्ब बराबरको बजेट ल्याउने तयारी अर्थले गरेको छ। यद्यपि बजेट सिस्टममा चढाइएका कार्यक्रम भने सवा २० खर्ब माथि पुगेकोमा सोमबार बिहानदेखि बजेट टिम केही कार्यक्रम कटौती तथा केही कार्यक्रममा बजेट घटाउन लागेको छ। अर्थमन्त्री स्वयमले पनि ठूलो बजेट ल्याउन हुँदैन भने पनि सत्तारूढ दलका नेता तथा प्रधानमन्त्रीको समेत दबाबमा धेरै कार्यक्रम सिफारिस गरिएको छ। स्रोतका अनुसार आइतबार दिउँसोसम्म बजेट प्रणालीमा चढाइएको कार्यक्रमको आकारले बजेट सवा २० खर्ब रुपैयाँ माथि पुगेको थियो। अन्तिम समयमा अति धेरै कार्यक्रम हालियो, बजेटको आकार नै सवा २० खर्ब पुगेको थियो, यो सम्भव हुने कुरा होइन। न हामी खर्च गर्न सक्छौं, न स्रोतले पुग्छ, यो विषयमा अर्थमन्त्रीज्यूले समेत महसुस गरेको विषय हो, एक अधिकारीले सेतोपाटीसँग भने। सोमबार बिहान मात्रै पनि अर्थका दुई सचिवसहित बजेट निर्माण सम्बद्ध अधिकारीहरूले १८ खर्ब माथिको बजेट विश्वसनीय नहुने बताएका थिए। राष्ट्रिय योजना आयोगले गत माघमा तोकेको सिलिङमा पनि १८ खर्बको थियो। यद्यपि अर्थ मन्त्रालयले आन्तरिक रूपमा भने १६ खर्ब ८७ अर्बको मात्रै स्रोत निकालेको थियो। सिस्टममा चढाइएका धेरै कार्यक्रमको हेरफेर गरेर १९ खर्ब नबढ्ने गरी बजेट ल्याइने ती अधिकारीको दाबी छ।
सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
यी पाँच स्थानीय तहको बेरुजु शून्य
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजु शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथीभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य देखिएको हो । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९र८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिकामा उक्त आवमा रु। एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो आव अर्थात् ०७८/७९ मा गरिएको लेखा परीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजु देखिएको थियो । जिल्लामा महाभारतपछि पनौती नगरमा कम देखिएको छ । उसको शून्य दशमलव २२ प्रतिशत बेरुजु देखिएको हो । पनौती नगरको रु २ अर्ब ६६ करोड लेखापरीक्षण भएको थियो ।