'मनी लाउण्डरिङ' सम्बन्धी पञ्च वर्षीय रणनीति तयार

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ ।  अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । 

मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ ।अर्र्थमन्त्री पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानूनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल, निर्देशक समितिअन्तर्गतको समन्वय समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी कानून हेर्ने सचिव लीला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवं अर्थ मन्त्रालयका सचिव (राजश्व. डा. रामप्रसाद घिमिरे सहभागी थिए ।  

चालु आर्थिक वर्ष ०८१÷०८२ मै कार्यान्वयनमा ल्याउन लागिएको उक्त रणनीतिको नाम ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ रहेको छ ।  

रणनीतिले मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तिय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने विषयलाई जोड दिएको अर्थ मन्त्रालयका सह–सचिव एवं आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले  जानकारी दिए । उनका अनुसार भ्रष्टाचार, राजस्व छली, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारजस्ता वित्तीय अपराध न्यूनीकरणमा काम गर्नेछ । यस्तै लागूऔषध ओसारपसार, संगठित अपराध, आपराधिक लाभ, आन्तरिक आतंकवाद, ठगी, चोरी, नक्कली मुद्राको कारोबार, कालोबजारी तथा तस्करी, किर्तेलगायतका अपराध नियन्त्रणजस्ता विषय पनि रणनीतिमा समावेश गरिएका छन् ।  

सम्पत्ति शुद्धीकरण मामिलाबारे निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) र एफटीएफसँगको सहकार्यमा काम गरिरहेको एसिया प्रशान्त समूह (एपीजी)ले नेपालको सम्पत्ति शुद्धीकरणको अवस्थाबारे गत वर्ष प्राविधिक मूल्याङ्कन गरेको थियो ।  एपिजीले ०७९ असोजमा गरेको पारस्परिक मूल्याङ्कनपछि सम्पत्ति शुद्धीकरणका क्षेत्रमा नेपालले गर्नुपर्ने प्राविधिक पक्ष (कानूनी, नीतिगत र संरचनागत) सुधार तथा प्रभावकारिताको मूल्याङ्कन गरी सुझाव दिएको थियो ।  एपीजीको नेपाल पनि सदस्य राष्ट्र हो । एफटीएफ र एपीजीको सुझावका आधारमा नेपालले संसदबाट सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गरी सकेको छ ।  

एपिजीको प्रतिनिधि मण्डल अर्को चरणको अध्ययनका लागि आगामी असोजमा फेरि नेपाल आउँदैछ । ती दुवै संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अवस्थामा सुधारका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन गर्न र ती व्यवस्थाहरुलाई समायानुकूल परिमार्जन गर्न सुझाव दिँदै आएका छन् । एफटीएफले विद्यमान अवस्थामा सुधार नभए सम्पत्तिशुद्धीकरण सम्बन्धमा नेपाल जोखिम (ग्रे लिस्ट)मा पर्न सक्ने चेतावनी दिँदै आएको छ। सम्पत्ति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको साख गिर्नुका साथै वैदेशिक सहायता, ऋण र लगानीमा कमी आउने तथा अन्तर्राष्ट्रिय बैंकिङ कारोबार चुनौतीपूर्ण हुनेछ । यस्तै विप्रेषण आप्रवाह घटेर हुण्डी कारोबारमा वृद्धि हुने र समग्र अर्थतन्त्रमै संकट आइपर्ने खतरा रहन्छ ।  

प्रतिनिधिसभाले संसदको अघिल्लो अधिवेशन (२४ माघ २०८०) मा ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पारित गरेको थियो । जसमार्फत सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विभिन्न विभिन्न १९ वटा ऐनको संशोधन गरी समयानुकूल बनाइएको छ ।  

विधेयकमार्फत् निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७०, पारस्पारिक कानूनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९, मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधन गरिएको छ  ।  

ऐनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा सूचना संकलन र अभियोजनलगायत विषयमा प्रहरीको अधिकार क्षेत्र वृद्धि, क्यासिनोको नियमन, हुन्डी कारोबारलाई फौजदारी कसुरमा समावेश गर्नेजस्ता व्यवस्था गरेको छ । ऐनले विद्युतीय र डिजिटल माध्यमबाट हुने कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा समावेश गरेको छ । 

ऐनको दफा ७ (ब)मा अर्थमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहने व्यवस्था छ । ऐनले निर्देशक समितिलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी नीति र कार्यक्रमको मस्यौदा तयार पार्ने, सम्पत्ति शुद्धीकरणका लागि गर्नुपर्ने काम, त्यसका लागि आवश्यक संयन्त्र निर्माणका साथै संघ, प्रदेश र स्थानीय सरकारका सबै निकायबीसंयोजन र अनुगमनको अधिकार दिएको छ ।सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयनका लागि समितिले निर्देशन दिनुका साथै कारबाहीसमेत गर्न सक्छ । 

यस्तै निर्देशक समितिले समन्वय समितिले पठाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धमा वार्षिक प्रतिवेदन तयार पारी मन्त्रिपरिषदमा पेश गर्नेछ ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २३ गते बुधबार सन् २०२४ जुन ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य बुधबार भने बढेको छ । बेलायती पाउण्डको मूल्य १७० नाघेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

नेप्सेसँगै कारोबार रकम वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.२२ अंकले बढेर बन्द भएको छ । नेप्से सोमबारको तुलनामा आज ०.२९ प्रतिशतले वृद्धि भएको हो । यस दिन कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मंगलबार चार अर्ब आठ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सोमबार १० प्रतिशतले सेयर मूल्य बढेको बुुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज भने ५.५१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज सर्वाधिक घटेको हो। कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर, म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि व्यपार समूहको भएको छ। यो समूहको परिसूचक २.७० प्रतिशतले वृद्धि भएको छ। 

एमसीसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता

काठमाडौं । नेपालको भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो। भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। “एमसीसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ,” अर्थमन्त्री पुनले भने। एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनले बताए।  उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए। एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ।  आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन पनि निर्माण गर्नेछ। ३१५ किलोमिटर लामो ‘डबल सर्किट’ ४०० ‘किलोभोल्ट’ प्रसारण लाइन निर्माण हुनेछ । आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भूमहीमा सब–स्टेसन निर्माणको काम प्रारम्भ भएको छ ।  यसैगरी, रातमाटेबाट काठमाडौंको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४०० केभी सब–स्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणको ४०० केभी सब–स्टेसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह गरिनेछ । ४०० किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो सब–स्टेसन देशको हालसम्मकै ठूलो प्रसारण लाइन हो । आयोजनाअन्तर्गत ८५६ टावर बन्नेछन् । काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारण लाइनले छुन्छ ।  परियोजनाअन्तर्गत ३०५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मतसम्भार र गुणस्तर सुधारको काम हुनेछ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्घाखाँचीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ । सन् २०१७ मा नेपाल र अमेरिका सरकारको एमसीसीबीच आयोजनासम्बन्धी हस्ताक्षर भएको थियो । उच्च राजनीतिक नेतृत्वमा लामो समयको छलफल र बहसपछि अन्ततः परियोजना कार्यान्वयन भएको हो । दुई वर्षअघि संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल जेठ २२ गते मंगलबार सन् २०२४ जुन ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य घटेको छ । यसअघि अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर थियो भने युरो र बेलायती पाउण्डको मूल्य सोमबार बढेको थियो । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

घट्यो नेप्से, चार अर्बको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा बन्द भएको छ ।धितोपत्र दोस्रो बजार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको हो।  सोमबार चार अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ११० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ । सोमबार बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६६ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । यो समूहको परिसूचक २.४३ प्रतिशतले वृद्धि भएको हो । बाँकी समूहहरूको सेयर मूल्य भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक १.०५ प्रतिशतले घटेको छ । 

हेर्नुहोस् सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २१ गते सोमबार सन् २०२४ जुन ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर छ । युरो र बेलायती पाउण्डको मूल्य भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

१३.५१ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.५१ अंकले बढेर बन्द भएको छ । परिसूचक ०.६५ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन कारोबारमा आएका मध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार, मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९.१३ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ६.५६ प्रतिशतले बढेको छ ।

स्रोत सङ्कुचनका बाबजुद वस्तुवादी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिक स्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरे। “बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ। बजेटमा निकै धेरै अपेक्षा थिए। युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो”, अर्थमन्त्री पुनले भने, “स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन्। निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन्।” आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको  सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ। विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ। “समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ”, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भने, “राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन्। हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन्।” निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भङ्ग नगरेको उनले बताए। गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ। “समग्र राष्ट्रिय अर्थतन्त्रमा केही सङ्कुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो”, उनले, “गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ  र बिस्तारै गतिशील बन्दै गएको छ। हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौँ।”  रासस  

पौडेलले अर्थमन्त्रीको प्रशंसा गर्दै भने- 'चुनौती समाधान गर्ने अठोटका साथ बजेट आयो'

काठमाडौं। काठमाडौं । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनको प्रशंसा गरेका छन् । मन्त्री पुनले ल्याएको बजेट र नेपालको अहिलेको अवस्थामाथि विष्लेशण सकारात्मक देखिएको उनले बताए । आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।  पूर्व अर्थमन्त्री पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताए। पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताए। उनले अर्थतन्त्रीले अर्थतन्त्रका चुनौतीबिच काम गर्ने प्रयास गरेको देखिएको बताए।  पौडेलले अर्थमन्त्री पुनले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको बताए।उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशंका र अनुमानका आधारमा विरोध र समर्थनमा बिच सन्तुलित आकारको बजेट आएको दाबी गरे।  उनले अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको उल्लेख गरे। उनले बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो नभएको औंल्याए।  बजेटको स्रोत जुटाउन सजिलो नभए पनि सीमासम्म जानसकिने बताए। उनले बजेटलाई महत्वकांक्षी भन्दा पनि उच्च आकांक्षी भन्न मिल्ने बताउनुभयो। उहाँले राजश्व संकलन, आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकांक्षा राखेको बताए।  उनले अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाएको बताए। उनले  चुनौतीपूर्ण यात्रा तय गर्दै त्यसलाई पार गर्नु अर्थमन्त्रीको लागि महत्वपूर्ण हुने बताए। उनले जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको र चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन हुने अनुमान भए पनि आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको भन्दै सहज नभएको बताए।  उनले सरकारले राज्यका सबै संरचना संयन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न सम्भव रहेको बताए। उनले वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेको तर आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित भएको भन्दै यो पनि सजिलो नभएको बताए।  उनले वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेको भन्दै आगामी आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नु चुनौतीपूर्ण रहेको बताए। उनले राजस्वाले साधरण खर्च धान्न नसक्ने, ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा आगामी आर्थिक वर्षमा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रस्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि रहेको उल्लेख गरे। पूर्व अर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताए। उनले प्रस्तुत गरिएका स्रोत परिचालन, खर्च व्यवस्थापन प्रभावकारी रुपमा गर्ने, उत्पादनका क्षेत्रमा लगानी केन्द्रित गर्नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुनसक्ने दाबी गरे।  उनले अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुसँग बजेटका विषयमा छलफल नगरेको भन्दै असन्तुष्टि समेत जनाए। उनले अर्थमन्त्रीले शीर्ष नेताहरुसँग छलफल गर्न सकेको भए बजेट अझ राम्रो आउने अवस्था रहेको बताए।  पूर्व अर्थमन्त्री पौडेलले नयाँ चरणको आर्थिक सुधार भनिएको भन्दै त्यसलाई अझ स्पष्ट बनाएर जान आवश्यक रहेको बताए। उनले उच्च स्तरको कार्यदल गठन भन्दा पनि राजनीतिक नेतृत्वले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम गर्ने भनेर आउनुपर्ने बताए।  

वर्षात्‌को जोखिम कम गर्न सांसद सापकोटाद्धारा ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्षात्‌बाट हुने जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘आउँदै गरेको वर्षात्‌को जोखिम र त्यसका पूर्वतयारीका बारेमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण होस्। सरकारले यसबारेमा सोचोस्।’ २०७८ साल असारमा बाढी, पहिरोले इन्द्रावती र मेलम्ची क्षेत्रका बासिन्दाहरू प्रभावित भएको उल्लेख गर्दै क्षतिपूर्ति र राहत लगायतका विषय सम्बोधन नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे। संसद्‌मा जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा समेत छलफल हुनुपर्ने उनले बताए।

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज विशेष पत्रकार सम्मेलन गर्दैछ। आज दिउँसो साढे १२ बजे बानेश्वरस्थित अर्पण ब्याङ्केटमा पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। खतिवडाले पत्रकार सम्मेलनमा पार्टीको आगामी दशौँ राष्ट्रिय महाधिवेसनको तयारी, समसामयिक राजनीतिक विषयका सन्दर्भमा उठेका प्रश्नहरुबारे जानकारी दिइने बताए।केही दिनअघि पार्टी अध्यक्ष माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएका थिए। यस विषयमा सकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग एकीकृत समाजवादीको धारणाबारे छलफल गरेका थिए। एकीकृत समाजवादीले मधेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सघाउने संकेत देखिए पछि प्रचण्ड र ओलीले अध्यक्ष नेपालसँग धारणा मागेका थिए । सम्भवतः यो विषयमा आज एकीकृत समाजवादीले आफ्नो धारणा सार्वजनिक गर्न सक्नेछ। एकीकृत समाजवादीमा अध्यक्ष नेपाल सत्ता घटक दलसँग सन्तुष्ट छैनन् भने सम्मानित नेता झलनाथ खनाल सत्ता समीकरणलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्।अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाको निवासमा गएको भोलिपल्टै सम्मनित नेता खनाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (आइतबार)अमेरिकी डलर एकको खरिद दर १३३.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८५ रुपैयाँ रहेको छ ।त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०६ रुपैयाँ रहेको छ ।  साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ १९ गते शनिबार सन् २०२४ जुन १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।

८ अर्ब बचत हिनामिना गरेको आरोपमा कान्तिपुर सहकारीका सीबी लामा पक्राउ

काठमाडौं ।कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ ।सो सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लामालाई चितवनको नेपाल(भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख एवम् एसएसपी सानुराम भट्टराईका अनुसार लामालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको छ ।लामाविरुद्ध सहकारीको अर्बौँ बचत हिनामिना आरोपसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो।लामाले मात्रै कान्तिपुरसहितका अन्य सहकारीबाट ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ। जसमध्ये कान्तिपुर सहकारीको मात्रै दुई अर्ब बचत अपचलनबारेको जाहेरी परेपछि उनलाई अपराध अनुसन्धान कार्यालयले हिरासतमा लिएको हो।सुप्रिम र स्वर्णिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई जस्तै लामा पनि सहकारीको ठूलो रकम हिनामिनाका प्रमुख आरोपी हुन् ।