नेप्सेले नयाँ बजेटलाई सामान्य अंकको वृद्धिले स्वागत
काठमाडौं ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा अघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको छ। गत साता उच्च दरमा बजार बढेपछि हिजो अर्थात आइतबार अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा नेप्सेमा करेक्सन भएको थियो।तर आज भने केही बढेर अब आउने बजेटलाई सेयर बजार नेप्सेले स्वागत गरेको हो ।
तर, आइतबारको करेक्सनपछि यस दिन पुनः नेप्सेले बढ्ने क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन ३१७ स्टकको ५८ हजार ४८३ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से सामान्य अंक बढेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य ९।७९ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्यक करिब साढे ८ प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.४१ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।
यस्तो छ महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन (पूर्णपाठ )
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् । पूर्णपाठ
नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार घटेर बन्द भएको छ । नेप्से २.१४ अंकले घटेर २१.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। नेप्सेसँग कारोबार रकम पनि घटेको छ। चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। यस दिन होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ। बाँकी सबै समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ। म्युचुअल फन्ड समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ। फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले घटेको छ । कारोबारमा आएका मध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ । २१५ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ।कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २७ रुपैयाँ ४० पैसा कायम भएको छ । एकैदिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३ रुपैयाँले बढेको हो।
संघीय संसद्मा मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत गरिने
काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)आगामी मंगलबार दिउँसो १ बजे संघीय संसद्मा प्रस्तुत गरिने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतका निम्ति मंगलबार दिउँसो १ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरिएको जानकारी दिए । प्रतिपक्षी दलका सांसदको विरोधबीच आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएपछि उनले समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो ।
संसद् अवरोधकाबीच नीति तथा कार्यक्रममा छलफल गर्नुपर्दा दुःख लागेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् अवरोधकाबीच वार्षिक नीति तथा कार्यक्रम छलफल गर्नुपर्दा दुःख लागेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आ.व. २०८१/ ०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो कुरा बताएका हुन् । प्रधामन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि केही दिनदेखि लगातार राजनीतिक दलका नेतासँग छलफल गरिरहेको बताए । “बेला बेलामा धेरै सहमझदारीको नजिक पुगेको महसुस गरेका छौँ,” उनले भने । प्रचण्डले आइतबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सुनाए । उनले भोलि बिहानसम्म समझदारी हुने विश्वास व्यक्त गरे ।
यस वर्ष आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् ।आइतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका हुन्। अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे। उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए। उनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिनुभयो। अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान रहेको बताए। उनले चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए। उनले राजश्व परिचालनमा क्रमसः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताए। उनले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए। उनले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए। उनले कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गर्नुभयो। उनले आर्थिक वर्ष २०७९÷०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए।
आधारभूत तहमा भर्नादर ९७.१ र माध्यमिकमा ९७.९ प्रतिशत
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत पुगेको जानकारी दिएका छन्। आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन्। यस्तै,उनले माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको पनि जानकारी दिए। उनले भने,‘शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७।१ प्रतिशत र माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको छ।’
कोशीमा बजेटका सिद्धान्त पेश हुँदै
काठमाडौँ । कोशी प्रदेश सभामा सरकारले आज बजेट सिद्धान्त तथा प्राथमिकता पेश गर्ने भएको छ। सरकार गठनको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेसले भने आजको बैठक सार्न माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता गरेको छ। सरकार गठनका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले जेठ १६ गते सम्मा बैठक सार्न काँग्रेसले माग गरेको हो। नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले बैठक नसारे कोशी प्रदेश सभाको बैठक बहिस्कार गर्ने बताएका छन् । वैशाख ३१ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाई समेत काँग्रेसले बहिस्कार गरेको थियो । हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै ३१ वैशाखमा नेपाली काँग्रेस संसदीय दलको बैठकपछि आफूहरू सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो ।
संसद्मा धकेलाधकेल, अर्थमन्त्रीलाई रोष्ट्रम प्रवेशमा अवरोध
काठमाडौं । प्रतिनिधिसभामा आज पनि धकेलाधकेल भएको छ । अर्थमन्त्री वर्षमान पुनलाई नेपाल सरकारको आगामी वर्षको आर्थिक सर्वेक्षण पेस गर्न समय दिएपछि कांग्रेस सांसदहरु वेल प्रवेश गरेका थिए । अर्थमन्त्रीलाई वेलमा जान रोकिएपछि माओवादी र रास्वपा सांसदहरु वेलमै प्रवेश गरेर अघि बढाउने कोसिस गरेका थिए । कांग्रेस सांसदहरुले रोक्दारोक्दै उनीहरु वेलमा प्रवेश गरेपछि धकेलाधकेल भएको हो । धकेलाधकेलकै बीचमा अर्थमन्त्रीलाई रोष्ट्रममा पुगेका थिए ।
बागमती सरकारको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुने
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक हुने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते सोमबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् बैठकमा सार्वजनिक गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ । सोही अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जेठ १४ गतेका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभा बैठक आह्वान गर्न र व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाएका छन् ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ७५पैसा र बिक्रीमा १४४ रुपैयाँ ४० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५पैसा तोकिएको छ। हेर्नुहोस् विनिमय दर
किसानबाट अण्डाको लागत मूल्य खोजी
चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा। रेवन्त भट्टराई, डा. सुविर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर १५ दशमलव ३३ पाउने गरेका छन् । अहिले पाएको मूल्य हालसम्मकै बढी हो । एक वर्ष छ महिना अघि प्रतिगोटा आठमा समेत बिक्री गर्न किसान बाध्य थिए । मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, च्याम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको हो । डा.अनन्त दाहालका अनुसार फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ । नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाखसम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ। हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको उनले जानकारी दिए । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाइ छ ।
किमाथांकासहित चीनसँगका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा
काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् । कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् । कोभिड–१९ फैलने डरले चीन सरकारले किमाथांकासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो । परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो । रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेका छन्। ताप्लेजुङको टिप्तला नाका पनि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल आज किमाथांका जाँदै छ। उपप्रधानमन्त्री श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले एक समारोहकाबीच किमाथांका–छेन्ताङसहित सम्पूर्ण व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमबाट नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका खुलेको घोषणा गरिने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए। चिनियाँ पक्षले आजदेखि विभिन्न सातवटा नाका खोल्ने र अन्य नाका निश्चित समयभित्र खुलाउँदै जाने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र सङ्खुवासभा जिल्लासँग सीमा जोडिएका नाका खुल्ने छन्। उत्तरी क्षेत्रमा रहेका सम्पूर्ण व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यका उपस्थिति हुने, भन्सार राजस्वमा वृद्धि हुने, स्थानीय उत्पादनको बिक्री तथा रोजगार सिर्जना हुनेछ। “अहिले उत्तरी सीमाका सीमित नाकाबाट मात्रै भन्सार राजस्व सङ्कलन भइरहेकामा नाका खुलेसँगै भन्सार राजस्वमा योगदान थप्छ”, सङ्खुवासभाका प्रजिअ खड्काले भने, “हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाउँछन्।” सीमा क्षेत्रमा भन्सार सञ्चालनमा आउने, स्थानीय उत्पादनको बिक्री वितरण बढ्ने हुँदा त्यसबाट स्थानीय रोजगारीमा वृद्धि हुनेछ। “सीमानाका सञ्चालनमा नआउँदा उत्तरी क्षेत्रका रोजगारी ठप्प भएका थिए”, उनले भने, “अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुल्छ, सीमा क्षेत्रमा हुने भन्सार गतिविधिले रोजगारी पनि सिर्जना गर्छ।” सीमानाका खुलेसँगै उच्च हिमाली क्षेत्रका जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने उनको भनाइ छ। स्थानीयस्तरमा बढ्यो उत्साह विसं २०७६ माघ ५ गतेदेखि बन्द रहेको किमाथांका नाका खुल्ने भएसँगै स्थानीयस्तरमा ठूलो उत्साह बढेको प्रमुख जिल्ला अधिकारी खड्का बताउँछन् । नाका खुलेको खुशियालीमा आज भोटखोला क्षेत्रमा ठूलो व्यापार मेला आयोजना गरिएको उनले जानकारी दिए । मेलामा सहभागी हुन सदरमुकामबाट व्यापारीको टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। किमाथांका नाकासँग भोटखोला गाउँपालिका जोडिएको छ। भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन्। किमाथाङ्का–छेन्ताङ नाकाको प्रवेश विन्दु भोटखोला वडा नं १ मा पर्छ। भोटखोलामा करिब पाँच हजार मानिसको बसोबास रहेको अनुमान छ। यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ। स्थानीय उत्पादनले मुस्किलले दुईतीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ। नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएको थियो। भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए। सीमावर्ती क्षेत्रका नागरिकले उत्पादन गरेका चौरीको दूध, घ्यू, भेडाको ऊन र जडीबुटीलगायत चिनियाँ बजारमा बिक्री गर्ने तथा चौरी तथा भेडा चरनका लागि चिनियाँ भूभागमा लाँदै आएका प्रजिअ खड्काले बताए। नेपालमा चौँरी तथा भेडाका लागि खर्कको अभाव छ। चीनको तिब्बत क्षेत्रमा रहेका खर्कमा उत्तरी सीमावर्ती क्षेत्रका स्थानीयले चौरी तथा भेडा चराउने गरेका थिए। किमाथांका नाकाबाट मुख्य गरी स्थानीय उत्पादन तथा दैनिक जीविकाका सामग्रीको व्यापार हुँदै आएको थियो। किमाथांका नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन। “अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाका पुग्न सकिन्छ, निकै विकट स्थानमा भएकाले सदरमुकामबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज छ”, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने। सीमावर्ती क्षेत्रका स्थानीयले दैनिक आवश्यकताका वस्तु चिनियाँ बजारमा खरिद गरेर ल्याउने गरेका थिए। चीनले यसअघि नै नेपालका चौरी तथा भेडालाई तिब्बतका खर्कमा चरन सुविधा उपलब्ध गराउँदै आएको थियो। यसका लागि दुवै देशबीच सहमति भएको थियो। कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती बासिन्दाले चरन सुविधा पनि गुमाएका थिए। “नेपालका चौँरी र भेडाको चरन खर्क उतै (चीन)मा थियो, नाका बन्द भएपछि साह्रै नै सकस भएको थियो”, उनले भने, “नाका खुलेसँगै अब सीमावर्ती क्षेत्रको जनजीवन सहज हुनेछ।” सरकारी कार्यालय स्थापना गरिँदै प्रमुख जिल्ला अधिकारी खड्काले सीमानाका खुल्ने तयारीसँगै आवश्यक सरकारी कार्यालय पुनःस्थापनाको प्रक्रिया अघि बढेको बताए। तत्कालका अस्थायीरुपमा सीमा प्रशासन कार्यालय स्थापना गरिने र आगामी आर्थिक वर्षको सुरुआतसँगै आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिने उनको भनाइ छ। “सीमा प्रशासनका कर्मचारी किमाथांका पुगिसक्नुभएको छ”, उनले भने, “सो कार्यालयबाट के–के सेवा दिन सकिन्छ भन्ने अध्ययन गरेर निर्णयमा पुगिनेछ।” आगामी साउन १ गतेदेखि किमाथांकादेखि नै सेवा प्रवाह गर्ने गरी तयारी थालिएको प्रजिअ खड्काले जानकारी दिए। विसं २०३५ मा किमाथांकामा सीमा प्रशासन स्थापना भएको थियो। द्वन्द्वका कारण २०५७ सालमा सीमा प्रशासन कार्यालय विस्थापित भएर सदरमुकाममा झरेको थियो। सीमानाका सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटकपटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन। रासस
अहिलेकै अवस्थामा जीबी राईको पासपोर्ट रद्द गर्न मिलेन : राहदानी विभाग
काठमाडौं । गितेन्द्रबाबु राई (जीबी)को राहदानी (पासपोर्ट) रद्द गर्न नमिल्ने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि फरार जीबीको राहदानी रद्दको माग गर्दै कास्की प्रहरीले राहदानी विभागलाई पत्रचार गरेको थियो । तर, राहदानी विभागले कानुनी परामर्शपछि पासपोर्ट रद्द गर्न अदालतको आदेशबाहेक अन्य अवस्थामा गर्न मिल्ने नदेखिँदा अहिलेकै अवस्थामा रद्द गर्न नमिल्ने जनाएको हो । प्रहरीले जीबी मलेसियामा रहेको आशंका गरेको छ । त्यहाँबाट समेत अन्य देश भाग्न सक्ने भन्दै प्रहरीले उनको पासपोर्ट रोक्काको लागि वैशाखको अन्तिम साता राहदानी विभागलाई पत्राचार गरेको थियो । अनुसन्धान अधिकारीका अनुसार अनुसन्धानका क्रममा रोक्का गर्न सक्ने प्रावधान कानुनले दिए पनि पासपोर्ट नै बरामद नभएको अवस्थामा रद्द गर्न नमिल्लने भएको हो। जीबी राईमाथि सूर्यदर्शन सहकारी, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, काठमाडौैको स्वर्णलक्ष्मी सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोप छ । सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा अदालत नै पुगिसकेको छ। सोही अभियोगमा आरोपी ओखलढुंगाका जीबीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस समेत जारी गरेको छ । तर, उनी भने पक्राउ परेका छैनन् ।
बजेट संसदबाटै आउँछ : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट संसदबाटै आउने बताएका छन्। संघीय संसदको प्रतिनिधि सभा बैठकपछि संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उनले संसद चलिरहेका बेला बजेट अध्यादेश बाट नआउने बताएका हुन्। सरकारले बजेट संसदबाट ल्याउने तयारी गरिरहेको उनको भनाई छ। ‘संविधानले बजेट जेठ १५ गते पेश गर्ने भनेको छ।जेठ १५ गते संसदबाटै बजेट आउँछ। संसद चलिरहेका बेला अध्यादेश आउँदैन,’ उनले भने । प्रतिनिधि सभाको बैठक भने लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पार्दै आएको छ। कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएको भन्दै गृहमन्त्री रवि लामिछानेको नाममा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ। छानबिन समितिको कार्यक्षेत्र र कार्यादेश तय गर्न गठित कार्यदलमा अझै सहमति जुटेको छैन ।
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ ११ गते शुक्रबार सन् २०२४ मे २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर