पारदर्शिता कायम गर्न सहकारीलाई डिजिटाइजेशनमा लैजानूपर्छ : मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरे । 

सहकारीबाट ऋण लिएर ठूूला ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियमाक निकाय कहाँ थियो? उनले प्रश्न गरे । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर यति ठूलो समस्या आउँदा ध्यान नदिनु दुखःद् भएको उनको भनाई छ । सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न उनले आग्रह गरे । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताए ।

सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई  । यस्तै, उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले क  हामीले ठूलो समस्या भोग्नु पर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने ।

‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?’ सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । प्रविधिमार्फत सदस्यहरुलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिन सके विश्वास बढ्ने उनको बुझाई छ ।

सहकारी नियमनका लागि छुट्टै नियामक निकाय आवश्यक रहेको र राष्ट्र बैंक जस्तै निकाय आवश्यक भैसकेको मन्त्री गिरीले बताए । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडी बढ्न उनले सुझाए ।
 

रेकर्ड बनाएको सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।  गत मंगलबारदेखि नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो।  गत मंगलबार, बुधबार, बिहीबार र आइतबार गरी चार दिन सुनको भाउमा ऐतिहासिक रेकर्ड बनेको हो। शुक्रबार, सोमबार र मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च विन्दु हो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।  आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नेप्से ५८.५८ अंकले बढ्यो, सबै उपसमूह सकारात्मक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ५८.५८ अंकले बढेको छ । सोमबार सार्वजनिक बिदाका कारण बन्द नेप्से मंगलबार २.८५ प्रतिशत बढेर २१११.२४ को विन्दुमा पुगेको हो ।  आज ३०५ धितोपत्रको एक करोड ६ लाख नौ हजार ५९७ कित्ता सेयर चार अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटै उपसमूहको समूहगत सूचक उकालो लागेको छ । जीवन बिमा उपसमूहको समूहगत सूचक सर्वाधिक ५।४४ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । पाँच कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लुघवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । हिमालयन ८०–२० को सेयर मूल्य ३.५७ र मोलुङ हाइड्रोपावर कम्पनीको २.५३ प्रतिशतले घटेको छ । 

अर्थतन्त्रलाई लयमा फर्काएको निवर्तमान अर्थमन्त्री महतको दावी

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्रलाई लयमा फर्काएको बताएका छन् ।  आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरे । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा। महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।  डा. महतले आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको बताए । उनले भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’ उनले सरकारले प्राप्त गरेका सबै उपलब्धी कांग्रेसकै कारण सम्भव भएको जिकिर पनि गरे ।  आफू परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको उनले बताए । 

सुनको मूल्य तीन दिनयता स्थिर

काठमाडौं । सुनको मूल्य तीन दिनयता स्थिर भएको छ । गत २७ गतेयता सुनको मूल्य घटबढ नभएको हो ।  चाँदीको मुल्य भने आज प्रतितोला १० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ।  २७ गते सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत आज सुनको मूल्य २ हजार १ सय ७७ अमेरिकी डलर प्रतिऔँस पुगेको छ। 

अर्थमन्त्री पुन र विश्व बैंकका नेपाल निर्देशक जर्भोसबीच भेटवार्ता

काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ।  सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।  मन्त्री पुनसँग आइतवार नेपालका लागि बेलायती राजदूत रोब फेन र अमेरिकी राजदूत डिन आर.थम्पसनले पनि मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए।

अर्थले भन्यो -'सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने कार्ययोजना तत्काल पेश गर्नू'

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने गरी सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशनात्क आग्रह गरेको छ । अर्थमन्त्री वर्षमान पुन नियुक्त भए लगत्तै पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तार र लगानीकर्ताको अधिकारको निमित्त काम गर्ने बताएका थिए । सोही अनुरुप अर्थमन्त्रीको निर्देशनमा अर्थ मन्त्रालयका अधिकृत शारदा पौडेलले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सो निर्देशनात्मक आग्रह गरेकी हुन्  पत्रमा भनिएको छ  -'देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नुहुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ।'

विदेशी मुद्रा सञ्चिति वृद्धि, यस्तो छ देशको आर्थिक स्थिति

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति वृद्धि हुँदै गइरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको जनाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो । चालू आर्थिक वर्षको सात महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महंगी ५.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । माघ महिनासम्ममा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५=६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४ प्रतिशतले घटेको छ । २०८० माघ महिनामा व्यापारको शर्त ९=९ प्रतिशतले बढेको छ । त्यसैगरी, चालू आर्थिक वर्षको माघ महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

कार्यसम्पादनमा कम्तिमा ८० प्रतिशत प्रगति हुनुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयलाई आफ्ना कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यसम्म पुग्दा कम्तिमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्।   सो क्रममा प्रधानमन्त्री प्रचण्डले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्।  “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोहीअनुसार काम गर्नुपर्नेछ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए। सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारे। “तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो कार्यालय अनुगमनसमेत गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील भएर लिन जरुरी छ।” आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिती विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए।

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्त र  नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता सम्पन्न भएको छ । भेटमा अर्थमन्त्री पुनले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री पुनको सचिवालयका अनुसार बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा उनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे ।नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानूनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए । पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा आईटी राम्रो सम्भावनाको क्षेत्र भएको बताए ।  लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको उल्लेख गरे ।  जवाफमा राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नयाँ अर्थमन्त्रीप्रति सकारात्मक लगानीकर्ता, आइतबार २२ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार २२.१० अंक बढेर बन्द भएको छ । नयाँ अर्थमन्त्री माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । लामो समयसम्म लगातार घटेको बजार अहिले समालिँदै उकालो लाग्न थालेको छ । पछिल्ला तीन कारोबार दिनमा बजार लगातार उकालो यात्रामा देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले पनि बजारप्रति सकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । त्यसले पनि लगानीर्तामा उत्साह देखिएको छ । उनले धितोपत्र बजारमा ढुक्क भएका लगानी गर्न आग्रह गरेका छन् । आज नेप्से परिसूचक १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ विन्दुमा बन्द भएको छ । यसदिन दुई अर्ब ९२ करोड २७ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बढेको बजारमा चिर्खुवा हाइड्रोपावरको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।

सुनको मुल्यमा फेरि रेकर्ड, आइतबार १ हजार बढ्यो

काठमाडौं । सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । विगत ५ दिन देखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ । हालसम्मकै उच्च मुल्यको रेकर्ड कायम फेरि भएको हो । गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि  मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

अर्थमा वर्षमान नियुक्तिपछिको पहिलो कारोबार शेयर बजार सकारात्मक

काठमाडौं । नयाँ गठबन्धनको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले वर्षमान पुनलाई अर्थमन्त्रीमा नियुक्त गरेको थियो। राजनीतिक अन्यौलताका बीच उतारचढाव भइरहेको नेप्से, अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो। बिहीबार नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख २५ हजार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मुल्य बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । विहीबार छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।  यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

शेयर लगानीकर्ताको हित रक्षा गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।आज शपथ ग्रहण पश्चात सिंदरबारमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने बताए । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु निरुत्साहित गरिने उनले बताए । मन्त्री पुनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने वातावरण बनाउने समेत बताए ।   

अर्थमन्त्री पुनद्धारा कार्यभार ग्रहण,  अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिबद्धता

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्र पुनले आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताएका छन् । अर्थमन्त्री पुनले तीन खम्बे अर्थनीतिमा मुलुकलाई अघि बनाउने र सहकारीहरुमा उत्पन्न समस्या हल गर्ने बताए ।  “सजिलो छैन, मलाई थाहा छ, सन् २००८ लगत्तै अर्थमन्त्री हुँदा विश्वव्यापी आर्थिक मन्दीको अवस्थामा पनि सकुशल नेतृत्व गरेको हुँ । त्यो अनुभव, शिक्षा र आजको प्राथमिकताका साथ काम गरेर अर्थतन्त्रमा आशा जगाउनेछु” अर्थमन्त्री पुनले भने ।  अर्थमन्त्री पुनले जनताको भोकलाई बुझेर, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको दिशानिर्देशको आधारमा अर्थमन्त्रालयको बिज्ञ टिमको सहयोगमा काम गर्नेछु । अर्थमन्त्री पुनले भने, “असाध्यै जिम्मेवार महसुस गरेको छु । पहिलो पटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । धेरै मानिसहरुले २/३ महिनासम्म अर्थमन्त्रीको रुपमा मलाई पत्याएनन् । त्यसबेला धेरै कुराहरु सिक्नेकुराहरु पनि मिल्यो ।”