वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताएका छन्। चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई  सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले भने, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं ।’ 

समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने स्पष्ट पारे । उनले भने, ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु । बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन ।’


लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको मन्त्री डा.महतले उल्लेख गरे । पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको छ । लघु वित्त र सहकारीबाट ऋण लिएकाहरुलाई उपयोग गर्न खोजिएको छ । यो एकदमै खतरनाक प्रवृत्ति रहेको मन्त्री डा.महतले उल्लेख गरे । ‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्ताहरु मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री डा। महतले भन्नुभयो, सँगसँगै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ । लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन ।’

लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्नुहुँदैन । फाइदा उठाइ हालौं भन्नेहरुलाई निरुत्साहित गर्न मन्त्री डा. महतले आग्रह गरे। उनले दुःख सुख गरेर सानो सानो लघु वित्तमा बचत गरेको हुन्छ, ती बचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताए । 

‘ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ । लघु वित्तको सञ्चालक बनेर जसले उद्देश्यविपरित काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन् भने त्यसलाई तपाईंहरु सबै मिलेर निरुत्साहित गर्नुपर्छ’ मन्त्री डा. महतले भने।

०४६ सालको परिवर्तनपछि नै लघु वित्त फस्टाएको हो । गरिबी निवारणमा लघु वित्त र सहकारीको भूमिका महत्वपूर्ण छ । उद्देश्यभन्दा टाढा गएकाले सहकारीमा समस्या आएको हो । तर राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा भएकाले लघु वित्तलाई पुरानै लयमा फर्काउन काम सुरु भएको छ । लघु वित्तलाई विपन्न नागरिक र महिलाको सशक्तिकरण र उत्थान गर्ने माध्यमको रुपमा हामीले अगाडि बढाउनुपर्छ । 

लिएको ऋण तिनुपर्ने आवश्यकता छैन, सबै हामी मिलाइदिन्छौं, हामीलाई सहयोग गर भनेर आश्वासन दिइएको छ । ऋणीको भावनामा खेल्ने प्रयास भइरहेको छ । यसलाई चिर्न जरुरी छ, मन्त्री डा. महतले भने, ‘बचतकर्ताको लगानी खोसेर ऋण माफी हुन सक्दैन । अबौं अनुदान दिन सक्ने अवस्था राज्यसँग छैन । त्यसकारण बेलैमा सचेत भएर जे दायित्व हो, त्यो पूरा गर्नैपर्छ । राज्यले ऋण तिर्न समय थप गर्ने र ब्याज कम गर्नका लागि सहजिकरण गर्न सक्छ । राष्ट्र बैंकले पनि त्यस किसिमको नीति ल्याएको छ । तर, तिर्नैपर्दैन भन्ने जुन प्रवृत्ति छ, यो प्रवृत्तिको जुन मनसाय छ, त्यसलाई हामीले पर्दाफास गर्नुपर्ने मन्त्री डा.महतको भनाइ थियो ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन २ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेप्से साढे ३० अंकले घट्यो, चार अर्ब ६६ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ । सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से २०७०.५९ विन्दुमा बन्द भएको हो । सोमबारको तुलनामा नेप्से १.४५ प्रतिशतले घटेको छ । यसदिन चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह २।४० प्रतिशत छ ।

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौँ । आज प्रिओपन सेसनमा नेप्से सूचक ०।३९ अंकले बढ्यो । योसँगै सूचक २१०१.५५ विन्दुमा पुग्यो । सेसन अवधिमा ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर किनबेच हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो । यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भयो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।’

नेप्से १५.३३ अंकले बढ्यो, साढे तीन अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेको छ । सोमबार नेप्से १५.३३ अंकले बढेर २१०१.१६ को विन्दुमा पुगेको छ । १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४५ कम्पनीको सेयर मूल्य घट्दा चार कम्पनीको भने स्थिर छ । यस दिन एक करोड एक लाख आठ हजार १२२ कित्ता सेयर तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । अन्य उपसमूहको समूहगत सूचक मात्रै घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बोटलर्स नेपाल लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । एनआईसी एसिया ग्रोथ फन्ड टुको सेयर मूल्य सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ ।

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक : ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान(पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव)को बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए । “लक्ष्यअनुसारको आम्दानी हुने अवस्था नभएपछि र खर्च गर्ने ट्रेन्डमा सुधारको कोसिस गरे पनि पूरा हुन समस्या लाग्ने देखियो,” महतले भने । सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । जसमा चालुतर्फ सुरुवाती विनियोजनको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । 

बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिदै

काठमाडौं । अर्थ मन्त्रालयले सोमबार बजेटको अर्धवार्षिक समीक्षा सार्र्वजनिक गर्ने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । प्रतिवेदन सार्वजनिक कार्यक्रम आज दिउँसो ३ः३० बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।सामान्यत प्रत्येक आर्थिक वर्षको ६ महिना बितेपछि अर्धवार्षिक समीक्षा गर्ने प्रचलन छ । मूल्यांकन प्रतिवेदनमा राजस्व, खर्च, वैदेशिक अनुदान तथा ऋणको अनुमान, प्राप्ति तथा परिचालनको यथार्थ विवरण, सरकारको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र सरकारको नीति तथा बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयनको अवस्था उल्लेख गर्ने व्यवस्था छ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसका लागि १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख राजस्व उठाउने लक्ष्य राखिएको छ । ६ महिना बित्दा सरकारले ३२.३५५ खर्च भएको छ भने ३४.९५ राजस्व संकलन भएको छ ।

बैंकहरुले ब्याजदर अझै घटाए, कुन बैंकमा कति ?

काठमाडौं, २९ माघ । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । बैंकहरुले गरेको प्रस्ताव अनुसार फागुन महिनाका लागि ब्याजदर थप घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका छन् । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्ने तर कर्जा माग बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिबेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ४८ अर्ब निक्षेप संकलन गर्दै जम्मा ५० खर्ब ८७ अर्ब रुपैयाँ हाराहारी मात्र कर्जा लगानी लगानी गरेका छन् । माघ २५ गते सम्म कर्जा तथा निक्षेपको अनुपात ८०.३५ प्रतिशत कायम गरेका बैंक तथा वित्त कम्पनीहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम छ। यसले आगामी महिनाका लागि ब्याजदर घटाउने दबाबमा बैंकहरु देखिएका हुन् । कुन बैंकमा कति ब्याजदर ? नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुले फागुनका लागि ब्याजदर घटाएका छन् । तीनवटा बैंक एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाकै ब्याजदरको निरन्तरता दिएका छन् । त्यस बाहेक तीन वटा सरकारी स्वामित्वका बैंक कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित, सिटिजन्स् बैंक, स्ट्यान्र्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुले संस्थागत खाताका लागि ४.४४३ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् भने व्यक्तिगत खाताका लागि ८ प्रतिशत देखि ८.२५ प्रतिशतसम्म प्रस्ताव गरेका छन् ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २९ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन

झापा । अर्थमन्त्री डा.प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा पुगेका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए । उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । “राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ”, अर्थमन्त्री महतले भने, “राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।” उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । उनले एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे । सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकरभिट्टा मन्त्रालयबाट छाँयामा परेको बारेमा अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएका थिए । निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिने भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ । यस दिन ९१ कम्पनीको सेयरमूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ ।

महोत्सव हेर्न आउनेलाई दूध र अण्डा निःशुल्क

त्रिशुली, २७ माघ । नुवाकोटको विदुरमा सञ्चालन भैरहेको आठौँ नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क उपलब्ध गराइएको छ । महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घको आग्रह अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकन कर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराएको हो । महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एउटा उसिनेको अण्डा वितरण भइरहेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिए । उनका अनुसार मेला–महोत्सवलाई सहयोग पु¥याउन कार्यालयलाई प्राप्त बजेट र अन्य निकाय सँगको सहकार्यमा अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको हो । “विगतका वर्षमा मेला आयोजकलाई एकमुष्ट नगद सहयोग गर्ने गरिएको थियो”, अधिकृत पाण्डेले भने, “सहयोग गरिएको रकम लक्ष्य अनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचार सहित उपलब्ध गराइएको हो ।” महोत्सवमा दैनिक औसत दुई सय ५० लिटर दूध र पाँच हजार वटा अण्डा खर्च भएको छ । मेला अवधिभरका लागि दूध र अण्डा निःशुल्क पु¥याउन कार्यालयको बजेट अपुग हुने भएकाले सहयोगी निकायसँग सहकार्य भइरहेको विज्ञ केन्द्रका प्रमुख डा रामप्रकाश प्रधानले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उद्घाटन गरेको आठौँ नुवाकोट महोत्सव आगामी फागुन ७ गतेसम्म चल्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकास नुवाकोट संस्कृतिको निकाश’ भन्ने नारा सहित जारी महोत्सवले जिल्लाका किसानले उत्पादन गरेका कृषि उब्जनीको बिक्री तथा प्रदर्शनी, धार्मिक र सांस्कृतिक स्थल तथा सम्पदाको प्रचार प्रसारमा केन्द्रित गरिएको छ ।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २८ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस्

अब विकासको रफ्तारले गति लिन्छ : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताएका छन् । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताए । ल्होछारको शुभकामना दिंदै उनले भने, ‘अब विकासले रफ्तार लिन्छ । देशमा साधनश्रोत धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा चाहिन्छ ।’ अर्थमन्त्रीले देशैभरि हेर्नुपर्ने भएकाले चाहेजस्तो गर्न कठिन भएको अनुभव सुनाउँदै मन्त्री डा.महतले भने, ‘मैले बजेट प्रस्तुत गर्दा सकेसम्म सबैतिरको आवश्यकता पूरा गर्ने हिसाबले बजेट विनियोजन गरेको छु ।’ तारकेश्वर गाउँपालिकाको तारुकाको लागि पनि बजेट राख्यौं । प्रदेश र संघीय सरकार मिलेर नुवाकोटमा केही न केही गर्ने प्रयास गरेका छौं । आउने दिनमा अझै धेरै गर्ने मन्त्री डा. महतले प्रतिबद्धता जनाए । ‘कसौडीमा पकाउनुपर्ने बाध्यता छ, तर खड्कुलोमा पकाएर बाँड्दा पनि नपुग्ने अवस्था छ’ मन्त्री डा. महतले भने, ‘एकैपटक पो नपुग्ने हो, तर हामी विस्तारै गर्छौं । यो गाउँपालिकामा दुईवटा कुरालाई महत्व दिइएको छ, एउटा रंगशाला निर्माण हो । पालिकाले केही काम गरेको छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्न हामीले यस वर्ष खेलकुदमा धेरै बजेट विनियोजन गर्ने नीति बनाएका छौं ।’ ‘माने डाँडादेखि काफलपानी सडक निर्माणको प्रस्ताव आएको छ । कच्ची सडक त छँदैछ, यसलाई पक्की बनाउन म लाग्नेछु । श्रोत र साधनले भ्याएसम्म, देश र जनताप्रति म जिम्मेवार छु, नागरिकको हितका लागि म रातदिन खटेर लाग्ने छु’ मन्त्री डा. महतले भने, ‘नुवाकोटमा अहिले विकास निर्माणका धेरै काम अगाडि बढेका छन् । चीनसँग जोडिने सडक विस्तार हुँदैछ, व्यापारिक नाकाको रुपमा विकास हुँदैछ । छहरे–टोखा सुरुङमार्ग अगाडि बढाउने प्रतिबद्धता हामीले गरेका छौं ।’ उनले नुवाकोटमा अब धेरै रोजगारीको सम्भावना बढ्छ, व्यापारिक गतिविधि चलायमान हुनेछ । उद्योग व्यवसाय फस्टाउने छ । पर्यटनको धेरै ठूलो सम्भावना नुवाकोटमा छ । कृषिमा पनि विविध सम्भावना छन् । कृषिलाई व्यवसायिकरण गर्नुपर्ने बताए ।’ मन्त्री डा.महतले भने ‘विविध भौगोलिक र जातजातिले भरिएको देश हो । विभिन्न भेषभूषा, भाषा, संस्कृति र सभ्यता नेपालमा छ । नेपालजस्तो सुन्दर, सानो भूगोलमा धैरै जातजाति र संस्कृति अटाएको छ । त्यसैले नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ ।’ विविध जातजाति, संस्कृति, भाषा र भेषभूषा नेपालको साझा सम्पत्ति भएको उनले बताए। उनले भने ‘देशको आर्थिक विकास धेरै भइसकेको छैन, धेरै पछि मात्रै हाम्रो आर्थिक विकास सुरु भयो । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र आयो, त्यसपछि जनतामा परिवर्तन आउन थाल्यो । जनताले चुनेका प्रतिनिधिले शासन गर्न थाले, त्यसपछि विकास सुरुवात भयाे।’

बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रधानमन्त्रीको घोषणा, सिंहदरबारमा विज्ञहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरण सम्भव नभएको बताए । हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताए। सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड थियो । छलफलका क्रममा विषयगत विज्ञहरुले उठाएका विषयहरु महत्वपूर्ण रहेको बताउँदै उनले नीति, कार्यक्रम र बजेटको नीति, ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रिया अन्तर्गत नै छलफल आयोजना गरेको बताए । “सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ ।”उनले भने, “यपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव संकेन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसदमा पढ्नुहुन्छ ।” देशमा आर्थिक संकट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसंगबारे चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले संकटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताए । “म संकटको बेला प्रधानमन्त्री भएँ । देशलाई संकटबाट मुक्त गर्न मैले लगातार कोशिस गरिरहेको छु ।” उनको भनाई थियो, “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी हामीले छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।” राष्ट्रिय योजना आयोगको समन्वयमा सम्पन्न ‘सोह्रौँ योजना र आगामी वर्षको नीति तथा कार्यक्रममाथि विज्ञहरूको सुझाव लिने कार्यक्रम’मा विभिन्न क्षेत्रका विज्ञहरुले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उत्पादन र रोजगारी बढायो भने अर्थतन्त्रका धेरै समस्या सम्बोधन हुने भएकोले यो विषयलाई केन्द्रमा राखेर सोहैं योजनाको मस्यौदा तयार भइरहेको जानकारी दिएका थिए । सुशासन कायम गर्न सकियो भने थोरै स्रोतबाट पनि धेरै काम गर्न सकिने उनको भनाई थियो । कार्यक्रममा विज्ञहरुले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने, व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र उत्पादनका साधनमा बहुसंख्यक जनताको पहुँच कसरी पु¥याउनेतर्फ सोच्नुपर्नेमा जोड दिए । यसैगरी वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई योजनामा प्राथमिकता दिनुपर्ने र “ग्रीन इकोनोमी”लाई एको–टुरिज्ममा लैजानुपर्ने सुझाव समेत उनीहरुको थियो । छलफलका क्रममा विज्ञहरुले कृषि र उद्योगको योगदान खुम्चिने परिस्थितिमा सुधार ल्याउनुपर्ने, नीति र कार्यक्रमबीचको बिरोधाभाष अन्त्य गर्नुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको लागत बढ्दै जाने परिस्थिति रोक्नुपर्ने तथा कृषिमा आत्मनिर्भरताको योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । राष्ट्रिय योजना आयोगलाई सङ्घीय योजना आयोगमा पुनर्संरचना गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा विज्ञहरुले सडकहरू मान्छे मार्ने धराप बनेको बताउँदै सुरूङमार्गमा जोड दिनुपर्ने समेत बताए। यसैगरी शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको हबका रुपमा नेपाललाई विकास गर्ने विषय समेत आगामी योजनामा समावेश हुनुपर्नेमा जोड दिएका थिए । यसैगरी, विज्ञहरुले विकासका प्रमुख आधार यकीन गरी पूँजिगत खर्च बृद्धि गर्नुपर्नेमा विशेष जोड दिएका थिए । अहिलेको मुल समस्या नै सुशासन कायम हुन नसक्नु भएकोले सुशासनमा संरचनागत परिवर्तन गर्नुपर्ने, राजनीतिक दवावमा योजना छनोट हुने प्रक्रिया रोकिनुपर्ने र तल्लो तहलाई अधिकार बढी दिनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा विज्ञहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।